सम्पादकीयः अर्थतन्त्रमा एनपीएलको योगदान



खेलकुद केवल मनोरञ्जन र प्रतिस्पर्धाको विषय होइन, यो अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण माध्यम पनि हो । विश्वका धेरै देशले खेलकुदलाई पर्यटन, व्यापार, रोजगारी र लगानीको अवसरका रूपमा विकास गरेका छन् । नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै जाँदा नेपाल प्रिमियर लिग (एनपीएल) पनि खेलकुदको सीमाभन्दा बाहिर निस्केर आर्थिक गतिविधि विस्तार गर्ने माध्यम बन्दै गएको छ । काठमाडौँमा सञ्चालन भइरहेको एनपीएलले क्रिकेटप्रेमीलाई मनोरञ्जन दिनुका साथै होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन, विज्ञापन, सञ्चार तथा व्यापारिक क्षेत्रमा नयाँ अवसर सिर्जना गरेको छ । नेपालमा क्रिकेटको लोकप्रियता असाधारण छ । राष्ट्रिय टोलीका खेलदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म नेपाली दर्शकको उत्साह उल्लेख्य देखिन्छ । यही लोकप्रियतालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्ने प्रयासका रूपमा एनपीएललाई लिन सकिन्छ । यसले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च दिएको छ भने निजी क्षेत्रलाई खेलकुदमा लगानी गर्ने सम्भावना पनि देखाएको छ । खेलकुद र अर्थतन्त्रबीचको सम्बन्धलाई बलियो बनाउन एनपीएलले महत्वपूर्ण आधार तयार गरिरहेको छ । यस वर्षको तेस्रो संस्करणको एनपीएलले आर्थिक दृष्टिले पनि नयाँ उचाइ लिने अपेक्षा गरिएको छ । प्रतियोगिताबाट करिब डेढ अर्ब रूपैयाँँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

प्रायोजन, टिकट बिक्री, प्रसारण अधिकार र अन्य व्यावसायिक गतिविधिबाट ठूलो रकम परिचालन हुने देखिएको छ । यसले नेपाली क्रिकेट क्रमशः व्यावसायिक उद्योगका रूपमा विकसित हुँदै गएको संकेत गर्छ । एनपीएलको प्रत्यक्ष प्रभाव होटल तथा पर्यटन क्षेत्रमा देखिन थालेको छ । आठवटै टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापनका सदस्यको आवास तथा खानपानका कारण होटल व्यवसायमा कारोबार बढेको छ । विदेशी खेलाडीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेटप्रेमी र सञ्चारमाध्यमको ध्यान नेपालतर्फ आकर्षित गरेको छ । त्यस्तै, विभिन्न जिल्लाबाट खेल हेर्न काठमाडौँ आउने दर्शकले होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र अन्य सेवाको माग बढाएका छन् । प्रतियोगिता सञ्चालन हुने कीर्तिपुर आसपासका साना व्यवसायी, खाद्यविक्रेता र खुद्रा पसलले समेत यसको लाभ लिने अवसर पाएका छन् । यसले खेलकुदमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना उजागर गरेको छ । यसको अर्को महत्वपूर्ण पक्ष रोजगारी र निजी क्षेत्रको सहभागिता हो । प्रतियोगिता सञ्चालनका लागि खेलाडी र प्रशिक्षक मात्र होइन, सुरक्षाकर्मी, प्राविधिक, सञ्चारकर्मी, व्यवस्थापन कर्मचारी, स्वयंसेवक तथा विभिन्न सेवा प्रदायक आवश्यक पर्छन् । विज्ञापन, डिजिटल सञ्चार, प्रत्यक्ष प्रसारण, खेल सामग्री, पोसाक र व्यापारिक साझेदारीमा पनि अवसर सिर्जना हुन्छ ।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटोमोबाइल, खाद्यवस्तु र उपभोग्य सामग्रीका उत्पादकले खेलकुदलाई आफ्नो बजार विस्तार गर्ने माध्यम बनाएका छन् । यसले निजी क्षेत्रको लगानीलाई खेलकुदसँग जोड्ने वातावरण तयार गरेको छ । एनपीएलले नेपाली खेलाडीको आर्थिक हैसियत सुधार्न पनि सहयोग पु¥याएको छ । फ्रेन्चाइज टोलीसँगको सम्झौता, पुरस्कार राशि र व्यावसायिक अवसरले खेलाडीलाई क्रिकेटलाई नै पेसा बनाउने सम्भावना देखाएको छ । यसपटक विजेता टोलीले एक करोड ५० लाख र उपविजेताले ८० लाख रूपैयाँँ पुरस्कार पाउने व्यवस्था गरिएको छ । तर, एनपीएलको आर्थिक सफलतालाई कारोबारको अनुमानित आकारबाट मात्र मापन गर्नु पर्याप्त हुँदैन । प्रतियोगितामा परिचालन हुने रकमको कति हिस्सा नेपाली अर्थतन्त्रमा रहन्छ, कति रकम विदेशिन्छ र स्थानीय व्यवसाय तथा श्रमिकले कति लाभ पाउँछन् भन्ने विषय पनि महत्वपूर्ण छ । विदेशी खेलाडीको पारिश्रमिक र अन्य खर्चले रकमको ठूलो हिस्सा बाहिरिन सक्ने सम्भावना रहन्छ । त्यसैले नेपाली खेलाडीको पारिश्रमिक, स्थानीय सेवा प्रदायकको सहभागिता र स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिन आवश्यक छ । अर्कोतर्फ, खेलकुद पर्यटनको सम्भावनालाई एनपीएलको अवधिभन्दा बाहिर पनि विस्तार गर्न सकिन्छ । नेपालमा खेलकुदलाई लामो समयसम्म खर्चका रूपमा मात्र हेर्ने प्रवृत्ति रह्यो । तर एनपीएलले खेलकुदमा गरिएको लगानी आर्थिक प्रतिफल दिने माध्यम पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ । यसलाई केही दिनको क्रिकेट उत्सवमा मात्र सीमित गर्नु हुँदैन ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार