गाउँपालिकाले दियो विदेशिने युवालाई गाउँमै रोजगार, मासिक २४ हजार तलव



कालीकोट,१४ माघ/  जिल्लाको पलाँता गाउँपालिकाले युवाहरुलाई विदेशिनबाट रोक्न युवामैत्री नीति तथा कार्यक्रम ल्याएको छ ।

युवाहरु खाडीमुलुक जानु पर्ने समस्याबाट उन्मुक्ति दिन बिभिन्न् युवा लक्षित कार्यक्रम बनाएर गाउँपालिकाले युवाहरुलाई रोजगार दिन सुरु गरेको हो ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै युवाहरु आफ्नो गाउँ आफै बनाउँ, युवाहरु बिकासमा र युवा स्वरोजगार जस्ता कार्यक्रम सञ्चालन भएका छन् ।

गाउँपालिका भित्रका भौतिक पूर्वाधारका कामहरुमा युवाहरुलाई संगठित रुपमै लगाउने जिम्मा गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले निर्माणका लागि युवा कार्यदल तयार गरेको छ । गाउँमा कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिए ।

दक्ष जनशक्ति बाहिरिने र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरिएको अध्यक्ष बमको भनाइ छ ।

पलाँता सुख्खा खडेरीग्रस्त क्षेत्र हो । यहाँका युवाहरु ६ महिना भारत बसेर ६ महिना मात्रै घरमा बस्ने गर्छन् । अब यो समस्या हट्ने अध्यक्ष बमले दावी गरे ।

गाउँपालिकाले पहिलो चरणमा १०० युवाहरुलाई डेढ लाखको बीमासहित छुट्टै पोसाक दिएर पहिचानसहित काममा लगाउने तयारी गरेको छ ।

उनीहरुले दैनिक ८ घण्टा काम गरे बाफत ८ सयका दरले महिनामा २४ हजार नियमित पाउने छन् ।

सामूहिक बिकासको अबधारणा अनुसार युवालाई बिकासमा लगाउने उद्देश्यका साथ भौतिक पूर्वाधार निमार्ण गर्न युवा कार्यदल गठन गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहाुर क्षेत्रीले जानकारी दिए ।

कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गरेका छन् ।

पुस महिनाको २४ हजार तलब कार्यदलका सदस्यहरुले पाइसकेको कार्यकारी क्षेत्रीले बताए ।

कार्यदलका सदस्यहरुले समाजिक लगानी कोष बाफत महिनामा २ हजार जम्मा गर्ने छन् । साथै वर्षमा २४ लाख कामका लागि युवा सहकारीका नाममा जम्मा हुने छ ।

उक्त रकमले युवाहरुको सम्बृद्धिको काम र बिपद् जोखिम् न्यूनिकणमा खर्च गरिने छ ।

कार्यदलका सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धित सडक निर्माण आयोजनामा नै ब्यवस्था गर्ने सहमति भएको अध्यक्ष बमले बताए ।

विदेशिने युवाहरुलाई रोजगारी दिएर स्थानीय विकास निर्माण प्रक्रियामा सहयोग पुर्‍याएको त्यहाँका युवाहरुले प्रतिक्रिया दिएका छन् ।

स्थानीय सरकारले सहजै रोजगारी प्राप्त हुने गरी युवा लक्षित कार्यक्रम ल्याएपछि युवाहरु उत्साहित भएको कार्यदलका सदस्य पूर्णबहादुर बमले बताए ।
पलाँताका प्रत्येक वडा बाट दश-दश जना र गाउँपालिका अध्यक्षको सिफारिसमा दश जना गरी एक सय जनाको कार्यदल निर्माण गरिएको छ ।

उनीहरुलाई कुन दिन के काम दिने भनेर गाउँपालिकामा छलफल हुने र सोही अनुसार काममा लगाउने गरिएको अध्यक्ष बमले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार