वीरेन्द्र जैसी । नेपालगन्ज ।
संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । हाल संघीय सरकारको नेतृत्व काठमाडौँ महानगरको नगरप्रमुख हुँदा महानगरमा प्लाष्टिकका मालामा प्रतिबन्ध लगाउँदै फूलको व्यापारलाई प्रवद्र्धन गरेका बालेन्द्र शाह बालेनले गरिरहेका छन् । तैपनि बजारमा प्रतिबन्धित प्लाष्टिक मालाको बिक्री रोकिएको छैन ।
नेपालगन्जको बागेश्वरी मन्दिर वरिपरिका पूजा सामग्री पसलहरूबाहिर प्लाष्टिकका मालाहरू सजाएर राखिएका छन् । तर, न उपमहानगरपालिका र अन्य कुनै निकायले ती मालाहरू प्रतिबन्धित हुन् भन्ने हेक्का राखेर बिक्रीमा रोक लगाएको देखिन्नन् । नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटी महानगर नेतृत्वबाट मालाका बारेमा आफूहरूलाई कुनै निर्देशन नरहेको बताउँछन् ।
‘हामीलाई जे आदेश भयो त्यही गर्ने हो । प्लाष्टिकका माला बजारमा हामीले पनि नदेख्ने कुरै भएन । जबसम्म हटाउनु भनिन्न, तबसम्म हामीले केही गर्नसक्ने कुरा भएन ।’
बजारमा बेच्न राखिएका ती प्लाष्टिकका मालाहरू नेपालमै बनेका भने होइनन् । ती मालाहरू प्रायः भारतबाट र केही चीनबाट आउने गरेका व्यापारीहरू दाबी गर्छन् । तर, ती कसरी नाका पार गरेर आउँछन्, त्यो भने प्रश्नको घेरामा छ । किनकी प्लाष्टिकका फूलगुच्छा र मालाहरू भन्सारको आधिकारिक बाटो भएर ल्याउन पाइँदैन ।
नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र बस्नेत भन्सारबाट त्यस्ता वस्तु ल्याउन प्रतिबन्ध रहेको बताउँछन् । तर, बजारमा कसरी छ्यापछ्याप्ती छन् त ? भन्ने प्रश्नमा बस्नेत भन्छन्, ‘कसरी भित्रिए यकिन भन्न त कठिन हुन्छ । कतिपयले झोलामा हालेर लुकाएर छिपाएर ल्याएका पनि हुन सक्छन् । खुला सीमा भएर भन्सारबाटै भन्दा पनि अरु नाकाबाट लुकाएर भित्र्याएको पनि हुनसक्छ ।’
वातावरणका लागि हानिकारक मानेर प्रतिबन्ध लगाइएका प्लाष्टिकका फूल र मालाहरू सबैभन्दा बढी कारोबार हुने तिहार नजिकँदा झनै सजाएर बेच्न राखिएका छन् । किसानहरूको फूल बिक्रीलाई पनि प्रभाव पार्ने र वातावरणलाई पनि हानि गर्ने प्रतिबन्धित मालाहरू खुलेआम बिक्री भइराख्दा पनि राज्यका निकायहरू मूकदर्शक छन् ।प्लाष्टिक नकुहिने वस्तु भएकोले यसको दूरगामी असलाई ध्यानमा राख्दै सरकारले देशभर प्लाष्टिकका मालाको उत्पादन, आयात तथा बिक्रीवितरणमा पूर्ण रूपमा रोक लगाएको हो ।
पछिल्लो सयम प्लाष्टिकजन्य वस्तुको प्रयोग बढ्दो छ । नागरिकको दैनिकीमा अहिले सबैभन्दा बढी प्रयोग हुने वस्तुका रूपमा पनि प्लाष्टिक रहेको छ । चाडपर्वमा पनि प्राकृतिक फूलको मालाका सट्टा प्लाष्टिकका मालाको प्रयोग भइरहेको छ । एकपटक प्रयोग भइसकेपछि फालिने त्यस्ता मालाले वातावरणमा दूरगामी असर राख्ने भएकोले यसको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको हो ।
प्लाष्टिकका माला कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैयाँसम्म जरिबाना हुने र विभागबाट एक लाखसम्मको जरिबाना हुनेसमेत व्यवस्था छ । तर यसको कार्यान्वयनमा जिम्मेवार निकायहरू उदासिन रहने गरेका छन् ।
नेपालगन्जको सदरलाइनको सडकमै तिहारको समयमा लाग्ने बजारमा पनि फूलका मालाभन्दा प्लाष्टिकका मालाहरू नै बेच्न राख्ने गरिन्छन् । तर, त्यसलाई देखेर पनि जिम्मेवार निकायहरू मौन बस्ने गरेका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले प्लाष्टिक मालाका सम्बन्धमा के गर्ने भन्ने विषयमा स्थानीय तहसँग समन्वय गरिने बताए ।









प्रतिक्रिया दिनुहोस्