काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ । पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि समिति सदस्यहरूको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।
जसअन्तर्गत क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ ।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्