सनत रेग्मी
बेल्जियम यात्राको क्रममा ग्रोब्रेन्डन्क पुग्दासम्म साँझ परिसकेको थियो । दिनभरको यात्राले शरीर थाकेको थियो । नयाँ ठाउँको कोतूहलले मन भने अझै जागै थियो । हामी सहरको नजिक पुग्दै गर्दा त्यहाँ कुनै उत्सव चलिरहेको रहेछ । सहरको एउटा पार्कमा भव्य आतिसबाजी भइरहेको थियो । अँध्यारो आकाशलाई चिर्दै माथि पुगेका रङ्गीन प्रकाशका झिल्काहरू एकपछि अर्को गर्दै अनेकौँ आकृति र बुट्टाहरूमा परिणत हुन्थे । कहिले पूmल फुलेझैँ, कहिले प्रकाशका वृक्ष उम्रिएझैँ त कहिले आकाशभरि रङ्गीन तारा छरिएझैँ देखिन्थ्यो । त्यो दृश्य हेर्दा लाग्थ्यो, कसैले रातको नीलो क्यानभासमा प्रकाशका अनेकौँ चित्र कोरिरहेको छ । झन्डै एक घण्टासम्म चलेको आतिसबाजीले थकित यात्रालाई पनि उत्सवमय बनाइदियो । अपरिचित ठाउँका अनेपेक्षित उत्सवहरूले मानिसलाई भूगोलभन्दा परको आत्मीय आनन्द महसुस गराउने रहेछन् । हामी केही बेर त्यही रङ्गीन आकाशमा हरायौँ । विदेशको भूमिमा पुगेर स्थानीय जनजीवनको एउटा उत्सवमा अनायास सहभागी हुन पाउनु पनि यात्राको सुखद संयोग थियो । आतिसबाजी समाप्त भएपछि हामीलाई बस्ने व्यवस्था गरिएको डाक्टरको घरतिर लागियो । घरको बनोट अलि अनौठो र व्यवस्थित लाग्यो । भुइँतलामा डाक्टरको क्लिनिकका दुईवटा कोठा र ठुलो भान्छा थियो । माथिल्लो तलामा तीनवटा कोठा थिए भने सबैभन्दा माथि दुईवटा कोठा भएको अतिथि कक्ष बनाइएको रहेछ । त्यही अतिथि कक्षमा म र हाम्रो टोलीका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानलाई राख्ने व्यवस्था गरिएको रहेछ । घरधनी डाक्टर र उनकी श्रीमतीले आत्मीयतापूर्वक स्वागत गरे । परिचय र कोल्ड ड्रिङ््सको औपचारिकतापछि हामी बैठक तथा ड्रइङरूममा बसेर कुराकानी गर्न थाल्यौँ । उनीहरूको परिवारमा श्रीमान्, श्रीमती र करिब पाँच वर्षको एउटा छोरा रहेछ । विदेशी भूमिमा अपरिचित पाहुनालाई आफ्नै घरमा राखेर सत्कार गर्ने उनीहरूको व्यवहारले मन छोयो । अपरिचित अनुहारमा आत्मीयता भेट्टाउनु मानवीय सम्बन्धहरूको सबैभन्दा ठुलो सौन्दर्य पनि हो ।
त्यस दिनको रात्रिभोजमा ब्रेड, अमलेट, घोडाको मासु र भेडाको मासु रहेछ । मैले भेडाको मासु रोजेँ । घोडाको मासु भने जीवनमा कहिल्यै नखाएको हुनाले त्यसलाई हेर्दैमा अलिकति दिगमिग लाग्यो । खानपिनमा पनि देश र समाजअनुसारका आआफ्नै परम्परा हुँदा रहेछन् । एउटाका लागि सामान्य भोजन अर्कोका लागि अनौठो हुन सक्छ । कसैका लागि अनौठो र अपरिचित लाग्ने कुरा अर्काको लागि सहज र स्वभाविक हुनसक्छ । विविधतालाई स्वीकार्नु नै जीवनको वास्तविक सौन्दर्य पनि हो । मैले भेडाको मासु खाएरै सन्तोष गरेँ । भोजनपछि देवेन्द्रजी र मलाई छुट्टाछुट्टै कोठामा सुत्ने व्यवस्था गरिएको थियो । दिनभरको यात्राको थकानले होला, ओछ्यानमा पल्टनासाथ निद्रा परिहाल्यो । भोलिपल्ट हाम्रो कार्यक्रम ग्रोब्रेन्डन्कको एउटा ओल्ड केयर हाउस अर्थात् वृद्धाश्रमको अवलोकन गर्ने रहेछ । किन बिदाको दिन परेको थियो वा अन्य कुनै विशेष अवसर थियो, त्यस दिन वृद्धाश्रममा वृद्धवृद्धाका परिवारजनको बाक्लै उपस्थिति थियो । परिवारका सदस्यहरू आफ्ना ज्येष्ठ नागरिकलाई भेट्न आएका थिए । वृद्धाश्रमको व्यवस्थापन निकै व्यवस्थित लाग्यो । वृद्धवृद्धाहरूको खानपान, बसोबास, स्वास्थ्य र दैनिक हेरचाहका लागि आवश्यक प्रबन्ध मिलाइएको रहेछ । उमेरले अशक्त बनाउँदै लगे पनि मानिसको सम्मान र आत्मीयताको आवश्यकता कहिल्यै समाप्त हुँदैन । उमेरले शरीरलाई अशक्त बनाउन सक्छ तर मानिसभित्रको सम्मान र आत्मीयताको चहाना जीवनको अन्तिम पलसम्म उत्तिकै जीवन्त रहन्छ । परिवारसँग बस्न नसक्ने वा विशेष हेरचाह चाहिने ज्येष्ठ नागरिकका लागि यस्ता संस्थाहरू कति महत्वपूर्ण हुँदा रहेछन् भन्ने कुरा त्यहाँ पुगेर अनुभव गर्न पाइयो । हाम्रो समाजमा वृद्धवृद्धाको हेरचाह मूलतः परिवारको दायित्व मानिन्छ । तर आधुनिक जीवनशैली, बसाइँसराइ र बदलिँदो पारिवारिक संरचनाले गर्दा कतिपय अवस्थामा वृद्धाश्रमको आवश्यकता पनि महसुस हुन थालेको छ ।
त्यहाँको व्यवस्थापन देख्दा वृद्धावस्थालाई केवल जीवनको अन्तिम चरणका रूपमा होइन, सम्मानपूर्वक बाँच्नुपर्ने एउटा स्वाभाविक अवस्थाका रूपमा स्वीकार गरिएको अनुभूति भयो । हुन पनि परिवर्तित समय र पारिवारिक ंसंरचनाका बिच आफ्ना जेष्ठ नागरिकहरूलाई आत्मैदेखि अपनाउनु र सम्मान दिनु मानव सभ्यताको वास्तविक चेतना पनि त हो । हामीले त्यस दिन वृद्धाश्रमको वातावरण, त्यहाँको व्यवस्था र वृद्धवृद्धाको जीवनशैली अवलोकन गरेर समय बितायौँ । अर्को दिन हामी एन्टवर्पतिर घुम्न गयौँ । बेल्जियमको प्रसिद्ध सहर एन्टवर्पको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेछ । सहरका पुराना संरचना, सडक र वातावरणले युरोपेली सभ्यताको लामो इतिहासको झल्को दिन्थे । यात्राको क्रममा नयाँ ठाउँ देख्नु र त्यहाँको जीवनशैली बुझ्नु सधैँ नै आनन्ददायी हुन्छ । ग्रोब्रेन्डन्कमा हाम्रो बसाइको तेस्रो दिन स्थानीय रेडक्रसको आयोजनामा विपद् प्रतिकार्यसम्बन्धी कार्यक्रम राखिएको रहेछ । बिहानै हामी स्थानीय रेडक्रस कार्यालय पुग्यौँ । त्यहाँ परिचयात्मक कार्यक्रम भयो । त्यसपछि बैठक कक्षमा मैले नेपाल रेडक्रसका गतिविधिहरूका बारेमा जानकारी गराएँ । मैले नेपालजस्तो प्राकृतिक विपद्को जोखिममा रहेको देशमा रेडक्रसको भूमिका कति महत्वपूर्ण छ भन्ने कुरा विदेशी मित्रहरूलाई सुनाउने अवसर पाउँदा मलाई विशेष सन्तोष लागेको थियो । नेपालका भौगोलिक अवस्था, बाढीपहिरो, भूकम्प, आगलागी र अन्य विपद्का समयमा रेडक्रसले गर्दै आएका मानवीय सेवाका गतिविधिहरू प्रस्तुत गरेँ । प्रस्तुति चलिरहेकै बेला एउटा दुर्घटना भएको खबर आयो । हामीसँगै रहेका स्थानीय रेडक्रसका युवाहरू तुरुन्तै सक्रिय भए । हाम्रो टोली पनि उनीहरूसँगै घटनास्थलतिर लाग्यो ।
