समीक्षाः ‘रारादेखि ताजमहलसम्म’को यात्रा



डा. राज कुमार थारू

परिचय

नरेन्द्र देवकोटा ‘प्रशान्त’द्वारा लिखित रारादेखि ताजमहलसम्म (२०८३) नियात्रा कृतिगत हिसाबले दोश्रो हो भने विधागत हिसाबले पहिलो नियात्रा संग्रह हो । यसअघि उनको अनुभूति (२०८१) कवितासङ्ग्रह प्रकाशित भैसकेको छ । यस नियात्रामा लेखकले निजामती सेवामा प्रवेश गरेदेखि विभिन्न जिल्लामा कार्यरत रहँदा तथा व्यक्तिगत र पारिवारिक प्रयोजनमा गरेका स्वदेशी र विदेशी यात्राका अनुभवलाई जम्मा १६५ पृष्ठमा २४ वटा नियात्रामा समावेश गरेका छन् । यस कृतिको मूल विशेषता नियात्राकारको जागिरे जीवनको यात्रालाई सामाजिक सम्बन्ध, प्राकृतिक परिवेश, धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सार्वजनिक सेवाका अनुभवसँग जोडेर प्रस्तुत गर्नु हो । रारादेखि ताजमहलसम्मको यात्रा यस अर्थमा भौगोलिक यात्राको विवरण मात्र नभई लेखकको जीवनानुभव, स्मृति र सामाजिक अवलोकनको अभिलेख पनि बनेको छ ।

विषयप्रवेश

नेपाली नियात्रा साहित्यमा ‘नियात्रा’ शब्दको प्रयोग र प्रचलनसँग भाषाशास्त्री बालकृष्ण पोखरेलको नाम जोडिएको छ । उनले तारानाथ शर्माको बेलायततिर बरालिँदा (२०२६) को भूमिकामा यस शब्दको प्रयोग गरेका थिए । पोखरेलले यात्राको सत्यतथ्य वर्णनसँगै भ्रमणको आनन्द र रमणीयता अभिव्यक्त हुने लेखनलाई नियात्राका रूपमा व्याख्या गरेका छन् । त्यसैगरी, गङ्गाप्रसाद उप्रेतीले नयाँ भूगोलप्रति यात्राकारको वैयक्तिक अनुभूति र निष्कर्षलाई नियात्राको आधार मान्दै सूचनात्मकता, निजात्मकता र चिन्तनशीलतालाई यसका महत्त्वपूर्ण तत्त्वका रूपमा उल्लेख गरेका छन् भने राजेन्द्र सुवेदीले यात्राका क्रममा देखिएका, भोगिएका र अनुभव गरिएका विषयलाई अनुभूतिपरक तथा निबन्धात्मक रूपमा प्रस्तुत गरिएको रचनालाई नियात्राका रूपमा व्याख्या गरेका छन् । तारानाथ शर्माका अनुसार यात्रावर्णनमा लेखकको निजात्मक अनुभूति प्रभावकारी रूपमा समावेश भएको निबन्ध नै नियात्रा हो । यस परिभाषाले नियात्रामा वैयक्तिक अनुभूतिको महत्त्वलाई स्पष्ट पारेको छ । त्यसैगरी, निर्मोही व्यासले नियात्रालाई अनुभूतिप्रधान, रसात्मक र सिर्जनात्मक गद्यलेखनका रूपमा व्याख्या गरेका छन् । उनका विचारमा यात्राका अनुभवलाई लेखकले आफ्नो निजात्मक दृष्टिकोण र आकर्षक शैलीमा प्रस्तुत गर्नु नियात्राको विशिष्टता हो । यात्राजन्य अनुभवलाई साहित्यिक कलात्मकतासहित प्रस्तुत गर्नु नै नियात्राको मूल पहिचान हो । सामान्य यात्रा विवरणमा लेखकले कहाँ गयो, के देख्यो, कसरी पुग्यो र के–के भयो भन्ने कुरालाई प्राथमिकता दिन्छ । तर नियात्रामा यी विवरणसँगै यात्राले लेखकको मनमा के प्रभाव पा¥यो, उसले के अनुभूति ग¥यो, देखेको परिवेशलाई कसरी व्याख्या ग¥यो र त्यसबाट कस्तो जीवनबोध प्राप्त ग¥यो भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । यसैले नियात्राको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको वास्तविक यात्राको अनुभवलाई आत्मपरक अनुभूति, सामाजिक चेतना र साहित्यिक कलात्मकतासँग जोडेर प्रस्तुत गर्नु हो ।

रारादेखि ताजमहलसम्मको विषयवस्तु र संरचना

कृतिका नियात्रालाई पाँच विषयगत समूहमा वर्गीकरण गर्न सकिन्छ । प्राकृतिक तथा भौगोलिक यात्रामा ‘धित नमरेको रारा यात्रा’, ‘बडीमालिकामा हराउँदा’, ‘आँखामा नाचिरहेको मुस्ताङ’, ‘ओखरकोट’ र प्युठानसम्बन्धी रचनाले प्राकृतिक दृश्य, भूगोल, दुर्गम मार्ग र स्थानीय परिवेश चित्रित गर्छन् । धार्मिक तथा सांस्कृतिक यात्रामा स्वर्गद्वारी, सुपादेवी, धारपानी र पालुकास्थानसम्बन्धी रचनाले धार्मिक आस्था, सांस्कृतिक पहिचान र तीर्थस्थलको महत्त्व प्रस्तुत गर्छन् । पेसागत तथा प्रशासनिक यात्रामा ‘स्मृतिमा दिपायल’, ‘जाजरकोटको सफल बसाइ’, ‘चुनौतीपूर्ण बसाइका बाइस महिना’ लगायतले सरकारी सेवाका अनुभव र जिम्मेवारी समेट्छन् । ‘गाउँमा पुग्दासम्म’ र ‘सुदूरपश्चिमको एक सुन्दर जिल्ला अछाम यात्रा’ जस्ता सामाजिक–राजनीतिक रचनाले दुर्गमता, विकास, राज्यको उपस्थिति र द्वन्द्वकालीन प्रभाव देखाउँछन् । दिल्ली, नोएडा, आगरा र लखनउसम्बन्धी यात्राले भारतीय सहर, यातायात, सहरी विकास तथा ऐतिहासिक स्थलसँगको साक्षात्कार गराउँछन् । यसरी कृति यात्रानुभवमा सीमित नभई प्राकृतिक, धार्मिक, सांस्कृतिक, प्रशासनिक, सामाजिक र अन्तरदेशीय विविधतायुक्त बनेको छ ।

प्रकृति र भूगोलको चित्रण

यस कृतिको उल्लेखनीय पक्ष प्राकृतिक तथा भौगोलिक परिवेशको चित्रण हो । लेखकले हिमाली तथा पहाडी भूभाग, दुर्गम बस्ती, सडकमार्ग, नदी, वनजङ्गल र धार्मिक स्थललाई यात्रानुभूतिसँग जोडेका छन् । ‘धित नमरेको रारा यात्रा’ (पृ. १–७) मा डाँफेलेकबाट देखिने पाटमारा लेक, पातारासी हिमाल, रारातालको सौन्दर्य तथा यात्राका कठिनाइलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । ‘महाप्रभुको तपोभूमि स्वर्गद्वारी’ (पृ. ९४–९९) मा उकालो बाटो, साँझको वातावरण र मन्दिर परिसरको चित्रणले यात्रालाई अनुभूतिपूर्ण बनाएको छ । त्यस्तै, ‘आँखामा नाचिरहेको मुस्ताङ’ (पृ. १००–१११) मा मुस्ताङको भौगोलिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई बाल्यकालदेखिको आकर्षणसँग जोडिएको छ । ‘ओखरकोट’ (पृ. ११५–१२०) मा धार्मिक सम्पदा र पर्यटनको सम्भावना उजागर गरिएको छ । यी रचनामा प्रकृतिलाई पर्यटकीय आकर्षणमा मात्र सीमित नराखी व्यक्तिगत स्मृति, धार्मिक आस्था र स्थानीय जीवनसँग जोडिएको छ । तथापि, दृश्यचित्रणसँगै गहिरो अनुभूति, प्रतीकात्मकता र दार्शनिक चिन्तनलाई अझ सघन बनाउन नसक्नु नियात्राकारको कमजोरी देखिन्छ ।

सामाजिक तथा सांस्कृतिक जीवनको चित्रण

यस कृतिले विभिन्न स्थानका सामाजिक र सांस्कृतिक जीवनलाई नियात्राको विषय बनाएको छ । लेखकले यात्रा गरेका ठाउँको भौगोलिक अवस्थासँगै त्यहाँका मानिसको जीवनशैली, सामाजिक व्यवहार, स्थानीय संस्कृति, धार्मिक विश्वास र सामुदायिक सम्बन्धबारे पनि चर्चा गरेका छन् । ‘ओखरकोट’(पृष्ठ ११५–१२०) मा झिमरुक गाउँपालिकाको पहिचान, ऐतिहासिक महत्त्व र सांस्कृतिक सम्पदाको चर्चा छ । लेखकले ओखरकोटले स्थानीय क्षेत्रको पहिचान बोकेको र संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पु¥याएको उल्लेख गरेका छन् । तर त्यति महत्त्वपूर्ण स्थानमा सरसफाइको अवस्था कमजोर रहेको विषय पनि उठाएका छन् । यसबाट लेखकको दृष्टि केवल सौन्दर्यको प्रशंसामा सीमित नभई स्थानीय व्यवस्थापन र संरक्षणका समस्यातर्फ पनि केन्द्रित भएको देखिन्छ । त्यस्तै, “आहा ! मनोरम प्युठान’(पृष्ठ ८८–९३ ) र ‘मनमोहक ठाउँ गौमुखी’ (पृष्ठ १२१–१२७) जस्ता नियात्रामा प्युठानको प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावनाको चर्चा गरिएको छ । ‘ ओझेलमा परेको पालुकास्थान मन्दिर’(पृष्ठ १३४–१३७) सम्बन्धी रचनामा स्थानीय धार्मिक सम्पदा र त्यसको पर्यटन विकाससँगको सम्बन्धलाई प्रस्तुत गरिएको छ । यी तीन नियात्राले स्थानपरिचयसँगै स्थानीय पहिचान, सम्पदा संरक्षण र पर्यटन विकासका सामाजिक सरोकार उठाएका छन् । तर स्थानीय भावना, वर्गीय सम्बन्ध, आर्थिक असमानता र सांस्कृतिक द्वन्द्वको गहिरो विश्लेषण हुन नसक्दा स्थानीय पात्रका आवाज र जीवनानुभूतिभन्दा नियात्राकारको पर्यवेक्षकीय दृष्टि बढी प्रभावी देखिन्छ ।

धार्मिक आस्था र आध्यात्मिक चेतना

कृतिका धेरै नियात्रामा धार्मिक आस्था र आध्यात्मिक चेतनाको प्रभाव पाइन्छ । ‘बडीमालिका जाँदा जङ्गलमा हराउँदा’(पृष्ठ ३६–४७), ‘महाप्रभुको तपोभूमि स्वर्गद्वारी’, (पृष्ठ ९४–९९) ‘आँखामा नाचिरहेको मुस्ताङ’, (पृष्ठ १००–१११) “ प्युठानदेखि ‘सुपादेवी मन्दिर सम्म’(पृष्ठ १२८ –१३३) र ‘धारपानी यात्रा’(पृष्ठ १४४–१४६) जस्ता नियात्रामा धार्मिक यात्रालाई विषय बनाईएको छ, जसमा लेखकले धार्मिक स्थलसम्म पुग्ने भौतिक यात्रा र त्यससँग सम्बन्धित मानसिक तयारी, पारिवारिक सहभागिता, आस्था तथा श्रद्धालाई प्रस्तुत गरेका छन् । उदाहरणका लागि, मुस्ताङ यात्रामा पितृहरूको सम्झना, श्राद्ध–तर्पण र मुक्तिनाथ दर्शनको उद्देश्य एकसाथ जोडिएका छन् । यसले धार्मिक यात्रा केवल तीर्थदर्शन नभई पारिवारिक स्मृति र सांस्कृतिक निरन्तरतासँग पनि सम्बन्धित रहेको देखाउँछ । यसरी धार्मिक आस्था कृतिको एउटा महत्त्वपूर्ण भावनात्मक आधार बनेको छ । तथापि धार्मिक विषयलाई साहित्यिक रूपमा अझ प्रभावकारी बनाउन आस्था, विश्वास, जीवनदर्शन र मानवीय अस्तित्वसम्बन्धी प्रश्नहरूको गहन विश्लेषण गर्न सकिने सम्भावना रहन्छ ।

आत्मपरकता अनुभूतिको प्रस्तुति

नियात्रा साहित्यको प्रमुख विशेषता लेखकको आत्मपरक उपस्थिति हो । रारादेखि ताजमहलसम्म मा नियात्राकारले दृश्य र घटनासँगै आफ्ना खुसी, दुःख, आश्चर्य, असन्तुष्टि, सन्तुष्टि र स्मृतिलाई पनि अभिव्यक्त गरेका छन् । ‘स्मृतिमा दिपायल’ (पृ. ८–१६) मा सरकारी कामका क्रममा प्राप्त प्रशासनिक अनुभव, कार्यसम्पादनको मूल्याङ्कन, वरिष्ठ अधिकारीहरूसँगको सम्बन्ध तथा त्यससम्बन्धी संवाद र मनोभाव प्रस्तुत छन् । ‘जाजरकोटको सफल बसाइ’ (पृ. १७–२३) मा जिल्ला सरकारी वकिल कार्यालयका लागि जग्गा प्राप्ति र भवन निर्माणमा सफलता पाउँदाको आत्मसन्तुष्टि व्यक्त भएको छ । यसरी लेखकले निजी अनुभवलाई सार्वजनिक सेवासँग जोड्दै साहित्यिक सामग्री बनाएका छन् । लेखकले आफ्ना जिम्मेवारी, उपलब्धि र कार्यक्षेत्रसँग जोडिएका व्यक्तिगत अनुभूतिलाई पनि महत्त्व दिएका छन् । तथापि, आत्मपरकता सधैँ गहिरो आत्मविश्लेषणमा परिणत भएको छैन। कतिपय घटनाको वर्णन भए पनि त्यसले लेखकको सोच, जीवनदृष्टि र मानवीय सम्बन्धमा पारेको प्रभावको गहिरो विश्लेषणको अभाव छ ।

पेसागत अनुभवको साहित्यिक उपयोग

यस कृतिको विशिष्ट पक्ष लेखकको निजामती सेवाको अनुभवलाई नियात्राको विषय बनाउनु हो। लेखक २०५३ सालमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेका र क्रमशः बढुवा हुँदै राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदसम्म पुगेका व्यक्ति हुन् । भूमिकामा उनले सरकारी सेवाका क्रममा विभिन्न स्थानमा पुगेका र त्यहाँका अनुभवलाई लेखनमा समेटेको उल्लेख गरेका छन् । यस दृष्टिले ‘चुनौतीपूर्ण बसाइका बाइस महिना’ (पृष्ठ २९–३५), ‘स्मृतिमा दिपायल’, (पृष्ठ ८–१६) ‘जाजरकोटको सफल बसाइ’(पृष्ठ १७–२३) र ‘मजुवा मतदान केन्द्र ‘क’ मा मतदान अधिकृत भएर जाँदा’(पृष्ठ १४७–१५५) महत्त्वपूर्ण छन् । विशेषगरी ‘जाजरकोटको सफल बसाइ’ मा कार्यालय भवन निर्माणको प्रसङ्ग उल्लेखनीय छ । लेखकले कार्यालयका लागि जग्गा प्राप्त गर्न एक रुपैयाँ पनि खर्च नगरी जग्गा उपलब्ध गराउन सकेको र पछि त्यही जग्गामा भवन निर्माण गरी सेवा प्रवाह सुरु भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । यसबाट सार्वजनिक सेवामा व्यक्तिगत इमानदारी, संस्थागत विकास र सामाजिक उत्तरदायित्वको महत्त्व अभिव्यक्त हुन्छ ।

