विश्व महामरीका रुपमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण मानिसको शारीरिक स्वास्थ्यसँगै मानसिक अथवा मनोसामाजिक स्वास्थ्यमा समेत असर पारेको छ । यसको संक्रमण लाग्ने हो कि भन्ने त्रासका कारण मानिसमा विभिन्न मनोसामाजिक असरहरु डर, चिन्ता, तनाव जस्ता असरहरु देखा पर्ने गरेका छन् । यसले मानविय स्वास्थ्यमा कस्तो खालका दिर्घकालिन असरहरु निम्त्याउन सक्छ भन्ने विषयमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत नशा तथा मनोरोग विषेशज्ञ डा.ऋत पौडेलसँग यानबी साहुले गरेको कुराकानी :
१. कोरोना संक्रमणका कारण मानिसहरुमा कस्ता खालका मनोसामाजिक समस्याहरु देखिने गरेको छन् ?
विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि अचानक देखाप¥यो । संक्रमण यसरी देखिएला अथवा देखिएमा के गर्ने भन्ने बारेमा कुनै तयारी नभएको अवस्था थियो । नेपालमा पनि यसको संक्रमण अचानक महामारीका रुपमा देखापरेपछि सरकारले करिब ६ महिना देशभरी लकडाउन जारी ग¥यो । लकडाउनका कारण व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, शिक्षण संस्था लगायत सबैजसो क्षेत्र सबै बन्द हुँदा मानिसहरु घरभित्रै बस्न बाध्य भए, काम गर्नेहरु काममा जान पाएनन्, विद्यार्थीहरु विद्यालय जान पाएनन्, व्यापारीहरुले आफ्नो व्यवसाय चलाउन पाएनन् । यसले गर्दा कोरोना आफूलाई पनि लागिहाल्ने हो कि भनेर मानिसमा डर, त्रास, चिन्ता लाग्ने, मनमा अनेक किसिमका कुराहरु खेल्ने, निद्रा नलाग्ने, आत्तिने जस्ता समस्याहरु बढी देखिने गरेको छ । यसका साथै उदासिपना देखापर्ने, अन्यौलता जस्ता समस्याहरु देखा परेको छ । यो विस्तारै बढ्दै गएर मनोसामाजिक तथा डिप्रेसनकै रुपमा देखा पर्न सक्छ ।
२. यसले बालबालिका, बृद्धबृद्धा तथा दिर्घरोगीहरुमा बढी असर गर्छ कि सबै मानिसहरुमा उत्तिकै असर गर्छ कि ?
यो समस्या सबैमा देखिन्छ । किनभने कोरोनाको त्रास सबैमा छ । तर कुन मानिसले कत्तिको ग्रहण गर्न सक्छ भन्नेमा पनि भर पर्दछ । त्यसैले विषेश गरेर यसले बालबालिका, बृद्धबृद्धा, दिर्घरोगीहरुलाई बढी असर गर्ने गरेको पाइन्छ । जो पहिले देखि नै सुगर, डाइविटिस्, प्रेसरका विरामी छन्, त्यस्ता व्यक्तिहरुलाई बढी असर गर्दछ भने हिड्डुल गर्न नसक्ने अथवा अरुको सहारामा हिड्नु पर्ने अवस्थाका वृद्धवृद्धाहरुलाई पनि यसले असर गर्छ । त्यसका साथै बालबालिकाहरुलाई पनि यसले बढी असर गर्ने गरेको पाइएको छ । अहिले शैक्षिक संस्थाहरु पनि बन्द रहेकोले घरमै बस्ने खाने गरेका बालबालिकाहरु विद्यायल खुले पनि विद्यालय जान नमान्ने, पढाइतिर मन नजाने पनि हुन सक्छ । त्यसकारण यसले बालबालिका, बृद्धबृद्धा र दिर्घरोगीहरुलाई बढी असर गर्ने गरेको पाइन्छ ।
३. सामाजिक रुपमा कस्तो प्रभाव वा असर पार्ने गरेको पाइन्छ ?
