काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पहिलो विदेश भ्रमणको रूपमा छिमेकी देश भारत भ्रमणको सबै तयारी पूरा भएको छ । मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भ्रमणलाई नेपाल सरकारको मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ भने भारतीय विदेश मन्त्रालयले पनि भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भाइतबार नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्ने नेपाल सरकार परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणमा क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट तथा समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयले पनि भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने प्रधानमन्त्री बालेनको कार्यतालिकाबारे विज्ञप्तिमार्फ जानकारी दिँदै सबै तयारी पूरा भएको जनाएको छ ।
प्रधानमन्त्री बालेन आइतबार दिउँसो २ बजे काठमाडौँबाट उड्ने छन् भने सवा ३ बजे उनी नयाँ नयाँदिल्ली पुग्नेछन् । भारत पुगेपछि आइतबार साँझ ६ बजे प्रधानमन्त्री बालेन भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ । होटल ताजमहलमा हुने जयशंकरसँगको भेटबाहेक आइतबार अन्य भेटघाट हुनेछैन । त्यसपश्चात सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा बालेनको औपचारिक स्वागत एवं भेटघाट हुनेछ भने उनी सोही दिन राजघाटस्थित समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री बालेनको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता पनि सोमबार नै हुनेछ । मध्यान्ह १२ बजेर २५ मिनेटमा हुने हैदरावाद हाउसमा हुने भेटवार्तामा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका तय भएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोमबारै दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटवार्ता गर्ने उक्त भेटघाटपछि दिउँसो ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । यसैबीच नेपाल सरकारको मन्त्रीपरिषद्को शुक्रबारको बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत गरेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहको भ्रमण टोलीमा काठमाडौँबाट ३४ सदस्य सहभागी हुनेछन् । साथै, आफ्नै खर्चमा थप ५२ व्यवसायिक अगुवाहरू पनि भारत जाने भएका छन् भने केही पत्रकारहरू पनि आफ्नै खर्चमा सहभागी हुने राईले जानकारी दिएका छन् । भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यन्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुने उनको भनाइ छ ।
सम्पर्क सन्जालदेखि ऊर्जा सहकार्य मुख्य एजेण्डा
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणमा नेपाल र भारतबीच पारवहन, व्यापार, लगानी, ऊर्जा सहकार्य, पूर्वाधार तथा सम्पर्क सन्जाल विस्तारका विषय मुख्य एजेण्डाका रूपमा रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सन्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको मन्त्रालयले जानकारी दिएको हो ।
परराष्ट्र सचिव अमृत राईले नेपालका लागि भारत ठूलो र महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच व्यापक छलफल हुने बताए । यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणकै क्रममा विभिन्न ऊर्जा तथा पूर्वाधार परियोजनाको उद्घाटन तथा शिलान्यासका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको राईले जानकारी दिएका छन् । प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीच विद्यमान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको राईले बताए ।
भ्रमणकै अवसरमा नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम पनि रहेको छ । भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने सचिव राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उक्त फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण र आर्थिक साझेदारीका प्रयासबारे छलफल हुने र उक्त छलफलले दुई देशबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको बताएका छन् ।
व्यापार सम्बन्ध पारस्परिक अन्तरनिर्भरतातर्फ लैजान सुझाव
नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणका अवसरमा नेपाल र भारतबीचको आर्थिक सम्बन्ध एकतर्फी निर्भरताबाट पारस्परिक अन्तरनिर्भरतातर्फ लैजानेगरी छलफल गर्न सुझाव दिएको छ । महासंघले दुईदेशका उच्च राजनीतिक तहमा उठाउनुपर्ने विषय सार्वजनिक गर्दै बढ्दो व्यापार घाटा, गैरभन्सार अवरोध र उच्च लजिस्टिक लागतले नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता कमजोर बनाइरहेको बताएको छ ।
नेपालको कुल निर्यातको करिब ८४ प्रतिशत र आयातको करिब ६० प्रतिशत हिस्सा ओगट्ने भारत सबैभन्दा ठूलो व्यापार साझेदार भएको उल्लेख गर्दै महासंघले भ्रमण क्रममा तत्काल सम्बोधन गर्नुपर्ने ६ वटा मुख्य प्राथमिकता तय गरेको छ । जसमा जुटमाथिको एन्टिडम्पिङ ड्युटी हटाउने तथा स्टिलमा लागु ‘स्टिल इम्पोर्ट मनिटरिङ सिस्टम’ (सिम्स) लगायत व्यापार उपचार उपायबाट नेपाली उद्योगलाई राहत दिने, व्यापार सन्धि २००९ को पुनरावलोकन समयसीमा सहित टुंग्याइ नेपाली वस्तुको बजार पहुँच विस्तार गर्ने र गुणस्तर प्रमाणपत्र तथा प्रयोगशाला परीक्षणको पारस्परिक मान्यता (एनएस–बीआईएस समकक्षता र एकीकृत जाँच चौकी–आईसीपीमा मान्यताप्राप्त प्रयोगशाला) कायम गर्ने विषय समेटिएका छन् ।
यसैगरी भैरहवा र महेन्द्रनगर हुँदै थप हवाई प्रवेश मार्ग उपलब्ध गराउनुका साथै गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, धाम्रा र मुन्द्रा लगायत थप बन्दरगाह प्रयोग, सडक कार्गोमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) लागु गर्ने विषय पनि उठाउन सुझाव दिएको छ । यसका साथै सीमानाकामा लागत र समय कटौती गर्ने एवं विद्युत् व्यापार, बंगलादेशसम्म पारवहन र ऊर्जा–पूर्वाधारमा लगानी विस्तार गर्ने विषयलाई मुख्य प्राथमिकतामा राख्न महासंघले सुझाव दिएको छ ।
महासंघले भारतीय गुणस्तर मापदण्ड (बीआईएस) नवीकरणमा हरेक वर्ष समस्या आउने र नेपाली उत्पादकको प्रमाणपत्रको म्याद भारतीय उत्पादकको भन्दा छोटो हुँदा दोहोरो लागत परेको भन्दै महासंघले नेपाल गुणस्तर चिह्न (एनएस) लाई बीआईएस समकक्ष मान्यता दिन र प्रमाणपत्रको म्याद समान बनाउन आग्रह गरेको छ ।
यसैगरी, पशुजन्य, वनजन्य, खाद्यान्न र केमिकल वस्तुको प्रमाणीकरणमा न्यूनतम दुई देखि चार दिन लाग्दा व्यापारिक लागत बढेकाले दुवैतर्फका आईसीपीमा मान्यताप्राप्त प्रयोगशाला र क्वारेन्टिन स्थापना गरी तिनका प्रतिवेदनलाई पारस्परिक मान्यता दिनुपर्ने महासंघको सुझाव छ ।
महासंघले कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाहमा समय–समयमा अवरोध आउने र आयात बढ्दै गएकाले मार्ग विविधीकरण, आपूर्ति शृङ्खलाको लचकता र कम लजिस्टिक लागतका लागि गुजरातको मुन्द्रा, ओडिसाको धाम्रा र मुम्बई लगायत थप बन्दरगाह प्रयोग गर्न पाउने निर्णय शीघ्र गर्न पनि आग्रह गरेको छ । यस्तै हाल रक्सौल–वीरगञ्ज र जोगबनी–विराटनगर दुइटा मात्र लिंक रहेकोमा पाँच नाकाका लागि भएको समझदारीपत्र अनुसार भैरहवा, नेपालगन्ज र दोधारा–चाँदनी आईसीपी तथा काँकडभिट्टा आईसीडीसम्म रेल विस्तारको कार्यान्वयन तीव्र बनाउन पनि महासंघले माग गरेको छ ।
तेस्रो मुलुकसम्मको पारवहन अन्तर्गत बंगलादेशलाई बिजुली बिक्रीमा हालको ४० मेगावाटको सीमा उल्लेखनीय रूपमा बढाउन र भारतीय ग्रिडमार्फत उपक्षेत्रीय विद्युत् व्यापार विस्तार गर्न पनि आग्रह गरिएको छ । औषधि उद्योगलाई कच्चापदार्थ, प्रविधि हस्तान्तरण र संयुक्त उत्पादन मार्फत भारतीय मूल्य शृङ्खलासँग जोड्न तथा नेपाली जडीबुटी र सुगन्धित (एरोम्याटिक) तेल प्रशोधन, प्रमाणीकरण र भारतीय उद्योगसँग आपूर्ति सम्बन्ध विस्तार गरी कच्चापदार्थको सट्टा मूल्य अभिवृद्धि नेपालमै गर्न महासंघले प्रस्ताव गरेको छ ।
यसैगरी, दुवै देशका बैंकबीच सहकार्य, व्यापार वित्त र प्रतीतपत्र (एलसी) सम्बन्धी प्रक्रिया सरलीकरण गर्नुपर्ने, बौद्ध सर्किट, रामायण सर्किट लगायत धार्मिक र सांस्कृतिक पर्यटनको संयुक्त प्रवद्र्धन गरी पर्यटन सेवा व्यापार विस्तार गर्नुपर्ने तथा सूचना प्रविधि, डिजिटल वाणिज्य र चिया, अलैँची, अदुवा, जडीबुटी जस्ता विशिष्ट कृषि उपजको बजारीकरणमा सहकार्य गर्नुपर्ने पनि महासंघको जोड छ । यसका साथै दुवै देशका व्यवसायीबीच समय–समयमा उत्पन्न हुने विवाद समाधानका लागि दुई देशीय ‘विवाद समाधान संयन्त्र’ गठन गर्न पनि महासंघले माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्