दलन पोखिएको ‘दहाड’



-अछुत कोपिला

पञ्चायतकाल नेपालको इतिहासमा एक महत्वपूर्ण राजनीतिक कालखण्ड हो । जुन वि.स. २०१७ सालदेखि २०४६ सम्म कायम रह्यो । ३० वर्षसम्म चलेको निर्दलीय र राजतन्त्रतात्मक शासन व्यवस्थालाई पञ्चायतकाल भनिन्छ । राजा महेन्द्रले संसदीय व्यवस्थामाथि कू गर्दै पञ्चायत लागु गरेका थिए । जहाँ राजनीतिक दल प्रतिबन्धित थिए । सम्पूर्ण शासन व्यवस्था राजाको नियन्त्रणमा थियो । त्यतिबेला अभिव्यक्ति स्वतन्त्रता सीमित थियो । पञ्चायतकालमा समाजले जातीय र वर्गीय विभेद भोग्यो । समाजमा विकृति र विसङ्गतिका पहाडहरू थिए । भय, मौनता र ऐंठनभित्र ज्वाला गुम्सिएर बसेको थियो । असमानता र विभेद भोगेका आमनागरिक रैती भएर बाँचे । त्यस कालखण्डको दस्तावेजका रुपमा कथा सङ्ग्रह प्रकाशित भएको छ, ‘दहाड’ । नवीन अविलाषीद्धाारा लेखिखएको कथा सङ्ग्रह ‘दहाड’ नेपाली कथासाहित्यमा एउटा अर्थपूर्ण हस्पक्षेपका रुपमा आएको छ । जसले पञ्चायतकालीन समय, समाज र मानवीय संवेदनालाई गहिरो रुपमा छोएको छ । सामाजिक संरचना, अन्याय, दमन र जनजीवनको पीडालाई गहिरो ढङ्गले अभिव्यक्त गरेको छ, ‘दहाड’ ले । ‘दहाड’ पञ्चायतकालीन समाजको भूइँमान्छेको कथा हो । कथा सङ्ग्रहमा जम्मा १२ वटा कथा सङ्ग्रहित छन् । कृतिमा पञ्चायतकालीन समयभित्रका कथा हुन् । सबैभन्दा कमजोर स्थानबाट सबैभन्दा तीखा प्रश्नहरूसहित दर्ज गरिएको अभियोगपत्र हो, ‘दहाड’ ।

विषय प्रवेश 

‘दहाड’ शब्द आफैंमा आक्रोश, पीडा र विद्रोहको गर्जन हो । जसमा अत्यन्तै आक्रोशपूर्ण अभिव्यक्ति छन् । जहाँ रोधन छ । आँखामा आँशु छ । एउटा चिच्याहट छ । त्यहीं चिच्याहट नै ‘दहाड’ हो । पञ्चायतकालीन समाज विभिन्न तहमा बाँडिएको थियो । जातकै कुरा गर्ने हो भने ब्राहमण, क्षेत्री, वैश्य र शुद्र गगरी चार जातमा विभाजित थियो समाज । यसको अवशेष अहिले पनि यथावत छदैछ । वर्गीय दृष्टिले हेर्दा विभिन्न वर्ग थिए समाजमा । ‘दहाड’ मा समावेश कथामा ती वर्गको स्पष्ट चित्र भेट्न सकिन्छ । एउटा हुुने वर्ग र अर्को नहुने वर्ग । पैसा भएको र नभएको वर्ग । पढेको र नपढेको वर्ग । शक्ति भएको र शक्ति नभएको वर्ग ।  मूल रुपमा भन्दा हुने वर्गका रुपमा ब्राहमण र क्षेत्री थिए । अर्को वर्ग हुन्, दलित, महिला, मधेशी र मुस्लिमहरू । तराईका बासिन्दाहरू–जो अत्यन्तै गरिबीमा बाँचे । सामाजिक शक्तिका रुपमा पनि अत्यन्तै कमजोर र दयनीय अवस्थामा छन् उनीहरू । यी दुई समूहहरू त्यतिबेलाको समयमा कसरी बाँचे भन्ने कूरा मूल रूपमा कथाहरूमा भेटिन्छन् ।

