३ महिनामा १३५ परिवारलाई लालपुर्जा



काठमाडौँ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यो आर्थिक वर्षको पहिला त्रैमासिकमा १३५ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ । भूमि समस्या समाधान समिति (ताहाचल)ले चालू आर्थिक वर्ष २०८३–०८४ को पहिलो त्रैमासिक (साउन १ देखि असोज मसान्तसम्म) अवधिमा १३५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणमा उल्लेख गरेको छ ।

सार्वजनिक प्रतिवेदनमा उल्लेख तथ्यांकअनुसार वितरण गरिएका कूल १३५ थान पुर्जाहरूमध्ये भूमिहीन दलितलाई ११ थान, भूमिहीन सुकुम्वासीलाई ४१ थान र अव्यवस्थित बसोबासीलाई ८३ थान रहेका उल्लेख छ । प्रतिवेदनमा समितिले भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि लगत संकलन, प्रमाणीकरण र नापनक्साको कामलाई तीव्रता दिएको उल्लेख छ ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको यथार्थ विवरण संकलनका लागि सञ्चालित समितिको सूचना प्रणालीमा यस अवधिमा ५१ हजार ५ सय १७ थान निवेदनहरू प्रविष्ट (इन्ट्री) भएका छन् । त्यसमा भूमिहीन दलिततर्फ ७ हजार ७०, भूमिहीन सुकुम्वासीतर्फ ८ हजार ८३ र अव्यवस्थित बसोबासीतर्फ ३१ हजार ३१७ निवेदन रहेका प्रतिवेदनमा उल्लेख छ । विगतका आयोगका अधुरा–अपुरा काय पूरा गर्न भन्दै ५ हजार १२७ निवेदन दर्ता भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

जग्गा पहिचान र वितरण प्रक्रियालाई व्यवस्थित बनाउन समितिले यस त्रैमासिक अवधिमा देशभरका विभिन्न स्थानमा गरी कुल १ हजार ९ सय ४७ कित्ता जग्गाको नाप नक्सा कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौँ उपत्यकाभित्रको समस्या समाधान गर्न भन्दै समितिले यसै अवधिमा भक्तपुर नगरपालिकासँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको र सहमतिपश्चात् वास्तविक लगत संकलनका लागि औपचारिक सूचनासमेत प्रकाशन भइसकेको उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार