जीतबहादुर शाह
यसपालिको दशैंमा सामाजिक रितिथिति र संस्कारको हिसाबले टिका थिएन हाम्रो । त्यसबाट पनि बचत हुने केही समयसहित अन्य क्षेत्रबाट पनि पुस्तक अध्ययनका निम्ति समय छुट्याएर दशओटा काव्य कृतिको अध्ययन गरें । तीमध्ये दुईवटा मुक्तकसङ्ग्रह (सिमाना र कालध्वनी) थिए भने आठओटा कवितासङ्ग्रह थिए । आठओटामध्ये एउटा छन्दबद्ध कविता सङ्ग्रह (चन्द्राघ्र्य) थियो भने अन्य मुक्त छन्दमा लेखिएका गद्य कविताहरू थिए । तीमध्ये पाँचओटा कवितासङ्ग्रहहरू नेपालगन्जबाटै प्रकाशित कृतिहरू थिए भने बाँकी पाँच काव्यकृतिहरूको प्रकाशन संघीय राजधानीस्थित विभिन्न प्रकाशनहरूले गरेका थिए । मैले अध्ययन गरेका काव्यकृतिका स्रष्टाहरूमध्ये कवि पूर्णओली (स्तब्ध शब्दहरू) रूकुमपश्चिम कर्णाली प्रदेशका हुन् भने अन्य सबै कविहरू लुम्बिनी प्रदेशका हुन् । लुम्बिनी प्रदेशमध्ये पनि कवि नवीन अभिलाषी, दाङ घोराहीका हुन् भने अरू सबै बाँके र बर्दियाका हुन् । तीमध्ये पनि एकजना कवि निर्मलकुमार थापा (जेन्जीकाल) बर्दियामा हुन् भने अरू सबै बाँकेका हुन् । मैले अध्ययन गरेका कृतिहरूमध्ये सबैभन्दा पुरानो कृति सिमाना, मुक्तक सङ्ग्रह (२०७७) थियो भने सबैभन्दा पछिल्लो कृति मृत्युगञ्जको मौनता (२०८३) थियो । सबैभन्दा कम पेजको कृति चन्द्राघ्र्य (८० पेज) थियो भने सबैभन्दा बढी पेजको कृति जितको उज्यालो (२०८ पेज) थियो । मूल्यको हिसावले सबैभन्दा कम मूल्यको कृति सिमाना मुक्तक सङ्ग्रह (रू.१७५÷–) थियो भने सबैभन्दा बढी मूल्यको कृति जितको उज्यालो (रू. ५२५÷–) थियो । त्यसैगरी कवियत्रीकृत कृतिहरू चन्द्राघ्र्य (चन्दावती अधिकारी), अग्निस्पन्दन (कम्पना पौडेल जिज्ञासु) र जितको उज्यालो (तारा खत्री रोकाया) थिए भने कविकृत कृतिहरू सिमाना (महानन्द ढकाल), कालध्वनी (खगेन्द्र गिरी कोपिला), कैयौं एकहरू (भीम प्रज्वल), मौलामा बाँधिएको राँगो (नवीन अभिलाषी), स्तब्ध शब्दहरू (पूर्ण ओली), जेन्जीकाल (निर्मलकुमार थापा) र मृत्युगञ्जको मौनता (केशब निमेष) थिए । सुरू अर्थात रामनवमीको दिन दुईटा मुक्तक सङ्ग्रह अध्ययन गरें – सिमाना र कल्पध्वनी । त्यसो त हल्काफुल्का यी दुवै कृतिहरू पहिले पनि पढिसकेको थिएँ । आद्योपान्त भने यसपालि मात्रै पढें । ‘सिमाना’मा ८७ ओटा मुक्तकहरू सङ्ग्रहित छन् । मुक्तक र त्यसमा पनि गजलको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका कवि महानन्द ढकालको पाँचौं कृतिको रूपमा प्रकाशित यस सङ्ग्रहमा हरेक मुक्तकको निम्ति मुक्तकको भाव झल्किने गरी शब्दचित्रहरू पनि बनाइएका छन्, जसले मुक्तकलाई अझै आकर्षक र अर्थपूर्ण बनाउन सघाएका छन् । सिद्धान्ततः मुक्तकहरू आकारले साना र मसिना देखिए पनि यिनले समग्र दुनियाँलाई एउटा आँखीझ्यालबाट हेर्ने प्रयत्न गरेका हुन्छन् । त्यो क्षमता कवि ढकालका मुक्तकहरूमा मात्र होइन कवि कोपिलामा मुक्तकहरूमा पनि प्रचूरमात्रामा रहेको देखिन्छ । मुक्तक चार हरफका हुन्छन् । शक्ति र सौन्दर्यको हिसाबले अरू हरफभन्दा अन्तिम हरफ विशेष हुने गर्दछ । त्यो क्षमता दुवै कविका मुक्तकहरूमा भेटिन्छ । दृष्टान्तको रूपमा पेश गर्नु पर्दा कवि ढकालको यौटा मुक्तक यस्तो छ ः
गीता, बाइबल र कुरान उस्तै उस्तै लाग्छ
यशु, अल्लाह र भगवान उस्तै उस्तै लाग्छ
रङ्ग जात, धर्मलाई कसले बाँड्यो खै कुन्नि ?
मलाई त हरेक ‘इन्सान’ उस्तै उस्तै लाग्छ ।
कवि खगेन्द्र गिरी कोपिलाको चौधौं कृतिको रूपमा प्रकाशित मुक्तक सङ्ग्रह ‘कालध्वनि’मा २९९ ओटा मुक्तक सङग्रह रहेका छन् । जीवनका अनुभव, अनुभूति, राग, अनुराग, संवदेना, सुख, दुःख, राजनीति, विकृतिलगायत मनभित्रका हिमालदेखि समुद्रसम्म फन्को लगाइरहने रोटेपिङजस्ता चिन्तनका ज्वारभाटाहरूलाई शब्दको कलात्मक बुट्टामार्फत प्रस्तुत गर्ने काममा मनग्गे मात्रामा शिल्प र कलाको प्रयोग गरेका छन् कवि कोपिलाले । ग्लोवल भिलेजको अवधारणा मौलाइरहेको वर्तमान समयमा मान्छेहरू भौतिक हिसावले नजिक भएपनि आत्मीय हिसाबले भने टाढा हुदै गएको परिदृश्यलाई समेटेर तयार गरिएको मुक्तकहरूमध्ये दृष्टान्तको रूपमा रहेका एउटा मुक्त यस्तो रहेको छ ः
मान्छे र मान्छेको माझमा दूरी किन हुन्छ !
कसैका हातमा पूmल, कसैको छुरी किन हुन्छ !
जसले व्याख्या गर्छन् आत्मीयताको सिद्धान्त
आखीर उही नै यहाँ निष्ठुरी किन हुन्छ !
दोस्रो दिन अर्थात दशमीको दिन मैले कल्पना पौडेल जिज्ञासुको अग्निस्पन्दन र तारा खत्री रोकायाको जितको उज्यालो अध्ययन गरें । दुवै नारी स्रष्टाका काव्य कृतिमध्ये कल्पना पौडेल जिज्ञासुका कविता सङ्ग्रहमा ५२ ओटा कविताहरू समावेश छन् । अग्नीस्पन्दनमा नामजस्तै हरेक कविताहरूले आरम्भमा विरह र आँशुका कुरा गरेपनि अन्तमा भने आगो ओकल्ने कुरा गरेका छन् । कविले एकाध कविता बाहेक सबैजसो कविताहरूमा वर्तमान अवस्थामा देखिएका राजनीतिक, सामाजिक र धार्मिक विकृतिहरू र अझ त्यसमा पनि लिङ्गीय भेदभावका कारण नारीले सहन गर्नुपरेका पीडाबाट मुक्तिका लागि शब्दहरूमार्फत शक्ति प्रदर्शन गरेको देखिन्छ । कवितामा प्रयोग भएका केही अपरिचित जस्ता लाग्ने शब्दहरू – चोषण, दावानल, विषुवत, खञ्जर, विदीर्ण, निर्निमेष, कौलासो, चाउलो, बेमिसाल आदिले कविताको संरचनामा सुन्दर रङ भरेका छन् । असन्तुष्ठीको आगो ओकलेको एउटा कविता ‘पशुपतिका लासहरू’मा लेखिएको छोटो कवितांश यस्तो छ ः
दन्किरहेको आगो पिउनेहरू
चुपचाप अग्नि समन गर्दैछन् .. ..
अनि हाँसो दोहो¥याउदै बोल्छ चिता
मरेकाहरू ज्यूदै छन्, ज्यूदाहरू लास बाँचेका छन् ।
सामाजिक विकृति र विसङ्गतिको सवालमा कल्पना पौडेल जिज्ञासुकाझै तारा खत्री रोकायाको कविताहरू पनि ज्यूदोजाग्दो भएर खबरदारी गरेको अवस्था देखिन्छ । तारा रोकायाका कविता सङ्ग्रह ‘जितको उज्यालो’मा अति छोटा र लामा गरी १८९ ओटा कविताहरू छन् । अधिकांस कविताहरू छ हरफ देखि एकपेजसम्म फैलिएर पनि टुङिगएका छन् । कवितामा सामाजिक कुरीतिको सातो खाने शब्दका अतिरिक्त आमाको सम्झना, बाबाको सम्मान, छोरा र बुहारीप्रतिको माया र आफूलाई माया गर्ने प्रियजनप्रतिको शब्दगुच्छाहरू कवितामा प्रस्तुत गरिएका छन् । जिन्दगीमा अनेक हण्डर खाएर सिर्जना भएका उनका कविताहरूमा एउटै मान्छेप्रति पनि कहिले आगो र कहिले पानी भएका भावनाहरू पनि कवितामा मुखरित भएको पाइन्छ । उनले जीवन दर्शन कवितामा लेख्छिन् ः
कुनै कितावले पढाउदैन जीवन दर्शन
केवल जिन्दगीले मात्र पढाउँछ जीवन दर्शन
यही जीवन दर्शनले सबै बुझाउछ
उन्नति र अवनतिका दृश्य देखाउछ ।
तेस्रो दिन नवीन अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ र निर्मलकुमार थापाको जेनजीकाल कविता सङ्ग्रह पढें । अभिलाषीका कविताहरू शब्दको हिसाबले सुकोमल र बान्की परेका छन् । बालबालिकाले गीतको अर्थ नबुझे पनि कुनै गीत खुसी भएर गाउने गरेजस्तै उनका कविताहरू स्वस्वर बाँचन गरेर पढ्न रहर लाग्ने किसिमका छन् । उनी भन्छन् पनि, ‘मैले मेरो जीवनबारे, बाँचेको समयबारे बोलिरहन, बताइरहन सक्दिन, त्यसैले कविता लेख्छु ।’ साँच्ची उनको कवितामा मानिसको मात्र नभइ समाज र मुलुकको जीवन पढ्न पाइन्छ । १३८ पेजसम्म फैलिएको यस कविता सङ्ग्रहमा ४८ ओटा कविताहरू उइनिएका छन् । कवितामा प्रेम छ, नेताहरूको छद्मभेषी चरित्र छ, बर्गीय र जातीय भेदभाव छ, अन्याय छ अनि यसका विरूद्धमा उठ्नु पर्ने आवाज पनि छ । आफ्नो कविता मौन प्रश्नमा ‘मेरो प्रेमिकाको अँगालोमा थोरै बेश्याको दुर्गन्ध आउछ तर सक्दिन भन्न’ लेख्ने कविले अर्को कविता ‘एउटा कम्यूनिष्ट नेता’ मा यसरी लेखेका छन्
अस्ताउनै थालेको सूर्य, त्यो सूर्य नभएजस्तो
झर्नै थालेको फूल, त्यो फूल नभएजस्तो
कुन जिन्दगी बाँच्न आइपुग्यौ बाजे
वर्षौं योद्धा भएर पनि आज कायर भएजस्तो ।
त्यसरी नै कवि निर्मल कुमार थापाको कविता सङ्ग्रह ‘जेन्जी काल’ मा २२ ओटा कविताहरू छन् । सयपेजको हाराहारिमा फैलिएको यो सङ्ग्रहको सुरूआत भुपी शेरचनको कविता ‘हामी’ का केही अंशहरूबाट गरिएको छ र सङ्ग्रहको बिट मार्ने काम पनि त्यही कविताकै केही अंशबाट गरिएको छ । भूपी शेरचनको ‘हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाइदिनु पर्ने’ भावको कविता नै हाम्रो मुलुकको यथार्थ हो भन्ने गरी कविले आफ्ना कविताहरू पनि पस्किएका छन् । मुलुकमा हुने सत्ता परिवर्तन, आन्दोलन, युद्ध र क्रान्ति जेमा