नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जबाट कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुँदै आएको रेमडिसिभिर चर्को मूल्यमा बिक्री गर्ने दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुधबार बिहान दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–८ का २३ वर्षीय मोहम्मद जावेद अनसारी र नेपालगञ्ज उप–महानगरपालिका–११ का २५ वर्षीय अंश भन्ने हारुन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनीहरुले दुई भायल रेमडिसिभिर रु २५\२५ हजारमा विक्री गरिरहेको अनुसन्धानबाट खुलेको उनले दाबी गरे ।
उनीहरुले पुष्ठभूमिबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । यस्तै बाँके प्रहरीले भेरी अस्पतालको फार्मेसीलाई रेमडिसिभिर बिक्री गर्न रोक लगाएको छ । रेमडिसिभिर कालोबजारी गरेको अभियोगमा दुईजना पक्राउ परेपछि उनीहरुको बयानका आधारमा अस्पतालको फार्मेसीलाई रेमडिसिभिर बिक्री नगर्न प्रहरीले मौखिक निर्देशन दिएको हो ।
उक्त रेमसिभिर उनीहरुले भेरीको अस्पताल फार्मेसीबाट लगेको बयान दिएको प्रहरीले जनाएको छ । भेरीसँग अहिले ३२ भायल रेमसिडिसिभर बाँकी छ ।
केही दिन अघि भेरीले १ सय ९८ भायल रेमडिसिभिर पाएको थियो । रेमडिसिभिर विक्री रोकिएपछि अरु डोज लगाउन बाँकी भएका विरामी भने मर्कामा परेका छन् । सरकारले कोभिड डेडिकेटेड अस्पताललाई मात्र रेमडिसिभिर इन्जेक्शन दिने गरेको छ ।
भेरी अस्पतालको विरोध
यसैबीच भेरी अस्पतालले प्रहरी प्रशासनबाट अस्पतालका कर्मचारीमाथि हत्तोसाहित गर्ने काम भएको भन्दै विरोध गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाद्धारा जारी विज्ञप्तीमा अनुगमनका नाममा प्रहरी प्रशासनबाट कर्मचारीलाई हत्तोसाहित गराउने काम भएको भन्दै त्यसको भत्र्सना गरिएको हो । बाँके प्रहरीले फार्मेसीकै कर्मचारीबाट ती रेमडिसिभिर बाहिरिएको एकिनबारे अझै अनुसन्धानबाट भइरहेको जनाएको छ ।
अस्पतालले प्रहरीको आदेश अनुसार बाँकी रेमडिसिभिर विक्री गर्न नसकिने जानकारी गराएको छ ।
विज्ञप्तीमा भनिएको छ , ‘विगत केही दिन यता भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचारार्थ अहेरात्र खटिनुभएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु माथि सेवाग्राहीका आफन्तहरुले हातपात र दुव्र्यवहार गर्ने र अर्को तिर प्रहरी प्रशासनबाट पटक पटक अनुगमनका नाममा कर्मचारीहरुलाई हत्तोसाहित गरिरहेको श्रृंखलामा आज पुनः जिल्ला प्रहरीको टीम विना कुनै जानकारी अस्पतालको फार्मेसीमा प्रवेश गरेको घटनाप्रति भत्र्सना गर्दछौं’ ।
तर बजारमा कालोबजारी बढ्दै गएको गुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको छ । यस्तो संकटमा पनि औषधिजस्तो संवेदनशील बस्तुमा कालोबजारी बढेपछि नागरिकहरु आक्रोसित छन् ।









प्रतिक्रिया दिनुहोस्