भिडिओ कलबाटै छोराको न्वारान



मालती खत्री । वीरेन्द्रनगर ।

भौगोलिक दूरी र आधुनिक व्यस्तताले मानिसलाई आफ्नो जन्मे ठाउँ बाट टाढा पु¥याए पनि मनभित्रको आत्मीयता, आस्था र संस्कारलाई भने कहिल्यै कमजोर बनाउन सक्दैन । यसैको एक जीवन्त, सुन्दर र भावनात्मक उदाहरण भर्खरै म्याग्दी जिल्ला स्थायी घर भई हाल बेलायतको लण्डनलाई कर्मथलो बनाउँदै आएका सरोज भण्डारीको परिवारमा देखिएको छ । केही दिन अघि मात्रै सरोज र उनको परिवारमा एउटा ठुलो खुसी भित्रियो ।

त्यो हो, उनकी धर्मपत्नी अस्मिताले छोरालाई जन्म दिनुु । पहिलो पटक बुबा बन्नुको असीम खुसी र उत्साहकाबीच सरोजको मनमा एउटा बलियो हुटहुटी थियो, जो आफ्नो नवजात छोराको नामकरण (न्वारान) आफ्नै सनातन हिन्दु परम्परा र म्याग्देली माटोको सुवास झल्किने गरी नेपाली संस्कृति अनुसार नै होस् भन्ने । विदेशको व्यस्त दैनिकी, त्यसमाथि लण्डन जस्तो आधुनिक सहरमा तुरुन्तै पुरोहित (बाहुन) र न्वारानका लागि आवश्यक सम्पूर्ण धार्मिक सामग्रीहरू जुटाउनु सहज थिएन ।

तर इच्छा भए उपाय अनेक भनेझैँ सरोजले आधुनिक प्रविधिलाई आफ्नो संस्कारको सारथी बनाए । नेपालमा रहेकी आफ्नी आमा विष्णु भण्डारीसँग सल्लाह गरेर भिडिओे कलमार्फत न्वारान गर्ने निधो गरे । प्रविधि मार्फत नेपालबाटै मन्त्रोच्चारण गर्न उत्साहित भए र नेपालमा पनि आमा विष्णु र परिवारका सदस्यहरूले सरोजको भावनाको कदर गर्दै घरमै बाहुन बाजेलाई निमन्त्रणा गरे । जसअनुुसार घरमा तोरण टाँगियो, दियो–कलश–गणेशको स्थापना गरियो ।

र नवग्रह पूजा सहितको हवन कार्य सुरु भयो । यो सम्पूर्ण धार्मिक विधिलाई लण्डनमा रहेका सरोज र उनको परिवारले भिडिओे कलमार्फत प्रत्यक्ष जोडिएर हेरिरहेका थिए । पुरोहितले नेपालबाट मोबाइलको स्क्रिन हेर्दै दिएको स्पष्ट निर्देशन, मन्त्र र साइतअनुसार लण्डनमा सरोज दम्पतीले नवजात शिशुलाई काखमा राखेर संस्कारका विधिहरू पुरा गरे । पुरोहितले भिडिओे कलमै शिशुको राशि हेरेर शुभ नाम जुराइदिए र टाढैबाट स्वस्तिवाचन गर्दै आशीर्वाद दिए ।

विधि सकिएपछि सरोज र उनकी पत्नीले निधारमा अक्षताको रातो टीका र कानमा शुभ फूल सिउरिएर आफ्नो घर अगाडी खुसी साट्दै तस्बिर खिचाए, जसमा नेपालीपन प्रस्टै झल्किन्थ्यो । यो आधुनिक न्वारानले एउटा धार्मिक विधि मात्र पुरा गरेन, यसले संसारभरी छरिएर रहेका नेपालीहरूलाई समेत एउटा ठुलो वैचारिक सन्देश पनि दिएको छ । आजको युगमा मानिसहरू पैसा कमाउन र भौतिक सुख–सुविधाको खोजीमा विदेशिन्छन् । तर यदी आफ्नो पहिचान, संस्कृति र संस्कार नै बचाइएन भने त्यो पैसाको कुनै मूल्य रहँदैन भन्ने कुरा यस परिवारले सन्देश दिएको छ ।

