27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सहयोगापेक्षी सडक मानवमुक्त कोहलपुर, ‘सडक मानव’ देखिन छोडेनन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १३, २०७६  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

‘साह्रै भोक लाग्यो, धेरै दिन भयो, केही पनि खाएको छैन, पैसा दिनुन हजुर’ नेपालगञ्ज घर बताउने एक बृद्ध महिलाले भनेको वाक्य हो यो । उनी लामो समय देखि बाँके कोहलपुरका सडकहरुमा माग्दै गरेको भेटिन्छिन् । चाउरी परेका गाला, मलिन अनुहार अनि माग्नको लागि कचौरा थापेर माग्दै गरेको देखिने उनी आफ्नो नाम कुन्याम बताउँछिन् । उनका अनुसार घरमा कोही पनि छैनन् । श्रीमानको मृत्युपछि आफु घरबार विहिन भएको कुन्यामले जानकारी दिईन् । केही दिन अघि ईलाका प्रहरी कार्यालय कार्यालय कोहलपुर नजिकै एक अपरिचित यूवती तिनै बृद्ध महिलालाई खानेकुरा खुवाई रहेकी थिईन् ।

चाउरी परेका गालामा केही मुस्कान देखिन्थे उनका । किनकी उनले लामो समयपछि कसैको हातबाट खानेकुरा पाएकी थिईन् । ति धर्मात्मा यूवती थिइन्, पोखराकी सर्मिला श्रेष्ठ । पोखराबाट एक हप्ता अघि कोहलपुरमा घुम्न आएकी उनी सडकको बास भएकी ती महिलालाई खाना खुवाउँदै आएकी छन् । ‘यसपटक यहाँ आउने बृद्ध आमालाई मागिरहेको देखे’ सर्मिला भन्छिन्, ‘उहाँको दुःख देख्न सकिन, अनि सहयोग गरे ।’ उनले दैनिक खानेकुरा मात्रै होईन पैसा समेत दिने गरेकी छन् । उनको कोहलपुर पहिलो आगमन भने होईन्, एक वर्ष अघि साथीहरुसँग भ्रमणको लागि आएकी थिइन् । पत्रपत्रिकामा कोहलपुरलाई सहयोगापेक्षी सडक मानव मुक्त नगर घोषणा गरिएको थाहा पाएकी श्रेष्ठ भन्छिन्, ‘यहाँ त पुरानै अवस्था रैछ ।’ स्थानीय सरकार र सरोकारवालाले यस्ता कुरामा ध्यान दिनु पर्ने उनले सुझाव दिइन् ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । कोहलपुर नगरपालिका क्षेत्रमा हरेक दिन बालकदेखी, बृद्धबृृद्धा सम्म मागिरहेका देखिन्छन् । यति सम्म की कोहलपुर नगरपालिकाको कार्यालय अगाडी नै माग्नेहरु भेटिन्छन् । गत कार्तिक २५ गते निकै तामझामका साथ कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गरिएको थियो । नगरपालिका क्षेत्रभित्रका सडकमा असहाय, बेवारिसे, अनाथ, अशक्त तथा मनोसामाजिक अवस्थाका मानिसहरुलाई व्यवस्थापन गर्ने लक्ष्यका साथ घोषणा भएपनि त्यो केवल नारा मै मात्रै सिमित देखिएको छ । यस क्षेत्रमा अझै पनि सडकमा मागेर खाने सडक मानवहरु देखिन छाडेका छैनन् ।

नगरपालिकाका मुख्य सडक क्षेत्र, बसपार्क, चौराहा, न्युरोड हुँदै नेपालगञ्ज रोड र केही भित्रि क्षेत्रमा माग्नेहरुको देख्न सकिन्छ । घोषणा भएको साढे एक महिना बितिसक्दा समेत यसक्षेत्रका सडकमा मागेर खानेहरुको उचित व्यवस्थापन हुन नसकेको भन्दै सरोरकारवालाले नगरपालिकाको आचोलना गरेका छन् ।

घोषणा मात्रै गर्ने कार्यान्वयनमा ध्यान नदिनाले यस्तो समस्या देखिएको हो । कोहलपुर बसपार्क क्षेत्रमा व्यापार गर्दै आएका रामचन्द्र पराजुलीले आफ्नो पसलमा दैनिक कोही न कोही माग्न आउने गरेको बताए । ‘यहाँ त अझै माग्न छोडेका छैनन्’ उनले भने, ‘राम्रो कमाई नै हुदैन,आफू खाने की उनीहरुलाई दिने ।’ सडक मानवमुक्त घोषणा गरिएपनि त्यसको कार्यान्वयनका लागि नगरपालिकाले ध्यान दिन सकेको छैन । सामाजिक क्षेत्रमा काम गर्दै आएका कोहलपुरका स्थानीय समेत रहेको यूवा विनोद थापा मानवीय सरोकारसँग जोडिएका विषयमा नगरपालिकाले ध्यान दिनुपर्ने बताउँछन् । घोषणा मात्रै भन्दा पनी उनीहरुको व्यवस्थापनको लागि प्रयास थाल्नुपर्ने उनले नगरपालिकालाई आग्रह गरे । सडक मुक्त घोषणा भएदेखि अहिलेसम्म तीन जनालाई मात्र सडकबाट उद्धार गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख लुट बहादुर रावतले नगरपालिकालाई सडक मानव मुक्त घोषण गर्नु पुर्व निल सागर विद्याश्रमको सहकार्यमा चार जनालाई उद्धार गरिएको जानकारी दिए । उनका अनुसार घोषणापछि भने तीन जनालाई मात्र उद्धार गरिएको बताए । ‘नगरपालिका मानसिक सन्तुलन गुमेका, घर परिवारबाट बेवारिसे बनाईएका टुहुरा, असहायहरुको उद्धारको लागि तत्पर छ’ उनले भने, ‘अन्य नागरिकले पनि त्यस्ता खाले व्यक्ति भेटाएमा सिधै नगरपालिकामा ल्याउन समेत आग्रह गर्छु ।’

चालु आर्थिक वर्षमा असहाय, बेवारिसे, अनाथ, अशक्त तथा मनोसामाजिक अवस्थाका मानिसहरुलाई व्यवस्थापनको लागि नगरपालिकाले चार लाख रुपैयाँ विनियोजन गरेको छ । अहिलेसम्म बाँकेको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकालाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गरिसकेको छ । घोषणा गरेपनी सबै स्थानीय तहमा कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मितिः आइतवार, पुस १३, २०७६     11:45:23 AM  |