नजिकियो दसैं, सुध्रिएनन् कोहलपुरका सडक



‘दसैँतिहारलगायतका महŒवपूर्ण चाडपर्व नजिकिँदैछन् । आफन्तहरु आउँछन् । बाहिरका मान्छेहरु आउँछन्,’ अर्का स्थानीय कृष्ण बटलाले भने, ‘सवारी राम्रोसँग चल्ने अवस्था छैन । यसमा वडा सरकारले ध्यान दिनुपर्छ ।’

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुरस्थित चप्परगौडी हुँदै मसुरीखेत पुग्ने सडक हिलाम्मे छ । खाल्डाखुल्डीले यात्रालाई जोखिम र असहज बनाएको छ । वर्षामा पानी जमेर सडकको अवस्था जीर्ण बनेको छ । यस्तै वडा नम्बर १० हुँदै वडा नम्बर ६ रझेना जोड्ने बाटोको अवस्था पनि दर्दनाक छ । दुई महिनामै कालोपत्रे उप्किएपछि सडक खाल्डाखुल्डीमा परिणत भएको छ । यतिमात्र होइन जिल्लाका अधिकांश ग्रामीण सडक मर्मत हुन सकेका छैनन् । भित्री सडकहरु मर्मत नहुँदा दसैँतिहारमा घर आवतजापत गर्ने तथा अन्य स्थानीयलाई सकस भएको छ ।

नेपालीका महान् पर्व नजिकिँदै गर्दा गाउँघरमा सडकहरु मर्मत गर्नुपर्ने हो तर, यहाँका पालिका तथा वडाले कुनै चासो देखाएका छन् । ‘दसैँ नजिकिँदै गर्दा आफन्तजनहरु गाउँघरमा फर्किन थाल्नु भएको छ,’ वडा नम्बर १२ की स्थानीय शान्ति सुनारले भनिन्, ‘हामी पनि किनमेलका लागि बजार निस्किनु पर्छ । बाटो मर्मत भएका छैनन् ।’ चाडपर्वहरु नजिकिँदै गर्दा बाटाहरु मर्मत हुनुपर्ने उनी बताउँछिन् । शान्तिका अनुसार सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम रहेको छ ।

उनले भनिन्, ‘यहाँको सडक जीर्ण भएको धेरै भइसक्यो । स्थानीय सरकारले ध्यान दिन सकेको छैन । छिटोभन्दा छिटो सडक मर्मत तथा स्तरोन्नति गर्न आग्रह गर्न चाहन्छुँ ।’ उक्त सडकका विभिन्न ठाउँमा ठूल्ठूला खाल्डाका कारण हिँड्नसमेत असहज हुने स्थिति रहेको छ । त्यसमाथि वर्षा हुँदा खाल्डामा पानी जमेर पैदल यात्रीहरुलाई सास्ती व्यहोर्ने अवस्था रहेको सागर भण्डारीले बताए ।

‘दसैँतिहारलगायतका महŒवपूर्ण चाडपर्व नजिकिँदैछन् । आफन्तहरु आउँछन् । बाहिरका मान्छेहरु आउँछन्,’ अर्का स्थानीय कृष्ण बटलाले भने, ‘सवारी राम्रोसँग चल्ने अवस्था छैन । यसमा वडा सरकारले ध्यान दिनुपर्छ ।’ उनले भने, ‘घाम लाग्यो धुलाम्मे हुन्छ, पानी प¥यो हिलाम्मे । पानी परेपछि मोटरसाइकल र साना सवारीसाधनका यात्रुलाई यात्रा गर्न ठूलै संघर्ष गर्नुपर्छ ।’ गोरेटो, कच्ची सडक, ग्राबेल हुँदै पिच तथा ढलान गरेर सडक निर्माण गरिएका छन् । नागरिकले सेवा त पाएका छन् । तर, बिग्रेका सडक बेलैमा मर्मत नगर्दा चालक र यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

वडा नम्बर ३ को कार्यालय पुग्ने बाटो पनि राम्रो नभएको भीमप्रसाद न्यौपानेको भनाइ छ । यता स्थानीय सरकारका जनप्रतिनिधिहरु भने जीर्ण अवस्थामा रहेका सडक आफ्नो प्राथमिकतामा रहेको बताउँछन् । वडा नम्बर १० की वडाध्यक्ष गौराकुमारी अधिकारी चालू आर्थिक वर्षमा वडाले ग्रामीण सडक निर्माणलाई प्राथमिकता दिएको बताउँछिन् । वर्षायामको समस्या भएका गुनासा आइरहेको भन्दै आफू जनताको समाधान गर्न तत्पर अवस्थामा रहेको उनले बताइन् ।

वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह आफूले कार्यकाल सम्हालेदेखि जनताका आधारभूत समस्या समाधान गरिरहेको बताए । उनले आफ्नो सय दिन कार्यकालमा ग्रामीण सडकलाई प्राथमिकता दिएर काम गरेको बताए । उनले एक सय ७० मिटर बाटो पीच गरिएको बताए ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधबार