आधुनिकतासँगै संकटमा परम्परागत पेसा



आधुनिक प्रविधि र बजारमा तयारी औजारको उपलब्धतासँगै परम्परागत आरन पेसा संकटमा पर्दै गएको छ । धेरै ठाउँमा पुख्र्यौली पेसा छाडेर मानिस अन्य रोजगारीतर्फ लागेका छन् । तर रेशमको परिवार भने पुस्तौँदेखि चल्दै आएको यही पेसालाई निरन्तरता दिइरहेको छ । अझ रोचक त के छ भने उनको आरनमा अर्घाखाँचीका विभिन्न स्थानबाट मात्र होइन, छिमेकी जिल्ला रोल्पा र प्युठानबाट समेत सेवाग्राही आउने गरेका छन् ।

गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।

टनटन घन र हतौडाको आवाजसँगै आगोका झिल्का उडिरहेका छन् । फलामलाई आगोमा तताएर रातो बनाइन्छ । त्यसपछि घन र हतौडाको सहायताले आवश्यक आकार दिइन्छ । आगोको राप, फलाममाथि बजारिने घन र हतौडाको आवाजसँगै व्यस्त छन् ३६ वर्षीय रेशम विक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५ असुरकोटस्थित उनको आरनमा बिहानदेखि साँझसम्म यस्तै दृश्य देखिन्छ ।

आधुनिक प्रविधि र बजारमा तयारी औजारको उपलब्धतासँगै परम्परागत आरन पेसा संकटमा पर्दै गएको छ । धेरै ठाउँमा पुख्र्यौली पेसा छाडेर मानिस अन्य रोजगारीतर्फ लागेका छन् । तर रेशमको परिवार भने पुस्तौँदेखि चल्दै आएको यही पेसालाई निरन्तरता दिइरहेको छ । अझ रोचक त के छ भने उनको आरनमा अर्घाखाँचीका विभिन्न स्थानबाट मात्र होइन, छिमेकी जिल्ला रोल्पा र प्युठानबाट समेत सेवाग्राही आउने गरेका छन् ।

रेशमको परिवारका सातदेखि आठ जना सदस्य यसै पेसामा संलग्न छन् । परिवारका सबै सदस्यले आआफ्नो जिम्मेवारीअनुसार आरनको काममा सघाउँछन् । यही पेसाबाट परिवारको घरखर्च चलेको छ । आम्दानी पनि राम्रै हुने गरेको उनी बताउँछन् । ‘यो हाम्रो पुस्तौँदेखिको पेसा हो । परिवारका सबैजना यसैमा लागेका छौँ,’ रेशम भन्छन्, ‘यही कामबाट घरखर्च चलेको छ । आम्दानी पनि राम्रै छ । काम भ्याइनभ्याई हुन्छ ।’

उनको भनाइले परम्परागत आरन पेसा पूर्णतः विस्थापित भइसकेको छैन भन्ने देखाउँछ । सेवाग्राहीको आवश्यकता, कामप्रतिको विश्वास र पुस्तौँदेखि आर्जन गरेको सीपका कारण उनको आरन अझै चलिरहेको छ । टाढाटाढाबाट समेत मानिसहरू औजार बनाउन र मर्मत गराउन आउने गरेका छन् । यसले स्थानीयस्तरमा परम्परागत सीपको उपयोगिता अझै कायम रहेको पुष्टि गर्छ ।

ग्रामीण नेपाली समाजमा कुनै समय आरन गाउँको अनिवार्य आवश्यकता थियो । खेतीपातीमा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बन्चरो, खुकुरीलगायतका फलामे औजार आरनमै निर्माण तथा मर्मत गरिन्थे । किसानले खेतीपातीको मौसम सुरु हुनुअघि औजार तयार पार्नेदेखि बिग्रिएका सामग्री मर्मत गर्नेसम्मका काम आरनमै गराउँथे । घरायसी प्रयोजनका विभिन्न उपकरण निर्माणमा पनि आरनको महत्त्वपूर्ण भूमिका थियो ।