अझ भित्री रुपमा हेर्ने हो भने त्यतिबेला अत्यन्त कमजोर मानिएका थुप्रै समुदायहरू थिए । ती मध्येको एक हो दलित समुदाय, दलितभित्र पर्ने नेपालगन्जको किंगरियन समुदाय । जो मुस्लिम हो । मुस्लिमभित्रको पनि दलित समुदाय हो । उनीहरूको पहिचानको रूपमा ‘किंगरी’ भन्ने बाजा छ । किंगरियन समुदाय किंगरी बाजा बजाएर बाँचिरहेको छ । किंगरीलाई किंगरियनहरूको भाषामा ‘चिकारा’ पनि भनिन्छ । यो काठ तथा भेडा, बाख्राको छालाबाट बनाइने सारंगीजस्तै आकार भएको एक प्रकारको बाजा हो । बिहानदेखि बेलुकासम्म किंघरियनहरू किंगरी बजाउँदै गाँउ–गाउँ डुलेर पैसा, अन्न तथा खानेकुरा संकलन गरी परिवारको गुजारा चलाउने गर्थे । अहिले यो बाजा लोप हुँदै गएको छ । उनीहरू तत्कालीन समयका अत्यन्त कमजोर पात्र हुन् । त्यतिबेलाका बलिया पात्र र वर्गहरूले उनीहरूले कसरी प्रयोग गर्छन् भन्ने कुरा यस कथा सङ्ग्रहको शीर्ष कथा बनेको छ । जुन कथा ‘दहाड’  शीर्षकमा रहेको छ । यो कथा अन्याय र अत्याचारको विषयमा केन्द्रित छ । यही कथाको नामबाट कथा सङ्ग्रहको नाम‘दहाड’ राखिएको छ ।

‘दहाड’ कथा लेखनको रचनागर्भ

कवि, लेखक र पत्रकार नवीन नेपाली उर्फ ‘नवीन अभिलाषी’दाङमा जन्मिए तर, हुर्किए प्युठानमा । जहाँ उनको बाल्यकाल बित्यो । हाल नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत उनी केही वर्षयता कोहलपुरलाई कर्मथलो बनाएर कर्म गरिरहेका छन् । अक्षर खेती गररहेका छन् अर्थात साहित्यलाई मलजजल गरिरहेका छन् । केही वर्षअघि उनी डकुमेन्ट्री निर्माणको क्रममा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा घुमे । मुस्लिम समुदायको विषयमा डकुमेन्ट्री बनाउनुपर्ने थियो । सो क्रममा उनी तराईका भित्री मधेशतिर छिरे । त्यहाँ उनले यस्तो समाज देखे । त्यहाँको जीवनशैली, गरिबी र अभाव प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाए । अहिलेपनि अभाव र गरिबीको कुरा गर्दा कर्णालीलाई बिम्बका रुपमा प्रयोग गर्ने गरिन्छ घुम्ने क्रममा उनले त्यो पीडा देखे । क्रन्दन सुने । अभावलाई महसुस गरे । कर्णालीमा के दुःख छ र रु कर्णालीका मान्छे के गरिब छन् र रु भन्ने बोध भयो । उनी भन्छन्, ‘म त अच्चममा परे । जहाँ बाटो सजिलै पु¥याउन सकिन्छ, जमिन समथल छ । सिँचाइका लागि पानी प्रशस्त छ । विशाल फाँटहरू छन् । अन्नबाली उम्रिरहेकै छ । तर मान्छेहरू रु यति गरिब छन् कि आमरुपमा भन्ने गरेझैँ तर वास्तविकता त्यस्तो छैन । कर्णालीलाई बिर्साउने गरिबी मधेशमा देखे । तराईका मुस्लिमको बस्ती जहाँ सुन्दर मस्जिदहरू बनेका छन् । मन्दिरहरू छन् । घर राम्रो झुपडी मात्रै छ । मिनारले सजिएका, रंगीन ध्वजापताकाहरूले सजाइएका मन्दिरहरू छन् । अहिलेपनि महिलाहरू बाहिरका मानिसहरू आउँ छिर्दा दोहोरो संवाद गर्दैनन्÷सक्दैनन् । ती कुराहरूले नवीनलाई घोच्यो अनि ‘दहाड’ जन्मियो ।

