कोरोना भाइरस अर्थात कोभिड–१९ अहिले विश्वमा महामारीका रुपमा देखा परेको अवस्था छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोराना भाइरस अहिले विश्वका २०५ देशमा फैलिसकेको छ । यसको संक्रमणबाट विश्वमा ६० हजार बढी व्यक्तिको ज्यान गइसकेको छ भने १३ लाख बढी संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि यसको उच्च जोखिममा रहेको छ । नेपालमा पनि पछिल्लो समय यसका संक्रमितको संख्या बढ्दो अवस्थामा छ । अहिलेसम्म ९ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ । सोही अनुसार सबै जिल्लाहरुमा सर्तकता अपनाइएसँगै बाँकेमा पनि उच्च सर्तकता अपनाइएको छ । भारतमा यसका संक्रमितहरु बढिरहेको अवस्थामा सिमा जोडिएको बाँके जिल्लामा पनि खुला सिमानाका कारण यहाँ झनै चुनौती थपिएको छ । बाँके जिल्ला भित्र पनि कोहलपुर नगरपालिका उच्च जोखिममा छ । यसै सन्दर्भमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोहलपुरमा के कस्तो तयारी गरिएको छ भनेर नगरप्रमुख लुट बहादुर रावतसँग यानबी साहुले गर्नु भएको कुराकानी ।
१. अहिले विश्वमा महामारीका रुपमा देखा परेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण फैलिन नदिन कोहलपुरमा के कस्तो पूर्व तयारी गरिएको छ ?
विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण नेपालमा पनि केहि व्यक्तिहरुमा देखा परिसकेको अवस्थामा संघिय, प्रदेश र स्थानीय सरकारले सर्तकता अपनाएसँगै त्यसका लागि कोहलपुर नगरपालिकाले पनि विशेष सर्तकता अनाउँदै आवश्यक पूर्व तयारी गरेको छ । सबैभन्दा पहिले त आम नागरिकहरुलाई सचेत गराउने उद्धेश्यले टोल टोलमा जिङ्गल प्रचार प्रसार, माईकिङ, पर्चा पम्प्लेट वितरण लगायतका कार्यहरुलाई विशेष प्राथमिकता दिइयो । इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा दैनिक गाडीमा जिङ्गल बजाएर विभिन्न ठाउँहरुमा प्रचार प्रसार गरी नागरिकहरुलाई सचेत गराइँदै आइएको छ । यसबाट बच्नका लागि आम नागरिकहरुलाई होम क्वारन्टाइनमा बस्न आग्रह गर्नुका साथै भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुको आवश्यक निगरानीसँगै होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । कुनै व्यक्तिमा कोरोनाको जस्तो मिल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराउन भनेका छौँ । त्यस्तै नगरपालिकाभित्र कोहि व्यक्ति सम्भावित संक्रमित भेटिएमा उनीहरुलई राख्नका लागि ३२ बेडको क्वारेन्टाइन निर्माण, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरसँग समन्वय गरेर आइसोलेशन वार्ड व्यवस्था, चिकित्सकहरुलाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउनुका साथै सबै स्वास्थ्यकर्मीहरुलाई विदा नदिई आ–आफ्नो डियुटीमा खटिन निर्देशन दिएका छौँ ।
२. नगरपालिकाभित्र कोरोनाको सम्भावित संक्रमण भएका कुनै व्यक्ति भेटिएको अवस्थामा छिटो छरितो उद्धारका लागि के कस्तो व्यवस्था मिलाउनु भएको छ ?
कुनै सम्भावित संक्रमित व्यक्ति भेटिएको अवस्थामा छिटो छरितो उद्धार गर्नका लागि नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखासँग समन्वय गरेर एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ । उनीहरुलाई राख्नका लागि कोहलपुर नगरपालिकाको वडा नं.८ पिपरीमा ३२ देखि ३५ बेडसम्मको क्वारेन्टाइनको व्यवस्था गरेका छौँ । त्यहाँ आवश्यक पर्ने कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गार्डको पनि व्यवस्था गरेका छौँ । त्यस्तै खान, बस्ने, पानी, झुल, विस्तारा लगायतका आवश्यक सामग्रीहरुको समेत तयारी अवस्थामा राखिएको छ । अहिलेसम्म त्यहाँ दुई जनालाई राखिएको छ । त्यसका साथै कुनै व्यक्ति सम्भावित संक्रमित भेटिएमा तुरुन्त कावारेन्टाइनसम्म पु¥याउनका लागि प्रत्येक वडामा पाँच÷पाँच जनाको वडा स्तरीय स्वयंसेवक टिम गठन गरेका छौँ ।
३. आम नागरिकहरुमा कोरोनाको त्रास फैलिरहेको अवस्थामा आफूलाई शंका लागेको अवस्थामा चेकजाँच गराउन जाँदा अस्पतालले फिर्ता पठाई दिने गरेको पनि सुन्न पाइन्छ । कोहलपुरमा के छ ?