तर समयसँगै परिस्थिति बदलिएको छ । बजारमा उद्योगबाट उत्पादित तयारी औजार सहजै उपलब्ध हुन थालेका छन् । फलाम पिट्ने र धार लगाउने आधुनिक मेसिन भित्रिएका छन् । मेसिनबाट कम समयमा धेरै काम गर्न सकिने भएपछि परम्परागत आरनले प्रतिस्पर्धा गर्न कठिन हुन थालेको छ । नयाँ पुस्ताको आकर्षण पनि यस्तो पेसाभन्दा वैदेशिक रोजगारी, आधुनिक व्यवसाय र अन्य रोजगारीतर्फ बढेको छ ।

आरन पेसामा प्रविधिको विकास नभएको भने होइन । पहिले बाख्राको छालाबाट बनेका दुईवटा हातले चलाउने खलाँटीबाट आगोमा हावा दिइन्थ्यो । पछि गोरुको छालाबाट बनेको भाटी प्रयोग हुन थाल्यो । त्यसपछि एक हातले चलाउन मिल्ने पंखा र अन्य उपकरण प्रयोगमा आए । तर परम्परागत आरनमा भएको यो सामान्य परिवर्तनले आधुनिक उद्योग र मेसिनसँग प्रतिस्पर्धा गर्न पर्याप्त भएको छैन ।

फलामलाई आवश्यक तापक्रमसम्म तताउने, त्यसको प्रकृति बुझेर आकार दिने र धार मिलाउने काम अनुभवमा आधारित हुन्छ । यसका लागि शारीरिक श्रमसँगै विशेष सीप र धैर्य आवश्यक पर्छ । आरन सञ्चालन गर्न काठ, दाउरा र कोइलाजस्ता इन्धनको व्यवस्थापन पनि गर्नुपर्छ । रेशमको परिवारले आरनमा आवश्यक काठ र दाउरा आफ्नै ख¥यानबाट जुटाउँदै आएको छ । यसले काम सञ्चालनमा केही सहजता दिएको छ ।

परम्परागत सीपको निरन्तरतामा पुस्तान्तरण अर्को चुनौती बनेको छ । पहिले बालबालिकाले घरमै अभिभावकसँग काम गर्दै आरनको सीप सिक्थे । बिस्तारै उनीहरू दक्ष बन्दै यही पेसामा संलग्न हुन्थे । अहिले नयाँ पुस्ताले यस्तो काम सिक्ने र निरन्तरता दिने रुचि कम देखाउन थालेको छ । पर्याप्त आम्दानी नहुने, कठिन श्रम गर्नुपर्ने र आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्न नसकिने धारणाले पनि पेसाप्रतिको आकर्षण घटाएको छ ।

प्युठानको ऐरावती गाउँपालिका–६ च्युरापानीका आरन व्यवसायी बोमबहादुर विश्वकर्माले पनि केही समयअघि यस्तै चिन्ता व्यक्त गरेका थिए । उनका अनुसार बाजेबराजुका पालामा आरनमा कामको चाप निकै हुन्थ्यो । चारैतिरबाट फलाम लिएर औजार बनाउन र पुराना औजारमा धार लगाउन मानिस आउँथे । तर अहिले बजारमा तयारी औजार पाइने र मेसिनबाट छिटो काम हुने भएकाले परम्परागत आरनको काम घटेको छ । पुख्र्यौली पेसालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नसमेत कठिन हुँदै गएको उनको अनुभव छ ।

बोमबहादुरका दुई छोरामध्ये जेठो रोजगारीका लागि भारत गएको र कान्छो सानै रहेको बताउँदै उनले आफूले धान्दै आएको पुख्र्यौली पेसा छोराहरूले निरन्तरता दिने हुन् कि होइनन् भन्ने चिन्ता व्यक्त गरेका थिए । उनको अनुभवले आरन पेसामा देखिएको पुस्तान्तरणको चुनौतीलाई स्पष्ट पार्छ । परम्परागत पेसा जोगाउन स्थानीय सरकारको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । प्युठानको ऐरावती गाउँपालिका–६ का वडा सदस्य शिव श्रेष्ठका अनुसार उक्त वडामा पहिले करिब १० देखि १२ वटा आरन सञ्चालनमा रहेकामा पछिल्लो समय मुस्किलले तीनदेखि चारवटा मात्र सञ्चालनमा छन् ।

वडा कार्यालयले आरन संरक्षणका लागि केही व्यवसायीलाई टिनको छानो र आगो बाल्न प्रयोग हुने पंखासमेत वितरण गरेको थियो । ‘वडामा रहेका करिब आठ–नौवटा आरनलाई वडा कार्यालयले टिनको छानो र आगो बाल्न प्रयोग गरिने पंखा वितरण गरेका थियौँ,’ श्रेष्ठले आफ्नो वडाको प्रयासबारे भनेका छन्, ‘थोरै भए पनि सहयोगले दीर्घकालीन रूपमा सञ्चालन गर्न सहज होला भनेर सहयोग गरेका हौँ ।’

उनका अनुसार रोजगारीका लागि विदेश जाने, व्यवसायीको मृत्यु हुने र नयाँ पुस्ताले पेसालाई निरन्तरता नदिने जस्ता कारणले आरनको सङ्ख्या घटेको हो । स्थानीय तहको सीमित बजेटका कारण चाहेर पनि पर्याप्त सहयोग गर्न नसकिएको र भविष्यमा आवश्यक प्रविधि तथा उपकरण उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ ।
आरन संरक्षणका लागि छानो र पंखा उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन । परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्न आवश्यक छ ।

विद्युत्बाट सञ्चालन हुने फलाम पिट्ने मेसिन, आधुनिक भाटी, फलाम काट्ने तथा धार लगाउने उपकरण उपलब्ध गराउन सके कामलाई छिटो, सहज र प्रतिस्पर्धी बनाउन सकिन्छ । आरन व्यवसायीलाई सीप विकास तालिम, सहुलियत ऋण र आवश्यक कच्चा पदार्थको व्यवस्थापनमा सहयोग गर्न सके पेसालाई व्यावसायिक रूपमा विस्तार गर्न सकिन्छ । स्थानीय सरकारले परम्परागत पेसाको पहिचान र अभिलेखीकरण गरी त्यस्ता व्यवसायमा संलग्न परिवारलाई प्रोत्साहन गर्नुपर्छ ।

नयाँ पुस्तालाई आरनको सीप सिकाउने तालिम सञ्चालन गर्नुका साथै स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके यसको संरक्षणसँगै रोजगारी सिर्जना गर्न पनि सहयोग पुग्न सक्छ । भूमिकास्थान नगरपालिका–५ असुरकोटका रेशम विकको आरनमा अहिले पनि घन र हतौडाको आवाज गुञ्जिरहेको छ ।परिवारका सातदेखि आठ सदस्यको सामूहिक श्रम र अर्घाखाँचीसहित रोल्पा तथा प्युठानबाट आउने सेवाग्राहीको विश्वासले उनको आरन चलिरहेको छ । स्थानीय सरकारले समेत आरन सञ्चालनका लागि ट्रस निर्माण गरिदिएको छ ।

यो सहयोगले परम्परागत पेसा जोगाउन स्थानीय तहको साथ र सहयोग कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ । फलामलाई आगोमा तताएर नयाँ आकार दिन सक्ने आरनको सीपलाई समयअनुसार परिमार्जन गर्न सके यसले अझै धेरै पुस्तालाई रोजगारी दिन सक्छ । परम्परागत पेसालाई पुरानो भन्दै उपेक्षा गर्ने होइन, आधुनिक प्रविधिसँग जोडेर नयाँ सम्भावना खोज्नुपर्छ । अन्यथा आज घन र हतौडा चलाइरहेका हातसँगै पुस्तौँदेखि सञ्चित ज्ञान र सीप पनि हराउनेछन् । असुरकोटका रेशमको आरनमा अझै आगो बलिरहेको छ । त्यो आगो निभ्न नदिन परिवारको मेहनतसँगै राज्यको संरक्षण र प्रवद्र्धन पनि उत्तिकै आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार