
शेरबहादुर ऐर ।
कैलाली ।
सामाजिक सुरक्षा कोष स्थापना भएको आठ वर्ष पूरा भई नवौँ वर्षमा प्रवेश गरिसक्दा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा कोषको कार्यालय स्थापना हुन सकेको छैन । श्रमिकको सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित स्थापना गरिएको कोषले आठ वर्ष बितिसक्दा समेत यी दुई प्रदेशमा आफ्नो संस्थागत उपस्थिति विस्तार गर्न नसक्नुले कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ ।
कार्यालय अभावका कारण सुदूरपश्चिमका रोजगारदाता, श्रमिक तथा योगदानकर्ताले सामान्य सेवा लिनसमेत सास्ती खेप्नुपरेको छ । कोषमा आबद्धता, योगदान रकम, दाबी भुक्तानी, विवरण सच्याउने, परामर्श तथा अन्य प्रशासनिक प्रक्रियामा समस्या आउँदा यहाँका सेवाग्राही नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । भौगोलिक दूरी, यातायात खर्च र समयको व्यवस्थापन गर्नुपर्ने समस्याले सामाजिक सुरक्षा कार्यक्रमप्रति आकर्षण बढ्नुको सट्टा निरुत्साहित हुने अवस्था सिर्जना गरेको सरोकारवालाको भनाइ छ ।
सामाजिक सुरक्षा कार्यक्रमको उद्देश्य श्रमिकलाई बिरामी हुँदा उपचार, दुर्घटनामा पर्दा आर्थिक सहायता, अशक्तता हुँदा संरक्षण, आश्रित परिवारलाई सुरक्षा र वृद्धावस्थामा आर्थिक सहारा उपलब्ध गराउनु हो । तर यस्तो महत्वपूर्ण कार्यक्रम कार्यान्वयन गर्ने निकाय नै सुदूरपश्चिममा नहुँदा प्रदेशका श्रमिकले यसको वास्तविक लाभ लिन कठिनाइ भोगिरहेका छन् ।
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिका कार्यकारी निर्देशक ज्योति भट्ट प्रदेशमा कार्यालय स्थापनाका लागि आठ वर्षदेखि आवाज उठाउँदा पनि कोषले चासो नदेखाएको बताउँछन् । उनका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाता तथा श्रमिकलाई सामान्य समस्या पर्दासमेत नेपालगन्ज पुग्नुपर्ने अवस्था छ ।
‘यहाँ कार्यालय नहुँदा रोजगारदाता र योगदानकर्तालाई कोषसम्बन्धी कुनै समस्या आयो भने नेपालगन्ज जानुबाहेक विकल्प हुँदैन,’ भट्टले भने, ‘यदि धनगढीमै कार्यालय हुन्थ्यो भने सेवाग्राहीको समय, खर्च र प्रयत्न सबै बच्थ्यो । कोषले यसतर्फ गम्भीर चासो देखाउनुपर्छ ।’
उनका अनुसार सुदूरपश्चिम र कर्णालीका विभिन्न उद्योग, व्यवसाय तथा संस्थाले सामाजिक सुरक्षा कोषमा आबद्धता लिए पनि नियमित समन्वय र परामर्शको अभाव छ । कार्यालय नहुँदा नयाँ रोजगारदातालाई आबद्ध गराउने, श्रमिकलाई कार्यक्रमबारे जानकारी दिने तथा योगदानकर्ताका समस्या तत्काल समाधान गर्ने काम प्रभावकारी हुन सकेको छैन ।
सामाजिक सुरक्षा कोषको प्रभावकारिता कार्यालय स्थापनामा मात्रै निर्भर छैन । रोजगारदाताको जिम्मेवारी, श्रमिकको आबद्धता र योगदान रकमको नियमित भुक्तानी पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन् । तर अझै पनि कतिपय कम्पनी तथा संस्थाले कोषमा आबद्ध हुन आनाकानी गर्ने, श्रमिकको विवरण उपलब्ध नगराउने र योगदान रकम भुक्तानीमा ढिलाइ गर्ने गरेको श्रमिक प्रतिनिधिहरूको गुनासो छ ।
ट्रेड युनियन कर्मचारी संघका प्रतिनिधि ज्ञानेन्द्र शाह सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै कम्पनीलाई अनिवार्य रूपमा कोषको पहुँचमा ल्याउनुपर्ने बताउँछन् । उनका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्धता नलिने कम्पनीको दर्ता तथा नवीकरण प्रक्रियासँग आबद्धताको विषय जोडेर नीतिगत व्यवस्था गर्न आवश्यक छ । रोजगारदातालाई जिम्मेवार नबनाएसम्म श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुन नसक्ने उनको भनाइ छ ।
‘कोषमा आबद्ध नहुने कम्पनीहरूको दर्ता तथा नवीकरण प्रक्रिया रोक्ने नीतिगत व्यवस्था गर्नुपर्छ । जबसम्म यस्तो कडाइ हुँदैन, कार्यक्रम कागजमै सीमित हुन्छ,’ शाहले टिप्पणी गरे । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई श्रमिकको अधिकारका रूपमा स्थापित गर्न सरकार, रोजगारदाता र सम्बन्धित निकायले संयुक्त रूपमा काम गर्नुपर्ने बताए । कोषले पनि जनचेतना अभिवृद्धि, अभिमुखीकरण, रोजगारदातासँगको समन्वय र नियमित अनुगमनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
सामाजिक सुरक्षा कोषमा आबद्धता लिएर मात्रै रोजगारदाताको जिम्मेवारी पूरा हुँदैन । आबद्ध श्रमिकको वास्तविक विवरण अद्यावधिक गर्ने, नियमित योगदान रकम जम्मा गर्ने र श्रमिकलाई योजनाबारे जानकारी गराउने दायित्व पनि रोजगारदाताकै हुन्छ । तर अनुगमन कमजोर हुँदा यस्ता जिम्मेवारी पूरा भए–नभएको यकिन गर्न कठिन भइरहेको छ।
सामाजिक सुरक्षा कार्यक्रमलाई संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न नसक्नु अर्को चुनौतीका रूपमा देखिएको छ । युएनएफपिएका प्रतिनिधि प्रकाश आचार्य सामाजिक सुरक्षा कोष स्थापनाका बेला सरकारले ठूलो प्रचारप्रसार गरे पनि त्यसअनुसार प्रदेश र स्थानीय तहमा कार्यक्रमको प्रभावकारी उपस्थिति देखिन नसकेको बताउँछन् । उनका अनुसार सामाजिक सुरक्षा कार्यक्रम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने विषय हो । तर यसको कार्यान्वयनमा स्थानीय सरकारको भूमिका स्पष्ट र प्रभावकारी नहुँदा कार्यक्रम संघीय संरचनाको व्यवहारिक उपयोग गर्न असफल भइरहेको छ ।
‘संघीय सरकारले सात वर्षअघि देशको मुहार फेर्ने कार्यक्रम भन्दै सामाजिक सुरक्षा कोषको ठूलो प्रचारप्रसारसहित उद्घाटन गरेको थियो । तर अहिले यो कार्यक्रम स्थानीय तहभन्दा संघमै बढी सीमित भएको जस्तो देखिन्छ,’ आचार्यले भने । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई परिणाममुखी बनाउन तीनै तहका सरकारबीच जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट हुनुपर्ने बताए । संघीय सरकारले नीति निर्माण गर्ने, प्रदेश सरकारले व्यवस्थापन तथा समन्वय गर्ने र स्थानीय तहले नागरिकसम्म कार्यक्रम पु¥याउने भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव छ ।
आचार्यका अनुसार स्थानीय तहसँग प्रत्यक्ष सहकार्य नगरी सामाजिक सुरक्षा कार्यक्रमलाई सबै वर्ग, समुदाय र भूगोलसम्म विस्तार गर्न सम्भव छैन । स्थानीय तहमा रहेका रोजगारदाता, श्रमिक, स्वरोजगार व्यक्ति तथा लक्षित समुदायको पहिचान र उनीहरूलाई कार्यक्रमबारे जानकारी गराउने काम स्थानीय सरकारको सहयोगमा प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । तर, प्रदेशमा कोषको कार्यालयसमेत नहुँदा प्रदेश सरकार र कोषबीच नियमित समन्वयको आधार कमजोर बनेको छ । स्थानीय तहमा कार्यक्रम विस्तार गर्ने जिम्मेवारी कसले कसरी निर्वाह गर्ने भन्ने विषय पनि व्यवहारमा प्रभावकारी रूपमा स्थापित हुन सकेको छैन ।
सुदूरपश्चिमका लागि सामाजिक सुरक्षा कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष वैदेशिक रोजगारीमा रहेका श्रमिकको आबद्धता र निरन्तरता हो । रोजगारीको खोजीमा विदेश जाने नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने व्यवस्था भए पनि उनीहरूको निरन्तर योगदान र व्यवस्थापन प्रभावकारी बन्न नसकेको सरोकारवालाको भनाइ छ ।
स्थानीय प्रतिनिधि पञ्चराम चौधरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोषमा आबद्ध गराउने व्यवस्था भए पनि विदेश पुगेपछि त्यसलाई निरन्तरता दिने विषयमा पर्याप्त तयारी नभएको बताउँछन् । ‘देशभित्र बेरोजगार भएर विदेश जान बाध्य हुने धेरै युवा कोषमा समावेश हुन्छन्, तर विदेश पुगेपछि निरन्तरता दिने व्यवस्थागत तयारी छैन,’ उनले भने ।
उनका अनुसार सुदूरपश्चिमका धेरै युवा भारतमा रोजगारीका लागि जाने गरेका छन् । तर भारतमा रहेका श्रमिकको यकिन तथ्यांक सरकारी निकायसँग नहुँदा उनीहरूलाई सामाजिक सुरक्षा योजनामा समेट्न कठिनाइ छ । भारतमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्या ठूलो भए पनि उनीहरूको रोजगारीको प्रकृति, कार्यक्षेत्र, आम्दानी र सामाजिक सुरक्षासम्बन्धी अवस्था व्यवस्थित रूपमा अभिलेखीकरण हुन सकेको छैन् ।
भारत जाने श्रमिकको आवागमन खुला सीमाका कारण पनि उनीहरूको पहिचान र तथ्यांक संकलन चुनौतीपूर्ण बनेको छ । चौधरीका अनुसार सामाजिक सुरक्षा कोषले भारतमा रहेका श्रमिकलाई लक्षित गरेर छुट्टै रणनीति बनाउन आवश्यक छ । नेपालबाट औपचारिक रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मात्र समेटेर कार्यक्रमको उद्देश्य पूरा हुन नसक्ने उनको तर्क छ ।









प्रतिक्रिया दिनुहोस्