पनि हाम्रो आफ्नोपन भन्दा पनि कतैबाट निर्देशितपनले रजगज गरेको हुन्छ जसले गर्दा हामीले हाम्रो अपेक्षा तुहेको देख्न विवश छौं, यो वास्तविकताको अपवाद जेनजी आन्दोलन पनि हुन सकेको छैन भन्ने भाव उनका कविताहरूमा पढ्न पाइन्छ । सबै कविताहरूले जेनजी आन्दोलनकै वरिपरि फन्को लगाएका छन् र सबै कविताहरूमा कविले खुसी भन्दा असन्तुष्ठी पोखेका छन् । ‘मन्त्रीजीलाई स्वागत छ’ कवितामा उनी लेख्छन ः
… हातमा नोट लिएको, टल्कने दाँत भएको
सबैलाई रिझाउन सक्ने
वकील, पत्रकार, कलाकार
थानकाथान मन्त्रीहरू लम्पसार परेका छन्
चौथो दिन भीम प्रज्वलको ‘कैयौं एकहरू’ र केशव निमेषको मृत्युगञ्जको मौनता पढें । भीम प्रज्वलको कविता सङ्ग्रहमा ४४ ओटा कविताहरू छन् र यो सङ्ग्रह १०४ पेजसम्म फैलिएको छ । कविको यो कृति प्रथम भए पनि कविताहरू भने परिपक्व र वयष्क विचारले भरिएका छन् । आफ्ना कुरा र कृतज्ञता एवम् आभार पनि कवितामै अभिव्यक्त गरेका प्रज्वलका कविताहरूमा कतै कर्णालीतिर बोलिने झर्रा शब्दहरूको प्रयोगले कतिपयलाई बुझ्न कठिन बनाए पनि काव्य परिवेशलाई भने स्वाभाविक बनाएका छन् । घाताङ्क दिएर एक लेखियो भने एउटै एकमा पनि कैयौ एकहरू हुन्छन् भन्ने कुरालाई लक्षणामूलक किसिमबाट जीवन पनि कैयौैं घटना, परिवेश, सिकाइ, भोगाइ र अनुभवहरूरूपि मसिना जीवनहरूको एउटा समग्र जीवन हो भन्ने कुरा कविको कविता सङ्ग्रहको नामबाट बुझ्न सकिन्छ । उनका कविताहरूले विविध परिवेशलाई छिचोलेका छन् । ध्यान र योगका कुराहरू पनि छन्, उत्पीडन, सामाजिक विसङ्गति र शैक्षिक दुरावस्थाका कुराहरू पनि छन् । उनका कविता लामा पनि छन् र छोटा पनि । छोटामा यत्ति छोटा कि सात शब्दबाट बनेको पाँच हरफको कविता पनि छ । शैक्षिक बिसङ्गतिलाई व्यङ्ग्य गर्दै लेखिएको कविता ‘सटर’ का केही हरफ यसरी लेखिएका छन् ः
यस्तो गर्मी याममा हामी खाँदिएका छौं
न झ्याल छ बा, न ढोका छ, मात्र सटर छ
यो सटरमा म छु, मेरा साथीहरू छन् छन्
चार थान बेञ्च, एक थान शिक्षक र छन् हाम्रा थानका थान सपनाहरू
त्यसैगरी केशव निमेषको ‘मृत्युगञ्जको मौनता’ कवितामा ३२ वटा कविताहरू छन् । कविको यो पहिलो कृति भए पनि कविता भने दमदार छन् । कवि निमेष भन्छन् – ‘मेरो दृष्टि माटो, पसिना, श्रम र समयको गतिमा टिकेको छ । मेरा लागि कविता रहष्यले भरिएको कुनै प्रार्थनाबाट निर्माण भएको होइन, मेरै समाजको ऐना हो । समाजमा देखिने वर्गीय असमानता, श्रमिकको थकान, जनताको पीडा र तिनीहरूका संघर्षहरू नै मेरा कविताका कच्चा पदार्थहरू हुन् ।’ उनले भनेजस्तै कवितामा पनि हुबहु पोखिएका छन् । कतै करूणा पोखिएको छ भने कतै आगो उकेलिएको छ । कायरहरूको सत्ता कवितामा उनले लेखेका छन ः
जसले बर्दी लगाएर वस्तीहरू उठाउँछ,
बुट बजारेर आवाजहरू दवाउँछ
आवाजसँग डराउने सत्ता, अभावग्रस्त झपडीसँग डराउने सत्ता
कसरी हुन सक्छ भयानक शक्तिशाली ?
पाँचौ दिन पूर्ण ओलीको स्तब्ध शब्दहरू र चन्द्रावती अधिकारीको चन्द्राघ्र्य कविता सङ्ग्रह पढें । पूर्ण ओलीको कविता सङ्ग्रहमा ६१ वटा कविताहरू छन् । कविको पाँचौं कृतिका रूपमा प्रकाशित प्रस्तुत सङ्ग्रह दुईसय पेजसम्म फैलिएको छ । कविताहरूलाई कविले छ समूह (घडीको सुइमा झुण्डिएको मान्छे, आमाको आँचलमा लुटुपुटु, धमिराले खाएको कलिलो रूख, शब्दहरू स्तब्ध छन्, फाइल ओढेर सुतेको सपना र झण्डा अङिकत अनुहार) मा समूहकृत गरेर प्रस्तुत गरेका छन् । कविका कविताहरूमा प्रकृति मुस्कुराएको छ, भेरी नदी कलकल बगेकी छन् र जीवनका सुखदुखहरू सँगसँगै लुकामारी गरिरहेका छन् । उनका कवितामा झर्रा शब्दहरूको प्रयोगले कविताहरूलाई अझै चटनीमय बनाएका छन् । कवि कवि हुनुको कारणले परिवारमा हुने असहजता पनि कवितामा उल्लेख छ । लेखककी स्वास्नीको पीडा शीर्षकको कवितामा उक्त पीडालाई यसरी लेखिएको छ ः
उसलाई अरूसँगै बोल्न ठिक्क हुन्छ
मसँग बोल्नुपर्दा दिक्क मान्छ
लेखक जस्तो अचम्मको जन्तु, यो संसारमा कुन छ
बिना कारण हाँस्छ, बिना कारण रून्छ ।
कवि चन्द्रावती अधिकारीको ‘चन्द्राघ्र्य’ कविता सङ्ग्रहमा ५८ ओटा कविताहरू छन् । कविताहरू सबै छन्दबद्ध छन् । कविता लेख्ने क्रममा बीसओटा छन्दहरू (अनुष्टुप, दिक्पाल, शार्दूलविक्रीडित, मन्दाक्रान्ता, गजगति, स्रग्धरा, उपजाति, इद्रवज्रा, कलिका, शिखरिणी, स्रग्विणी, भुजङ्गप्रयात, बसन्ततिलका, पञ्चचामर, तोटक, उपेन्द्रवज्रा, कौशिकी, आविर्भाव, मनोहारिणी र वियोगिनी छन्द) को प्रयोग गरिएको छ । कृति विचार र भावनाका दृष्टिले त महत्वपूर्ण छ नै, छन्दको जानकारी र प्रयोग शिल्पको हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ । सरल शब्दहरूमा नदीझै कलकल बगेको भाव अझ त्यसमा पनि छन्दअनुसारको लयले कविताहरूलाई हुनुसम्म सुन्दर र कलात्मक बनाएको आभास हुन्छ । कविताहरूमा आफू समर्पित शिक्षण पेसा, जन्मभूमिप्रतिको माया, बाबाआमा र मुलुकको माटोप्रतिको स्रद्धा र सम्मानका साथै मुलुकुको हरक्षेत्रमा व्याप्त बेथितिको बारेमा समेत कविताहरू भाका हालेर उर्लिएका छन् । कवि आफ्नो आह्वान कवितामा यसरी पोखिएकी छिन् ः
हाम्रा नारी दुखित जनमा न्याय जोखेर ल्याऊ
हत्या हिंसा घर र परका लाख रोक्नै छ आऊ
आऊ हाम्रा व्यथित तनका ठाउँ फेर्नै छ आऊ
यौटा नेता धुमिल युगको चाल फेर्नै छ आऊ ।
समग्रमा मैले यो दशैंमा अध्ययन गरेका माथि उल्लिखित हरेक कविता सङ्ग्रहमा भएका कविताहरू मनको कुण्ठा पोख्नका लागि भन्दा पनि समाज र मुलुक सुधारका निम्ति लेखिएका छन् । राजनीतिक विकृति र सामाजिक विसङ्गतिप्रति हरेक कविका कविताहरू आगो भएका छन् । राज्यसत्ताप्रतिको वितृष्णा र आक्रोस सबै कविहरूको साझा विषय बनेको छ । विचार सबैको अग्रगामी देखिन्छ । सोच्ने शैलीमा यदाकदा भिन्नता भने देखिन्छ । दृष्टान्त दिएर भन्नु पर्दा कालध्वनीमा कोपिलाले गरिवको सरकार आएर पनि अपेक्षा गरेको केही पुगेन भनेर खनिनु भएको छ भने अन्य कविहरू नेपालमा जजसको नाममा सरकार आएपनि वास्तविक गरिव र श्रमजीविहरूको सरकार आएकै छैन भनेर पोखिनु भएको छ । कवि र कविताहरूले उपेक्षित, उत्पीडित र सिमान्तीकृत वर्गका सवालहरूमा उजागर गर्ने क्रममा रत्तिभर पनि कञ्जुस्याइ गरेको देखिदैन ।
मैले नजिकबाट नेपाली बालबालिकाहरूलाई पनि देखिरहेको छु । उनीहरूमध्ये अधिकांस बाल्यकालमा पाउनु पर्ने सन्तुलित माया, खानपान, स्वास्थ्य, शिक्षा र बालमैत्री व्यवहारबाट बञ्चित छन् । उनीहरूको भावना र आवश्यकताको घरदेखि विद्यालयसम्म कदर भएको देखिदैन । सम्बन्ध विच्छेदजस्ता घटनाहरू बढ्दै जानुले बालबालिकाहरू सडकमा जानु पर्ने अवस्था छ । आज बालबालिका विद्यालयतिर घट्ने र सडकतिर बढ्ने स्थितिको सिर्जना भएको छ । सडकमा गएका बालबालिकाहरूलाई लागू औषध दुव्र्यसन र अन्य आपराधिक क्रियाकलापहरूमा लागेको र लगाइएको अवस्था छ । यो बारेमा भने कविहरू मौन देखिन्छन् । भोलिको मुलुकको हसिलो अनुहार देख्न चाहने कविहरूले आजका बालबालिकाहरूको बारेमा पनि लेख्नुपर्छ जस्तो लाग्छ । अन्य कुराहरू ठिकै छ । व्याकरणीय हिसावले अलिअलि त्रुटी (स, ष, श, व, ब, ह्रश्व, दीर्घ आदि) का हिसाबले सबैतिर छ । अलि बढी त्रुटी राजधानीबाट प्रकाशित भएर पनि जेनजीकालमा छ । कतै कतै कविताहरू दोहोरिएका छन् । मसँग भएको कैयौं एकहरूमा केही पेजहरू दोहोरिएर बाइण्डिङ गरिएकाले तीनओटा कविताहरू पनि दोहिरिएका देखिन्छन् । चन्द्राघ्र्यमा पेज ४९ र पेज ५७ मा एउटै कविता फरक शीर्षकमा छापिएको छ । यस्तै त्रुटी जितको उज्यालोमा पनि दुईटा कविताको हकमा देखिएको छ । यसलाई ‘काम गर्ने मान्छे बिराउछ, घोडा चढ्ने मान्छे लड्छ, होसियारी भने अपनाउनुपर्छ भन्ने हिसाबले लिनु पर्छ भन्ने लाग्छ । स्रष्टाहरूको सिर्जनाको संसार अझै निख्खर, फराकिलो र अझै उज्यालो हुदै जाओस्, शुभकामना ।









प्रतिक्रिया दिनुहोस्