बर्दिया/ अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा प्रदायक नगरपालिका घोषणाका लागि बाँसगढी नगरपालिकाले प्रारम्भिक अभियान शुरु गरेको छ । राष्ट्रिय अभियानलाई आत्मा साथ गर्दै बाँसगढी नगरपालिकाले महाअभियानको रुपमा लिएर सक्रियाताका साथ अभियान सुरु गरेको हो ।
नगरपालिकालाई चाँडै अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा प्रदायक नगर घोषणाका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एक समिति पनि निर्माण गरिएको छ ।
नगरलाई यसै भदौ २३ गते पर्ने शिक्षा तथा साक्षरता दिवसको अवसरमा घोषणा गर्ने लक्ष्यका साथ सोमबार ९ वटै वडामा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्ष बिच बैठक बस्ने र १५ गते सम्म घरधुरी सर्वेक्षण फारम भर्ने लगायतका कार्यहरुलाई सक्रियताका साथ अघि बढाईने सरोकारवालासँग अन्तरक्रिर्या कार्यक्रममा निर्णय गरिएको छ ।
बाँसगढीमा प्रारम्भिक तथ्यांक हेर्दा झण्डै १२ हजार विद्यार्थीहरु विद्यालय पहुँचमा भएपनि केही विद्यार्थी विद्यालय बाहिर रहेकोले विद्यालयको पहुँचमा ल्याउन यो अभियान शुरु गरिएको नगर शिक्षा शाखा प्रमुख रबिलाल मिजारले बताए ।
बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकारीले सबैले आफ्नो ठाँउबाट ईच्छा शक्ति देखाएर आ–आफ्नो जिम्बेवारी पुरा गरे अभियान सफल हुने बताए । नगर प्रमुख अधिकारीले बाँसगढी नगरपालीका अब निःशुल्क शिक्षा पढाउने दिशातर्फ अगाडि बढ्यौँ भन्ने महाअभियानका साथ सबै जुट्न आग्रह गरे ।
शिक्षा मन्त्रालयका सहसचिव चुडामणी पौडेलले संघिय सरकारले शिक्षाको हकलाई मौलिक हकको रुपमा लिएर अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी ऐन तर्जुमा गरेको र ऐन पारित भए पछि कुनै पनि अविभाकहरुले बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित गराउन नपाईने र दण्डनिय हुने बताए ।
उनले सम्वैधानिक हकले निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरेका अवस्थामा स्वस्फुर्त रुपमा यो अभियानमा लागेकोमा नगरपालीकालाई स्रहाना गर्दै सफलताको शुभकामना दिए ।
उनले शिक्षक दरबन्दी व्यवस्थापनको लागि समिति गठन भईसकेको र प्राबिधिक शिक्षाको दरबन्दीलाई पुग्ने गरी शिक्षक दरबन्दीको व्यवस्थापन गर्न संघिय सरकार लागेको बताए ।
राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रमका क्षेत्रिय संयोेजक रामरिजन यादवले शिक्षा प्रदायक नगर घोषणाको लागि विषयबस्तु, समस्या पहिचान, प्राथमिकीकरण र कार्यान्वयनको लागि कार्ययोजनाको साथ अगाडि बढे सफल हुने कुरामा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्