मानिस एउटा सामाजिक प्राणी हो । समाज विना मान्छलाई बाँच्न गाह्रो हुन्छ । मानिसलाई समाजमा रहेका हरेक मानिसहरुको साथ सहयोग चाहिन्छ । कुनै पनि कामहरु गर्दा साथीभाई, ईष्ठमित्र, आफन्त सबै चाहिन्छ । तर कोरोनाका कारण त्यसको ठ्याक्कै उल्टो भएको छ । एक्लै बस्नु परेको छ । साथीभाइ, ईष्ठमित्रसँग भेटघाट गर्न पाइएको छैन । मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन पाइएको छैन । मास्क लगाएर कोठामै बस्नु पर्ने बाध्यताले गर्दा विभिन्न खाले व्यक्तिगतसँगै सामाजिक समस्याहरु देखा पर्न सक्ने अवस्था रहन्छ ।
४. बालबालिकामा देखा पर्ने मनोसामाजिक तथा मनोवैज्ञानिक समस्याहरु समाधानका लागि अभिभावकको भूमिका कस्तो रहन्छ ?
अभिभावक भनेको बालबालिकाहरुको लागि पहिलो शिक्षक वा पाठशाला हो । त्यसकारण बालबालिकाहरुमा देखा पर्ने मनोवैज्ञानिक समस्याहरु समाधानका लागि पनि अभिभावकको एकदमै महत्वपूर्ण भुमिका रहन्छ । अहिले विद्यालय बन्द रहेको अवस्थामा पनि उनीहरुले आफ्ना बालबालिकाहरुलाई टाईमटेवल अनुसार पढ्ने, खेल्ने र खाने वातावरण बनाइदिनु पर्ने हुन्छ । ताकि विद्यालय खुल्दा पनि उनीहरु विद्यालयमा गएर सहजै पढ्न सकुन । त्यस्तै बालबालिकाहरुका आ–आफ्नै रुची, चाहानहरु हुन्छन्, कसैको कविता लेख्ने रुचि हुन्छ भने कसैको गित गाउने, कसैको चित्र कोर्ने रुचि हुनसक्छ भने कसैको विभिन्न खेलहरु खेल्ने । ति रुचि तथा चाहाना अनुसार उनीहरुका अभिभावकले समय मिलाई दिनुपर्ने हुन्छ । त्यो अनुसार वातावरण भएन भने विद्यार्थीहरुले पढ्नमा पनि रुचि नराख्न सक्ने हुन्छ ।
५. कोरोना कहरको समयमा मानिसहरुले आफ्नो दिनचर्या अथवा पेशा व्यवसायलाई कसरी निरन्तरता दिइरहेका छन् ?
केरोनाको त्रास कायमै रहेको भएपनि पछिल्लो समय लकडाउन खुलेको छ । व्यापार, व्यवसाय, यातायातका साधनहरु सञ्चालनमा आएका छन् । त्यसले नागरिकहरुको दिनचर्यामा केहि सहजता त आएको छ । तर व्यपार व्यवसाय गर्ने मानिसहरुलाई व्यवसाय सञ्चालनमा आएपनि लामो समयको लकडाउनका कारण भएको घाटालाई कसरी पूर्ति भन्ने चिन्ता उहाँहरुमा छ । यसमा म उहाँहरुलाई के भन्न चाहन्छु भने यो समस्या भनेको तपाईहरुको मात्रै होइन, कुनै एक व्यक्तिको मात्रै समस्या नभएर यो सबैको साझा समस्या हो । यो महामारीले सबैलाई नोक्सान वा घाटा पु¥याएको छ । कसैलाई धेरै त कसैलाई थोरै । तर सबैलाई घाटा लागेको छ । यसबाट पार पाउन सबैले यसविरुद्ध डटेर अगाडी बढ्न जरुरी छ ।
६.कोरोना संक्रमणका कारण मानसिक स्वास्थ्यमा दिर्घकालिन रुपमा असर पर्ने सम्भावना कति हुन्छ ?
मानसिक स्वास्थ्यमा यसको दिर्घकालिन असर पर्न सक्छ । कोरोनाको समस्यालाई जसले ग्रहण गर्न सक्दैन, सहन सक्दैन, त्यस्ता व्यक्तिहरुमा दिर्घकालिन असर पर्न सक्छ । मानिसको सहनशिलता सबैको आ–आफ्नै हुन्छ । सहनशिलता कम भएका व्यक्तिहरुलाई निद्रा नलाग्ने, आत्तिने, उदासिनता, डिप्रेसन जस्ता असरहरु मनोवैज्ञानिक रोगकै रुपमा दिर्घकालिन देखा पर्न सक्ने सम्भावना हुन्छ । त्यस्तै बालबालिकाहरुमा कोरोनाको त्रासका कारण पढ्न मन नमान्ने, पढेका कुराहरु पनि छिटो बिर्सने समस्याहरु देखा पर्न सक्ने सम्भावना हुन्छन् ।
७. कोरोनाका कारण मानविय स्वास्थ्यसँगै आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा कस्तो समस्या परेको छ ?
कोरोना कहरका कारण मुलुकका सबैजसो क्षेत्रमा असर परेको छ । यातायात, कलकारखाना, व्यापार, व्यवसाय ठप्प हुँदा मानिसको दैनिकिदेखि लिएर देशको आर्थिक क्षेत्रमा समेत ठूलो असर परेको छ । भर्खरै व्यवसाय सुरु गरेका कयौँ व्यवसायीहरुले आफ्नो लगानी पनि उठाउन नपाएको अवस्था छ । यातायात क्षेत्रमा आवद्ध व्यवसायी तथा मजदुरहरुको अवस्था पनि त्यस्तै छ । यस्ता यावत कुराहरुले आर्थिक क्षेत्रमा ठूलो धक्का लागेको छ भने सामाजिक रुपमा विभिन्न विकास निर्माण ठूलो योजनाहरु निर्माण हुन सकेनन् । देशमै भएका स्रोत साधनहरु पनि प्रयोग हुन नसकेर खेर गएको अवस्था रहेको छ । साथै कोरोनाकै कारण हाम्रो मौलिक चाड, पर्वहरु पहिले जस्तो गरेर रमाइलो र परम्परागत रुपमा मनाउन नसकिरहेको अवस्था छ ।
८. मनोवैज्ञानिक असरहरु देखिएमा व्यक्रिहरुको उपचार विधिहरु के छन् ?
उनीहरुलाई औषधी र मनोपरार्मश दुबै माध्यमबाट औषधी गर्ने गरिन्छ । कुनैलाई औषधी मात्रै सवन गरेर पनि सन्चो हुन्छ भने कुनै व्यक्तिलाई औषधी र परार्मश दुबै माध्यमबाट उपचार गर्नु पर्ने हुन्छ । जस्तो व्यक्तिलाई चिन्ता, तनाव, डरका कारण निद्रा नपर्ने समस्या देखिने हुन्छ । त्यस्तो व्यक्तिलाई सामान्य निद्राको औषधी दिएर पनि ठिक हुन्छ । आत्तिने, डराउने, उदासिनता वा डिपे्रसन मात्रै भयो भने पनि औषधी सेवन गरेर निको हुन्छ भने त्यो रोग कै रुपमा देखियो भने औषधीसँगै सल्लाह, सुझाव, परामर्श तथा साइकोथेरापीको माध्यमबाट पनि उपचार गरिन्छ ।
९. मनोवैज्ञानिक डर, त्रास, चिन्ता, तनाव, भय जस्ता समस्याहरु कसरी हटाउन सकिन्छ ?
अहिलेको कोरोना सन्दर्भलाई मात्रै हेर्ने हो भने मानिसहरु लामो समयदेखि घर बाहिर निस्कन नपाएको अवस्था छ । यसलाई नकारात्मक रुपमा नलिएर सकारात्मक रुपमा लिनु पर्छ । परिवारका सदस्यहरुले एकले अर्कोलाई राम्रोसँग बुझ्ने मौका पाएका छौँ । घर परिवारको रेखदेख गर्न पाइएको छ । जागिर जान्छ कि ? अथवा पेशा व्यवसायमा घाटा हुन्छ भनेर चिन्ता नलिएर सकारात्मक सोच राखेर तनावहरु कम गर्न सकिन्छ । त्यसका साथै घरमा बसेको समयमा पनि आफ्नो रुचि अनुसार चित्र बनाउने, कविता लेख्ने, गित गाउने, लेख्ने, किताबहरु पढ्ने लेख्ने जस्ता कार्यहरुले मानसिक रुपमा आउने तनावहरु कम गर्न सकिन्छ ।
१०. अन्त्यमा आम नागरिकहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
अन्त्यमा म के भन्न चाहन्छु भने लकडाउन खुले पनि कोरोनाको जोखिम अझै पनि कायमै छ । अनावश्यक काममा घर बाहिर ननिस्कौँ, निस्कने परेमा मास्कको अनिवार्य प्रयोग गरौँ । घरमा बस्दा पनि व्यक्तिगत र पारिवारिक स्वास्थ्यमा विषेश ख्याल गरौँ । कुनै पनि काम गर्दा साबुन पानीले हात धुने गरौँ । स्वस्थ ताजा खाने कुराहरु सेवन गरौँ । भिडभाड हुने ठाउँमा नजाऔँ । जानै परे भौतिक दूरी कायम राखौँ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ । धन्यवाद !









प्रतिक्रिया दिनुहोस्