महानन्द ढकाल
‘मृत्युगञ्जको मौनता’ पढ्दै थिएँ । छोरी अनुरिका नजिकै आइन् र प्रश्न गरिन् ‘बाबा, कविता भनेको के हो ? कसरी लेख्छन् ? प्रश्न सजिलो थियो । उत्तरहरूले चित्त बुझाउने कोशिष गरें तर उत्तर सोचेभन्दा कठिन लाग्यो आफैलाई । कविता कसरी सजिलो हुन सक्छ ? यदि सजिलो हुन्छ भने सबैले किन कविता लेख्न सक्दैनन् ? प्रश्न आपैmसँग ठोक्कियो । वास्तवमा कविता के हो ? कसरी लेख्छन् ? कविता र कविको सम्बन्ध कस्तो हुनुपर्छ ? कविता जस्तो कवि भएन भने के हुन्छ ? अर्थात कविले लेख्ने कविता कविको जीवनसँग मेल खानु पर्छ कि पर्दैन ? अझ सोझो अर्थमा भनौं सम्पन्नले विपन्नको कविता लेख्यो भने के हुन्छ ? शोषकले शोषितका कविता लेख्नु कति न्यायसङ्गत हुन्छ ? अपराधीले न्यायको कविता लेखेको सुहाउँछ कि सुहाउँदैन ? कविमा कोमलता हुनुपर्छ कि पर्दैन ? कतिपय प्रश्नहरू अनुत्तरित छन् मसँग । शब्द थुपार्दैमा कसरी कविता बन्न सक्छ ? कोरा कल्पना कसरी कविता हुन सक्छ ? कोमलता विनाको कवितालाई कसरी कविता मान्ने ? पूmल जस्ता कोमल शब्दहरूको प्रहारले पत्थरको जस्तो चोट दिन सके पो कविता । फेरि सोच्छु कोमल कविताहरू कसरी समाज परिवर्तनको संवाहक बन्न सक्छन् ? यो प्रश्न पनि मनको एक कुनामा सुरक्षित बसेको छ ।
कविता अभिव्यक्तिको सुन्दर कला हो यसमा विमति हुनुपर्ने केही छैन । निपूर्ण कुचिकारले निमार्ण गरेको सुन्दर चित्र हो कविता । कविता पढ्दै गर्दा सिङ्गो तस्विर झल्किएन भने कविताले आनन्द दिनै सक्दैन । कविता कविता जस्तो हुन गम्भीर अध्ययन चाहिन्छ । विम्ब प्रतीक र अलङ्कारको सही सन्तुलन चाहिन्छ । मुरलीमा मिलाएर ठेडो नराखे मिठो स्वर कहाँ निस्कन्छ र ? यस्तै हो कविता पनि । शब्दको तालमेल नमिल्ने हो भने कविता शब्दहरूको डङ्गुर बन्छ । वास्तविक धरातलमा उभिएका कविताहरूको आयु नै हो लामो हुने । लेख्नका लागि लेखिएका कविताहरूले सङ्ख्या त बढाउँछ तर सम्बन्ध बढाउँदैन ।
साहित्यिक यात्रा धेरैले कविताबाटै सुरु गर्छन् । सुरुसुरुमा सबैले गर्ने उस्तै हो । भावना पोख्ने । शब्द थुपार्ने । जब कविताप्रति प्रेम चल्छ सामिप्यता बढ्छ तब कवितासँग तर्सन्छन् धेरै साहित्यकारहरू । कवि बन्नुको कठिनाइ बुझेपछि कि त बाटो छोड्छन्, कि त बाटो मोड्छन् । खारिएर बचेकाहरूले मात्रै कवितालाई निरन्तरता दिन्छन् । हजारौं कविहरू मध्ये सीमित कविहरू