घटनास्थलमा पुग्दा थुप्रै मानिस घाइते अवस्थामा देखिए । रेडक्रसका युवाहरूले घाइतेहरूको अवस्था हेरेर प्राथमिकता निर्धारण गरे र तत्काल प्राथमिक उपचार सुरु गरे । आवश्यकताअनुसार घाइतेहरूलाई अस्पताल पु¥याउने काम पनि भयो । उनीहरूको तत्परता, तालिम र काम गर्ने शैली हेर्दा मानवीय सेवामा अभ्यास र अनुशासनको महत्व कति रहेछ भन्ने कुरा प्रस्ट हुन्थ्यो । हामी अस्पतालसम्बन्धी कार्यक्रमका लागि त्यहाँ पुगेका थियौँ । अस्पतालको आपत्कालीन सेवा र उपचार प्रणालीको अवलोकन गर्दै थियौँ । त्यही बेला फेरि राजमार्गमा कार दुर्घटना भएको खबर आयो । एउटा एम्बुलेन्समा डाक्टरहरूको टोली र अर्को गाडीमा हामी पनि राजमार्गतिर लाग्यौँ । पालको अस्पतालमा देखिने सामान्य आपत्कालीन सेवाभन्दा त्यहाँको एम्बुलेन्स सेवा धेरै विकसित र प्रविधियुक्त लाग्यो । आवश्यक परे एम्बुलेन्सभित्रै जटिल उपचार तथा शल्यक्रियासम्म गर्न सकिने व्यवस्था रहेछ । अर्को एम्बुलेन्समा शल्यचिकित्सकहरूको टोलीसमेत तयारी अवस्थामा रहने जानकारी पाइयो । घटनास्थलमा पुग्दा एउटा कार नराम्ररी क्षतिग्रस्त भएको थियो । कारभित्र तीन जना घाइते रहेछन् । उद्धार टोलीले उनीहरूलाई तत्काल एम्बुलेन्समा राखेर उपचार सुरु ग¥यो र अस्पतालतर्फ दौडियो । हामीले दुर्घटनाको प्रकृति र उद्धार प्रक्रियाको अवलोकन ग¥यौँ । त्यसपछि अस्पताल फर्कियौँ । अस्पताल पुग्दा घाइतेहरूको उपचार भइरहेको थियो ।
हामी बैठक कोठामा फर्किएपछि मात्र एउटा अनौठो रहस्य खुल्यो । हामीले अहिलेसम्म वास्तविक दुर्घटना ठानेका दुवै घटना वास्तवमा पूर्वनियोजित कृत्रिम अभ्यासरू मात्र रहेछन् ! म छक्क परेँ । कस्तो स्वाभाविक अभिनय ! कति वास्तविकजस्तो दृश्य ! घाइतेको अवस्था, दुर्घटनाग्रस्त गाडी, उद्धारकर्ताको सक्रियता र अस्पतालसम्मको समन्वय सबै यति विश्वसनीय थिए कि हामीले त्यसलाई वास्तविक घटना नै ठान्यौँ । त्यतिबेला मलाई लाग्यो, विपद् आइपरेपछि के गर्ने भनेर सोच्ने समय हुँदैन । त्यसका लागि विपद् आउनुअघि नै अभ्यास र तयारी गरिसक्नुपर्छ । दुर्घटनाको नक्कली दृश्य बनाएर गरिएको अभ्यासले वास्तविक दुर्घटनामा उद्धारकर्तालाई कसरी काम गर्ने भन्ने आत्मविश्वास र दक्षता प्रदान गर्दो रहेछ । रेडक्रसको यो प्रशिक्षण पद्धति मेरा लागि निकै प्रभावकारी र स्मरणीय बन्यो । त्यस दिनको कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष थियो—बारुणयन्त्र कार्यालयको अवलोकन ।
हामीलाई आगलागी नियन्त्रणका लागि अपनाइने विधि, प्रयोग हुने उपकरण र उद्धार प्रणालीबारे जानकारी गराइयो । त्यहाँ स्वयंसेवकहरूको छुट्टै सूची र सम्पर्क नम्बर राखिएको हुँदो रहेछ । आगलागी हुनेबित्तिकै सम्बन्धित स्वयंसेवकहरूलाई खबर पुग्ने र उनीहरू तत्काल कार्यालयमा उपस्थित भएर आवश्यक उपकरणसहित उद्धार कार्यमा खटिने व्यवस्था रहेछ । हामी अवलोकन सकेर फर्कने तयारीमा थियौँ । त्यही बेला अचानक अलार्मको घण्टी बज्न थाल्यो । केही क्षणमै कार्यालयको वातावरण बदलियो । स्वयंसेवकहरू फटाफट तयार हुन थाले । कोही पोसाक लगाउँदै थिए, कोही उपकरण मिलाउँदै थिए । केही समयमै बारुणयन्त्रहरू तयारी अवस्थामा निस्किए । हामी पनि एउटा गाडीमा उनीहरूलाई पछ्याउँदै अगाडि बढ्यौँ । सहरको कुनै ठाउँमा आगलागी भएको रहेछ । घटनास्थलमा पुग्दा आगोले तीनतले घरलाई समातेको देखियो । आगलागी भएको स्थान र परिवेश हेर्दा उद्धारको काम निकै कठिन देखिन्थ्यो । बारुणयन्त्रको सहायताले स्वयंसेवकहरू झन्डै सय फिटको उचाइमा पुगेर उद्धार कार्यमा जुटे । अग्लो घरको माथिल्लो भागमा पुगेर आगो र धुवाँबीच गरिएको उद्धारको काम निकै जोखिमपूर्ण थियो । हाम्रो टोलीका अध्यक्ष सञ्जीव थापा, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान र ललितजङ्ग शाही पनि बारुणयन्त्रसँग जोडिएको सानो प्लेटफर्ममा चढेर उद्धार कार्यको अवलोकन गर्न पुगे । उनीहरूलाई त्यस्तो उचाइमा पुगेको देख्दा हामीलाई पनि उत्सुकता र रोमाञ्च दुवै भयो । त्यहाँ मैले एउटा महत्वपूर्ण कुरा अनुभव गरेँ—विपद् व्यवस्थापन भनेको केवल आगो निभाउने वा घाइतेलाई अस्पताल पु¥याउने काम मात्र होइन रहेछ । त्यसका लागि पूर्वतयारी, नियमित अभ्यास, प्रविधिको उपयोग, स्वयंसेवकहरूको परिचालन र विभिन्न निकायबीचको समन्वय उत्तिकै आवश्यक हुँदो रहेछ । बारुणयन्त्र कार्यालयमा देखिएको त्यो तत्परता र वास्तविक आगलागीमा भएको उद्धार कार्यले बेल्जियमको नागरिक सुरक्षा प्रणालीबारे मेरो मनमा गहिरो छाप छाड्यो ।
ग्रोब्रेन्डन्कमा हाम्रो बसाइको एउटा विशेष पक्ष थियो—हामी बसेको डाक्टरको परिवारको आत्मीयता । हाम्रो कार्यक्रम चलिरहेकै बेला डाक्टर परिवारलाई केही कामले स्पेन जानुपर्ने भएछ । त्यसैले हाम्रो खाना र खाजाको व्यवस्था तथा साथका लागि एकजना विद्यालयकी शिक्षिकालाई अनुरोध गरिएको रहेछ । हामी घर फर्कंदा ती शिक्षिका आइसकेकी रहिछन् । सामान्य परिचयपछि उनले हाम्रो खाजाको व्यवस्था गरिन् । टोस्ट, अमलेट र कफी तयार गरिन् । हामी कफी पिउँदै कुराकानी गर्न थाल्यौँ । उनले आपूm चर्चद्वारा सञ्चालित विद्यालयमा शिक्षिका भएको बताइन् । उनका अनुसार बेल्जियमका अधिकांश विद्यालयहरू चर्चद्वारा सञ्चालित हुने रहेछन् । शिक्षा क्षेत्रमा चर्चको भूमिका र त्यहाँको शैक्षिक व्यवस्थाबारे उनले