राजनीतिक तथा ऐतिहासिक चेतना

यस कृतिमा यात्रा गरिएका स्थानको राजनीतिक र ऐतिहासिक अवस्थाप्रति पनि लेखक सचेत देखिन्छन् । ‘कोहलपुरबाट गाउँमा पुग्दासम्म’(पृष्ठ ४८–५४) मा कर्णाली क्षेत्रको दुर्गम भूगोल, सडक यातायातको कठिनाइ र विकाससम्बन्धी प्रश्न उठाइएको छ । लेखकले कर्णालीका नागरिकले विकास र राज्यको व्यवहारका सन्दर्भमा अनुभव गर्ने असमानतालाई आफ्नै यात्राको अनुभूतिसँग जोड्ने प्रयास गरेका छन् । जोखिमपूर्ण साँघुरो सडकमा यात्रा गर्दा उत्पन्न भय र असुरक्षाको अनुभूति पनि प्रस्तुत भएको छ । ”सुदूरपश्चिमको एक सुन्दर जिल्ला अछाम यात्रा’(पृष्ठ १५६–१६५) मा अछामको भौगोलिक परिचयसँगै द्वन्द्वकालीन घटनाहरू र तिनले सरकारी संरचना तथा समाजमा पारेको प्रभावको चर्चा रहेको छ ।

अन्तरदेशीय यात्रा र तुलनात्मक दृष्टि

“दिल्ली यात्रा र नागरिकताको महत्त्व”(पृष्ठ ६२–६८), ‘‘नोयडा हुँदै आगरा र ताजमहलसम्म’ (पृष्ठ ६९–७४) तथा ‘आग्राबाट लखनउ हुँदै कपिलवस्तु’(पृष्ठ ७५–७९) यस सङ्ग्रहका अन्तरदेशीय यात्रासँग सम्बन्धित नियात्रा हरु हुन् । ‘नोयडा हुँदै आगरा र ताजमहलसम्म’ मा लेखकले परिवारका सदस्यसँग गरेको यात्रालाई प्रस्तुत गरेका छन् । नयाँ दिल्लीको चिसो मौसम, गणतन्त्र दिवसको वातावरण, सडक तथा सहरी संरचना र मेट्रो रेलको विकासले लेखकको ध्यान आकर्षित गरेको छ । विशेषगरी मेट्रो रेलको विकासले सहरभित्र आवागमन सहज बनाएको पक्षलाई उनले उल्लेख गरेका छन् ।

भाषा, शैली र अभिव्यक्ति

कृतिको भाषा सामान्यतः सरल, सहज, संवादात्मक र वर्णनात्मक छ । लेखकले जटिल तथा अलङ्कारिक भाषाभन्दा पाठकले सजिलै बुझ्न सक्ने अभिव्यक्ति शैली अपनाएका छन् । यसले यात्रा विवरणलाई सहज र पठनीय बनाएको छ । लेखनमा प्रथम पुरुष कथनको प्रयोग पाइन्छ । लेखक आफैँ यात्राको सहभागी, पर्यवेक्षक र अनुभूतिकर्ता बनेर प्रस्तुत भएका छन् । यसले पाठकलाई लेखकसँगै यात्रामा सहभागी भएको अनुभूति दिन सक्छ । कृतिमा वर्णनात्मक, संस्मरणात्मक, आत्मपरक शैली, संवादात्मक,सूचनात्मक र कथात्मक शैलीको प्रयोग भएको छ । यद्यपि भाषा र शैलीमा अझ परिष्कार आवश्यक देखिन्छ । कतिपय ठाउँमा विवरणको विस्तारले कथ्यको गति सुस्त बनाउँछ । केही प्रसङ्गमा एउटै प्रकृतिका सूचनात्मक विवरणलाई संक्षिप्त र सघन बनाउन सकिन्छ ।

शीर्षकको औचित्य

देवकोटाको ‘रारादेखि ताजमहलसम्म’ (२०८३) नियात्रासङ्ग्रहमा समाविष्ट २४ वटै नियात्राको विषयवस्तु र स्वरूपलाई सूक्ष्म रूपमा विश्लेषण गर्दा यसको शीर्षकले समग्र कृतिको प्रतिनिधित्व गर्न सकेको देखिदैन । रारादेखि ताजमहलसम्म शीर्षक आकर्षक, प्रतीकात्मक तथा पाठकमा जिज्ञासा उत्पन्न गर्न सक्ने प्रकृतिको छ । तथापि, यस सङ्ग्रहमा प्राकृतिक तथा भौगोलिक अवलोकनका अतिरिक्त धार्मिक–सांस्कृतिक स्थलहरूको वर्णन, सामाजिक जीवनको चित्रण, प्रशासनिक अनुभव, ऐतिहासिक चेतना तथा निजात्मक संस्मरणसमेत समेटिएका छन् । यीमध्ये कतिपय नियात्राका विषयवस्तु शीर्षकले सङ्केत गरेको रारादेखि ताजमहलसम्मको भौगोलिक विस्तारसँग प्रत्यक्ष रूपमा सम्बन्धित देखिँदैनन् ।

कृतिका प्रमुख बिशेषता

अनुभवको अभिलेखीकरण भौगोलिक विविधता, स्थानीय सम्पदाको परिचय, प्रशासनिक अनुभवको साहित्यिक उपयोग,सामाजिक चेतना, पारिवारिक तथा मानवीय सम्बन्ध,.पठनीय ताजस्ता कुराहरुलाई यस नियात्राको विशेषताको रुपमा लिन सकिन्छ ।

नियात्रामा असान्दर्भिक विवरणको अधिकता

कृतिमा नियात्रात्मक अनुभूतिलाई प्रभावकारी बनाउने सम्भावना भए पनि कतिपय रचनामा मूल यात्रासँग सम्बन्ध नराख्ने निजी, पारिवारिक, कार्यालयीय तथा प्रशासनिक विवरण अनावश्यक रूपमा विस्तारित छन् । ‘हिउँ नपरेको रारा यात्रा’ (पृ. १) मा श्रीमती गर्भवती भएको, भाइ एसएलसी दिइरहेको, आमाले घरको काम सम्हालेको र बुबा दाङ सरुवा भएको प्रसङ्गले यात्रानुभूतिमा खास योगदान दिएको देखिँदैन। सोही नियात्राका खानपान, विश्राम र दैनिक गतिविधिका विवरण (पृ. २–३) ले कथ्यको गति सुस्त बनाएका छन् । ‘स्मृतिमा दिपायल’ (पृ. ८–१६) का कार्यालयीय काम र कानुनी प्रक्रियाका विवरणले नियात्राभन्दा व्यावसायिक संस्मरणको प्रभाव दिन्छन् । ‘काठमाडौँ यात्रा र सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलन’ (पृ. ५४–६०) मा सम्मेलनका कार्यक्रम, मन्तव्य र घोषणापत्रको प्रस्तुतिले यात्रानुभूतिलाई ओझेल पारेको छ । ‘नोएडा हुँदै आगरा र ताजमहलसम्म’ (पृ. ६८–७३) का भौगोलिक, ऐतिहासिक तथा वास्तुकलासम्बन्धी सूचना र ‘ओखरकोट’ (पृ. ११४–११९) का प्रशासनिक तथा विकाससम्बन्धी तथ्याङ्कको अधिकताले निजात्मक अनुभूति र कलात्मकता कमजोर बनाएका छन् । ‘प्युठानदेखि सुपादेवी मन्दिरसम्म’ (पृ. १२७–१३२) मा छोराको शारीरिक बनावट र पहिरन (पृ. १२८) यात्रासँग जोडिँदैन । त्यस्तै, ‘अझै सर्दी कस्तो छ हँ !’ (पृ. १३७–१४२) का खानपान, परिकार र शारीरिक असहजताका विस्तृत प्रसङ्गले मूल अनुभूतिभन्दा सहायक विषयलाई बढी महत्त्व दिएका छन् ।

