२४ वर्ष पछि सडक कालोपत्रे



श्रवन बस्नेत : दाङ,१५ माघ/  कालो पत्रे हुन्छ भन्न थालेका झन्डै २४ वर्ष पछि जखेरा तालको सडक खण्डमा कालो पत्रे गर्ने कार्य सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता पूर्वअर्थमन्त्री एवं दाङ क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर महराले आफू अर्थ मन्त्री रहेका बेला अर्थमन्त्रालयबाट विनियोजन गरेको एक करोड रुपैयाबाट सडक कालो पत्रे गर्ने कार्य सम्पन्न भएको हो ।

कालो पत्रे सम्पन्न भए पश्चात धुलो,हावा तथा हुरीबाट आजित भएका स्थानीयवासी र जखेरा ताल घुम्न आउनेहरुलाई राहत भएको छ ।

सो सडकमा सधै भरी धुलोले धुल्याम्म्य र वर्षातको समयमा हिलाम्मे हुने उक्त सडक खण्ड कालो पत्रे भए सँगै जखेरा तालमा व्यापारमा समेत उल्लेखनीय मात्रामा वृद्धि भएको एक स्थानीय व्यापारी दाना लाल चौधरीले बताए ।

त्यस्तै पर्यटकीय स्थल जखेरा तालमा नयाँ कार्य समिति निर्वाचित भएको डेढ वर्षमा थुप्रै कार्य गर्न सफल भएको बताइएको छ ।

जसमा जखेरा ताल भित्र सार्वजनिक शौचालय भित्र फोहोर व्यव्स्थापन दुई वटा डुङ्गा थप र जखेरा ताल भित्रको सरसफाई लगायतका थुप्रै काम सम्पन्न गरिएको जखेरा ताल शिवालय प्रतिष्ठानका कार्यवाहक सचिव लोक मणि बन्जाडेले जानकारी दिए ।

गत वर्ष महोत्सवबाट संकलित रकमले सो कार्य सम्पन्न गरेको हो । आगामी माघको २९ गते देखि फागुनको दुई गते सम्म जारी रहने जखेरा पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन हुने भएकाले सम्पूर्ण दाङ देउखुरी वासीहरु उपस्थिति भै सहयोग गरिदिन प्रतिष्ठानले सबैमा आग्रह गरेको छ ।

ताल तलैयाको संरक्षण संवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ संचालन गर्न लागिएको ३ दिने महोत्सवलाई सहयोग गरिदिन कार्यवाहक अध्यक्ष राम सिंह केसीले आग्रह गरे । .

त्यस्तै महोत्सवलाई व्यवस्थित बनाउनका लागि प्रतिष्ठानका १५ जना पदाधिकारीलाई जिम्मेवारी दिई कार्य समेत बाँडफाँड गरिएको अध्यक्ष केसीले बताए ।

बि.स.२०५० सालबाट चर्चा पाउन थालेको तालको कुल ९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । .

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार