कथाः बदलिएको समय !



 नवराज भट्ट

उनी अगाडिका पुस्ताहरुको बाँच्ने आधार भनेको कृषी पेशानै थियो । त्यसैगरी राम प्रसादको आधा जीवन पनि खेतीकिसानी मै वित्दै थियो । त्यही किसानी पेसाबाट उनको परिवार पालिँदै आएका थिए । र आफ्नो मुल आधार कृषि पेसालाई छोडेर कुनै व्यवसायमा हात हाल्ने विकल्प पनि थिएन उनको । त्यसैले कयौँ वर्ष देखी माटो सँग रमाउँदै जीवन कटाउँदै आएका राम प्रसाद अघिल्ला वर्षझैँ त्यो वर्ष पनि असारमास सुरु भएपछि कोदाली काँधमा हालेर खेतमा ब्याड राख्न निस्कन्छन् । साथमा जहान गँङादेवी र दुइ छोराछोरी पनि थिए र्। सकेको काम गर्नुपर्छ जाहान सबैले !’ भन्ने मान्यता थियो उनको । यसरी दिनभर खेतमा काम गरेर घर फर्कँदा झमक्क साँझ पनि पर्ने गर्थ्यो कुनै बेला । जतिनै साँझ परेपनि भैँसी दुहुने जिम्मेवारी भने फेरी राम प्रसाद कै थियो । सायद भैँसी एकहाते हुनुपर्छ । आखिर त्यो वर्ष पनि जताततै फाँटहरुमा रोपाइँ चालु हुँदैथियो । त्यसैले राम प्रसाद काँधमा छाता झुन्डयाएर खेताला खोज्न गाउँ पसे । गाउँमाथि सङगम चोकको घुम्ती पसलमा चिया पिउने र दुध बेच्नेहरुको लर्को थियो । उनलाई ढुँगा खोज्दा देउता मिलेझैँ भयो । जहाँ गाउँका अधिकाँस मान्छेहरु जम्मा भएका थिए । त्यसपछि केहिबेरमा खेतालाको टुङ्गो लगाएर राम प्रसाद घर फर्किए । पारी किनारामा बगेको समारी खोला पोहोर सालको घरघोर वर्षा देखि उनको खेत किनारा भएर बगिरहेको थियो । नजिकै आफ्नै रफ्तारर्मा कटकट ’ आवाज गर्दै पानी घट्ट चलिरहेको थियो । त्यो पटक पनि पहिलेका वर्षझैँ हर्ष र उमङ्ग बोकेर रोपाइँ चालु हुँदै थियो र्। सबैले जाने सकेको काममा खटिनु !’ भदै राम प्रसादले घरका जाहान परिवारलाई अह्राए । सेते दाइले काँधको हलो भैँमा टेकाउँदै गोरु नारे । उनको खास नाम दान बहादुर भएपनि उनी भन्दा उमेरले जेठा मान्छेले समेत सेतेदाइ भनेर सम्बोधन गर्दा रहेछन् । पन्चे बाजाको धुन सँगै राम प्रसादको खेतमा परम्परागत शैलीमा रोपाइँचालु भयो त्यो वर्ष पनि ।

“असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो ,
पातलीनानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो !”

