राकेश वली
नेपाली समाजमा केही यस्ता कर्मशील व्यक्तित्वहरू हुन्छन् जसले आफ्नो जीवनको उर्जाशील समय शिक्षा, समाजसेवा, धर्म संस्कृति संरक्षण र साहित्य सिर्जनामा समर्पित गरेका हुन्छन् । उनीहरूका निस्वार्थ कर्मले समाजलाई ज्ञान, चेतना र सिर्जनात्मकताको उज्यालो बाटो देखाइरहेको हुन्छ । यस्तै बहुआयामिक व्यक्तित्वमध्ये एक हुनुहुन्छ हरिप्रसाद त्रिपाठी । तीन दशकभन्दा लामो शिक्षण यात्रामार्फत हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्नुभएका उहाँ सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिका साथै नेपाली साहित्य र गीत–सङ्गीतको श्रीवृद्धिमा निरन्तर साधनारत रहँदै आउनु भएको छ । हरिप्रसाद त्रिपाठीको जन्म वि.सं. २०१७ साल पौष ३ गते, शनिबार कास्की जिल्लाको पोखरा नजिकै हेमजा भन्ने ठाउँमा भएको हो । पिता स्वर्गीय नारायणदत्त त्रिपाठी र माता स्वर्गीय खीनी देवी त्रिपाठीका सुपुत्रका रूपमा जन्मिएका त्रिपाठीको बाल्यकाल कास्कीकै हेमजामा बित्यो । उहाँले औपचारिक रूपमा उत्तरमध्यमासम्मको शिक्षा हासिल गर्नुभएको पाइन्छ । हाल बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–६, सतहरिया (रिङरोड) मा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका हरिप्रसाद त्रिपाठी रुचिको विषय साहित्य र समाज सेवा रहेको पाइन्छ ।
हरिप्रसाद त्रिपाठीको जीवनको सबैभन्दा महत्वपूर्ण र उर्जाशील समय शिक्षण पेसामा बितेको पाइन्छ । वि.सं. २०४६ साल जेठ १३ गतेदेखि बर्दियाको बाँसगढी–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लक्ष्मणपुरबाट औपचारिक रूपमा शिक्षण पेसामा प्रवेश गर्नुभएका उहाँले सोही विद्यालयमा निरन्तर ३१ वर्ष ६ महिना १९ दिन अध्यापन गराउनु भएको थियो ।
बाल्यकालदेखि नै साहित्यप्रति गहिरो अनुराग राख्नुहुने हरिप्रसाद त्रिपाठी नेपाली साहित्यका एक सशक्त स्रष्टा हुनुहुन्छ । विशेषगरी कविता, हाइकु तथा गद्य विधामा कलम चलाउँदै आउनुभएका उहाँका सिर्जनामा जीवनका भोगाइ, सामाजिक यथार्थ, समाजमा व्याप्त विकृति र विसङ्गतिमाथिको तिखो व्यङ्ग्य, राष्ट्रिय भावना तथा मानवीय संवेदनाले विशेष स्थान पाएका छन् । उहाँका रचनाहरूले पाठकलाई सोच्न, बुझ्न र आफ्नै परिवेशलाई सूक्ष्म रूपमा नियाल्न प्रेरित गर्छन् । साहित्य साधनाका क्रममा उहाँका चटनी (वि.सं. २०७६) र प्रहार (वि.सं. २०७९) दुई महत्वपूर्ण कृतिहरू प्रकाशित भएका छन् । चटनी (वि.सं. २०७६)ः ’चटनी’ हरिप्रसाद त्रिपाठीको पहिलो प्रकाशित साहित्यिक कृति हो। व्यङ्ग्यात्मक अभिव्यक्ति र सामाजिक परिवेशका विविध पक्षलाई समेटिएको यस कृतिमार्फत उहाँले नेपाली साहित्यिक वृत्तमा आफ्नो सशक्त सिर्जनात्मक उपस्थिति स्थापित गर्नुभयो भनेप्रहार (वि.सं. २०७९)ः ’प्रहार’ उहाँको दोस्रो महत्वपूर्ण साहित्यिक कृति हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेको प्रकाशन गरेका यी हाइकु सङ्ग्रहरू बर्दिया जिल्लाको हाइकु साहितयका क्षेत्रका अमूल्य निधि मानिन्छन् ।
यसका अतिरिक्त उहाँका देशभक्तिपूर्ण कविता, विचार तथा हाइकुहरू विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा निरन्तर प्रकाशित हुँदै आएका त्रिपाठीले गीत–सङ्गीतको माध्यमबाट पनि राष्ट्रियताको आवाज बुलन्द गर्नुभएको छ । देशभक्ति र राष्ट्रिय स्वाभिमानको भावनाले ओतप्रोत उहाँको चर्चित गीत ‘कालापानी लिम्पिया लिपुलेक अनि सुस्ता…’ ले नेपालको भौगोलिक अखण्डता र देशप्रेमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।विभिन्न क्षेत्रबाट सम्मानित हरि प्रसाद त्रिपाठी शिक्षण पेसाबाट सेवा निवृत्त भएपछि सामाजिक, धार्मिक, सांस्कृतिक तथा शैक्षिक संस्थाहरूको विकासमा सर्मिर्पत रहेको पाइन्छ । हरिप्रसाद त्रिपाठीको जीवनयात्राले मानिसको कर्मशीलता कुनै पद, पेसा वा उमेरको सीमाले रोकिँदैन बरु जीवनका अनुभव, ज्ञान र सिर्जनशीलतालाई समाजोपयोगी बनाउँदै लैजानु नै जीवनको वास्तविक सार्थकता हो भन्ने सन्देश दिएको छ ।









प्रतिक्रिया दिनुहोस्