बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको बथान फेला परेको छ। निकुञ्ज कार्यालयले हालै बिछ्याएको ‘क्यामेरा ट्रापिङ’ बाट उक्त बाघको बथान फेला परेको हो।
पाटेबाघले गाउँ आसपासको क्षेत्रमा आफ्नो उपस्थिति देखाउन थालेपछि निकुञ्जले निगरानी बढाउन विभिन्न सम्भावित ठाउँमा क्यामेरा बिछ्याएको थियो। यसका साथै दुई वटा हात्तीसहित नेपाली सेना र निकुञ्जका कर्मचारीले नियमित रुपमा गस्ती गर्दै आएका थिए।
आइतबार बेलुकी साढे ५ बजेतिर दुई वटा पाटेबाघको जोडी एक्कासी गाउँभन्दा करिव ३ किमी पूर्वस्यानीखोली राजमार्ग जंगलमा फेला परेपछि बाघ पुरानै ठाउँमा फर्किएको अनुमान गरिएको थियो। निकुञ्जले बिछ्याएको क्यामेरा हेर्दा अहिले त्यहाँ चार वटा वयस्क पाटेबाघ फेला परेको तथ्य बाहिर आएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले चारवटै बाघलाई गाभर र सौरीको बीच जंगलमा क्यामेराले कैद गरेको बताए।
‘अहिले निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्ती सोनारीको गाभर र सौरी बीचको जंगल हो,’ उनले भने, ‘बाघको बथान नै गाभर र सौरी खण्डको जंगलमा रहेको हाम्रो क्यामेराले देखायो, यिनीहरु कहिले निकुञ्ज क्षेत्रमा देखिन्छन्, कहिले सामुदायिक जंगलमा देखिरहेका छन्।’
क्यामेरामा कैद भएका चार वटा बाघ मान्छेलाई आक्रमण गरेको मध्येकै हुन् वा होईनन्, भन्नेमा यसबारे एकीन हुन नसकेको प्रमुख शाहले बताए। ‘त्यो क्षेत्रमा अहिले हाम्रो अनुगमनले चार वटा वयस्क बाघ देखियो, त्यो चार वटा मध्ये हामीले यस वर्ष पनि निकुञ्जका पाटेबाघको क्यामेरा ट्रयापिङ प्रविधिबाट अनुगमन गरेका थियौं, ति चार वटा मध्ये तीन वटाको पहिचान त भईसक्यो,’ उनले भने, ‘विगतमा पनि हाम्रो क्यामेरा ट्रयापिङको फोटोमा तीन वटा चाही पहिचान भईसकेका छन्, अब एउटाको पहिचान हुन बाँकी छ।’
क्यामेरामा परेका बाघ सबै वयस्क देखिएको उनले सुनाए। केहीदिन अघि मान्छे खाएको बाघलाई निकुञ्जले माउलाई छाडेर स्वतन्त्रपूर्वक हिँडिरहेका बच्चा बाघ भएको हुन सक्ने अनुमान गरेको थियो। तर, अहिले क्यामेरामा परेका सबै वयस्क बाघ रहेका छन्। शाहले थपे, ‘हामीले टाँढाबाट हेरेको कारणले गर्दा बच्चा जस्तो लागेको पनि हुन सक्छ, तर फोटोमा हेर्दा त बच्चा देखिएन, यि चाही वयस्क बाघ हुन्।’
यस हिसाबले कुसुम क्षेत्रमा बाघको संख्या अझै धेरै रहेको हुन सक्ने प्रमुख संरक्षण अधिकृत शाहको अनुमान छ। बाघले मान्छे र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि निकुञ्जले दुई वटा हात्तीमार्फत नियमित अनुगमन गरिरहेको र सेना तथा कर्मचारीले पनि नियमित गस्ती गर्दै आएको र नियन्त्रण गर्न कठिनाई भइरहेको प्रमुख संरक्षण अधिकृत शाहले बताए। बाघ नियन्त्रणमा नआएकाले राजमार्गमा यात्रा गर्ने सवारी साधनलाई कडाई गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्