शेरबहादुर ऐर । कैलाली ।
कैलाली जिल्ला प्रशासनले राति १० बजेपछि होटल तथा मनोरञ्जनसम्बन्धी व्यवसाय सञ्चालनको निश्चित अवधि तोकेको छ । मंगलबार एक सूचना जारी गर्दै होटल, डान्स बार, दोहोरी साँझलगायत मनोरञ्जनसम्बन्धी व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न भनेको हो । जारी सूचनामा भनिएको छ, ‘सार्वजनिक सुरक्षा, सुव्यवस्था र सामाजिक मर्यादा राख्ने उद्देश्यका साथ अर्को व्यवस्था नभएसम्मका लागि सबै किसिमका होटल व्यवसाय, दोहोरी साँझ, डान्स बारलगायतका मनोरञ्जनसम्बन्धी व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न गराउन हुन सम्बन्धित व्यवसायीहरूलाई जानकारी गराइन्छ ।’
कैलालीमा अहिलेसम्म दोहोरी साँझ र डान्स बारहरू तथा केही निश्चित होटल व्यवसायहरू रातिको १ बजेसम्म निर्वाधरूपमा सञ्चालन हुँदै आएको गुनासो रहेको छ । होटल व्यवसायीहरूले रातिको समयमा ग्राहकको चाप हुने समय भएकाले राति अबेरसम्म व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । जारी सूचनामा भनिएको छ, ‘यो सूचनाको अवज्ञा गरि कानुनविपरीतका कार्यहरू गरे–गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने छ ।’ सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र तथा प्रदेशको अस्थायी राजधानी धनगढीमा रात्रिकालीन व्यवसाय सञ्चालनको माग बढिरहेको समयमा प्रशासनले जारी गरेको सूचना कार्यान्वयनमा सकस देखिएको छ ।
धनगढीका होटल तथा पर्यटन व्यवसायीहरूले रात्रिकालीन व्यवसाय सञ्चालनको माग गरिरहेका छन् । तर, अहिले जारी भएको सूचनाले संकटमा रहेको व्यवसायलाई लयमा ल्याउन सकस हुने व्यवसायीहरू बताउँछन् । धनगढीका होटल तथा रेष्टुरेन्टलाई अहिले राति १० बजेसम्म सञ्चालनको अनुमति छ । केही डान्स बारलाई १२ बजेसम्म व्यवसाय सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । तर, आर्थिक मन्दीको अवस्थामा व्यवसायलाई चलायमान बनाउनका लागि स्थानीय प्रशासनले पूर्णकालीन अर्थात् २४ घण्टा नै होटल व्यवसाय सञ्चालनको अनुमति दिनुपर्ने तर्क होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेको छ ।
‘हामीले पहिलेदेखि नै पूर्णकालीन व्यवसायको माग गर्दै आएका छौँ,’ उनले भने, ‘त्यो सम्भव भएन भने पनि कम्तीमा १२ बजेसम्म होटल व्यवसाय सञ्चालनको अनुमति पाउनुपर्छ ।’ संघका अध्यक्ष र भर्खरै सरुवा भएर आएका कैलालीका प्रमुख जिल्ला अधिकारीसँग पनि रात्रिकालीन व्यवसायका विषयमा कुराकानी भएको छ । नाटा सुदूरपश्चिमका अध्यक्षसमेत रहेका होटल व्यवसायी पदमविक्रम सिंहले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालनको अनुमति प्रदान गर्न प्रशासनलाई आग्रह गरेका छन् ।
‘होटल व्यवसायीहरूले पर्यटक र आम नागरिकलाई गुणस्तरीय सेवा दिने उद्देश्यले होटल सञ्चालन गर्दै आएका छन्,’ सिंहले भनेका छन्, ‘तर, हालको समय सीमाका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको छ । होटेल व्यवसायलाई सहज बनाउन तथा पर्यटकलाई समेत सेवा दिनका लागि होटल व्यवसाय कम्तीमा राति राति ११–१२ बजेसम्म सञ्चालन गर्न सम्बन्धित प्रशासनलाई अनुरोध गर्दछौँ ।’
रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति पाइए भारतीय पर्यटकलाई भित्र्याउन र पर्यटकको बसाइँ लम्ब्याउन सकिने होटल व्यवसायीहरूको तर्क छ । होटल तथा पर्यटन व्यवसायीहरूले ट्राफिक प्रहरीले चेकजाँचका नाममा भारतीय पर्यटकलाई सास्ती दिँदै आएकाले नियमन गर्न पनि स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्