बसले साइड नदिएपछि बिरामीको बाटैमा ज्यान गयो



डोटी,३० चैत/  बिरामी बोकेको गाडीलाई साइड नदिने बसमाथि डोटीमा तोडफोड भएको छ ।

पूर्वीचौकी गाउँपालिका क्षेत्रमा एम्बुलेन्स नभएका कारण स्थानीयले शैलेश्वरी यातायातको से १ ज ३७६ नं. को बोलेरो जीपमा बिरामीलाई अस्पताल लाँदै थिए ।

आपतकालीन बत्ती बालेर आएको जीपले पटक–पटक साइड माग्दासमेत बस चालकले लापरवाही गरेका कारण समयमै अस्पताल पुग्न नसक्दा बालकको ज्यान गएको मृतकका आफन्तहरुको आरोप छ ।

चार किलोमिटरसम्म पनि आफूहरुलाई साइड नदिएपछि बाटोमै बालकले ज्यान गुमाउनु परेको उनीहरु बताउँछन् ।

खेल्ने क्रममा पानीले भरिएको बाल्टिनमा डुबेर अचेत भएका धनबहादुर धानुकलाई उपचारका लागि डोटी जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटाेमै ज्यान गएकाे हाे । मृतक बालकका अाफन्तले भने बसले साइड नदिएका कारण समयमै अस्पताल पुग्न नसकेकाे बताएका छन् ।

आपतकालीन संकेत दिँदा पनि चार किलोमिटरसम्म बसले साइड नदिएको भन्दै मृतकका आफन्तहरुले बसमाथि तोड्फोड गरेका छन् ।

साइड नदिएको आरोपमा बाजुराबाट महेन्द्रनगरतर्फ गइरहेको महाकाली यातायातको ना ७ ख ६१८२ नं. को यात्रुवाहक बस तोड्फोड गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुविरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्दा दायर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो ।-ujyaaloonline

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३० गते शुक्रबार