गरिवी, पीडा, रोदन र क्रन्दन कतै न कतै हरेक कथाहरूमा कुनै न कुनै रुपमा भेटिन्छन् । अभाव र गरिबीका प्रतिबिम्बहरू कथाले समेट्न खोजेका छन् । उनका कथाहरूमा राजनीतिक बेथिति, सामाजिक विसंगति, अभाव र दवाव लगायत शिक्षा र स्वास्थ्यका कुरा समेटिएका छन् । ‘दहाड’ का कथामा मुख्य पात्रहरू अत्यन्त कमजोर छन् । अर्थात उनीहरूको हैसियत कमजोर छ । मनमा आगो बोकेर बाँचेका भेटिन्छन् । क्रोधको भारी बोकेका छन् तर विसाउने हिम्मत गर्न सक्दैनन् । उनीहरूले आन्दोलन गर्न सक्दैनन् । विद्रोह गर्न सक्दैनन् ।  मुखिया, जमिनदार र बाबु साहेब जस्ता पात्रहरुसँग प्रत्यक्ष लडाइँ गर्न सक्दैनन् ‘दहाड’ का पात्रहरू । कुनै न कुनै रुपमा हरेक पात्रहरू कुटिएका छन् । लुटिएका छन् । शोषित र पीडित छन् । तर उनीहरू विद्रोह गर्न सक्दैनन् । किनभने पञ्चायतकालीन समय थियो जहाँ सक्नेवालाहरूको मात्रै हालीमुहाली हुन्थ्यो नसक्नेहरूले भाग्यलई दोष दिनु पर्ने अवस्था थियो । ‘दहाड’ मा उठाइएका मुद्धा र पात्रहरू त्यहीं समयकाल र समाजका उत्पादनहरू हुन् । २०४६को बहुदल, २०५२ मा सुरु भएको शसस्त्र द्धन्द्ध, २०६२÷०६३ को जनआन्दोलनका कारणले लोकतन्त्र, गणतन्त्र हुँदै अहिलेसम्मको अवस्थामा नेपाली समाज छ । आम नेपालीको चेतनास्तर अपेक्षाकृत भन्दा धेरैमाथि उठेको छ । मान्छेहरू अहिले अधिकारका कुरा गर्न सक्ने भएका छन् । आफूलाई अन्याय पर्दा प्रतिरोध गर्न सक्छन् । तर, त्यतिबेलाको समयमा यी सब कुराहरू असम्भव जस्तै थिए । त्यो बेलामा मुस्लिम दलित र महिलाहरू अत्यन्त दमित थिए । मधेशमा त झन छदै थिएन नागरिक सर्वोच्चता । मानव अधिकारको प्रत्याभूति ।

राज्य बिहीनता र नागरिक सर्वोच्चताको सवाल

नवीन जिज्ञासु स्वभावका कथाकार हुन् । समाज अध्ययनमा उनको गहिरो सम्बन्ध छ । उनी तत्कालीन समाज पढ्दै खोज्दै गए । त्यहाँ उनले नागरिक सर्वोच्चता भेटाएनन् । राज्य विहीनता भोगिरहेको समाज देखे । जहाँ उनीहरूमा मानव हुनुको कुनै मूल्य थिएन । के नामका मात्र जिउँदा थिए मानिसहरू रु समाज थियो त केवल मृतप्राय रुपञ्चायतकालीन समय राज्य विहीनताको अवस्था थियो रु अभिलाषी यी प्रश्न सुनेपछि एकछिन् टक्क अडिन्छन् र भन्छन्, ‘उनीहरूका लागि राज्य थिएन । राज्य भनेकै गाउँका पञ्चहरू थिए । तर ती पञ्चहरूले कहिल्यै राज्यको अनुभूति गराएनन् । उनीहरूलाई अधिकतम् रुपमा प्रयोग गरिएको थियो । अझ भनौं श्रम शोषण उनीहरूको भागमा परेको थियो ।
यहीं सन्दर्भसँग सम्बन्धित ‘दहाड’ मा एउटा कथा छ ‘एक्का’ शीर्षकको । एक्का तराईमा चल्ने एउटा सवारी साधन हो । लडियाको अर्को रुप । जहाँ मानिसहरू बस्छन् । धनीमानीको उबेलाको यातायातको साधन हो एक्का । त्यस कथामा एउटा पात्र छ, इन्दल । श्रीमतीको नाम हो, साबरी । इन्दल उक्त गाउँको प्रधानपञ्चको बडिगार्डका रुपमा काम गरिरहेको छ । पछि ऊ त्यो कामबाट निकालिन्छ । उनलाई निकाल्नुका थुप्रै कारणहरू छन् । त्यहाँबाट निकालिएपछि ऊ रक्षात्मक अवस्थामा पुग्छ । बाँच्नै नसक्ने अवस्थासम्म पुगेपछि उसले एक्का किन्ने सोच बनाउँछ । जुन उनको लागि धेरै ठूलो सपना थियो । त्यो एक्का किन्ने आर्थिक हैसियत उसँग हुँदैन । एउटा एक्काका लागि सम्पूर्ण बल लगाउँछ । तर किन्न सक्दैन । त्यहींबेला जनमत सङ्ग्रह हुन्छ । शारीरिक रुपमा बलियो भएका कारण त्यसबेला राजनीतिक पात्रहरूले उनलाई प्रयोग गरे । तर, एकाएक उनी मारिए । अवस्था यस्तो पनि आयो । मरेपनि घाटसम्म लैजान उनले बाटो पाएन । किनभने उसको घरबाट घाटसम्म लैजाने बाटो प्रधानपञ्चको थियो ।

पञ्चायतकालीन समयमा अहिलेको जस्तो जात, वर्ग र लिङ्ग र धर्म  सम्प्रदायका आधारमा विभेद थियो रु यसमा भने अभिलाषी फरक सुन्छिन् । उनी भन्छन्, ‘यस विषयलाई मैले अलि नजर अन्दाज गरेको छु । केही काम गर्नुपर्नेछ ।’ तर, ब्रहामण र क्षेत्रीहरुले दलितमाथि गर्ने विभेद रोक्नको लागि पहिला दलितभित्र पनि कामी र सार्की, गन्धर्व र वादीहरुको बीचमा हुने विभेद हटाउ भन्ने स्वर अहिलेपनि अलि चर्को रुपमा सुनिन्छ ।   वास्तवमा अहिलेपनि नेपाली समाजको सबैभन्दा बलियो वर्ग ब्रहामण र क्षेत्रीहरू नै हो । सबैभन्दा बढी शिक्षित वर्गपनि उनीहरू नै हुन् । उनीहरू लामो कालखण्डदेखि बौद्धिक चेतनामा काम गर्दै आए । ठिक त्यहीं समयदेखि नै कानुनी, धार्मिक, सामाजिक रुपमा बहिष्करणको सिकार भएको अर्को वर्ग छ । जसलाई अशिक्षित र गवारको संज्ञा दिने गरिन्छ । व्यक्तिसत्ता होस् वा राज्यसत्ता, अदालत होस् वा सुरक्षा । धर्मशाला होस् वा विश्वविद्यालय चलाएका बौद्धिकहरू यी सबैमा वर्गीय विभेद छ । लामो कालखण्डदेखि राज्यविहीनता, अवसरबाट वञ्चित र अशिक्षितको बिल्ला भिराइएको समुदायबीच विभेद हुनु कुनै नौलो कुरा नभई सामान्य ठान्छन् उनी । मुख्य कुरा त ब्रहामणले दलितमाथि गरिरहेको विभेद हो । पुरुषसत्ताले महिलामाथि गरिरहेको विभेद हो । भूगोलको हिसाबमा केन्द्रियताले मोफसललाई गरिरहेको विभेदको अन्त्य अहिलेको अपरिहार्य सत्य हो ।

मनुवादी नेपाली समाजमा हिजो पनि विभेद थियो । आज पनि विभेद कायम छ । कथित तल्लो जात भएका कारण चुलो छोएको निहुँमा, धारा छोएको आरोपमा ज्यानै जाने घटना हामीले देख्दै र भोग्दै आएका छौँ । कथाकार अभिलाषी पञ्चायतकालीन समाज र अहिलेको समाजको चरित्र लगभग उस्तै देख्छन् । अहिलेपनि विभेदको मूल चरित्रमा कुनै पनि किसिमको बदलाव नआएको ठान्छन् । तर बाहिरी स्वरुपमा परिवर्तन भने आएको छ । हिजो धारा छुन दिइदैन थियो । छुट्टै हुन्थ्यो । मन्दिर प्रवेशमा रोक थियो । आज धारामा जान पाइन्छ । मन्दिरमा जान पाइन्छ । तर, विवाहको प्रसङ्ग, राज्यबाट प्राप्त सुविधा, समानुपातिक प्रतिनिधित्वको सवालमा विभेद कायम छ । जनसांख्यिक दृष्टिले हेर्दापनि वडा र गाउँपालिका, सुरक्षा, प्रशासनिक क्षेत्रमा नेतृत्व, अवसर र प्रतिनिधित्वको सवालमा ब्राह्मण र क्षेत्रीहरूको एकाधिकार कायम छ ।
पञ्चायतकालीन समयमा अस्तित्वको लडाइँ लडिरहेको वर्ग र समुदायले अहिले अधिकारको लडाइँ लड्ने तहसम्म आइपुगेको छ । त्यसो त ‘दहाड’ मा तत्कालीन राज्यसत्ताविरुद्ध विद्रोहको विगुल फुकेका पात्रका प्रसङ्ग पनि छन् ।

त्यतिमात्रै होइन विद्रोह गर्न खोज्दा तत्कालीन समाजले आवाज नै दबाईदिएको सामाजिक रुपमा बहिस्कृत हुनुपरेका उदाहरणसमेत छन् । कथा सङ्ग्रहभित्र सङ्ग्रहित ‘आफै’ नामक कथा एउटा दृष्टान्त हो । कथामा फलामको काम गर्ने कामी थरको एउटा युवा छ । ऊ निकै प्रतिभाशाली छ । कथा रुकुम पश्चिमको कालागाउँमा घटेको सत्य घटनामा आधारित छ । उनी एक दिन बाटोमा हिड्दै जाँदा एउटा चाँदीको सिक्का देख्छन् । सिक्का देखेपछि उनलाई लाग्छ, त्यो सिक्का म आफँै बनाउन सक्छु । यो सिक्का बनाउँछन् । विसं २०२२÷०२३ सालतिरको कुरा हो, ती युवाले बनाएको पैसा छाप्ने मेसिन प्रधानपञ्चले खोसीदिन्छन् । दुभाग्र्यवस पछि उनलाई कुष्ठरोग लाग्छ । ऊ समाजबाट बहिष्कृत हुन्छ । अर्कातिर त्यो युवाबाट प्रधानपञ्चले खोसेको पैसा छाप्ने मेसिन अर्कैको हातमा पुग्छ । त्यसपछि सिर्जना हुने द्धन्द्ध र त्यसको युवाको अवसानको निकै लामो प्रसङ्ग कथामा छ ।

