अधिवक्ता वसन्त गौतम
मानव सभ्यताको विकाससँगै विज्ञान र प्रविधिले अभूतपूर्व फड्को मारेको छ । मानिसको जीवन पहिलेभन्दा सहज, सुविधासम्पन्न र गतिशील बनेको छ । तर विडम्बना, भौतिक सुखसुविधाको बढ्दो आकर्षणसँगै मानिस आफ्नो स्वास्थ्य, प्रकृतिसँगको सम्बन्ध र अनुशासित जीवनशैलीबाट टाढिँदै गएको छ । शारीरिक श्रमको कमी, अस्वस्थकर खानपान, अनियमित दिनचर्या, अत्यधिक मानसिक तनाव र नकारात्मक सोच आधुनिक मानव जीवनका अभिन्न समस्याजस्तै बनेका छन् । यसको प्रत्यक्ष परिणामस्वरूप नसर्ने रोगहरू विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा देखा परिरहेका छन् ।
आज मानिस रोग लागेपछि अस्पताल, औषधि र चिकित्सकको खोजीमा दौडिन्छ, तर रोग लाग्न नदिन अपनाउनुपर्ने जीवनशैलीप्रति पर्याप्त सचेत हुँदैन । महँगो उपचारमा खर्च गर्न तयार हुने हामी आफ्नो शरीर र मनलाई स्वस्थ राख्न दैनिक केही समय छुट्याउन भने हिचकिचाउँछौँ । वास्तवमा स्वस्थ जीवनको आधार औषधि मात्र होइन, स्वस्थ आहार, नियमित व्यायाम, योगसाधना, सकारात्मक सोच र अनुशासित जीवनशैली पनि हो । यही सन्दर्भमा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि योग, प्राणायाम तथा ध्यानको महत्व दिनप्रतिदिन बढ्दै गएको छ ।
नसर्ने रोगको बढ्दो जोखिम र विश्वव्यापी चुनौती
नसर्ने रोग भन्नाले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा जीवाणु, विषाणु वा अन्य संक्रमणका माध्यमबाट नसर्ने तर लामो समयसम्म शरीरमा विकसित हुँदै जाने रोगलाई बुझिन्छ । मुटुरोग, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग तथा मिर्गौलासम्बन्धी समस्या यसका प्रमुख उदाहरण हुन् । यी रोगहरू एकाएक देखिनेभन्दा पनि वर्षौँसम्मको अस्वस्थकर जीवनशैली, खानपान, शारीरिक निष्क्रियता र अन्य जोखिमपूर्ण व्यवहारका कारण विकसित हुने गर्दछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष करिब चार करोड ३० लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । यो विश्वव्यापी कूल मृत्युको ठूलो हिस्सा हो । अझ चिन्ताजनक पक्ष के छ भने कम तथा मध्यम आय भएका मुलुकका मानिसहरू यी रोगबाट बढी प्रभावित छन् । नेपाल पनि यस समस्याबाट अछुतो छैन । नेपाली समाजमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढिरहेको छ । नसर्ने रोगले व्यक्तिको स्वास्थ्यमा मात्र असर गर्दैन, परिवारको आर्थिक अवस्था, सामाजिक सम्बन्ध, उत्पादनशीलता र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पार्दछ । लामो समयसम्म उपचार गर्नुपर्ने, औषधि सेवन गर्नुपर्ने र नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने भएकाले सामान्य आय भएका परिवारसमेत आर्थिक संकटमा पर्न सक्छन् । त्यसैले नसर्ने रोगको उपचारभन्दा यसको रोकथामलाई प्राथमिकता दिनु आजको आवश्यकता हो ।
अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान र गलत आनीबानी
नसर्ने रोगको जोखिम बढ्नुमा हाम्रो जीवनशैलीको ठूलो भूमिका छ । बिहान ढिलो उठ्ने, राति अबेरसम्म जाग्राम बस्ने, शारीरिक श्रम नगर्ने, घण्टौँ मोबाइल र कम्प्युटरमा बिताउने, समयमै खाना नखाने तथा पर्याप्त निद्रा नलिने जस्ता बानीले शरीरको प्राकृतिक सन्तुलन बिगार्छन् । त्यसैगरी, अत्यधिक नुन, चिनी, चिल्लो पदार्थ, जंकफुड, फास्टफुड, प्रशोधित तथा प्याकेटबन्द खाद्यवस्तुको प्रयोग बढ्दै गएको छ । स्वाद र क्षणिक सन्तुष्टिका लागि हामी शरीरलाई आवश्यकभन्दा बढी अस्वस्थकर पदार्थ खुवाइरहेका छौँ । ताजा फलफूल, हरियो सागसब्जी, दाल, गेडागुडी र रेसायुक्त खानाको प्रयोग घट्दै जानु पनि चिन्ताको विषय हो । धूमपान, सुर्तीजन्य पदार्थको सेवन र मदिराको हानिकारक प्रयोगले क्यान्सर, मुटुरोग, उच्च रक्तचाप तथा अन्य दीर्घरोगको जोखिम बढाउँछ । यसका अतिरिक्त रिस, ईष्र्या, लोभ, घृणा, निराशा, अनावश्यक प्रतिस्पर्धा र तनावले मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छन् । हामीले बुझ्नुपर्ने कुरा के हो भने रोग केवल बाहिरी कारणले मात्र उत्पन्न हुँदैन ।हाम्रा दैनिक व्यवहार, सोच, आहार र आनीबानीले पनि शरीरको स्वास्थ्य निर्धारण गर्छन् । त्यसैले स्वस्थ रहन औषधि खोज्नुभन्दा पहिले आफ्ना खराब बानी र गलत जीवनशैली सुधार्न आवश्यक छ ।
नसर्ने रोगको रोकथाममा योगसाधनाको महत्व
योग पूर्वीय सभ्यताले विश्वलाई दिएको अमूल्य जीवनदर्शन हो । योगलाई केवल शारीरिक व्यायाम वा आसनको अभ्यासका रूपमा मात्र बुझ्नु हुँदैन । योग शरीर, मन र चेतनाबीच सन्तुलन कायम गर्ने समग्र जीवनपद्धति हो । यसले मानिसलाई शारीरिक रूपमा सक्रिय, मानसिक रूपमा शान्त र भावनात्मक रूपमा सन्तुलित बनाउन सहयोग पु¥याउँछ । नियमित योगसाधनाले शरीरको लचकता, मांसपेशीको क्षमता, सन्तुलन र शारीरिक सक्रियता बढाउँछ । यसले तनाव व्यवस्थापन, निद्राको गुणस्तर सुधार र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । नियमित शारीरिक गतिविधिसँग जोडिएको योगले मोटोपन, उच्च रक्तचाप, मधुमेह तथा मुटुरोगका जोखिम कारकहरू नियन्त्रण गर्न सहयोग पु¥याउन सक्छ । योगको वास्तविक उद्देश्य रोग लागेपछि उपचारको विकल्प खोज्नु मात्र होइन, रोग लाग्न सक्ने जोखिम घटाउने जीवनशैली निर्माण गर्नु पनि हो । योगले मानिसलाई आफ्नो शरीरको आवश्यकता बुझ्न, मनलाई नियन्त्रण गर्न र गलत आनीबानी त्याग्न प्रेरित गर्छ ।
आसन, प्राणायाम र ध्यानको विशेष भूमिका
योगासन ः शरीरलाई सक्रिय र सन्तुलित राख्ने माध्यम
योगासनले शरीरका जोर्नी, मांसपेशी र मेरुदण्डलाई लचिलो तथा सक्रिय राख्न मद्दत गर्छ । ताडासन, वृक्षासन, भुजङ्गासन, पवनमुक्तासन, वज्रासन तथा पवनमुक्तासनजस्ता उपयुक्त आसनले शरीरको सन्तुलन, लचकता र शारीरिक क्षमता सुधार गर्न सहयोग पु¥याउँछन् । उमेर, शारीरिक अवस्था र स्वास्थ्य समस्याअनुसार प्रशिक्षकको सल्लाहमा आसन अभ्यास गर्नु उचित हुन्छ ।
प्राणायाम ः श्वाससँग जोडिएको जीवनशक्ति
प्राणायाम योगसाधनाको महत्वपूर्ण अंग हो । श्वासप्रश्वासलाई सचेत र सन्तुलित बनाउने अभ्यास नै प्राणायाम हो । अनुलोम–विलोम, भ्रामरी र सहज श्वास अभ्यासले मनलाई शान्त बनाउन, तनाव कम गर्न र श्वासप्रश्वासप्रति सचेतना बढाउन मद्दत गर्छ । हाम्रो जीवन श्वाससँग जोडिएको छ । तनाव, हतार र चिन्ताले हाम्रो श्वासप्रश्वासको स्वाभाविक लयसमेत प्रभावित हुन्छ । नियमित तथा सही तरिकाले गरिने प्राणायामले स्नायु प्रणालीलाई शान्त पार्न र मानसिक सन्तुलन कायम गर्न सहयोग पु¥याउँछ । यसले उच्च रक्तचाप तथा तनाव व्यवस्थापनमा समेत सकारात्मक भूमिका खेल्न सक्छ । तर उच्च रक्तचाप, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिले कठिन प्राणायाम र श्वास रोकेर गरिने अभ्यास चिकित्सक वा योग्य प्रशिक्षकको सल्लाहबिना गर्नु हुँदैन ।
ध्यान ः मानसिक स्वास्थ्य र सकारात्मक सोचको आधार
आजको मानिसको सबैभन्दा ठूलो समस्यामध्ये एक मानसिक तनाव हो । कामको चाप, आर्थिक चिन्ता, पारिवारिक जिम्मेवारी, सामाजिक प्रतिस्पर्धा र भविष्यप्रतिको अनिश्चितताले मानिसलाई मानसिक रूपमा कमजोर बनाइरहेको छ । ध्यानले मनलाई एकाग्र बनाउन, अनावश्यक चिन्ता घटाउन र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्छ । नियमित ध्यानले मानिसलाई आफ्नो विचार र व्यवहारप्रति सचेत बनाउँछ । रिस, आवेग, ईष्र्या र नकारात्मक भावनालाई नियन्त्रण गर्न पनि ध्यान उपयोगी हुन्छ । शान्त मनले सही निर्णय गर्न र जीवनका चुनौतीलाई सहज रूपमा सामना गर्न सकिन्छ ।
स्वस्थ जीवनका लागि सात्विक आहार, सद्विचार र सत्कर्म
योगसाधनाको पूर्ण लाभ प्राप्त गर्न आसन र प्राणायाम मात्र पर्याप्त हुँदैन । हाम्रो खानपान, व्यवहार, विचार र दैनिक आचरणसमेत स्वस्थ हुन आवश्यक छ । शरीरले जे खान्छ, त्यसले शरीर निर्माण गर्छ भने मनले जे सोच्छ, त्यसले हाम्रो व्यवहार र जीवनको दिशा निर्धारण गर्छ ।त्यसैले सकेसम्म ताजा, स्वच्छ, सुपाच्य र पौष्टिक खाना खानुपर्छ । मौसमी फलफूल, हरियो सागसब्जी, दाल, गेडागुडी, अन्न तथा पर्याप्त पानीलाई दैनिक भोजनमा समावेश गर्नुपर्छ । अत्यधिक नुन, चिनी, चिल्लो पदार्थ र प्रशोधित खाद्यवस्तुको सेवन घटाउनुपर्छ । आवश्यकताभन्दा बढी खाना खाने, राति अबेर भारी भोजन गर्ने र स्वादका लागि स्वास्थ्यलाई बेवास्ता गर्ने बानी त्याग्नुपर्छ । त्यस्तै, सत्य बोल्ने, अरूको हित सोच्ने, सहयोग गर्ने, क्षमा गर्ने, माया र सद्भाव राख्ने जस्ता सद्विचार र सत्कर्मले मानसिक स्वास्थ्यलाई सकारात्मक बनाउँछन् । अनावश्यक रिस, घृणा, लोभ, ईष्र्या र नकारात्मक सोच त्यागेर संयमित जीवन बिताउनु स्वस्थ जीवनको महत्वपूर्ण आधार हो । स्वस्थ शरीरका लागि स्वस्थ भोजन आवश्यक छ भने स्वस्थ मनका लागि स्वस्थ विचार । शरीरलाई विषाक्त बनाउने खानपान र मनलाई अशान्त बनाउने विचार दुवैबाट टाढा रहन सक्नु नै योगमय जीवनको वास्तविक सार हो ।
व्यस्त जीवनमा पनि योगसाधनालाई प्राथमिकता आवश्यक ः
हामीमध्ये धेरैले व्यस्ततालाई योग र व्यायाम गर्न नसक्नुको प्रमुख कारण बनाउने गरेका छौँ । तर स्वास्थ्यभन्दा महत्वपूर्ण अर्को कुनै जिम्मेवारी हुन सक्दैन । दिनको केही समय आफ्नै शरीर र मनका लागि छुट्याउन सक्नु बुद्धिमानी हो । बिहान उठेर केही समय हिँड्ने, सामान्य शारीरिक अभ्यास गर्ने, योगासन, प्राणायाम र ध्यान गर्ने बानी बसाल्नुपर्छ । पर्याप्त निद्रा लिने, नियमित स्वास्थ्य परीक्षण गर्ने र चिकित्सकको सल्लाहअनुसार उपचार तथा औषधि सेवन गर्ने कुरालाई पनि उत्तिकै महत्व दिनुपर्छ । व्यवसाय, पेसा, सामाजिक सेवा वा पारिवारिक जिम्मेवारीमा व्यस्त व्यक्तिका लागि योगसाधना झन् आवश्यक छ । नियमित अभ्यासले मानसिक एकाग्रता, धैर्य, आत्मविश्वास र कार्यक्षमता बढाउन सहयोग गर्छ । योगका लागि घण्टौँ समय दिन नसके पनि दैनिक २० देखि ३० मिनेटबाट सुरु गरेर बिस्तारै अभ्यासलाई निरन्तरता दिन सकिन्छ ।
निष्कर्ष ः रोग लागेपछि होइन, रोग लाग्नुअघि नै सचेत बनौँ
नसर्ने रोगको बढ्दो जोखिमबाट बच्ने प्रभावकारी उपायमध्ये स्वस्थ जीवनशैली सबैभन्दा महत्वपूर्ण हो । रोग लागेपछि उपचार खोज्नु स्वाभाविक भए पनि रोग लाग्न नदिन अपनाइने सावधानी अझ बुद्धिमानीपूर्ण हुन्छ । त्यसका लागि हामीले आफ्ना खराब आनीबानी, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, धूमपान, मदिराको हानिकारक सेवन र नकारात्मक सोच त्याग्नैपर्छ । योगलाई केवल अभ्यास होइन, जीवनशैली बनाऔँ । प्राणायामलाई दैनिक दिनचर्याको हिस्सा बनाऔँ । ध्यानबाट मनलाई शान्त राखौँ । सुपाच्य तथा स्वस्थकर भोजन गरौँ । सद्विचार र सत्कर्मलाई व्यवहारमा उतारौँ । सकारात्मक सोच, अनुशासन र संयमलाई जीवनको आधार बनाऔँ । हामीले बुझ्नुपर्ने सत्य के हो भने स्वस्थ जीवन महँगो औषधि र सुविधासम्पन्न अस्पतालमा मात्र खोजेर प्राप्त हुँदैन । यसको सुरुवात आफ्नै घर, भान्सा, विचार र दैनिक व्यवहारबाट हुन्छ । आफ्नो स्वास्थ्यप्रति सचेत हुनु आफूप्रतिको जिम्मेवारी मात्र होइन, परिवार र समाजप्रतिको दायित्वसमेत हो । आउनुहोस्, आजैदेखि एउटा स्वस्थ संकल्प गरौँ—खराब बानी त्यागौँ, असल आनीबानी अपनाऔँ, शरीरलाई सक्रिय, मनलाई शान्त र विचारलाई सकारात्मक बनाऔँ । नियमित योगसाधना, प्राणायाम र ध्यानलाई जीवनको अभिन्न अंग बनाउँदै नसर्ने रोगको जोखिम घटाऔँ । स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणका लागि योगमय जीवनशैली अपनाऔँ । योग गरौँ, निरोगी बनौँ । सकारात्मक सोचौँ, सत्कर्म गरौँ र स्वस्थ, सुखी तथा सार्थक जीवन बाँचौँ ।









प्रतिक्रिया दिनुहोस्