चितुवाको आक्रमणबाट एकको मृत्यु



कोहलपुर (बाँके) ।

बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट एकजना पुरुषको निधन भएको छ । असोज २२ गते राति अन्दाजी १२ बजेतिर चितुवाको आक्रमणमा परेका तीन पुरुषको उपचारको क्रममा निधन भएको हो । डिभिजन वन कार्यालय बर्दियाका अनुसार निधन हुनेमा बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ का अन्दाजी ४८ वर्षीय मंगल थारू रहेका छन् ।

थारूको शुक्रबार बिहान ३ बजेतिर उपचारको क्रममा बाँकेमा निधन भएको कार्यालयका निमित्त डिभिजनल वन अधिकृत टोलकराज चापागाईँले जानकारी दिए । मृतक थारू राति १२ बजेतिर गाउँ नजिकैको बाटोमा हिडिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेका थिए । चितुवा आक्रमणबाट उनको घाँटी र अनुहारमा गम्भीर चोट लागेको थियो । आक्रमण लगत्तै थारूलाई उद्धार गरेर बाँकेस्थित नर्सिङ होममा उपचारको लागि लगिएको चापागार्इँले बताए । उपचारकै क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ ।

‘रातिको समयमा आक्रमण गरेको सुनिएको छ । छिमेकीका अनुसार रातिको समयमा रक्सी सेवन गरेर बाहिर निस्किएको भन्ने आशंका गरिएको छ । निधन भइसकेको छ । अब आपसी कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तले बुझ्छन्,’ निमित्त डिभिजनल वन अधिकृत चापागाईँले भने । शवको पोष्टमार्टमपछि मात्रै निधनको विस्तृत कारण खुल्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार