जुम्ला ।
मकै पाक्ने याम शुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन उनीहरु रातभर जाग्राम बस्ने गरेका हुन् ।
जुम्लाको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । तिला–६ का स्थानीयवासी नरिमान रावतले भने, ‘भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न थालेका छन् ।’ यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हुँदैन । यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन् ।
भालु भगाउनका लागि हरेक बारीमा तर्साउने वस्तु राखिएको छ । भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने काम स्थानीयले गरिरहेका छन् ।
कहिलेकाहीं थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास गरिरहेको स्थानीयवासी बताउँछन् । भालुका कारण उनीहरुलाई बारीमा एक्लै हिँड्न समेत सकस हुने गरेको छ । एक त अन्नबाली उत्पादन कम हुन्छ ।
त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् । अधिकांश किसानले खेतबारी वरिपरि मान्छेजस्तै ‘भ्याउने’ बनाएर राख्ने गरेका छन् । पछिल्लो समयमा भालुको तीव्र चहलपहल बढेपछि किसानले जंगल नजिकैको बारीमा खेती गर्न समेत छाडेको स्थानीयवासी रावतले बताए ।
दिउँसो मानिसको चहलपहल हुने भएकाले भालु बारीमा पस्न डराउँछ । रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँधेर राख्ने, मकैबारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन सकस छ ।
वर्सेनी भालुले बालीमा नोक्सानी पु¥याउन थालेपछि गाउँका केही स्थानीयवासीले मकै बाली नै लगाउन छाडेका छन् ।
मकैबारीमा भालु पसेर नष्ट गर्न थालेपछि किसानले भालु नियन्त्रणमा लिएर बाली जोगाइदिन माग गरेका छन् । मकैबारीका साथै स्याउ बगैंचा, मौरीको घारदेखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसानहरु बताउँछन् ।
यसअघि पनि आहारा खोज्दै भालु जुम्ला सदरमुकाम खलङ्गा बजारमा पसेको थियो । त्यसबेला बजारमै दुई जनालाई भालुले आक्रमण गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा भालु मारिएको थियो ।









प्रतिक्रिया दिनुहोस्