डिल्ली शाही कोहलपुर २९ , अबदेखि बर्दिया बाँसगढी नगरपालिका भित्रका किसानहरुले पशु बिमा गर्दा कुल बिमांक शुल्क रकमको पाँच प्रतिशत मात्र तिरे पुग्ने भएको छ । नगर भित्रका किसानहरुले पालेका पशुहरुलाई गर्ने बिमा शुल्कमा अनुदान दिनेगरी चौथो नगरसभाले पशु बिमा कार्यक्रम पारित गरेको थियो ।
सो कार्यक्रम बाँसगढी नगरपालिकाभित्र सोमबारदेखि लागु भइसकेको छ । पशु बिमा कार्यक्रमको नगरप्रमुख शालिकराम अधिकारीले सुरुवात गरेका थिए । अबदेखि बाँसगढी नगरपालिका भित्रका किसानहरुले पालेका पशुको बिमा गर्दा कुल बिमांक शुल्क रकमको पाँच प्रतिशत मात्र तिरे पुग्ने उनले जानकारी दिए । पशु बिमाको कुल बिमा शुल्कको बिस प्रतिशत रकम नगरपालिकाले तिरिदिने छ ।
केही बर्षदेखि नेपाल सरकारले पशुको बिमा गर्दा बिमा शुल्कको ७५ प्रतिशत अनुदान दिने गरेको छ । पहिले बिमा शुल्कको बाँकी २५ प्रतिशत किसानहरुले तिर्ने गरेका थिए । नगर प्रमुख अधिकारीले नगरभित्रका किसानहरुलाई बिमातर्फ आकर्षण गर्नको लागि कार्यक्रम लागु गरिएको बताए । ‘पशु बिमालाई अभियानको रुपमा नै लिएर किसानको घर–घरमा पुग्नेछौं’ उनले भने, ‘अब नगरपालिकाले थालेको अभियानमा धेरै किसानहरु सहभागि हुनेछन्, पशु मृत्यू भएमा तुरुन्तै बिमा रकमको ९० प्रतिशत दिने गरी नगरपालिकाले छुट्टै कोषको खडा गरेको छ ।’
बिमाको नियममा रहेर बिमा गरिएका पशुको मृत्यू भएको दिनमा नै किसानलाई ९० प्रतिशत रकम पहिले नगरपालिकाले दिने नगर प्रमुख अधिकारीले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्रीले त्यसका लागि १० लाख रुपैयाको कोष खडा गरिएको बताए । उनका अनुसार मृत्यू भएको पशुको बिमा दाबी भुक्तानीमा चाहिने आवश्यक कागजातहरु प्राप्त भइसकेपछि बिमा कम्पनीले बिमा दाबी रकम कोषमा जम्मा गर्नेछ । नगरभित्रका पशुहरुमा गरिने बिमामा २५ प्रतिशत रकम अनुदान दिने लक्ष्यका साथ चालु आर्थिक बर्षमा ५ लाख रुपैया छुट्याइएको खत्रीले जानकारी दिए ।
नेपाल सरकारले विगतमा गर्दै आएको पशुबिमा ग्रामीण स्तरसम्म पुग्न नसकेको र किसानले बेहोर्नुपर्ने रकम पनि २५ प्रतिशत भएकाले सबै किसानको पहुँचमा पुग्न नसकेकोले अब पहुँच पुग्ने दाबी उनले गरे । नगरपालिकाले बिमाको लागि सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ । सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय प्रमुख गोविन्दप्रसाद उपाध्यायले पशु बिमा गर्ने किसानहरुलाई आफुहरुले सहज रुपमा सेवा दिने प्रतिबद्वता जनाए ।
वर्षौदेखि पशुपालन गर्दै आएका बाँसगढीका पशुपालक किसानहरु आफ्नो क्षेत्रमा पशुबिमा कार्यक्रम लागु भएपछि उत्साहित बनेका छन् । अहिलेसम्म पशुपालमै रहेर जिविका धान्दै आएका किसानहरु पहिलोपटक आफ्नो पशुको पनि बिमा हुन थालेपछि खुशी भएका हुन् । नगर पशु शाखा प्रमुख डाक्टर प्रेम कुमार मण्डलले आफुले पालेका किसानहरुका पशुको सुरक्षाको लागि बिमा गर्नुपर्ने बताए । पशु बिमा कार्यक्रममा सहभागि हुन उनले सबै नगरभित्रका किसानहरुलाई आग्रह समेत गरे ।
अहिले नगरपालिकाले बिनियोजन गरेको रकमले २५ करोड भन्दा बढी रकम बराबरको पशुको बिमा गर्न सकिने शाखा प्रमुख मण्डलले जानकारी दिए । नगर पशु शाखाका पशु स्वास्थ्य प्राविधिक दिपकराज थापाले सञ्चालन गरेको कार्यक्रममा नगर उप–प्रमुख सुष्मा थारु, वडा नम्बर ६ का अध्यक्ष दशरथ थारु, नेकपाका युवा नेता रेशम अधिकारी, स्थानीय जनप्रतिनिधी, किसान लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्