नियात्रात्मक तथा साहित्यिक गुण तुलनात्मक रूपमा बढी भएका रचनाहरू

यी रचनामा यात्राको प्रत्यक्ष अनुभवसँगै आत्मपरकता, अनुभूति, प्रकृतिचित्रण, संस्मरणात्मकता र
साहित्यिक अभिव्यक्तिको राम्रो सम्भावना देखिन्छ ।
१. धित नमरेको रारा यात्रा (पृष्ठ १–७) २. स्मृतिमा दिपायल (पृष्ठ ८–१६ )
३. राजविराजको यात्रा (पृष्ठ २४–२८) ४. बडीमालिकाजाँदा जङ्गलमा हराउँदा (पृष्ठ ३६–४७)
५. कोहलपुरबाट गाउँमा पुग्दासम्म (पृष्ठ ४८–५४) ६. सान्त मसान्तको यात्राको सम्झना (पृष्ठ ८०–८७)
७. आहा! मनोरम प्युठान (पृष्ठ ८८–९३) ८. महाप्रभुको तपोभूमि स्वर्गद्वारी (पृष्ठ ९४–९९)
९. आँखामा नाचिरहेको मुस्ताङ (पृष्ठ १००–१११) १०. खलङ्गादेखि केसरीसम्म (पृष्ठ ११२–११४)
११.ओखरकोट (पृष्ठ ११५–१२०) १२.मनमोहक ठाउँ गौमुखी (पृष्ठ १२१–१२७)
१३.प्युठानदेखि सुपादेवी मन्दिरसम्म (पृष्ठ १२८–१३३) १४.अझै सर्दी कस्तो छ हँ ! (पृष्ठ १३८–१४३)
१५.धारपानी यात्रा (पृष्ठ १४४–१४६) १६.सुदूरपश्चिमको एक सुन्दर जिल्ला अछाम यात्रा (पृष्ठ १५६–१६५)

विवरणात्मक तथा सूचनात्मक पक्ष बढी भएका रचना

यी रचनामा यात्रा र स्थानको परिचय, प्रशासनिक अनुभव, कार्यालयीय जिम्मेवारी, ऐतिहासिक वा सामाजिक सूचना तथा घटनाको विवरणले तुलनात्मक रूपमा बढी स्थान पाएको देखिन्छ । यिनमा नियात्राका केही साहित्यिक तत्व पनि छन्, तर आत्मपरक अनुभूति र कलात्मक अभिव्यक्तिको पक्षलाई अझ सशक्त बनाउन सकिने देखिन्छ ।

१. जाजरकोटको सफल बसाइ(पृष्ठ १७)
२. चुनौतीपूर्ण बसाइका बाइस महिना (पृष्ठ २९ )
३. सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलन (पृष्ठ ५५)
४. दिल्ली यात्रा र नागरिकताको महत्त्व (पृष्ठ ६२)
५. नोयडा हुँदै आगरा र ताजमहलसम्म (पृष्ठ ६९)
६. आगराबाट लखनउ हुँदै कपिलवस्तु (पृष्ठ ७५)
७. ओभेलमा परेको पालुकास्थान मन्दिर (पृष्ठ १३४)
८. मजुवा मतदान केन्द्र ‘क’ मा मतदान अधिकृत भएर जाँदा (पृष्ठ १४७)
कृतिका सुधार गर्नुपर्ने पक्ष
१. विवरणात्मकताको प्रधानताः केही नियात्रामा स्थान, बाटो, कार्यालय र घटनाको विवरण बढी
छ । यात्राबाट उत्पन्न गहिरो अनुभूति र आत्मविश्लेषणलाई अझ विस्तार गर्न सकिन्थ्यो ।
२. कलात्मक भाषाको सीमित प्रयोगः भाषा सहज र बोधगम्य भए पनि सबै रचनामा बिम्ब,
प्रतीक, रूपक र दृश्यात्मक अभिव्यक्तिको समान प्रयोग पाइँदैन ।
३. सामाजिक विश्लेषणको गहिराइः स्थानीय समाजको परिचय दिइए पनि वर्गीय सम्बन्ध, आर्थिक
असमानता, सामाजिक संरचना र सांस्कृतिक परिवर्तनका पक्षलाई अझ गहिरो रूपमा विश्लेषण
गर्न सकिन्थ्यो ।
४. कथात्मक संरचनाः केही रचनामा घटनाहरू क्रमशः प्रस्तुत भएका छन्, तर तिनको आरम्भ,
विकास, चरम अवस्था र निष्कर्षबीचको कलात्मक सम्बन्धलाई अझ कसिलो बनाउन सकिन्थ्यो ।
५. ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भः ऐतिहासिक र धार्मिक स्थलको चर्चा गर्दा तिनको पृष्ठभूमि,
स्थानीय जनविश्वास र ऐतिहासिक महत्त्वलाई थप अनुसन्धानपरक रूपमा प्रस्तुत गर्न सकिन्थ्यो ।

निष्कर्ष

नरेन्द्र देवकोटा ‘प्रशान्त’द्वारा लिखित रारादेखि ताजमहलसम्म नेपाली नियात्रा साहित्यको अनुभवपरक, संस्मरणात्मक, विवरणात्मक तथा सामाजिक चेतनासम्पन्न कृति हो। यसमा यात्राको प्रामाणिकता, निजात्मक अनुभूति, संस्मरणात्मकता, प्रकृति तथा भौगोलिक परिवेशको चित्रण, सामाजिक–सांस्कृतिक अवलोकन र ऐतिहासिक चेतनाजस्ता नियात्राका आधारभूत तत्त्वहरू समेटिएका छन् । यस कृतिको प्रमुख विशेषता लेखकको पेसागत तथा प्रशासनिक अनुभव र निजात्मक यात्रानुभूतिबीच स्थापित अन्तर्सम्बन्ध हो । सरकारी सेवाका क्रममा विभिन्न स्थान र सामाजिक परिवेशसँग साक्षात्कार गर्दा प्राप्त अनुभव, अवलोकन तथा अनुभूतिलाई लेखकले नियात्रात्मक अभिव्यक्तिको विषय बनाएका छन् । त्यसैले कृति प्राकृतिक सौन्दर्य र पर्यटकीय स्थलको वर्णनमा मात्र सीमित नरही सामाजिक संरचना, राज्यव्यवस्था, प्रशासनिक अभ्यास, धार्मिक आस्था, सांस्कृतिक सम्पदा तथा मानवीय सम्बन्धका विविध पक्षसम्म विस्तारित भएको छ । यसले पाठकलाई भौगोलिक तथा ऐतिहासिक जानकारी प्रदान गर्नुका साथै समाज, संस्कृति र मानवीय जीवनबारे चिन्तन गर्न प्रेरित गर्छ । साहित्यिक दृष्टिले यात्रानुभवको प्रामाणिकता, विषयगत विविधता, सहज तथा सम्प्रेषणीय भाषाशैली, परिवेशचित्रण र सामाजिक अवलोकन यसका सबल पक्ष हुन् । केही नियात्रामा प्रकृतिप्रतिको आत्मीय दृष्टि, स्मृतिको पुनरावर्तन, निजात्मक संवेदना र अनुभूतिजन्य अभिव्यक्ति प्रभावकारी रूपमा प्रस्तुत भएका छन् । तथापि, सबै रचनामा अनुभूतिको गहिराइ, चिन्तनको सघनता र भाषिक कलात्मकताको समान सन्तुलन पाइँदैन । कतिपय रचनामा साहित्यिक अनुभूति र सिर्जनात्मक अभिव्यक्तिभन्दा तथ्यात्मक विवरण, सूचनापरक प्रस्तुति तथा प्रशासनिक प्रसङ्गको प्रधानता देखिन्छ । यसले केही रचनाको साहित्यिक प्रभाव कमजोर बनाए पनि कृतिको विषयगत व्यापकता र सामाजिक महत््वलाई घटाउँदैन । समग्रमा, रारादेखि ताजमहलसम्मलाई साहित्यिक अनुभूति, संस्मरणात्मकता र तथ्यपरक यात्रा विवरणको समन्वयबाट निर्मित नियात्रासङ्ग्रहका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । केही रचनामा देखिने विवरणात्मकता र कलात्मक असमानताका बाबजुद यसले पेसागत अनुभव, निजात्मक अनुभूति र सामाजिक यथार्थलाई नियात्रात्मक अभिव्यक्तिमा एकीकृत गर्दै नेपाली नियात्रा साहित्यमा आफ्नो पृथक् पहिचान स्थापित गर्ने सम्भावना बोकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १० गते बुधबार