सुर्खेत ।
भारी हिमपातका कारण उपल्लो डोल्पाको दुर्गम हिमाली क्षेत्रमा फसेका ६ जना भारतीय पर्यटकको उद्धार अन्योलमा छ । प्राविधिक समस्याका कारण हेलिकोप्टर उडानमा ढिलाइ हुँदा उद्धार कार्य थप अन्योलमा परेको हो । उद्धारका लागि नेपाली सेनादेखि निजी हवाईसेवा प्रदायक कम्पनीसम्मको विकल्प प्रयोग गर्ने प्रयास गरिए पनि प्रतिकूल मौसम र प्राविधिक समस्याका कारण आइतबार दिनभर उद्धार सम्भव हुन सकेन ।
अब आज सोमबार बिहानैदेखि पुनः हेलिकोप्टर उडान र उद्धारको प्रयास गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्धारका लागि सुरुमा सुर्खेतस्थित नेपाली सेनाको हवाई बेसमा रहेको हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको थियो । तर, हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि उद्धार योजना प्रभावित भयो । त्यसपछि वैकल्पिक व्यवस्थाका रूपमा सिम्रिक एयरको हेलिकोप्टर मगाइएको थियो ।
तर, तीव्र हावा, उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र उडानसम्बन्धी कठिनाइका कारण सिम्रिक एयरको हेलिकोप्टरसमेत उडाउन नसकिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् । उनका अनुसार पटक–पटक प्रयास गर्दा पनि हेलिकोप्टर उडान सम्भव नभएपछि आइतबार उद्धार अभियान अघि बढ्न सकेन । मौसम र प्राविधिक अवस्था अनुकूल भए सोमबार बिहानैदेखि हेलिकोप्टर उडान तथा उद्धारको प्रयास गरिने उनले जानकारी दिइन् ।
डोल्पामा रहेका २४४ जना पर्यटकमध्ये ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित दानिगढ क्षेत्रमा फसेका हुन् । फसेका पर्यटकमा दुई महिला र चार पुरुष छन् । उद्धारको पर्खाइमा रहेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश दे रहेका छन् । उनीहरू हिउँमा अलपत्र अवस्थामा फसेका हुुन् ।
जिल्ला प्रशासन कार्यालयलाई उनीहरू हिमपातका कारण फसेको जानकारी कात्तिक १४ गते प्राप्त भएको थियो । सूचना प्राप्त भएलगत्तै प्रशासनले उद्धारका लागि पहल थालेको थियो । कात्तिक १५ गते हेलिकोप्टरमार्फत उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने तयारी गरिएको भए पनि हेलिकोप्टरमा देखिएको प्राविधिक समस्याले निर्धारित योजना कार्यान्वयन हुन सकेन ।
‘उपल्लो डोल्पा भौगोलिक रूपमा अत्यन्त विकट हिमाली क्षेत्र हो । यहाँ सडक यातायातको पहुँच सीमित छ,’ प्रजिअ ढकालले भनिन्, ‘उच्च हिमाली भूभाग, साँघुरा पदमार्ग, तीव्र हावा र मौसममा हुने आकस्मिक परिवर्तनले सामान्य अवस्थामा पनि आवागमन चुनौतीपूर्ण बनाउँछ । त्यसमाथि भारी हिमपात भएपछि पैदल मार्गसमेत अवरुद्ध छ ।’
यस्तो अवस्थामा संकटमा परेका पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन हेलिकोप्टर नै प्रमुख माध्यम बन्ने गरेको उनले बताइन् । तर, उद्धार गर्नुपर्ने समयमा हेलिकोप्टरमै प्राविधिक समस्या आउनु र वैकल्पिक हेलिकोप्टरसमेत उडान गर्न नसक्नुले थप समस्या निम्त्याएको हो । यो घटनाले उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने निर्णय मात्र पर्याप्त नहुने देखाएको छ ।
आवश्यक पर्दा तत्काल उपलब्ध हुन सक्ने वैकल्पिक हवाई साधन, प्राविधिक तयारी, मौसमको पूर्वानुमान र सम्बन्धित निकायबीचको समन्वय पनि उत्तिकै जरुरी छ । उपल्लो डोल्पा प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, बौद्ध संस्कृति र प्रसिद्ध फोक्सुन्डो तालका कारण विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ । पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै जाँदा पर्यटन प्रवद्र्धनसँगै उनीहरूको सुरक्षा र आपत्कालीन उद्धारको विषय पनि प्राथमिकतामा परेको छ । अब पर्यटकको सुरक्षित उद्धारका लागि मौसम अनुकूल हुने र हेलिकोप्टर उडान सम्भव हुने प्रतीक्षामा प्रशासन रहेको छ ।









प्रतिक्रिया दिनुहोस्