कोहलपुरमा अहिलेसम्म त्यस्तो कुनै देखिएको छैन । त्यस्ता एक दुई वटा केशहरु अस्पतालबाट फर्काइएको भन्ने सुन्नमा आएको थियो । त्यसबारे हामीले बुझ्दा त्यस्तो होइन भन्ने बुझियो । बरु कोहलपुर स्वास्थ्य शाखाले एक दुई जनालाई चेकजाँच गर्दा अलि धेरै ज्वरो, खोकी देखिएकालाई आइसोलेशनमा राख्ने कि के गर्ने भनेर मेडिकल कलेज कोहलपुरमा पठाएको छ । त्यसको व्यवस्थापन उहाँहरुले गर्नु भएको छ ।
४. कोरोना भाइरस चेकजाँचमा खटिएका चिकित्सकहरुले आवश्यक सामग्रीको अभावमा आफूहरु ज्यानै जोखिममा राखेर लागिरहेको तर स्थानीय सरकारले कुनै वास्ता नगरेको भन्ने गुनासो गरेका छन् नि ?
उहाँहरुले यस्तो भन्नु भए भने गलत भन्नु भयो । यो उहाँहरुको निराधार आरोप मात्रै हो । स्थानीय सरकार वा नगरपालिकाले सबैभन्दा पहिले उहाँहरुलाई नै पुनः प्रयोग गर्न मिल्ने पाँच सेट पीपीई उपलब्ध गराएका छौँ । त्यस्तै नगरपालिकासँग भएका ग्लोब्स्, मास्क, पुनःप्रयोग गर्न नमिल्ने पीपीई लगायतका आवश्यक सामग्रीहरु उपलब्ध गराएका छौँ । उहाँहरु चिकित्सकहरुसँग पनि धेरै मिटिङ्गमा बसेका छौँ । त्यस कारण उहाँहरुले त्यस्तो भन्नु भयो होला भन्ने मलाई लाग्दैन । यदि भन्नु भएको भए त्यो गलत हो ।
५. ‘लकडाउन’ को अवस्थामा अत्यावश्यक खाद्यवस्तुको कालोबजारी, कृतिम अभाव सिर्जन हुन सक्ने सम्भावना पनि हुन्छ । यसको अनुगमन कसरी गर्नु भएको छ ?
अहिलेसम्म कोहलपुर क्षेत्रमा त्यस्तो कुनै अभाव छैन । खाद्यवस्तु प्रर्याप्त नै छ । बजार अनुगमनको जिम्मा उपप्रमुखको जिम्मा भएकोले उहाँलाई कोहलपुर क्षेत्रमा खाद्यवस्तुको प्रर्याप्तता, अभाव, कालोबजारी जे छ त्यसको बारेमा यर्थात जानकारी लिन निर्देशन दिएको छु । यसको बारेमा उपप्रमुखले अनुगमन गरिरहनु भएको छ । यसलाई निरन्तरदा दिइएको छ । फेरि, एक दुई दिनमा नै उहाँसहितको टोलि बजार अनुगमनमा जाँदै हुनुहुन्छ । खाद्यवस्तुहरु आपूर्ती भइरहेकोले अभाव नहोला भन्ने नै हो ।
६. दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारका लागि नगरपालिकाले के कस्ता राहतका कार्यक्रमहरु ल्याएको छ ?
नगरपालिकका १५ वटै वडाहरुबाट गरी करिब ४ हजार ३ सय जना दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारको त्यहाँ गठित वडा कमिटि मार्फत तथ्यांक पाएका छौँ । वडा कमिटीबाट आएको तथ्यांक अनुसार राहतका लागि चेक काटेर हरेक वडाहरुमा पठाई सकेका छौँ । सम्बन्धित वडाका कमिटिलाई त्यहाँ रहेका पार्टी प्रतिनिधिहरुलाई तथ्यांक देखाएर कोहि छुटेको अवस्थामा समावेश गर्न पनि निर्देशन दिइएको छ । राहतस्वरुप ज्याला मजदुरी गर्ने र अति विपन्न हरेक परिवारलाई १५ केजी चामल, २ केजी दाल, एक लिटर तेल र एक केजी नुन वितरण गर्न भनेका छौँ । अहिले त्यो वितरण कार्य भइरहेको छ ।
७. बाँके जिल्ला भारतसँग सिमा जोडिएको जिल्ला भएकोले त्यहाँ कोरोनाका संक्रमित बढिरहेको अवस्थामा यहाँ कतिको जोखिम छ ?
