13 July 2024  |   शनिबार, असार ३०, २०८१

बाँकेका नयाँ सिडिओ र एसपीलाई दलहरूको सुझाव : ‘दलाललाई निषेध गर्नू’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ३०, २०८०  

कानुन कार्यान्वयनमा प्रहरी प्रशासनलाई दलहरूले नै हस्तक्षेप गर्ने कुरा नयाँ होइन । जघन्य अपराध गरेकालाई छुटाउन सबैभन्दा पहिले नेताहरू नै प्रहरी, प्रशासनलाई दबाब दिन पुग्छन् । तर आइतबार प्रशासनमा भएको छलफलमा सहभागी भएका दलका अध्यक्षहरूले कानुन कार्यान्वयनमा कुनै प्रकारको हस्तक्षेप नगर्ने सामूहिक प्रतिबद्धता मात्रै गरेनन् नयाँ सिडिओ र एसपीलाई कार्यालयमा दलाललाई प्रवेश निषेध गर्न सुझाव दिए ।

कमल डाँगी । नेपालगन्ज ।

बाँकेका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरा कार्यभार सम्हालेलगत्तै सोमबार दिनभर विभिन्न पक्षसँग छलफलमा व्यस्त रहे । दुबै छलफल समग्र जिल्लाको शान्ति सुरक्षा एवम् कानुन कार्यान्वयनका विषयमा केन्द्रित थियो ।

राजनीतिक दल, पत्रकार र सामाजिक अगुवासँग एकपछि अर्को बैठक गरेका सिडिओ र एसपीले कानुन कार्यान्वयनका सवालमा कहाँ–कहाँ कमजोरी भयो र अब के गर्न सकिन्छ भन्ने सरोकारवाला पक्षको सुझावलाई ध्यानपूर्वक आफ्नो डायरीमा टिपोट गरिरहेका थिए । नेपालगन्जमा उत्पन्न धार्मिक तनावका कारण तत्कालीन सिडिओ विपीन आचार्य र एसपी सन्तोष राठौरलाई गृह मन्त्रालयले तानेपछि कार्यभार सम्हाल्न आएका नयाँ सिडिओ र एसपीले छलफलमा आएका सबै व्यक्तिका कुरा पालैपालो सुने ।

सबैभन्दा पहिलो छलफल राजनीतिक दलसँग थियो । उक्त छलफलमा राजनीतिक दलहरूले प्रष्टरूपमा नयाँ सिडिओ र एसपीलाई ‘कानुन कार्यान्वयनमा बाधा पु¥याउने दलालहरूलाई निषेध गर्न’ सुझाव दिए । कानुन कार्यान्वयनमा प्रहरी प्रशासनलाई दलहरूले नै हस्तक्षेप गर्ने कुरा नयाँ होइन । जघन्य अपराध गरेकालाई छुटाउन सबैभन्दा पहिले नेताहरू नै प्रहरी, प्रशासनलाई दबाब दिन पुग्छन् ।

तर आइतबार प्रशासनमा भएको छलफलमा सहभागी भएका दलका अध्यक्षहरूले कानुन कार्यान्वयनमा कुनै प्रकारको हस्तक्षेप नगर्ने सामूहिक प्रतिबद्धता मात्रै गरेनन् नयाँ सिडिओ र एसपीलाई कार्यालयमा दलाललाई प्रवेश निषेध गर्न सुझाव समेत
दिए ।

नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले सुझाव दिँदै भने, ‘दलका नेता हुन् चाहे जोसुकै दलाली गर्दै प्रहरी, प्रशासनलाई कमजोर बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुहोला । यदि कोही दलाल त्यसरी आउँछ भने त्यसलाई कार्यालयमा प्रवेश गर्न नदिनुस् ।’ कक्षपतिले कानुन कार्यान्वयनमा समस्या सिर्जना नगर्ने प्रतिबद्धता जनाएका थिए । उनले अपराधीलाई संरक्षण गर्ने काममा लाग्नेलाई निगरानी गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेल, नेकपा माओवादी केन्द्रका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले दलहरू अपराधीको संरक्षण हुन नसक्ने बताउँदै अपराध नियन्त्रणमा निसङ्कोच भएर लाग्न नयाँ सिडिओ र एसपीलाई आग्रह गरे । उनीहरू दुवै जनाको भनाइ थियो, ‘यो वा त्यो दलको आडमा कसैले अपराध गर्दै हिँड्छ भने निर्धक्क उनीहरूलाई कानुनी कठघरामा उभ्याउन लाग्नुस् ।’

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले अपराध गर्नेलाई दलहरूले संरक्षण नगर्ने बताए । उनले भने, ‘जघन्य घटनामा कसैले पनि अपराधीको पक्षपोषण गर्दैन । त्यस्ता विषयमा कसैले हस्तक्षेप गर्छ भने निसञ्कोच कारबाही गर्नुस् । तर समाजमा हुने कतिपय विषय हामीसँग पनि सरोकार हुने भएकाले जोड्नुस् ।’

दलहरूका कुरा टिपोट गरेपछि नयाँ सिडिओ र एसपीले कानुन कार्यान्वयनमा कुनै प्रकारको सम्झौता नगर्ने प्रष्टरूपमा बताए । सिडिओ पोखरेलले भने, ‘बाँकेका सबै नागरिकलाई स्पष्ट शब्दमा भन्न चाहान्छु, कानुन कार्यान्वयनमा कुनै प्रकारको सम्झौता हुनेछैन । जुन कुरा बोलेर होइन रिजल्टबाट यहाँहरूले थाहा पाउनुहुनेछ ।’

एपसी बोहराले राजनीतिक दल मात्र नभई सबै पक्षले अपराधीलाई संरक्षण नदिने भनी गरेको प्रतिबद्धताले हौसला दिएको उल्लेख गर्दै भने, ‘कानुन कार्यान्वयनका सवालमा कसैलाई टाडा र नजिक नबनाएर काम गर्छौं ।’

एसपी बोहराले आफ्नो स्वभाव अरूसँग मिठो बोलिवचन गर्ने भए पनि कानुन कार्यान्वयनमा खरो रहेको बताउँदै भने, ‘म मिठो बोल्छु तर कानुन कार्यान्वयनमा खरो छु, रिजल्ट हेर्नुहोला ।’

प्रकाशित मितिः मङ्लबार, अशोज ३०, २०८०     8:18:38 AM  |