छोराले विदेशमा बसेर पनि कुलको परम्परा र संस्कृतिलाई यसरी सम्मान गर्दा आमा र हजुरआमाको रूपमा निकै गर्वित भएको विष्णु भण्डारीले बताइन् । उनले भनिन्, ‘छोरा–बुहारी र नाती सात समुद्र पारी भए पनि आज प्रविधिको कारण आफ्नै अगाडी बसेर पूजा गरे जस्तो भयो । म जहिले पनि छोरालाई भन्थेँ, बाबु, पैसा त संसारको जुनसुकै कुनामा दुख गरे पनि कमाइन्छ, तर हाम्रो धर्म र संस्कार हरायो भने हाम्रो पहिचान नै सकिन्छ ।’

भिडिओे कलको स्क्रिनमा विष्णुले सात समुद्र पारीको नातीको अनुहार हेरेर खुसीको आँसु पुछ्दै गर्दा सबै भावनामा डुुबेका थिए । यसरी भिडिओे कलबाट हुने प्रविधि मैत्री न्वारानले डिजिटल युगमा प्रविधिको सही सदुपयोग गरेर संसारको जुनसुकै कुनामा बसेर पनि आफ्नो मौलिकता, संस्कार र संस्कृतिलाई जीवित राख्न सकिने सरोजको भनाइ छ । ‘हामी विदेशमा जतिसुकै आधुनिक महलमा बसौँ, तर हाम्रो परम्परा त म्याग्दीकै माटो र नेपालकै संस्कृतिमा जोडिएको छ ।

पैसाले भौतिक सुख त किन्ला, तर आत्मिक शान्ति र हाम्रो पहिचान हाम्रा संस्कारले मात्र दिन्छन्’ उनले भने, ‘हामीले आफ्नो संस्कृति जोगाउन सकेनौँ भने हाम्रा सन्ततिले भोली आफ्नो इतिहास गुमाउनेछन्, त्यसैले जहाँ रहे पनि आफ्नो धर्म र परम्परालाई जोगाउनु र निरन्तरता दिनु हामी प्रत्येक प्रवासी नेपालीको दायित्व पनि हो ।’यसै सन्दर्भमा म्याग्दीका पुस्तौ पुस्ता देखिको वंशजको पेशा जगेर्ना गर्दै आएका पुरोहित मकुन्द सुवेदीले अधिकांश अहिलेको नयाँ पुस्ताले आफ्नो पुरानो पेशा र संस्कृति बिर्सिँदै जाँदा पुरोहित पेशा नै संकट र जोखिममा परेको बताए ।

‘यस्तो बेला विदेशमा बस्ने नेपालीहरूले आफ्नो धर्म–संस्कृतिलाई जोगाउन देखाएको यो चासोले हामीलाई ठूलो हौसला मिलेको छ’ उनले भने, ‘भौतिक रूपमा टाढा भए पनि प्रविधिको प्रयोग गरेर हामीले आफ्नो परम्परागत पेशा र संस्कारलाई विश्वव्यापी बनाउन सक्छौँ, सरोजले देखाएको यो एउटा बलियो उदाहरण हो ।’ पछिल्लो समय सरोज परिवार मात्र नभई धेरै युवायुवतीहरू आफनो बच्चाको न्वारान कर्म प्रविधि मैत्री बाट गर्न रुचाउँछन् ।

तर विदेशमा पुरोहित अभाव मात्र नभई विधि नपुग्ने कुरामा उनीहरूको तर्क र शंका छ । एकातिर पछिल्लो समयमा युवा पुस्ताको पलायन र आधुनिकताका कारण नेपालमा परम्परागत पुरोहित (पण्डित) पेशा संकटमा पर्दै गएको छ । भने अर्कोतिर पुरानो पुस्तापछि यो पेशा सम्हाल्ने मानिसहरूको अभाव भइरहेका बेला प्रविधिको यो प्रयोगले नयाँ सम्भावना पनि देखाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार