लेक प्याकुरेल
विषय प्रवेश
विक्रम सम्वत २०३८÷०७÷१० का दिन हंसपुर १ हंसपुर (हाल सरुमारानी–३) प्युठानमा जन्मिएका पुष्कर रिजाल पश्चिम नेपालको बाँके जिल्लामा रहेर साहित्य उन्नयनमा क्रियाशील स्रष्टा हुन्। नेपाली विषयमा एमए, नेपाली शिक्षातर्फ एमएडसम्मको औपचारिक शिक्षा हासिल गरेका रिजालले “माधव घिमिरेका गीति नाटकमा ध्वनिविधान“ शीर्षकमा अनुसन्धान गरी विद्यावारिधिसम्मको सर्वोच्च शैक्षिक उपाधि प्राप्त गरिसकेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा प्राध्यापनरत पुष्कर रिजाल साहित्यिक योगाभ्यास नेपाल, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, प्रगतिशील लेखक सङ्घ नेपाल, भेरी साहित्य समाज नेपालगन्ज, राप्ती साहित्य परिषद् लगायत आधा दर्जन बढी साहित्यिक संघसंस्थाहरूमा सक्रिय छन् । पुष्कर रिजालले हालसम्म गजल पुष्प (२०६५ ः गजल संग्रह) प्रायोगिक भाषा विज्ञान (२०६८) मनका भावहरू (२०७९ ः मुक्तक संग्रह) संकलित समालोचना (२०७० ः समालोचना), घिमिरेका गीति नाटक (२०७२), आधुनिक नेपाली कथा (२०७७÷८२) नेपाली लोकसाहित्यको आलोक (२०८२) (धरहराको बकपत्र २०८३ कवितासङ्ग्रह) साहित्यिक एवं गैर साहित्यिक कृतिहरू प्रकाशनमा ल्याएका छन्। उल्लिखित कृतिहरूमध्ये रिजालको अन्तिम कृति हो धरहराको बकपत्र जसको चर्चा गरिनु सान्दर्भिक देखिन्छ।
धरहराको बकपत्र
कवि पुष्कर रिजालद्वारा लिखित धरहराको बकपत्र ९३ पृष्ठको आयाममा संरचित ८८ वटा फुटकर कविताहरूको सङ्ग्रह हो। गद्य र पद्य दुवै शैलीका कविताहरूलाई समेटेर तयार पारिएको धरहराको बकपत्र भित्रका कविताहरूलाई मूलतः पाँच खण्डमा विभक्त गरिएको छ। जसमध्ये पहिलो खण्डलाई आस्था र ऊर्जाका हरफहरू, दोस्रो खण्डलाई मनभरि देश मुटुभरि माया, तेस्रो खण्डलाई समय र सवाल, चौथो खण्डलाई छन्द र कविता एवम् पाँचौं तथा अन्तिम खण्डलाई लोकलाय शीर्षकीकरण गरिएको छ। उल्लिखित खण्डहरूमध्ये पनि पहिलो खण्डमा ७ वटा, दोस्रो खण्डमा ३२ वटा, तेस्रो खण्डमा २२ वटा, चौथो खण्डमा २१ वटा कविता र अन्तिम खण्डमा ६ वटा कविता सहित जम्मा ८८ वटा कविता यस कृतिभित्र अटाएका छन्।
विधागत तत्त्वको आधारमा धरहराको बकपत्र
शीर्षकका आधारमा
कविले कविताको नामाकरण गर्ने उद्देश्यले कविताको शीर्ष स्थानमा राख्ने गरी जुराएको शब्द नै शीर्षक हो। शीर्षक कविताको सारसंक्षेप पनि हो जसले कतै अभिधा, कतै लक्षणा त कतै व्यञ्जना अर्थ बोकेको हुन्छ (ज्यििथधययम पजबदबच.अयm)। सामान्यतया शीर्षक अर्थपूर्ण, विषयवस्तु केन्द्रित ,संक्षिप्त र सूत्रात्मक हुनु जरुरी छ। यही कोणबाट रिजालको धरहराको बकपत्रलाई मूल्याङ्कन गर्दा धरहराले नेपालको राजधानी काठमाडौँको सुन्धारामा विसं १८८२ मा भीमसेन थापाले बनाएको र तत्पश्चात् पटकपटक पुनर्निर्माण भएको अग्लो स्तम्भलाई बुझाउँछ भने साक्षीको बयान लेखिएको कागज विशेषलाई बकपत्र भनिन्छ। यस सन्दर्भमा अभिधात्मक कोणबाट धरहराले कहिँ कतै साक्षी भएर लिखित बयान दिने काम गरेको छैन यद्यपि प्रतीकात्मक रुपमा हेर्दा कृतिभित्र परेका सम्पूर्ण धरहरा भएर अग्लिएका कविताहरूले वर्तमान परिवेशमा जे देखिन्छ सोको फेहरिस्त प्रस्तुत गरेका छन्। यसर्थ सांकेतिक रुपबाट कृतिको नामकरण सार्थक देखिन्छ। अर्को सन्दर्भबाट हेर्ने हो भने कृतिको आठौं क्रममा धरहराको बकपत्र शीर्षकीकरण गरिएको कविता परेको छ जुन कवितालाई शीर्ष कविता बनाएर कविताको शीर्षक धरहराको बकपत्र जुराइएको छ। यस कोणबाट पनि कृतिको नामकरण सार्थक बनेको छ। सङ्ग्रहभित्र सङ्ग्रृहीत शीर्षक व्यवस्थापनलाई हेर्दा सबैभन्दा छोटा एक शब्दले संरचित शीर्षकहरू परेका छन्। यी एक शब्दीय शीर्षकहरूमध्ये पनि दोस्रो क्रममा रहेको ’बा’ शीर्षक अक्षरका दृष्टिले पनि सबैभन्दा छोटो शीर्षक हो। यसैगरी कृतिमा सबैभन्दा लामो शीर्षकका रूपमा ७५औं क्रममा रहेको कविताले धारण गरेको चार शब्दीय गुरु हाँसे हाँस्छ देश आएको छ। यसरी एक शब्ददेखि बढीमा चार शब्दमा ८८ वटा कविताका शीर्षकहरू समेटिएका कारण संक्षिप्त त छन् नै यसका साथै सरल सूत्रात्मक कतै अभिधापक र कतै प्रतिकात्मक प्रकृतिका शीर्षकहरु कृतिभित्र अटाएका छन्।
लयका आधारमा धरहराको बकपत्र
कवितालाई अन्य विधाबाट पृथक तुल्याउने महत्त्वपूर्ण तत्त्व लयविधान हो । फुटकर कवितामा लयविधान बद्ध र मुक्त गरी दुई प्रकारका हुने गर्दछन् । बद्धलयअन्तर्गत वार्णिक, मात्रिक र वर्ण मात्रिक कविताहरू पर्दछन् भने मुक्त लयअन्तर्गत गद्य कविताहरू पर्दछन् । यस कोणबाट मूल्याङ्कन गर्दा धरहराको बकपत्र कवितासङ्ग्रहभित्र बद्ध र मुक्त दुवै प्रकृतिका लय विधानहरू प्रयोगमा आएका छन्। बद्धलय अन्तर्गत पाँचौं खण्डमा परेका २१ वटा कविताहरू मालिनी, अनुष्टुप , शार्दूलविक्रीडित, मन्दाक्रान्ता, भुजङ्गप्रयात, पञ्चचामर जस्ता शास्त्रीय छन्दहरूसँग सम्बन्धित छन् भने छैठौँ खण्डमा परेका छवटा कवितामा झ्याउरे छन्दको प्रयोग भएको छ। त्यसैगरी सङ्ग्रहभित्रका ६१ वटा कविताहरू गद्य लयमा आधारित छन्। गद्य लयलाई अझ सशक्त र श्रुतिमधुर बनाउनका लागि कतिपय कविताहरूमा अन्त्यानुप्रासको समेत संयोजन गरिएको छ।
कैयन तीर्थले नबुझाएको मन जति कमाए पनि नपुगेको धन (पृष्ठ २)।
केन्द्रीय कथ्य वा भावका आधारमा आधारमा
कविताले अभिव्यक्त गर्न खोजेको मूल विचार वा विषयलाई नै केन्द्रीय कथ्य वा भावका रूपमा सङ्केत गरिन्छ । केन्द्रीय कथ्य र भावलाई कतिपय समालोचकहरूले भाव वा विचार भनेर पनि चिनाएका छन् । “जीवन जगतका सारा अनुभव तथा अनुभूतिहरूको कथन कवितामा हुन्छ । यसर्थ कवितामा कथन गरिएको जीवनजगत्को अनुभूतिहरूको सारतत्त्व नै कविताको भाव वा विचार हुने गर्दछ (महाश्रम शर्मा र कृष्णप्रसाद सुबेदी, पृष्ठ १२) ।“ यही केन्द्रीय कथ्यका आधारमा धरहराको बकपत्रभित्र परेका कविताहरूको मूल्याङ्कन गर्दा कविताहरू नेपालको सामाजिक, राजनैतिक,सांस्कृतिक क्षेत्रमा व्याप्त विकृति विसङ्गतिलाई देखाउँदै सुधारको अपेक्षा राख्दछन् । वैयक्तिक शान्ति र विश्वजनिन शान्तिलाई महत्व दिइएको प्रस्तुत संग्रहभित्र प्रेमका विविध स्वरूपहरू प्रकटीकरण भएका छन्। यस सन्दर्भमा प्रकृति प्रेम, जन्मभूमि र कर्मभूमि प्रतिको प्रेम, नेपाली भाषा, संस्कार र संस्कृतिप्रतिको प्रेम तथा जन्मदाता, गुरु र पेसाप्रतिको प्रेमले कविताको स्वरूप धारण गरेका छन्। गरिब दुःखीप्रति सहानुभूति, उच्चवर्गीय व्यक्तित्वहरूको थिचोमिचो माथिको खबरदारी गरिएको प्रस्तुत संग्रभित्र श्रम र सिर्जनालाई महत्व दिन आग्रह गरिएको छ। सङ्ग्रहभित्र सङ्ग्रृहीत केही कविताहरूले महङ्गी नियन्त्रण गर्न नसक्ने तर जनताको वाक स्वतन्त्रता खोसेर आफैंलाई बहादुर घोषित गर्ने सरकारप्रति खबरदारी गरिएको छ भने केही कवितामा नेपालको गौरवमय इतिहासलाई स्मरण गर्दै सहिदहरूले गरेको त्याग र बलिदानीप्रति नतमस्तक भएर सम्मान प्रकट गरिएको छ। समग्रमा धरहराको बकपत्र विकृति विसंगतिको विरोध, आदरणीय व्यक्तित्वहरू माथिको श्रद्धाभाव तथा प्रकृति, जन्मभूमि र कर्मभूमिप्रति कविमनमा उठेको अघात प्रेमको त्रिवेणी हो।
संरचनाका आधारमा
कविताको संरचना भन्नाले त्यसको बनोट र बुनोटलाई बुझिन्छ । कविताको बनोट र बुनोटका माध्यमबाट व्यक्त हुन आउने अर्थगत स्वरुपसँग संरचना सम्बन्धित हुने गर्दछ । ’बनोट कविताको हरफ पङ्क्ति, पाठ चरण अनुच्छेद, परिच्छेद, सर्ग, खण्ड आदि बाह्य संरचनासँग सम्बन्धित हुन्छ भने बुनोट कविताको आन्तरिक संरचनासँग सम्बन्धित हुन्छ। संरचनाको आधारमा धरहराको बकपत्रलाई मूल्याङ्कन गर्दा कृतिभित्र पाँच खण्ड को संयोजन गरी ८८ वटा फुटकर कविताहरू समेटिएको छ। यी कविताहरूमध्ये सबैभन्दा लामो कविता एक्काइसौँ क्रममा रहेको सामत बा हो। यस कविताले तीन पृष्ठ चर्चेको छ भने सबैभन्दा छोटा कविताका रूपमा फूल र माउसुलीको सिकार जस्ता सात हरफे कविता परेका छन् जुन संरचनाका दृष्टिले अत्यन्त संक्षिप्त मानिन्छन्। यी दुई कवितामध्ये पनि माउसुलीको शिकार शीर्षकको कविता जम्मा २४ वटा शब्दहरूको संयोजन गरेर तयार पारिएको कारण यही कवितालाई नै सबैभन्दा संक्षिप्त कविताका रूपमा लिन सकिन्छ। छोटोमा दुई हरफका एक श्लोक निर्माण गरिएका कविताहरू पनि संग्रहभित्र परेका छन् भने एउटै अनुच्छेदमा सम्पूर्ण संरचना तय गरिएका कविताहरू पनि कृतिभित्र राखिएको छ। धरहराको बकपत्रभित्र अधिकांश कविताका श्लोकहरू एकआपसमा अन्तरसम्बन्धित छन्। सुरुका श्लोकहरुले जुन विषयवस्तुको उठान गरेका छन् अन्त्यसम्म नै त्यही विषयवस्तु केन्द्रित विचारहरू आएका छन्। यसै सन्दर्भमा केही कविताका केही श्लोकहरू भने स्वतन्त्र भावमा संरचित छन्। जहाँ प्रयोग भएका श्लोकहरुले फरक फरक ढङ्गका विषयवस्तुको उठान गरेका छन् तथापि यस्ता श्लोकहरूको सङ्ख्या अत्यन्त कम रहेका छन्।
कथनपद्धतिका आधारमा
कथन र पद्धतिबाट बनेको कथनपद्धति शब्दमा कथनले भनाइ वा विचारलाई बुझाउँछ भने पद्धतिले तरिकालाई सङ्केत गर्दछ । यस अर्थमा कवितामा कविले आफ्ना विचारहरूलाई पाठक समक्ष पुरÞ्याउन अपनाउने तरिका विशेष नै कथनपद्धति हो। कवितामा कथनपद्धति प्रथमपुरुषात्मक कथनपद्धति र तृतीय पुरूषात्मक कथनपद्धति गरी मूलतः दुई प्रकृतिका हुने गर्दछन् ।
प्रथम पुरुषात्मक कथनपद्धतिलाई कवि प्रढौक्ति उक्तिढाँचा र तृतीय पुरुषात्मक कथनपद्धतिलाई कविनिबद्ध प्रढौक्ति उक्तिढाँचा भन्ने गरिन्छ । कथन पद्धतिका आधारमा धरहराको बकपत्र भित्र परेका आमा, बा, मुस्कान किन रुक्छ, तिम्रो स्वभाव, कद, धरहराको बकपत्र, प्रश्न, जन्मभूमि–कर्मभूमि लगायतका कविताहरू पहिलो पुरुषात्मक कथन पद्धतिमा आधारित छन् भने
प्रातः उमङ्ग, क्रान्ति, मालचरी र सपना, जल महिमा, गुरु, शारदीय लगायतका कविताहरूले तृतीय पुरुषात्मक दृष्टिबिन्दु अँगालेका छन् । यसर्थ धरहराको बकपत्रभित्र पहिलो र तेस्रो दुवै पुरुषात्मक दृष्टिबिन्दुको समान उपस्थिति रहेको पाइन्छ।
भाषाशैलीका आधारमा
विचार विनिमयको माध्यमलाई भाषा भनिन्छ । भाषा लिखित र मौखिक गरी दुई प्रकारका हुने गर्दछन् । यही भाषालाई साहित्यमा कलात्मक ढङ्गले प्रस्तुतीकरण गर्ने तरिका विशेष नै शैली हो । भाषाका दृष्टिले रिजालको धरहराको बकपत्रलाई हेर्दा कृतिभित्र प्रयुक्त भाषालाई सबल बनाउन तत्सम, तद्भव, आगन्तुक जस्ता शब्द स्रोतहरूको यथोचित प्रयोग गरिएको छ भने नाम,सर्वनाम, विशेषण, निपात जस्ता पद वर्गहरूले शब्दभण्डारलाई थप मजबुत बनाउँदै भाषालाई सघाएका छन् । भाषा जब सरल ढङ्गले अभिव्यक्त हुन्छ तब त्यो केवल कुराकानी हुने गर्दछ यद्यपि त्यही भाषाले शैलीको सहारा लिएर मिठास भर्छ अनि मात्र साहित्यको सिर्जना हुन्छ । शैलीको यही महत्तालाई बुझेका रिजालले कृतिभित्र अभिधात्मक भन्दा प्रतीकात्मक शैलीलाई महत्त्व दिएका छन् ।
विम्बालङ्कारका आधारमा
विम्ब र अलङ्कारको सिङ्गो स्वरूप विम्बालङ्कार हो । कुनै पनि साहित्य विशेषमा चित्रित विषयवस्तुले पाठकका मस्तिष्कमा जे जस्तो आकृति निर्माण गर्छ त्यस आकृति विशेषलाई नै विम्ब भनिन्छ । अलङ्कारको शाब्दिक अर्थ गहना हो । साहित्यका क्षेत्रमा अभिव्यक्त हुने कथनहरूलाई जसले सुन्दर बनाउँछ अथवा सजाउँछ त्यसलाई नै अलङ्कार भनिन्छ । विम्ब प्रयोगका दृष्टिले रिजालको धरहराको बकपत्र निकै समृद्ध देखिन्छ। शीर्षकमै धरहरा लाई संयोजन गरी बिम्बको आभास गराएका रिजालका कविताभित्र नदी, हिमाल, जुन, ऐसेलु सिमल आकाश रुख पवन जस्ता प्राकृतिक बिम्बहरूको बाक्लो प्रयोग भएको छ भने एकलव्य,अश्वस्थामा, बुद्ध जस्ता धार्मिक एवं पौराणिक बिम्बहरू पनि कृतिभित्र परेका छन्। होली दशैं जस्ता सांस्कृतिक विम्बहरू पनि समेटिएका छन्। यसर्थ प्राकृतिक, सांस्कृतिक एवं मानवीय जीवनजगत सम्बन्धित विम्बहरूको व्यापक प्रयोग भएको धरहराको बकपत्रमा अनुप्रासगत शब्दअलङ्कारको सफल प्रयोग गरिएको छ। यसअन्तर्गत कविताका प्रत्येक श्लोकहरुमा गरिएको अन्त्यनुप्रासको प्रयोगले कविताको बान्कीलाई सजाएको छ भने आंशिक रूपमा भएपनि आध्यानुप्रास र मध्यानुप्रास पनि कृतिका गहना बनेका छन्। अर्थालङ्कारअन्तर्गत उपमा अलङ्कारको आधिक्यता रहेको कृतिभित्रका कविताहरूलाई प्रसङ्ग अनुकूल प्रयोग गरिएका प्रश्न अलङ्करण प्रविधि तथा रूपक दृष्टान्त, उत्प्रेक्षा, समाशोक्ति स्वभावोक्ति जस्ता अर्थालङ्कारले थप सजाएका छन्।
निष्कर्ष तथा मूल्याङ्कन
साहित्यकार पुष्कर रिजालको चौथो साहित्यिक कृति धरहराको बकपत्र मुक्त र वद्य लयमा समेटिएका ८८ वटा फुटकर कविताहरूको सङ्ग्रह हो। विशेषतः मानव, समाज र प्रकृतिलाई विषयवस्तु बनाएर तयार पारिएका कविताहरुमा सामाजिक, राजनैतिक,सांस्कृतिक क्षेत्रमा व्याप्त विकृति विसङ्गतिलाई देखाउँदै सुधारको अपेक्षा राखिएको छ। मह भित्र माखा लुटपुटिए झैँ स्वार्थमा लुटपुटिएको अहिलेको समाजलाई सत्मार्गमा हिँड्न आह्वान गरेका कवि रिजालले बाआमा र गुरुजस्ता अग्रजहरूलाई सम्मान गर्न आग्रह गरेका छन् । थोरै नोस्टल्जिक एवं बढी समसामयिक र यथार्थपरक भएर कवितामा प्रस्तुत भएका रिजालले सङ्ग्रहभित्र राष्ट्रियता र माटोप्रतिको स्नेहलाई गम्भीरतापूर्वक उठाएका छन्। बिम्ब र अलङ्कारको सदुपयोग गर्दै काव्यात्मक हरफहरूलाई प्रभावकारी ढङ्गले पेश गरेका रिजालले कवितामा चिन्ता मात्र होइन चिन्तन पनि गरेका छन्। उल्लिखित शक्तिहरू रहेको धरहराको बकपत्र सीमा रहित भने अवश्य छैन। केही कवितामा छन्दमा बाँधिने लोभका कारण कविताको भाव पक्ष फितलो बनेको छ। केही कविताहरू गहन र सन्देशात्मक कोणबाट प्रभावकारी बनेका छन् यद्यपि केही कविताहरू सतही र सामान्य प्रकृतिका छन्। उल्लिखित शक्ति र सीमाको मझधारमा उभिएर मूल्याङ्कन गर्दा पुष्कर रिजालको धरहराको बकपत्र काव्यजगतमा धरहराको चुचुरोलाई भेटाइसकेको कृति पनि होइन न त यो सिकारुले सिक्ने बेलामा तयार पारेको छिपछिपे साहित्यको पिँधमा हराएको काव्यकृति हो। उत्तम पनि नबनिसकेको र अधमभन्दा धेरैमाथि उठेको रिजालको ’धरहराको बकपत्र’ कृतिगत वैशिष्ट्यका आधारमा मध्यम प्रकृतिको काव्यात्मक कृति बनेको छ।









प्रतिक्रिया दिनुहोस्