सुदीप अधिकारी : बर्दिया,२७ माघ/ बर्दियामा एकैसाथ दुईवटा सुविधा सम्पन्न कबडहल बन्ने भएका छन् । जिल्लाको बाँसगढी नगरपालिका–४ मगरपुरमा अन्तरराष्ट्रिय स्तरको कबड्डी एकेडमी र ठाकुरबाबा नगरपालिका–२ रानीपुरमा खोखो खेलको कबडहल निमार्ण हुन लागेको हो ।
यी दुबै बहुउद्देशीय कबडहल हुनेछन् । दुबै कबडहलको यसैसात नेपाल राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्टले शिलान्यास गरेका छन् । नर्माण सम्पन्न गर्न ५० करोड रुपौँया लागत लाग्ने बताइएको छ । तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने खेलकुद परिषदको लक्ष्य रहेको छ । निर्माण सुरुवात गर्न यसपटक ५ करोड रुपैँया छुट्याइएको परिषदका सदस्य सचिब विष्टले बताए ।
उनले भने, ‘यो बहुउद्देशीय योजना हो । निर्माण सम्पन्न गर्न तीन वर्ष लाग्ने अनुमान गरेका छौं । सबैबाट साथ पाए समयमै निर्माण सम्पन्न हुनेछ ।’ यो कबड्डी एकेडेमी नेपालकै पहिलो हो । कबडहल निर्माणले यस क्षेत्रको खेलकुदले ठूलो फड्को मार्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनाल
बताउँछन् ।
आगामी वर्ष मंसिर महिनामा नेपालगञ्जमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत कबड्डी प्रतियोगिता यसै कबडहलमा संचालन गर्ने गरी निर्माण कार्य अघि बढाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले बताए । ‘योजना अनुसार निर्माण सम्पन्न गर्न तीन वर्ष लाग्छ । तर
आउँदो मंसिर महिना सम्म कबड्डी प्रतियोगिता संचालन गर्न सक्ने गरी पूर्वाधार निर्माण हुनेछ,’ अध्यक्ष खनालले भने ।
कबड्डी लगायत अन्य खेलकुदका क्रियाकलापमा युवाहरुलाई आकर्षित गर्न बहुउद्देशीय कबडहल निर्माण गर्न लागिएको अखिल नेपाल राष्ट्रिय कबड्डी संघकी केन्द्रीय अध्यक्ष तुल्सा थापाले बताइन् । कबडहल निर्माण हुन लागेको खुशी व्यक्त गर्दै कबड्डी खेलका मध्यपश्चिमाञ्चल क्याप्टेन कन्हैया थारुले बहुउद्देशीय कबडहलले यहाँका स्थानीय युवाहरुलाई खेल प्रति अझ आकर्षण गर्ने बताए ।
यसैगरी ठाकुरबाबा नगरपालिका –२ रानीपुर खेल मैदानमा खोखो बहुउद्देश्यीय कबडहलको शिलान्यास गरिएको छ । करिव ५ करोडको लगानीमा खोखो कबडहल निर्माण गरिने नेपाल राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्