सुनाएका कुराहरू मेरा लागि नयाँ जानकारी थिए । अपरिचित देशमा भाषा र संस्कृतिको भिन्नताका बाबजुद आत्मीयतापूर्वक हाम्रो साथमा बसेर खाजा बनाइदिने र कुराकानी गर्ने उनको व्यवहारले हामीलाई सहज बनाएको थियो । अपरिचित ठाउँमा प्राप्त आतिथ्यताले आत्मीयता बढाउने रहेछ । त्यस दिन साँझ स्थानीय रेडक्रसले हाम्रो सम्मानमा रात्रिभोजको आयोजना गरेको रहेछ । रात परेपछि हामी डिनरका लागि एउटा मध्यमस्तरको होटलमा पुग्यौँ । हाम्रो टोलीका सबै साथीहरू भेला भएका थिए । हामी एउटा टेबुलमा बसेका थियौँ भने हाम्रा बेल्जियन आतिथिहरू अर्कै टेबुलमा थिए । मलाई केही दिनदेखि रुघाले सताइरहेको थियो । जाडो मौसम पनि थियो । त्यसैले मैले वेटरसँग चिकेन सुप र ब्रान्डी मगाएँ । नेपालमा चिसो लाग्दा ब्रान्डीमा तातोपानी मिसाएर खायो भने आराम मिल्छ भन्ने मान्यता छ । मैले पनि त्यही सोचेर तातोपानी मागेँ । तर तातोपानीसँगै चियाको पुडिया पनि आइपुग्यो । सायद तातोपानी छुट्टै पिउने चलन रहेनछ कि क्या हो ! जे होस्, मैले ब्रान्डीमा तातोपानी मिसाएर पिउन थालेँ । मेरो त्यो व्यवहार देखेर बेल्जियनहरू आश्चर्यचकित भएर मतिर हेर्न थाले । म नजिकै बसेकी ती शिक्षिकालाई सोधेँ, “के भयो ? सबै जना किन मतिर हेरिरहेका छन् ?” उनले हाँस्दै भनिन्, “यहाँ ब्रान्डी सिधै पिउने चलन छ । तपाईंले त्यसमा पानी मिसाएको देखेर आश्चर्य मानेका हुन् ।”
मैले सहजै भनेँ, “मैले त यसलाई औषधिका रूपमा खाएको हुँ ।”
उनले मेरो कुरा बुझिन् र मुस्कुराउँदै भनिन्, “हो, मैले बुझें ।”
एउटै पेय पदार्थलाई एउटा समाजले मनोरञ्जनका रूपमा लिने र अर्को समाजले औषधिका रूपमा प्रयोग गर्ने ! संस्कृतिका यस्ता साना भिन्नताहरूले यात्रालाई रमाइलो बनाउँदा रहेछन् । मानिस जहाँ पुगे पनि आफ्ना संस्कार र स्वभावको छाया बोकेर हिँड्दो रहेछ । त्यो साँझको ब्रान्डी प्रकरण अहिले पनि सम्झँदा मुस्कान आउँछ ।
रात्रिभोज सकेर हामी आआफ्नो कोठामा फर्कियौँ । ती शिक्षिका पनि आफ्नो घरतिर लागिन् । भोलिपल्ट बिहान ती शिक्षिका फेरि आइपुगिन् । उनले हाम्रो ब्रेकफास्टको व्यवस्था गरिन् । खाना खाइसकेपछि बिदा माग्दै भनिन्, “आज तपाईंहरू ब्रसेल्स जानुहुन्छ । रेडक्रसको केन्द्रीय कार्यालयबाट बिदा भएर नेपाल फर्कन विमानस्थल जानुपर्ने कार्यक्रम छ । मलाई अब विद्यालय जानु छ । नेपाल पुगेपछि मलाई सम्झनुहोला । अहिलेलाई बाइ !” उनको त्यो सरल बिदाइमा आत्मीयता थियो । केही दिनको चिनजानमै एउटा अपरिचित व्यक्तिसँग बनेको सम्बन्ध पनि कति न्यानो हुँदो रहेछ भन्ने अनुभव भयो । केही बेरपछि रेडक्रसको गाडी आइपुग्यो । म र देवेन्द्रजी त्यसमा चढ्यौँ । अध्यक्ष सञ्जीव थापा र ललितजङ्ग शाही पनि त्यही गाडीमा हुनुहुँदोरहेछ । अर्को गाडीमा युवाहरू र हाम्रो टोलीका रेडक्रसका विभागीय अधिकृतहरू करुणा श्रेष्ठ तथा दिव्यजी हुनुहुन्थ्यो । हामी ब्रसेल्सतिर लाग्यौँ । ग्रोब्रेन्डन्कका ती केही दिनमा हामीले धेरै कुरा देखेका र सिकेका थियौँ । वृद्धाश्रमको व्यवस्थापन, स्थानीय रेडक्रसको कार्यशैली, विपद् प्रतिकार्यको कृत्रिम अभ्यास, आधुनिक एम्बुलेन्स सेवा र बारुणयन्त्रको तत्परता—यी सबै अनुभव मनमा सँगालेर हामी फर्कंदै थियौँ । तर ब्रसेल्स पुगेपछि एउटा अर्को रमाइलो घटना घट्यो । हामीलाई पु¥याउन आएको ग्रोब्रेन्डन्क रेडक्रस शाखाको प्रतिनिधिले बाटो बिराएछ । उसले रेडक्रसको केन्द्रीय कार्यालयमा फोन गरेर आपूm कहाँनिर पुगेको छु भन्ने जानकारी गराउँदो रहेछ । उताबाट प्राप्त निर्देशनअनुसार बाटो खोज्दै हिँड्दा पनि उसले सही बाटो पत्ता लगाउन सकेन । अन्ततः उसले आफ्नो लोकेसन बताएपछि केन्द्रीय कार्यालयबाट दुईवटा गाडी आएर हामीलाई लिनुप¥यो ।
हामीलाई त्यो घटना निकै अनौठो लाग्यो । पूर्णताको दावी गर्ने संसारमा पनि अपूर्णता बाँकी रहिरहने रहेछ । युरोपजस्तो विकसित देशमा समेत बाटो बिराएर यसरी अलमलिनु पर्ने अवस्था आउँदो रहेछ ! हामीले सोचेजस्तो सबै कुरा त्यहाँ पनि यान्त्रिक रूपमा व्यवस्थित हुँदैन रहेछ । प्रविधि र सुविधा जति नै विकसित भए पनि कहिलेकाहीँ मानिस बाटो बिराउँदो रहेछ । फरक यत्ति हो, बाटो बिराएपछि सहयोग खोज्ने र समस्या समाधान गर्ने प्रणाली भने उनीहरूसँग व्यवस्थित रहेछ । केन्द्रीय कार्यालयका दुईवटा गाडी आएपछि हामी त्यहाँ पुग्यौँ । ग्रोब्रेन्डन्क शाखाका प्रतिनिधिलाई त्यहीँबाट बिदा ग¥यौँ। त्यसपछि रेडक्रस केन्द्रीय कार्यालयका अधिकारीहरूसँग औपचारिक बिदावारी भयौँ र नेपाल फर्कने यात्राका लागि विमानस्थलतिर लाग्यौँ । ग्रोब्रेन्डन्कको बसाइ मेरो बेल्जियम यात्राको एउटा महत्वपूर्ण अध्याय बनेर रह्यो । त्यहाँ मैले केवल एउटा युरोपेली सहर र त्यहाँका मानिसहरू देखिनँ, मानवीय सेवा र सामाजिक उत्तरदायित्वको एउटा विकसित अभ्यास पनि नजिकबाट बुझ्ने अवसर पाएँ । यी सबै दृश्य र अनुभवलाई सम्झँदा एउटा कुरा मनमा आउँछ—देशको विकास केवल ठूला भवन, फराकिला सडक र आधुनिक उपकरणले मात्र मापन हुँदैन । नागरिकको सुरक्षा, ज्येष्ठ नागरिकको सम्मान, विपद्मा परेकाको उद्धार र मानवीय सेवाप्रतिको सामूहिक प्रतिबद्धताले पनि कुनै देशको सभ्यताको स्तर निर्धारण गर्ने रहेछ । नेपाल फर्कंदा मसँग बेल्जियमका केही तस्बिर मात्र थिएनन्, त्यहाँबाट सिकेका अनेकौँ पाठ पनि थिए । ती पाठहरू आज पनि स्मृतिमा ताजा छन् । कहिलेकाहीँ यात्राको सबैभन्दा ठूलो उपलब्धि नयाँ ठाउँ देख्नु होइन, नयाँ ठाउँमा देखेको जीवनबाट आफ्नै समाज र देशलाई हेर्ने नयाँ दृष्टि प्राप्त गर्नु पनि रहेछ ।









प्रतिक्रिया दिनुहोस्