स्थापित हुनु पछाडिको राज पनि यही हो । कविता बुझ्न कठिन छ । बौद्धिक पाठकहरूको अपेक्षा गर्ने कविता लेख्न झन कठिन छ । त्योभन्दा पनि कठिन छ कविता लेखेर स्थापित हुन । कविताको प्रसङ्गमा जोडिएर आयो ‘मृत्युगञ्जको मौनता’ र केशव निमेषको काव्यिक यात्रा । कविताको कठिन यात्रामा निस्किएका छन् केशव निमेष । पछिल्लो समय निमेषको कविता सङ्ग्रह बजारमा आएको छ ‘मृत्युगञ्जको मौनता’ । उनको यो पहिलो कविता कृति हो अर्थात पहिलो यात्रा हो । उनले टेकेको पहिलो पाइला कत्तिको दह्रो छ त्यसैको आधारमा उनले तय गर्ने यात्राको दुरी निधारण हुने भएकोले यो पाइलाको महत्व अलिक बढी ने रहने गर्दछ । ‘मृत्युगञ्जको मौनता’ कविता कृतिको साजसज्जा, आकार–प्रकार लोभ लाग्दो छ । रसिक राजको आवरणलाई बाबु महर्जनले गरेको कभर÷लेआउट डिजाइन लोभ लाग्ने देखिएको छ । पाठकहरूको मन तान्न कृतिको आवरण सुन्दर हुनुपर्छ नै । आवरण हेरेर पनि पढुपढु लाग्यो भने मात्र पनि पाठकहरूले कृतिलाई महत्वका साथ हेर्ने गरेको अनुभव छ मसँग । यो सन्दर्भमा केशव निमेष सचेत देखिएका छन् । केशव निमेषको कविता कृतिलाई सङ्केत गर्दै एकजना राम्रो छन्दमा कविता लेख्ने कवयित्रीले भन्नुभयो ‘जमाना यस्तै कविताहरूको छ ।’ उहाँको कविता सङ्ग्रह प्रकाशन भएको धेरै भएको थिएन । कविताहरू राम्रो लेख्नुहुन्छ मैले पढेको छु तर उहाँको कृतिमा राम्रा कविताहरू भएर पनि जेजति चर्चा हुनु पथ्र्यो हुन सकेन । कारण धेरै हुनसक्थे । मलाई लागेको बाहिरी कारण आवरण, साजसज्जा, आकार प्रकार र कागज नै हो । कवयित्रीले सायद यो कुरा बुझ्नु भएको छ । कतिपय सुन्दर रचनाहरू भएका कृतिहरू कमसल आवरण भएकै कारण चर्चाभन्दा बाहिर रहेको अनुभव गरेको छु मैले । चेहेरा हेरेर चरित्र थाहा हुदैन । तर अहिलेको मानिस चेहेराको पछि लागेको छ । कस्मेटिक दुनियाको पछि दौडिएको छ । कृतिमतामा रमाएको छ सम्बन्ध पनि ।
फलाममा सुन लेपन गरेर बजार दौडिएका लेखकहरू केही समय चर्चामा आउन सक्छन् । पुरस्कार र दोसल्ला थाप्न सक्छन् । क्षणिक चर्चा लेखनमा जिन्दगी देख्नेहरूका लागि घातक हुनसक्छ । यो कुरा केशव निमेषले राम्रोसँग बुझेका छन् । कवितासँग खेल्न थालेको करिव दुई दशकपछि पहिलो कृतिका रुपमा ‘मृत्युगञ्जको मौनता’ बजारमा आएको छ । कृति प्रकाशनमा हतारिएको भए उनले एक दशक पहिला नै कविता कृति ल्याउन सक्थे । मुलतः कोहलपुरले जन्माएको कवि भएकोले उनले प्रयोग गरेको कविताको ‘क’सँग राम्रोसँग परिचित छु म । पूर्णिमाले खारेको स्रष्टा भएकोले सिर्जनाको स्तरीयतासँग परिचित छन् उनी । सम्बन्धले स्रष्टा बनेका केशव निमेषको साहित्यिक यात्राको आयतन लामो रहने सङ्केत ‘मृत्युगञ्जको मौनता’ले देखाइसकेको छ । ‘मृत्युगञ्जको मौनता’ औपचारिक रुपमा लोकार्पण भइसकेको छैन तथापि यो कृति कविताका पारखीहरूको हातहातमा पुग्न थालेको प्रमाण सामाजिक सञ्जालहरूले दिन थालेका छन् । जेजतिको हातमा पुगेको छ सबैबाट राम्रो प्रतिक्रियाहरू पढ्न पाइएको छ । कृतिको बोक्रो(आवरण) र गुदो दुबैमा दम भएकोले नै कृतिले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो । ‘मृत्युगञ्जको मौनता’ भित्र जम्मा ३४ ओटा कविताहरू रहेका छन् । जम्मा ८३ पृष्ठमा समेटिएको यो सङ्ग्रह भित्रका कविताहरूलाई तिन खण्डमा खण्डिकृत गरिएको छ । पहिलो खण्डमा ‘आक्रोषको आधीँ’, दास्रो खण्डमा ‘विचारको कारखाना’ र तेस्रो खण्डमा ‘स्मृतिका जलकुम्बीहरू’ रहेका छन् ।
केशव निमेषले आपूmले वाँचेको जिन्दगीबाट प्राप्त अनुभव, अनुभूति तथा ज्ञानलाई कविताको माध्यमबाट सार्वजनिक गरेका छन् । समाज र समुदायलाई केन्द्रविन्दुमा राखेर लेखिएका निमेषका कविताहरू अन्य कविताहरूभन्दा बढी सशक्त रहेको पाइन्छ । पहिलो खण्ड अन्र्तगत रहेको ‘आक्रोषको आधीँ’ खण्डभित्र जम्मा आठ कविताहरू रहेका छन् । यो खण्ड भित्रको पहिलो कविता हो ‘कायरहरुको सत्ता’ । यो कविता निकै दमदार छ । हामीले बुझेको सत्तासँग शक्ति र सम्पत्ति हुन्छ । आम नागरिकले बुझ्ने पनि यही हो । तर कविको बुझाई फरक छ । उनको विचारमा संसारको सबैभन्दा कायर वा कमजोर भनेको सत्ता नै हो । उनी भन्छन् सत्तालाई मानिसहरू भयानक सम्झन्छन् । बलशाली सम्झन्छन् । तर सत्ता आवाजहरूसँग डराउँछ र त हर्दम आवाजहरू दबाउने प्रपञ्च गरिरहेको हुन्छ । जुलुसमाथि प्रतिबन्ध लगाउँछ । जाबो पत्रिकाको हेडलाइन देखेर डराउने सत्ता कसरी शक्तिशाली हुनसक्छ ? भजनमण्डली नियुक्ति गरेर ‘अल्गोरिदम’ भित्राउने सत्ता आपैmमा कायर रहेको प्रमाण दिन्छन् कवि । कविको विचारमा सडक किनारमा ठेला चलाउनेहरू, पसिनाले माटो मुछेर जीवन उमार्ने किसानहरूलाई विद्रोही देख्ने, विद्यार्थीहरूलाई बागी र आतङ्ककारी देख्ने, युवालाई निर्यातका माल देख्ने सत्ता कदाचित शत्तिशाली हुनै सक्दैन ।
उनी लेख्छन् ः–
सडकमा कसैलाई नउफ्रिनु भन्ने
झण्डा, ब्यानर प्लेकार्डहरू नबोक्नु भन्ने
विज्ञप्ती, अपिल र घोषणापत्रहरू नछाप्नु भन्ने
कसरी शक्तिशाली हुनसक्छ–यो सत्ता ? (पृष्ठ–१२)
कवि भन्छन् कायरहरूले इतिहासको पुनर्निर्माण गर्न सक्दैनन् । कविको विचारले इतिहासको पुनर्निर्माण हुनसक्ने दाबी गछन् कवि । एक एक थोपा रगतले बदलिन सक्छ पुुरै राजनीति । एक कलम मसीले कोरीन सक्छ नयाँ समाजको चित्र र यही एउटा कविताले तहसनहस बन्न सक्छ कायरहरूको सत्ता भन्दै सत्तामा बसेर मत्ता बनेकाहरूलाई दह्रो झापट हानेका छन् कविले यस कवितामा । दिनको सङ्केत बिहानले गर्छ भने भैंm कविको पहिलो कविताले नै कवि केशव निमेशको लेखनको धार के हुनसक्छ ? उनले कसको पक्षमा शब्दहरू खर्चिएका होलान् भन्ने अनुमान गर्न सकिन्छ । उचाइ, कोरा सपना, एउटा गद्धारको डायरी, मलाई जवाफ चाहिन्छ, झिल्काहरूको योजना, मुखुण्डो विरुद्ध, वर्गसङ्घर्ष जस्ता कविताहरूमा कविका आक्रोशहरू सल्बलाएका छन् । समाज सबैको हो । समाजलाई मुठ्ठीभरकाहरूले डो¥याउन खोजेको कविलाई पटक्कै मन पर्दैन । हरेकले आआफ्नो जिन्दगी बाँच्ने हो । आफ्नो जीवनमाथि आफ्नै अधिकार हुनुपर्ने तर्क राख्दै अरूको अधिकारमाथि धावा बोल्नेहरूको विरुद्धमा उत्रिन आह्वान गर्दछन् । कवि जीवन र जमिनसँग घनिष्ट सम्बन्ध राख्दछन् । राष्ट्र र राष्ट्रियताप्रति उनको दृष्टिकोण स्पष्ट छ । सत्ताको शक्तिमा देशलाई बन्धक बनाउने शासहहरूप्रति आगो ओकल्छन् कवि । कुर्सीका लागि जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने नेताहरूप्रति व्यङ्ग्य गर्दै कवि लेख्छन् ः–
भन्नुस्
यो कुर्सीका लागि म तपाईँलाई
कुन माटो चढाऊँ ?
सुस्ता सेलाऊँ कि लिपुलेक लल्कारूँ ?
म त तयार छु– बुद्ध बेच्न पनि ।
(एउटा गद्धारको डायरीबाट, पृष्ठ–१९)
नेपालको नियती नै भन्नुपर्छ सत्ताको साँचो अर्कैको हातमा सुम्पिएर सत्ता टिकाउनेहरूले गण्डकी, कोशी र महाकाली बेचेको जिकिर गर्छन् कवि । सत्ताका लागि स्वाभिमान वा पहिचान गुमाउन पछि नपर्ने नेताहरूलाई उधारो सपनाहरू नबाड्न सचेत बनाउँछन् । सत्ताकै लागि शासकहरूले युवाहरू निर्यात गरेको, गुडियाभन्दा सस्तो भाउमा दिदी बहिनीहरू बेचेको प्रसङ्ग निकाल्दै कविले बचेको सगरमाथा बेच्न सक्ने भएकोले नेताहरूप्रति सचेत हुन आग्रह गर्दछन् । इतिहास हेरेर नेताहरूलाई प्रश्न गर्दै कविले भन्छन् ‘यो देशमा गरिवहरूको सरकार कहिले आउँछ ?’ पहिलो खण्डमा रहेका हरेक कविताहरूमा विद्रोह झल्किन्छ । व्यङ्ग्यात्मक रुपमा विम्बहरूको प्रयोग गरेर कविले समाजका किराहरूलाई सिस्नो पानी लगाएका छन् । यी कविताहरू पढ्दै गर्दा एउटा कविको आक्रोश कतिसम्म हुन्छ भन्ने कुरा प्रष्ट देखिन्छ । यो खण्डको अन्तिम कविता हो ‘वर्गसङ्घर्ष’ । यस कवितामा कविले समाजमा रहेको वर्र्गीय विभाजनलाई वर्गीय चिन्तनको कसीमा राखेर हेरेका छन् । समाज परापूर्वकालदेखि दुई वर्गमा विभाजित छ । शोषक र शोषितहरू, किसान र जमिन्दारहरू अर्थात काम गर्ने र गराउनेहरू बीचको विभाजन नामले फरक भए पनि व्यवहारले आज पनि यथावतै छ । कविले शोषित, पीडित, किसान र दैनिक परिश्रम गरेर गुजारा चलाउनेहरूको पक्षमा वकालत गर्दै लेख्छन् ः–
हामीले देखेका छौँ
शोषकका दरवार पनि बन्छन् खण्डहर
संघर्षले निम्त्याएको विनाशमा कतै
लेखिन्छन् रगतका कथाहरू इतिहासका लागि ।
(वर्गसंघर्ष, पृष्ठ–२८)
‘मृत्युगञ्जको मौनता’ भित्रको दोस्रो खण्डमा रहेको ‘विचारको कारखाना’ मा जम्मा १३ ओटा कविताहरू रहेका छन् । यी कविताहरूमा कविले आफ्नो जीवनप्रतिको दृष्टिकोण प्रष्ट पार्ने प्रयास गरेका छन् । कवितामा विचार हुनुपर्छ भन्ने मान्यता कविको छ । विचारको दृष्टिकोणमा प्रगतिशील विचारधारा बोक्ने कवि निमेष व्यवहारमा कति प्रगतिबादी छन् ? यो चासोको विषय त हो नै तथापि उनले कवितामा उठाएको प्रगतिशीलता तल्लो वर्गका जनताहरूको लागि निकै महत्वपूर्ण देखिन्छ । यो खण्डको पहिलो कविता हो ‘एउटा क्रान्तिकारी बाँसुरी’ । कविले बाँसुरीलाई क्रान्तिको प्रतीक रुपमा लिएका छन् । बाँसुरीबाट निस्कने धुनलाई सुस्केरा मानेका छन् । कविको विचारमा यो धुन गरीवहरूको आवाज हो, मूर्छित सपनाहरूको भविष्य हो, क्रान्ति र चेतनाले भरिपूर्ण आलाप हो । यो बाँसुरीले दरबारको हलमा र प्रेमिकाको अधरमा अल्झिएको छैन बरू मजदुरहरूको श्वास र किसानहरूको सपना पूरा गर्न निर्ममता पूर्वक लागेको सङ्केत गरेका छन् । पलायन –१ र पलायन –२ कविताले देशको वर्तमान अवस्थालाई नजिकबाट नियाल्ने प्रयास गरेको छ । यो कविता पढ्दै गर्दा आफ्नै एउटा मुक्तकको सम्झना भइह्यो ।
यो मुक्तक यस्तो थियोः–
युवाहरू सधैं हतारहतार भेटिन्छन्
हिजो जस्तै आज लगातार भेटिन्छन्
देश कसरी बन्छ बुढाबुढी र केटाकेटीले ?
गर्न सक्ने दुवई कतार भेटिन्छन् । (‘सिमाना’ मुक्तक सङ्ग्रहबाट)
वास्तवमा हाम्रा गाउँहरू क्रमशः खाली हुन थालेका छन् । सहरहरू पनि वृद्धाश्रम जस्ता देखिन थालेका छन् । हरेक परिवारबाट कोही न कोही विदेसीएको छ । सक्नेहरू युरोप, अमेरिका र अस्ट्रेलिया पुगेका छन् । नसक्नेहरू दुवई, कतार र मलेसिया अल्झिएका छन् । जहाज चढेर विदेश जान नसक्नेहरू बस र रेलमा चढेर सिम्ला पुगेका छन्, लद्याक र कास्मिर पुगेका छन् । गाउँमा मलामी जाने युवाहरूको खाँचो छ । अव त दसैं तिहारमा समेत रोटे र चर्खे पिङ बनाउने मानिसहरूको अभाव भइसकेको छ । रोदी र सालैजो गाउँमा गाइदैन । देशभित्र बस्नेहरूभन्दा बाहिरिनेहरूको सङख्या बढी हुनु देशको लागि पीडाको विषय हो । कविलाई यो विषयले पिरोलेको छ ।
उनी लेख्छन् ः–
देश छोडेर हिड्ने ती पैतालाहरूसँग
सपनाको सगरमाथा लत्रिएको छ,
उदास आँखाहरू भएर
तप्किरहेछ उज्यालो बुद्ध
र हृदयभित्रै तमाम महाकाव्यहरू मूर्छित पारेर
भक्कानिरहेछ एउटा देवकोटा ।
(पलायन –२, पृष्ठ–३५)
बजारको चर्चित शोक गीत, पसिनाको इतिहास, चोला, उन्मुक्त, आँसुको अस्त्र, देश के हो ? पहाड जस्ता कविताहरू निकै सुन्दर छन् । ‘पहाड’ कवितालाई कविले विचारसँग तुलना गरेका छन् । कविले मानिसको विचार पहाड जस्तै हुन्छ । विचारलाई कसैले परिवर्तन गर्न खोज्दैमा परिवर्तन हुन सक्दैन । विचार पहाड जस्तै हुन्छ । घाम पानी, हुरी, वतास जस्तोसुकै परिस्थिति सहन गर्न सक्ने क्षमता पहाडसँग भए जस्तै मानिससँग रहेको मन पहाड जस्तै हुनुपर्छ भन्ने राय राख्दछन् । उनी लेख्छन् ः–
जस्तो सुकै घात सहिदिने
पीरहरूको निर्मम प्याला पिइदिने
दुःखहरू दबाएर हाँस्न सक्ने
अनेक सङ्घर्षहरूको बाटो हिड्न प्रेरित गर्ने
मान्छेको मन पनि
ठिङ्ग उभिएको एउटा पहाड नै हो । (पहाड, पृष्ठ–५१)
‘मृत्युगञ्जको मौनता’ भित्रको तेस्रो खण्डमा ‘स्मृतिका जलकुम्भीहरू’ नामक खण्ड रहेको छ । यस खण्डका १३ ओटा कविताहरू रहेका छन् । ‘जीवनको उपसंहार’ यो खण्डको पहिलो कविता हो भने ‘म’ यो खण्डको अन्तिम कविता हो । यो खण्डमा सङ्ग्रहित कविताहरूमा म माटो भएँ छोरी, स्मृतिको झ्यालखानबाट, पखाई, म जस्ता कविताहरू तुलनात्मक रुपमा सुन्दर लाग्छन् । कविले ‘पर्खाइ’ मा घर छोड्ने एक आमाको कथा लेखेका छन् । बालकको विवशता पोखेका छन् । आँसुले लेखिएको छ यो कविता । दुधे बालकहरू छोडेर विदेसिएका महिलाहरूको बाध्यता र आमाको अभावमा च्यापिएको बालकको विवसता सोचि साध्य छैन । आफ्ना सन्तानदेखि टाढा हुदाको छट्पटी जनावरहरूमा त देखिन्छ भने झन मानवको त के कुरा ? कवितामा बालक बनेर कविले बालकको पीडा यसरी लेख्छन् ः–
आकाशबाट
ओइलाएर झर्दैछ, हिउँदको चिसो घाम
साँझको ओसिलो हावाले
मलाई सम्झाइरहेछ तिम्रो न्यानो आँचल ।
(पर्खाइ, पृष्ठ–७३)
केशव निमेष आफ्ना कुरा कम र दुनियाका कुरा बढी लेख्ने कवि हुन् । ‘उनका कविताको उपस्थिति काव्यात्मक मात्र नभएर राजनीतिक पनि रहेको छ ।’ कवि विमल निभाले ‘मृत्युगञ्जको मौनता’माथि टिप्पणी गरेका छन् त्यसैगरी कवि नविन अभिलाषीले ‘केशव निमेषका कविताहरू समाजको वर्गीय संरचना र उत्पीडनलाई सीधै आक्रमण गर्ने शैली लिएर आएका छन् ।’ भनेर टिप्पणी गरेका छन् । कविता सङ्ग्रह भित्रको पहिलो कविता कायरहरूको सत्तादेखि अन्तिम कविता ‘म’ सम्म आइपुग्दा केशव कस्तो कवि ? र कुन विचारधारामा हिडेको कवि ? भन्ने प्रश्न प्रष्ट हुन्छ । तथापि मेरो मनमा उब्जिएका कविता र कविको सम्बन्ध कस्तो हुन्छ ? कविता जस्तो कवि भएन भने के हुन्छ ? अर्थात कविले लेख्ने कविता कविको जीवनसँग मेल खानु पर्छ कि पर्दैन ? अझ सोझो अर्थमा भन्यौं भने सम्पन्नले विपन्नको कविता लेख्यो भने के हुन्छ ? यस्ता प्रश्नहरूको उत्तर यी कविताहरूले दिन सकेका छैनन् । कविले तय गरेको यात्रा लामो छ । यी प्रश्नहरूको उत्तर कुनै न कुनै बेला कतै न कतै भेट्टाउन सकिएला । तर यति भने ढुक्क भन्न सकिन्छ कविले समातेको बाटो सुन्दर छ । कविले बोलेको भाषा मिठो छ र कविले प्रवाह गरेको विचार उत्तम छ । ‘मृत्युगञ्जको मौनता’ भित्रका प्रायः कविताहरूको शब्द चयन राम्रो हदाहुदै पनि एक दुई ठाउँमा कवि चिप्लिएका छन् । अङ्ग्रेजी शब्दको प्रयोग र समानअर्थी शब्दको प्रयोग अलि बढी भएको पाइन्छ । उदाहरणका रुपमा ‘डस्टविनमा अन्धकार’ शीर्षकको कवितामा हेर्न सकिन्छ । कविताहरूमा छिटफुट रुपमा वर्णविन्यासमा समस्या देखिन्छ । यो अस्वभाविक होइन । सर्वगुण सम्पन्न त के नै हुन्छ र ? तर सङ्ग्रहको आवरण कलाकार रसिक राजको हो भन्ने लाग्छ तर रसिकराज गुमनाम छन् । कभर पृष्ठमा रहेको कृतिको नाम र पछाडिको टिप्पणीको वर्णविन्यासमा अलिबढी ध्यान दिन सकेको भए राम्रो हुन्थ्यो । आशा गरौं दोस्रो संस्करणमा सच्चिएर आउला नै । सङ्ग्रह भित्रका ३८ कविताहरूलाई तीन खण्डमा विभाजित गर्नु पछाडिको अभिप्रायः जे सुकै भए पनि ‘आक्रोशको आधीँ’, ‘विचारको कारखाना’ र ‘स्मृतिका जलकुम्भीहरू’ लेखनको शैली र विचार प्रवाहको लय एउटै धारमा बगेको महसुस हुन्छ । विचारविनाका कविता कवितानै हुन सक्दैनन् ।
