झरीले जलमग्न नेपालगन्ज (फोटोफिचर)



बुधबार बिहान परेको झरीले डुवानमा परेको नेपालगन्जको सेतु विक चोक क्षेत्र ।             तस्बिरः सामाजिक सञ्जाल

नेपालगन्ज ।

नेपालगन्जमा बुधबार बिहान करिब एक घण्टा परेको पानीले मुख्य बजार क्षेत्र जलमग्न भयो । नेपालगन्जको मुख्य सडक सुर्खेत रोडमै पानी भरियो । धम्बोझी चोकमा पनि पानी भरिएर सडकमै बग्न थाल्यो । सडकबाट नालामा पानी खस्न पर्याप्त निकासको व्यवस्था नहुँदा सडकमै पानी बगिरहको देख्न सकिन्थ्यो ।

घरबारी टोलमा त पसलहरु भित्रै पानी पसेपछि एकाबिहानै व्यापारीहरु बाल्टिनले पानी बाहिर फालिरहेका भेटिए । अधिकांश पसलहरुभित्र पानी पसेको थियो । स्थानीय व्यापारीहरु घरबारीटोलको नाला समयमा सफा नगरिँदा समस्या आएको बताइरहेका थिए ।

उनीहरुले ठाउँ–ठाउँमा पानीको निकासका लागि ढक्कन खोलेर हेर्दा प्लाष्टिकले थुनिएको भेटिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले घरबारी टोलमा पचास प्रशिशत पसलमा पानी पसेको पाइएको बताए ।

यसैगरी न्यूरोड क्षेत्र पनि डुबानमा प¥यो । जुन क्षेत्रमा पनि यसवर्ष नाला नै सफा गरिएको थिएन । न्यूरोडको नाला निर्माण गर्दा नै गल्ती गरिएको थियो । त्यस सडकमा सफा गर्न मिल्ने ढक्कन नै राखिएको छैन । स्थानीय व्यापारीहरुले नाला सफा नगरिँदा नै डुबानको समस्या निम्तिएको बताएका छन् ।

यसका साथै सुर्खेत रोड कर्णाली विकास बैंक अघि रहेको पुलमा पनि अवरोध भएर पानीको पर्याप्त निकास भइरहेको थिएन । उक्त ठाउँमा निकास थुनिँदा नेपालगन्जको अधिकांश क्षेत्रमा डुबानको समस्या निम्तने गरेको छ । सडक बिस्तारका क्रममा पहिले रहेको पुलमाथि नै ढलान गरिँदा त्यस ठाउँमा पानीको निकास साँघुरो छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ४ गते बुधबार