बाँके जिल्ला भारतसँग सिमाना जोडिएको र खुला सिमानाका कारण जोखिममा छ नै । त्यसमा पनि सबैभन्दा बढी कोरोना भाइसरको जोखिम भनेको कोहलपुरमा छ । किनभने कोहलपुर भनेको कर्णाली, सुदूर–पश्चिम र पाँच नम्बर गरी ती वटा प्रदेशका विभिन्न जिल्लाहरुको ट्रान्जिट प्वाईन्ट हो । यहाँबाट भारतका रुपैडिहा, पश्चिमको महाकाली गड्डाचौकी पूर्व मेची नाकाबाट प्रवेश गरेका विभिन्न जिल्लाका हजारौ नागरिकहरु आउने जाने गर्ने भएकाले सबै भन्दा बढी कोहलपुर जोखिममा छ । त्यसकारण यहाँका नागरिकहरु अत्यन्तै सजग र सर्तक हुन जरुरी छ । भारत लगायत अन्य विभिन्न देशबाट आएका नागरिकहरु कोहलपुर हँदै जाने भएकाले उनीहरुसँग भेटघाट गरेकाहरुले झनै सजगता अपनाएर होम क्वारेन्टाइनमा बस्ने र यदि घरभन्दा छुट्टै बस्न चाहेमा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।
८. कोरोना फैलिन नदिन सरकारले घोषणा गरेपनि साँझ र बिहानपख कोहलपुर क्षेत्रमा बढी चहलपहल देखिन्छ नि ?
पक्कै पनि यहाँले भने जस्तै त्यो कुरा मैले पनि महशुस गरेको छु । यहाँ के भयो भने हिजोका दिनमा कुनै राजनीतिक पार्टीले बिहान बन्द ग¥यो, साँझ बन्द खुलेपछि सडकमा ह्वार्ह्वार्ती सडकमा निस्कन्थे । अहिले ठिक त्यहि कुरा सबैको दिमागमा परेको छ जस्तो लागेको छ । बिहान र साँझ सडकमा निस्कने मानिसहरुको चाप बढेको छ । त्यही भएर हामीले गर्दा त्यति प्रभावकारी नहोला भनेर प्रहरीसँगको संयूक्त सहकार्यमा दैनिक प्रचार प्रसार गरिरहेका छौँ । तर पनि निर्धक्कसँग पाँच÷छ जनाको समूहमा ग्रुप बनाएर सडकमा हिडिरहेको पाइएको छ । यसमा नागरिकहरुले नबुझेका हुन् कि बुझेर पनि बुझ् चपाएका हुन्, हामी पनि एकदमै चिन्तित छौँ ।
९. ‘लडकडाउन’ को पालना नगरेको वा अवज्ञा गरेको खण्डमा स्थानीय प्रशासनले कडाई गर्न सक्ने अवस्था रहँदैन ?
यसमा स्थानीय प्रशासनले कडाई गर्न सक्छ । तर यसबारे केन्द्र सरकारले नै निर्णय गर्नुपर्ने हुन्छ । केन्द्र सरकारबाट पनि पछिल्लो निर्णय आइनसकेको हुनले थोरै समस्या भएको हो । यसबारेमा अलि फितलो भयो कि भन्ने मलाई पनि महसुश भएको छ । इलाका प्रहरी कार्यालयको डिएसपी साबलाई पनि यसबारेमा भनेको छु । उहाँहरुले कडाई गरिरहेको भन्नु भएको छ । केन्द्र सरकारको निर्णय अनुसार नै काम गरिरहेको जानकारी दिनु भएको छ । फेरि अहिले उहाँलाई नै भेटेर अलि कडाई गर्नुपर्छ भन्ने सोचेको छु ।
१०. अन्त्यमा कोराना भाइरसबाट बच्नका लागि आम नगरवासीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
आम नगरवासीहरुलाई के भन्न चाहन्छु भने, कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’ पूर्ण रुपमा पालना गराँै । यो तपाई हामी सबै सचेत नागरिकहरुको कर्तब्य हो । विश्वका विभिन्न देशहरुमा दैनिक एक हजार बढी मानिसहरुको ज्यान गरेको अवस्थामा हामी त्यति गम्भिर नभएको जस्तो देखिएको छ । घरघरमा गएर सबैलाई बुझाउन पनि सकिदैन । जनचेतमूलक प्रचार प्रसार, माइकिङ्ग लगायतका कामहरु पनि थुप्रै गरिएको छ । यति गर्दा पनि उहाँहरुले बुझिबुझी बुझ पचाएको हो कि, किन गम्भिर हुन सक्नु भएन, यसप्रति मलाई असाध्यै चिन्ता लागेको छ । फेरि पनि एक पटक सबैलाई आग्रह गर्न चाहान्छु, सबैले आफैले बुझेर यसको पालना गरौँ । यसको अवज्ञा ग¥यौँ भने जनधनको ठूलो क्षति भई मुलुकहरुमा जस्तै विकराल स्थिति उत्पन्न हुन सक्छ । बेलैमा सचेतता अपनाऔँ । अनावश्यक रुपमा घर बाहिर ननिस्कौँ, निस्कनै परेमा प्रहरी वा स्थानीय जनप्रतिनिधिको सल्लाह अनुसार निस्कौँ ।









प्रतिक्रिया दिनुहोस्