केशव निमेषका हरेक कविताहरू विचारको कारखानाबाट जन्मिए जस्ता लाग्छन् नै । हरेक कवितामा कतै खुल्ला रुपमा त कतै लुप्त रुपमा आक्रोषहरू पोखिएको छन् । विचारहरू सल्बलाएका छन् । उदाहरणका लागि ‘आक्रोषको आधीँ’ भन्ने खण्डमा रहेको कविता ‘वर्गसङ्घर्ष’ मा रहेको विचारलाई आक्रोषका रुपमा मात्रै लिन कसरी सकिन्छ ? यो कविता ‘विचारको कारखाना’ उपयुक्त हुदैन र ? यस सङ्ग्रहका कविताहरूलाई यसरी वर्गीकृत नगरेको भए पनि फरक पर्ने थिएन । वर्गीकृत गरिहाले पनि तीन खण्डको सट्टामा दुई खण्डमा विभाजन गरेको भए झन उत्तम हुन सक्थ्यो भन्ने मेरो विचार छ । कवि मेरो विचारसँग सहमत हुनपर्छ भन्ने चाहीँ छैन । केशव निमेषको ‘मृत्युगञ्जको मौनता’ पहिलो सङ्ग्रह हो । पहिलो सङ्ग्रह यो रुपमा आउनु सुखद हो । यो कविता सङ्ग्रहको राम्रै चर्चा हुन सक्छ । कृतिले ठुलै सम्मान पाउन सक्ला । कविले सुरु गरेको यात्रा अनन्त छ । जीवनमा सफलता चाहाने मानिसले चार ‘स’ लाई कम महत्व दिनु पर्दछ । यी चार ‘स’ भनेका सत्ता, सम्पत्ति, सम्मान र सम्भोग हुन् । यी क्षणिक हुन्छन् । यी चार ‘स’ ले सम्बन्धलाई धरासाही बनाउन सक्छन् । त्यसैले यी कुराहरूप्रतिको आशक्ति छोड्नु पर्छ । बरू चार ‘स’ सट्टामा साधना, सेवा, सत्संग, समर्पण जस्ता चार ‘स’ लाई निरन्तरता दिन सकियो भने सम्बन्ध मजबुद बन्छ र संसार जित्छ सकिन्छ । ‘मृत्युगञ्जको मौनता’सङ्गै केशव निमेष चर्चामा आउन सक्ने तिन कारणहरू छन् । पहिलो कारण कविताहरू राम्रा छन् । दोस्रो उनी पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव हुन् । यो प्रतिष्ठानको ‘नेटवर्क’ राम्रो छ । तेस्रो केशव निमेष साहित्यिक दुनियाभन्दा बाहिर पनि धेरैका प्रिय छन् । उनको प्रशंसा गर्ने र उनलाई माया गर्नेहरू थुपै छन् । तर विचार गनुपर्ने कुरा के छ भने झ्याट्ट हेर्दा प्रशंसक र माया गर्ने व्यक्ति उस्तै उस्तै देखिन्छन् । तर यी दुईमा आकाश जमिनको फरक छ । प्रशंसकले साथीका गुणहरू देखेर खुसी हुन्छ, ताली बजाउँछ र उत्साह भर्छ । तर माया गर्ने मान्छेले साथीका गुणहरूका कारणहरू देखेर मात्रै माया गर्दैन उसका कमजोरीहरू सहित मन पराउँछ । साथीको शक्ति र कमजोरी, आगो र पानी, मान र अपमान सबैसबैलाई एकैसाथ राखेर साथींसँगै मुस्कुराउन सक्छ । जीवनमा प्रशंसक त चाहिन्छ नै त्योभन्दा बढी माया गर्नेको खाँचो हुन्छ । केशव निमेषको नविनतम् कृति ‘मृत्युगञ्जको मौनता’ नेपाली काव्य दुनियामा एक उत्कृष्ट कृति बनोस् । पाठकको मनमा राज गर्न गरोस् । यो कृतिले साहित्यिक दुनियामा प्रशंसकभन्दा माया गर्नेहरूको साथ पाउन सकोस् शुभकामना ।









प्रतिक्रिया दिनुहोस्