कोहलपुरका चार लायन्स क्लबका नयाँ नेतृत्वलाई पदभार हस्तान्तरण



कोहलपुर।

लायन्स क्लब अफ कोहलपुरले लायन वर्ष सन् २०२६–०२७ का लागि चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरेको छ । आइतबार कोहलपुरमा आयोजित विशेष कार्यक्रममार्फत लायन्स क्लबसँग आबद्ध चारवटा क्लबका नवनिर्वाचित अध्यक्षहरूलाई पदभार हस्तान्तरण गरिएको हो ।

लायन वर्ष २०२६–०२७ का लागि अनिता पौडेल, मोहन माझी, परिवर्तन विक र राम न्यौपानेले आ–आफ्नो क्लबको अध्यक्षको रूपमा कार्यभार सम्हालेका छन् ।निर्वतमान अध्यक्ष अन्जना पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब कोहलपुरअन्तर्गत सञ्चालनमा रहेका लायन्स क्लब कोहलपुर, लायन्स क्लब सयपत्री, लायन्स क्लब कोहलपुर प्रोफेसन र लायन्स क्लब कोहलपुर भ्यूका नयाँ अध्यक्षहरूलाई पदभार हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ गभर्नर टिकराम चापागाईँले लायन्स क्लब सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गर्दै समाजका विभिन्न क्षेत्रमा क्लबले पु¥याउँदै आएको योगदानको प्रशंसा गरे । उनले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानव सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै नयाँ नेतृत्वले पनि सेवा र समर्पणको भावनालाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरूले लायन्स क्लबले समुदायको आवश्यकताअनुसार विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा रक्तदान, स्वास्थ्य शिविर, वृक्षारोपण, शैक्षिक सहयोग तथा विपन्न समुदायको उत्थानका कार्यक्रमलाई थप प्राथमिकता दिइने बताएका थिए । नवनियुक्त अध्यक्षहरूले पदभार ग्रहणपछि आफूहरू सामाजिक सेवालाई केन्द्रमा राखेर क्लबका गतिविधिलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले सबै सदस्यबीच सहकार्य र एकताको भावनासहित समाजका आवश्यकताअनुसार सेवा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।

कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, विभिन्न क्लबका सदस्य, सामाजिक अगुवा, शुभेच्छुक तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । पद हस्तान्तरणसँगै नयाँ नेतृत्वले आगामी एक वर्षका लागि क्लबको वार्षिक कार्ययोजना अघि बढाउने जिम्मेवारीसमेत औपचारिक रूपमा ग्रहण गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार