दिनेश बुढा । सुर्खेत ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अहिले पनि हजारौको संख्यामा रोजगारीको लागि छिमेकी मुलुक भारत जाने गर्दछन् । साविकको कर्णाली अञ्चलका पाँच जिल्ला तथा अहिलेको कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको समेत रोजगारीको मुख्य गन्तव्य भनेकै भारत हो । खास गरी आर्थिक रुपमा विपन्नहरु वर्षेनी भारत जाने गरेको पाइन्छ । भारत गएर पैसा कमाएर परिवारलाई सुख दिउँला भनेर गएका कति उतै बस्छन् ।
कोही त्यही मर्छन् भने कोही दुःख बोकेर आउँछन् । बहुआयामिक गरिबी रहेको कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेत कै गरिब तथा विपन्न नागरिक धन कमाउन भारत जाने गर्दछन् । यस्तै सपना बोकेर सानै उमेरमा भारत गएपछि पहिरोमा परी पूर्ण घाइते भएर नफर्किने गरी आएका एक उदाहरण हुन्, दैलेखको ठाटीकाँध गाउँपालिका– १ का लोकेन्द्र विक । तीनै विक जो १३ वर्षको उमेर मै विपन्न परिवारलाई खुसी बनाउने सपना बोकेर भारतमा गएका थिए ।
धन कमाउला रोगी आमा बुवाको उपचार गरौंला अनि साहुको ऋण तिरौला भन्ने सपना बोकेर गएका उनी अपांग शरिर लिएर फर्किए । २०७४ सालमा छिमेकी मानबहादुर विकसँग गएका उनले त्यहाँ गएर सडक निर्माणको काम पनि पाए । काम गरी रहेकै बेला सडक माथिबाट आएको पहिरोमा परी पहिरोसँगै आएको ढुङ्गाले लोकेन्द्रको टाउको र खुटटामा गहिरो चोट लाग्यो । धन कमाउन गएका उनी सानै उमेरमा अपाङ्ग बने । अहिले भने उपचार अभावमा छट्पटाइरहेका उनको उपचारको लागि परिवारले सहयोगी दाता गुहार्न थालेका छन् । घरको आर्थिक अवस्था नाजुक भएकोले उपचारमा निकै समस्या उत्पन्न भएको छ । घरमा खुसी फर्किन थाल्दा कमाउन गएका छोरा सानै उमेरमा अपांग बनेर आएपछि परिवारमा बज्रपात भएको छ । ‘कमाई पनि राम्रै थियो । घर पैसा पठाउँथे । परिवारमा खुसी आउन थालेको थियो । तर विपत्तिले हाम्रो परिवारको खुसी धेरै समय टिकेन ।’
लोकेन्द्रकी आमा मैसराले भनिन् । उनले छोराको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरिन् । ‘पढ बाबु भन्दा मानेन । हामीलाई रोजिरोटी, आफुलाई कापि, कलम र स्कुलको ड्रेस किन्ने पैसा कमाउँछु भनेर गएको हो’ उनले आसु झार्दै भनिन्, ‘तर छोरो पूर्ण अपांग भएर फर्कियो ।’ लोकेन्द्रको घरको आर्थिक स्थिति कमजोर हुनुका साथै गाउँलेहरुको अवस्था समेत खासै राम्रो नभएपछि उपचारमा समस्या भएको स्थानीय नविन विकले जानकारी दिए । त्यतिबेला उपचारको लागि भारतमा आर्थिक अभाव भएपछि विरामी अवस्था मै उनलाई नेपालगञ्जको फिजियो केयर हस्पिटलमा उपचारका लागि ल्याइएको थियो ।
उनको त्यहाँ पनि राम्रो उपचार हुन सकेन । त्यसपछि उपचारकै क्रममा लोकेन्द्रलाई काठमाडौ लगिएको नविन बताउँछन् । आर्थिक अभावकै कारणले नै अहिलेसम्म उपचार हुन नसकेको लोकेन्द्रका मामा नर्तम विकको भनाई रहेको छ । उपचारमा संग्लन चिकित्सकहरुका अनुसार कम्मरमा समस्या भएका उनको शल्यक्रिया गरे पहिलेकै अवस्थामा फर्किन सक्नछन् । अहिलेसम्म लोकेन्द्रको उपचारको लागि ५ लाख भन्दा बढी खर्च भइसकेको छ । अझै उनको उपचारका लागि ५ लाख खर्च लाग्ने आमा मैसराले जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्