गन्धर्व समुदायको सास्ती र दुःखान्त 

कूल १२ वटा कथा समावेश गरिएको सङ्ग्रहमा अन्तरजातीय विवाह पश्चात भोग्नुपरेका दुःख र सास्तीसमेत भेटिन्छन् । गन्धर्वका आर्तनादका कुराहरू समेटिएका छन्, कथा सङग्रहमा । यसै सन्दर्भमा अभिलाषी गन्धर्व समुदायमा हिजो र आज तात्विक भिन्नता देख्दैनन् । हिजोको समाजमा गन्धर्वसहित दलित समुदायलाई खुल्ला रुपमा विभेद गर्दथ्यो । कथामा अन्तरजातीय विवाहसँग सम्बन्धित एक गन्धर्व युवाको कथा समावेश छ । कथाको शीर्षक हो, ‘ताना’ । त्यो गन्धर्व गीत गाउनमा अत्यन्तै सिपालु छ । उसको उपल्लो जातिकी केटीसँग प्रेम विवाह हुन्छ । विवाहपछि उनीहरू गाउँबाट भाग्छन् । टाढाको गाउँ नजिकैको खोला नजिक छाप्रो बनाएर उनीरू बस्छन् । निकै प्रतिभाशाली ऊ गीतका माध्यमबाट शास्त्रीय कुराहरुरू अभिव्यक्ति गर्छ ।  बुढ्यौली उमेरतिर उनीहरूको एउटा छोरा जन्मिन्छ । कालान्तरमा उसले गीत गाउन छोड्छ, तर सारङ्गी बोक्न भने छोड्दैन । उनको लक्ष्य भने छोरालाई गायक बनाउने हुन्छ । छोरालाई गायक बनाउन नै लागि वर्षौँ पुराना गीतहरूको सङ््ग्रह गर्छ । छोराको लागि नयाँ सारङ्गी बनाउँछ । छोरापनि हुर्कदै जान्छ । बिडम्बना छोरो ठूलो त हुन्छ, तर लाटो जन्मिन्छ । त्यो स्थितिमा त्यो गन्धर्वले आफ्नोे सपनामाथिको ब्रजपात कसरी सह्यो होला ? अभिलाषीका कथामा वर्ग, समाजबाट मात्रै होइन राज्य भाग्य र नियतिले ठगेका पात्रहरुसमेत भेन्टिन्छन् । राजनीतिक, सामाजिक विभेद, विद्रोहमात्रै होइन मानवीय संवेदनाका कथासमेत ‘दहाड’ मा छन् ।

नलेखिएका र नभनिएका कथा छन् दहाडमा ?

नेपाली भाषाको विकासक्रमका मुख्यगरी तीन चरण देखिन्छन् । यी हुन्, प्राचीन, मध्यकालीन र आधुनिक नेपाली भाषा । एघारौ शताब्दीदेखि १०३८ प्रारम्भ भएर विक्रमको सोह्रौ शताब्दीको मध्ये झण्डै १५५५ सम्मको नेपाली भाषालाई प्राचीन भाषा भनिन्छ । १६औँ शताब्दीको १५५५ को मध्येदेखि २० औँ शताब्दीको १९५८ को मध्यसम्मको अवधि नेपाली भाषाको मध्यकाल हो । यसैगरी, नेपाली भाषाको आधुनिक काल विसं १९५८ सालमा गोरखापत्रको प्रकाशनसँगै प्रारम्भ भएको हो । यसैगरी, नेपाली कथाको सुरुवात दन्त्यकथा, पुराण, धार्मिक, आख्यान, उखान, टुक्का र गाउँघरका किस्साहरूबाट भएको मानिन्छ । पछि नैतिक, सामाजिक, आदर्श र सुधारवादी सोचबाट अघि बढ्दै सामाजिक यर्थाथवाद, मनोवैज्ञानिक, अस्तित्ववादी, प्रगतिवादी तथा परिवर्तनमुखी हुँदै समकालीन अवस्थासम्म आइपुग्दा बहुआयमिक विधाको मानक नेपाली कथाले बनाएको छ । नेपाली कथा लेखनको वर्तमान प्रवृत्तिबारे अभिलाषी आफ्नो संयोग सुनाउँछन् । उनी पत्रकारिताको शिलशिलामा कोहलपुर आएपछि २०७९ मा उनी बाह्रखरी कथा लेखन प्रतियोगितामा प्रथम भए । त्यसपछि उनलाई कथाको बारेमा सोध्न थालियो । अन्र्तवार्ताका क्रममा नेपाली कथा लेखनको अवस्थाबारे प्रश्नहरू सोधिन थालेपछि आपूmले पढेका र जानेका आधारमा उत्तर त दिए तर उनलाई भित्र–भित्रै लाग्न थाल्यो–मैले त कथाका बारेमा धेरै कुरा जान्न र पढ्न अझै बाँकी नै रहेछ । नेपालमा कथा लेखन कसरी सुरु भयो रुविगतमा कस्ता कथा लेखिए रु अहिले कस्ता कथा लेखिदैछन् रु भन्ने अध्ययन गर्न थालेपछि कथा लेखनमा रुची बढ्न थाल्यो  ।

उनले थपे –लेख्न त धेरै कथा लेखिएका रहेछन् । ती कथाहरूकहाँँबाट लेखिए भन्ने कुरा मुख्य हुँदो रहेछ । कसले लेख्यो भन्ने कुराले पनि अर्थ राख्दो रहेछ । कथाको अध्ययनले उनलाई कथामा जे कुरा आउनुपर्ने थियो त्यो आएकै रहेन रहेछ भन्ने लाग्यो । ‘नेपाली कथामा मधेश, महिला, दलित, वादी, गन्धर्वका कथा त लेखियो रु तर त्यो कुरा कसले लेख्यो रुभन्ने कुरा प्रमुख हुँदो रहेछ । भारतका साहित्यकार ओमप्रकाश बाल्मिकीले भनेका छन्, ‘लेख्न त जसले पनि लेख्छ । त्यो मात्रै लेखनको स्वाद हुन्छ । अनि मात्रै प्रमाणित अभिव्यक्ति हुन्छ ।’ उनी बडो विश्वासका साथ दाबी गर्छन्, ‘म एउटा सार्की हुँ । एउटा सार्कीको दलन र उत्पीडनको कथा सार्कीले भन्यो र लेख्यो भन्ने प्रमाणित अभिव्यक्ति हुन्छ । महिलाको कथा महिला, वादीको कथा वादी र गन्धर्वको कथा गन्धर्वले भन्नुपर्छ । त्यो प्रमाणित अभिव्यक्तिले घन बजारेझैँ दिमागमा बजारेपछि वास्ततविक कथा बाहिरिन्छ । कम्तिमा गन्धर्व समुदायले भोगेको पीडा प्रमाणित रुपमा भन्न सक्दिन होला रु तर निकै नजिकसम्म पुगेर लेख्न सक्छु भनेर अघि बढेको हुँ ।  उनले आफ्नो कथामा विसं २०२१ देखि २०२९ सम्मको समयावधिमा झण्डै ६० प्रतिशत थारूहरू किन रु, कसरी रु र के कारणले रु विस्थापित भए भन्ने बारेमा उनले खोतल्ने प्रयास गरेका छन् । थारू समुदाय त्यतिबेलाको जमिनदार, मालिक र प्रधानपञ्च र भूमिपतिहरूको चरम सिकार भयो । राणाकालीन समयसम्म आईपुग्दा थारू समुदायले दाङमा जङ्गल फाँडेर खेत बनाए । बस्ती बसाले । तर जब सल्यान, रुकुम र रोल्पाबाट बसाइँसरी आएर काठमाडौँ पुगेर थारूहरूको जग्गा नाममा बनाएर लालपूर्जासहित लालमोहर लिएर आएपछि उनीहरू बुह्रान आउने भए ।

‘सिंहुर’ नामक कथामा थारूमाथि भएको अत्याचारको कथा छ । त्यतिबेलाको समयमा जमिनदारबाट यौन उत्पीडनमा परेकी महिलामार्फत नेपाली लोकगीतको संवादशैलीमा कथा भनेर उनले नयाँ प्रयोगसमेत गर्ने प्रयास गरेका छन् । सङ्ग्रहमा ‘ऋतु’ शीर्षकको एउटा कथा छ । त्यो महिलामाथि हुने उत्पीडनको कथा हो । गाउँको कटवाल पुरुष पात्र छन् । उनको श्रीमती छैनन् । उनको छोरी छन् । तीनका ९ वर्षीय बालक छोरा छन् । गाउँले बाउलाई, बाउले छोरीलाई, छोरीले बच्चा र बच्चाले गोरुलाई टोकल्छ । कथाको अन्तिमसम्म पाठकका आँशु झर्छन् । ‘मौलामा बाँधिएको राँगो’, ‘एकात्म’ र ‘ईश्वरको अस्तिपञ्जर’मा भन्न नसकेका र समाजको कुरा कथामार्फत भूमिका बाँधेर, पात्रहरूलाई सिंगारेर अझ वृहत रुपमा उनी पोखिएका छन्, ‘दहाड’ मा ।  ‘दहाड’ कथा सङ्ग्रहका लागि कथाकार नविन अभिलाषीलाई बधाई ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार