सञ्जीवनीमा सुत्केरी मृत्यु प्रकरणः शव र शिशु नबुझ्ने अडानमै आफन्त



नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचारका १९ वर्षीया सुत्केरी पवित्रा केसीको मृत्यु भएको विषयमा विवादबारे बुधबार पनि निकास निस्किएन ।आफन्तहरूले केसीको शब र उनीबाट जन्मिएका जुम्ल्याहा शिशुहरू बुझ्न इन्कार गरिरहेका छन् । आफन्तहरूले चिकित्सकको लापरबाहीले केसीको ज्यान गएको आरोप लगाइरहेका छन् । तर उनीहरूले यो समाचार तयार पार्दासम्म पनि कुनै निकायमा उजुरी दिएका छैनन् ।

यता अस्पताल प्रशासन केसीको मृत्यु एकैपटक धेरै अंगहरूले काम गर्न छोडेका कारण भएको र उपचारमा चिकित्सकहरूले कुनै लापरबाही नगरेको अडान लिँदै आएको छ । अस्पतालका प्रबन्धक कुमार अधिकारी उक्त विषयमा मंगलबार भएको छलफलमा आफन्तहरू आफन्तहरूले केही रकम, बीमा र उपचारमा छुट लगायतका माग राखेपछि अब कुनै पनि छलफल नगर्ने बरु कानुनी उपचारमा गए सघाउन तयार रहेको भनेको बताउँछन् ।

मेडिकल काउन्सिल लगायतका निकायमा गएर कानुनी उपचार खोज्न सुझाए पनि आफन्तहरूले आरोप लगाउने तर कानुनी उपचारतर्फ नलागेकोले विवाद समाधान हुन नसकेको अधिकारीले बताए । विवाद समाधान नहुँदा शव अस्पतालमै रहेको र दुई शिशुहरू पनि अस्पतालकै जिम्मामा रहेको उनले बताए । दुवै शिशुहरू स्वस्थ रहेको पनि अधिकारीले जानकारी दिए । शव र शिशु आफन्तहरूले नबुझ्दा अस्पतालका लागि पनि टाउको दुःखाइको विषय भएको उनले बताए ।

यद्यपि विवादका कारण अस्पतालको सेवा प्रवाहमा भने कुनै असर नरहेको उनले जानकारी दिएका छन् । यता बिरामीका आफन्तहरूले भने उक्त विषयमा अब के गर्ने भन्ने विषयमा पारिवारिक छलफलमा रहेको बताएका छन् । मृतक केसीकी आमाजु सजिता आचार्यले अस्पताल सहमतिमा नआएसम्म शव नउठाउने अडानमै रहेको र थप कदमका विषयमा पारिवारिक सल्लाह गरिरहेको बताइन् ।

२६ गते अस्पतालको इमरजेन्सी कक्षमा ल्याइएकी बर्दियाको बढैयाताल गाउँपालिका–७ की पवित्राको कात्तिक २९ गते राति १२ः४५ बजे मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेका थिए । पवित्राको स्वास्थ्यमा जटिलता आएपछि अपरेशनमार्फत दुई शिशुहरू निकालिएको थियो भने रक्तश्राव नरोकिएपछि पुनः अर्काे अपरेशनमार्फत पाठेघरसमेत निकालिएको थियो । तत्पश्चात् पनि रक्तश्राव नरोकिएको, मुटुले काम गर्न छोडेको लगायतका कारण केसीलाई बचाउन नसकिएको अस्पतालको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ४ गते बिहीबार