यसरी परम्परा देखि चल्दै आएको लोकभाकालाई सबैले ताल मिलाए । रोपाइँको वातावरण मनोरन्जनमा पनि परिणत हुँदै थियो । लाठे बाउसेहरु कोदालीले खेत सम्याएझैँ गरेर रोपाहारहरुलाई हिलो छ्याप्न तम्सिन्थे । उनीहरु पनि के कम थिएर , छुपु.. छुपु.. धान रोप्दै हिलो उठाउँथे । त्यसैक्रममा अम्मरेले पनि सुशीलालाई जिस्काउने वहाना भेट्यो । अम्मरेले जिस्काउँदा सुशीला मुस्कुराउँथिन्‌् । उनी मुस्काउँदा अम्मरेले बल पायो । र्र के छ सुशीला हिलो खेल्ने हो ?’ भन्दै हातमा हिलो बोकेर अम्मरे हिलो दल्न तम्सियो र्। लौत लौ …!’ भन्दै सुशीला पनि अघि बढिन् । असार पन्ध्रको दिन राष्ट्रिय धान जात्रा पर्व पनि हो । टाढादेखि अन्य मान्छेहरू पनि धान जात्रा मनाउन आएका थिए त्यहाँ । उनीहरु पनि एकआपसमा हिलो खेल्दै थिए । मानौ राम प्रसादको खेतमा रोपाइँ भएकोछ या कुनै पर्व चलेको छ छुट्याउन गाह्रो हुन्थ्यो । बाजागाजा र हिलाम्मे मान्छेहरुको अचम्मको दृष्य देख्न पाइन्थ्यो त्यहाँ । सेतेदाइले जोसिएर गोरु कुदाउँदा खेतको हिलो र पानी वल्लो गह्राबाट पल्लो गह्रा पुग्थ्यो । रोपाहारहरु हिलोले निथु्रक्क भिजेका हुन्थे । अम्मरे र सुशीलाले पनि हिलो खेल्न शुरु गरिसकेका थिए । अम्मरेले हिलो दलेपछि सुशीला पनि कुर्कुरिएर आइन् । र खेतको गह्राबाट हिलो उठाएर अम्मरेको टाउकामा घर लिपेझैँ लिपिन् । के खोज्छस् के जाती आँखो भनेझैँ अम्मरेले पनि उनको जीउभरी हिलो दलिदियो । उनीहरुको टाउको र जिउमा हिलो बाहेक केही देखिँदैन । यो क्रम चल्दै गयो । हिलोले चिनिसक्नु हुँदैनन् उनीहरु । हिले गह्रामा लड्दै र उठ्दै गर्दा अन्तमा थकित भएर होला खोलामा गएर जिउ पखाल्छन् । एकआपसमा हेराहेर गरेर लजाएझैँ पनि गर्छन् । घाम डुब्ने बेला हुँदैथियो । यस्तैयस्तै हर्ष र उमङ्ग सँग त्यो वर्ष राम प्रसादको रोपाइँ सकियो । गँङादेवीले खेतालाहरुलाई खाजा बाँडिन् । असार पन्ध्रको दिन दहिचिउरा खाने चलन पनि उनीहरुले त्यहाँ मनाए । गाउँघरमा एउटा भनाई पनि छ खेताला पल्काउनु र ………. धपाउनु ! रोपाइँ सकिन नपाउँदै सिमसिमे झरी सुरु हुँदै थियो । खेतालाहरु घुम ओडेर र घरफर्किए । साथमा राम प्रसादको परिवार पनि घर फर्किए।
दिनभरको थकान भएपनि साँझ खुसी मुद्रामा ओछ्यानमा पल्टिरहेका थिए राम प्रसाद । गँङादेवीले घरधन्दा सकेर ढोका ढप्काइन् र बिरे आग्लो लगाइन् । राम प्रसाद र गँङादेवी बिच गफ चल्न सुरुभयो । प्रायः साँझ खानापछि गफगाफ गर्ने उनीहरुको त्यो पुरानो आदत नै थियो ।

“हेर गङा धान त रमाइलै सँग रोपियोझैँ लाग्छ कस्तो मानेकी छ्यौ आज ?” यसरी राम प्रसादले वार्तालाप शुरु गर्न खोजे । ‘जे होस् खेताला चाहिँ भन्नुको भेटियो है !’ भन्दै गँङादेवीले खेतालाको प्रशंसा गरिभ्याइन् र्। एकछिन् बसेका हैनन् कोही विचरा !’ भनेर राम प्रसादले पनि खेतालाको प्रशंसा गरे । अरु जे भएनी धान राम्रै फले हुनी हो !’ भन्दै गँङादेवीले मुख मिठ्याइन् । “ पाँगो माटो बेलाँ देसी (युरिया ) मल पाए राम्रै फल्ला भन्ने लाग्छ । ” राम प्रसादले पनि आसाको त्यान्द्रो बुने । “त्यही राम्रो मिठो खान,अलि सुखले दिन काट्न त देउरालीबाट ह्याँ सम्म आइया नि नत्र…………!” गँङादेवीले अतीत सम्झिइन् । यसरी यीनै गन्थन मन्थन गर्दागर्दै गँङादेवी भुसुक्क निदाइन् । बिस्तारा र सिरानी मिलाएर राम प्रसाद पनि सुत्ने तर्खर गरे । केहबिेरमा आकाश गर्जिन्छ चट्याङ पर्छ ! जोडले पानी बर्सिन्छ । वर्षाको पानीले टिनको छानो कट्कटाउँछ । चट्याङ्ग पर्दा राम प्रसादलाई विल्कुल निद्रा पर्दैन । त्यसपछि राम प्रसाद बिस्ताराबाट जुरुक्क उठेर ओछ्यान माथि टुुक्रुक्क बसे । सामरी खोला बेस्सरी सुसाएको थियो । “हेत्तेरी आज रोपेको धान के भो होला?” भन्दै उनको धड्कन बढ्नथाल्यो । सलाई कोरेर चुरोट सल्काए । जोड जोडले तान्दै र फुक्दै गए अन्तमा औँला पोलेको पनि हेक्का पाएनन् । पानी केहीबेरमा रोकिएझैँ भयो तर खोला गड्गडाएको आवाजले उनको निद्रा बिथोलिनै रह्यो । भोलिपल्ट बिहानै काँधमा छाता भिरेर हतारिएर खेतमा पुगे राम प्रसाद । कालोनिलो भएर उर्लिएको सामरी खोलाले खेतको पुछार गह्रो नै लगेको रहेछ । हिजोसम्म चलिरहेको पानी घट्टको निशानै थिएन । राम प्रसाद विरक्तिए र्। कतै यस्तै पानी दर्किरहने हो भने त ………..!’ उनले सोच्नै सकेनन् । केहीबेरमा खोलामा पानीको वहाव केही कम हुँदै गएपछि राम प्रसाद घर फर्किए । घर पुगेर गँङादेवी सँग दुखेसो पोखे , “ लौ बर्बाद भो खोलोले खेतको पुछार गह्रै लग्यो , न घट्ट रह्यो न पुछार गह्रो यस्तै पानी दर्किरहने हो भने अझ के हुने हो ?”यसरी आफ्ना श्रीमानले दुखेसो पोखेको देखेर गँङादेवी पनि दुःखी भइन् र भनिन् “अब चिन्ता गरेर के गर्नु हजुर ? होनहार दैव नटार भन्छन् ! ”यसरी गँङादेवीको सान्त्वना पाएपछि राम प्रसादको मन अलि हलुँगो भयो । असारमा लगाएको वाली भित्राउने भनेको आखिर मँसिर महिना भित्रै हो ।

आखिर मङ्सिर मास शुरु भएपछि सिस्ने फाँट पनि पहेँलै हुन्छ । दिन जान के बेर ! धान काट्ने र बिटा लाउनेको चटारो थियो । राम प्रसादले पनि धान काट्न.खेताला हाले । खेतालाले धान भर्दै गए र्। राम..राम..दुइय्‌..दुइय्‌..तीन .तीन..! ’धान काट्ने र झाँट्नेहरु तल्लिन थिए । खलामा चुट्दै गरेको धानको थुप्रो हेरेर खुसीले गमक्क थिए राम प्रसाद पनि । वास्तवमा भन्ने हो भने राम प्रसाद त एउटा प्रतिनिधि पात्र मात्र हुन् हरेक कृषक मङ्सिर मासमा सारा दुःख भुलेर यसरीनै खुसी हुने गर्छन् । खेतालाहरु धानको भारी बोकेर घरपुग्दा सम्म झमक्क साँझ परिसकेको थियो । भकारीमा धान थन्क्याएका खेतालाहरुलाई गँङादेवीले खाना खुवाइन् । ज्याला सँगै अर्को महत्वपुर्ण पाटो भनेको सद्भाव र आत्मियता पनि हो । जुन समाजमा अदृष्य रुपमा लुकेर रहेको हुन्छ । जुन गाउँघरमा पितापुर्खा देखिनै चल्दै र चलाइँदै आएको थियो । त्यो कुरा राम प्रसादलाई राम्ररी थाहा थियो । देख्यौ त पसिनाको फल?’ भन्दै धानले चुलिएको भकारी हेरेर मख्ख भए राम प्रसाद ! आफ्नो पतीको कुरा सुनेर गँङादेवीपनि खुसीले मुस्काइन् । उनी मुस्काउँदा मुजा परेको गाला बेस्सरी तन्किन्थ्यो । राम प्रसाद तमाखु तान्दै नलीले पार लगाउँथे र्। आखिर खोला खेत भनेको खोला खेतै हो दुइ वालीलाग्ने !’ खोला खेत जुनै सिजनमा पनि पानीको अभाव नहुने । राम प्रसादले गर्वले छाती फुलाए । छोराछोरीको लेखन पठन प्रतिपनि त्यतिकै ध्यान जिम्मेवारी राख्थे राम प्रसाद । हो यसरी नै महिना वर्ष हुँदै समय बिस्तारै घर्किँदै थियो । जेठो छोरो जागिर गर्छु भन्दै काठमाडाँै हानियो । हुर्के बढेकी छोरी धेरै दिन माइत राख्नु हुन्न भन्ने त्यो समाज र सँस्कारमा हुर्किएका राम प्रसादले उमेर पुग्दा नपुग्दै छोरीहरुको विहे गरिदिए । माइलो छोरा याम प्रसाद एस.एल.सी पास गरेर गाउँको स्कुलमा मास्टरी जागिरमा लाग्यो । “ह्याँ बसेर उँभो लागिएला जस्तो छैन बा !”भन्दै अर्को छोरो पनि खाडी मुलुक हिँड्यो र्। कस्तो रहेछ समय पनि उफ् ..! ’ घर छाडेर गएका सन्तान र डाँडा माथि पुगेको आफ्नो उमेर हेरेर राम प्रसाद रनभुल्ल परे ।

छोराछोरीहरु यसरी कोही विदेश त कोही बिहे गरेर गएपछि घरमा बाँकी रहेको भनेको उनीहरु तिनजना राम प्रसादका बुढाबुढी र याम प्रसाद मात्र भए । त्यसपछि खेतीपातीको काम धान्न राम प्रसादलाई धौधौ पर्न थाल्यो । एकदिन उनले छोरा याम प्रसाद सँग निराश भावमा भने , “ महँगाई पनि बढेर गयो । घरमा अलि कुट्टो कोदालो गर्ने सहारा थियो त्यो पनि रहेन अब कसो गर्ने हो माइला ?” बाले यसरी लत्रिएर कुरा गरेको चाल पाएर याम प्रसाद पनि अलि खिन्न भयो । र उसले भन्यो “बा पहिलाको जस्तो बिदा पनि पाइँदैन , समय पनि अलि घुर्मैलो छ । घर नजिक जागिर भएको भए केही भन्न सक्थेँ तर … । ” यसरी आस भर गरेको माइला छोराको पनि आफ्नै वाध्याता भएपछि राम प्रसाद अक्क न वक्क भए । यसपालि भने राम प्रसादको अवस्थामा अलि परिवर्तन आएको छ । मानौँ समयले नै यी अवस्थाहरु सिर्जना भएका छन् । यो वर्ष पनि असार मास सुरु भएको छ । फेरी अघिल्ला वर्षझैँ खेताला खोज्न गाउँ पस्छन् राम प्रसाद तर यस पटक सङगमचोकको घुम्ती पसलबन्द हुन्छ । त्यसपर्छि के छ सेते दाइ ?’ भन्दै दान बहादुरको घर पुग्छन् । सेतेदाइले चकटी ओछ्याएर बस्ने सँकेत गर्छन् र भन्छन् , “अब त कामगर्न पनि नसक्ने भो बाजे ! गोठाँ गोरु पनिछैन । खन्न उचाल्ननी सक्दैन । ज्यान पनि बुढो भएछ !” यसरी सेतेदाइको कथा बेथा सुनेपछि राम प्रसादको ठुलो विश्वास गुम्छ । गाउँमा अमरे पनि विदेश गएका हुन्छन् ।  सुशीला पनि बिहे गरेर अर्कै गाउँ गएकी थिइन् र्। खै अब यो वर्षको खेती कसरी उतार्ने हो ?’ भन्दै त्यसपछि राम प्रसाद निरास र उदास मुद्रमा घर फर्किन्छन् ।उनको त्यो निराशाले खुम्चिएको चेहरा पढेर गँङादेवी र याम प्रसाद पनि दुःखी बन्छन् । ‘खेत बाँझै रहने भो । ’भन्दै राम प्रसादको चिन्ता पनि बढेर जान्छ । गएका वर्षहरुमा र्पैतिस,चालिस मुरी बेसी धान भित्रिने गर्थ्यो । यो वर्ष भने रोपाइँ हुन गाह्रो पर्ने भो ! भन्दै के गरौँ र कसो गरौँको सहि नसक्नुको पीडामा रन्थनिन्छन् राम प्रसाद ।अचानाको पिर अचानालाई मात्र थाहा हुन्छ ! एउटा किसानीको पीडा कस्तो हुन्छ त्यो अरुले कहाँ बुझ्न सक्छन्‌र ! बाको अनुहारमा खुसी नदेखेर होला अब यसरी चिन्ता गरेर के गर्ने बा ? भन्दै याम प्रसादर्ले सम्झाउने कोशिस गर्छ । र अन्तमा खेत बिक्री गर्ने सल्लाह दिन्छ । छोराको कुरा सुनेर राम प्रसाद हुन्छ हुन्न केही भन्न सक्दैनन् र्। माइलाको कुरा ठिकै हो ! ’ भन्दै गङगादेवीले याम प्रसादको कुरामा सही थाप्छिन् । अन्तर्मा म के.भनौँ त तिमीहरु सबै त्यही चाहन्छौ भने । ’ भन्दै राम प्रसाद गलेझैँ हुन्छन् ।

खुइय ’ गर्दै राम प्रसादको मुखबाट लामो सुस्केरा निस्किन्छ । राम प्रसादको खेत बिक्रिमा छ भन्ने कुरा चेत्रको डढेलोझै फैलिन्छ । जग्गा हेर्ने मान्छेहरू आउजाउ गर्छन् र्। खोलाको ढिकमा कसले किन्लार जग्गा ?’ भन्दै जग्गा हेर्न आउनेहरु कोही तर्किन्छन् र कोही मौन हुन्छन् । ग्राहकहरु यसरी तर्किएपछि राम प्रसाद झन् अन्यौलमा पर्छन् । टिमुरे फाँटमा मान्छेहरू हातमा फितालिएर घडेरी नाप्दै गरेको दृष्य आफ्नै घरको बार्दलीबाट हेरेर आज भन्दा तीस ,पैँतिस वर्ष अघि देउरालीबाट त्यहाँ बसाइँ झर्नेबेला आकासे पानीको भरमा एकवाली लाग्ने खेत भनेर आँखै गएको थिएन तर आज त्यहाँ ठडिएका ठुलाठुला महलहरु हेरेर राम प्रसाद पछुताएझैँ गर्छन् । र एकबाली लाग्ने भनेर वास्ता नगरेको सुख्खा फाँटमा घडेरीको भाउ सुनेर थकथक मान्छन् । आज के काम भयोर दुई बाली लाग्ने खोला खेत भनेर ! सधँैजसो सिँगौरी खेलिरहने सामरी खोला र अनि त्यसले वर्षा मासमा देखाउने त्यो ताण्डव नित्र्य ! त्यसमाथि खनजोत गर्न नसकेर बाँझै परेको अवस्था अनि बिक्रीगर्न चाहेर पनि भड्किएका ग्राहकहरु ! यी सबै कुराहरुले खिन्न भएकाछन् आज उनी । अन्तमाः सुखदुःख बाँड्ने भनेको पतिपत्नी बिचनै रहेछ । उनको खिन्नता र मौनता नजिकबाट बुझेकी गङगादेवीले “के गर्ने त ऊ बेलाँ त्यही खोला खेत चिजथियो समय परिस्थिति बदलियो आज यस्तो हुन्छ भन्ने कस्ले जान्योर ?” भन्दै सान्त्वना प्रकट गर्छिन् । उनको सान्त्वना पाएर राम प्रसाद फेरी चुप हुन्छन् । उत्तमकृषि ,मध्यमव्यापार र अधमनोकरी !’ भन्ने उक्तिथियो कुनै बेला तर आजकाल जमाना निकै फेरिएछ । यो उमेरमा आइपुग्दा सम्म आफ्नै खेतीपातीबाट राम्रै गुजारा चलेको थियो तर राम प्रसादलाई हिजो आर्ज सिकाको गीत कति गाउनु र खटाको मानो कतिखानु ’ भनेझैँ खेत बाँझै राखेर विदेश गएको छोराको मुख ताक्नु परेपछि उनलाई निको लागेको छैन । एक जमाना टुकी बालेर निर्वाह गर्नुपर्थ्यो देउराली बस्तीमा । सहर नजिकै आफ्ना भावी सन्तानलाई राम्रो शिक्षा दिन र त्यसैगरी अड्डा अस्पतालको छेउछाउ भएपछि दुःख बिमार हुँदा केही राहत हुने आसामा २०४५ सालतिर खड्कथोक नजिकै बिहानी बस्तीमा झरेका थिए उनीहरुको त्यो परिवार । जुन बस्ती विदुर सदरमुकाम बाट अलि नजिक पर्थ्यो । धेरै बर्षपछि एकदिन आफ्ना आफन्त सम्झिएर आफ्नो त्यो पुरानो गाउँ देउराली र किस्पाङ गाउँ पुग्छन् राम प्रसादका दम्पती । आफन्तको घरमा बास बस्छन् । आज ती गाउँ बस्तीहरु त्रिशुली थ्रि ए जल बिद्युतपावर हाउस बनेपछि आकासको ताराझैँ जग्मगाएको छ । जुन गाउँले केही अवसर प्राप्त गरेको छ । र जसको केही अवस्था पनि बदलिएको छ । उनीहरु त्यो गाउँको कथा सुनेर दँग भएका छन् आज । जुन गाउँ शान्ति बजारको नामले चम्किएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार