सतिश निरौला
८० वर्षअघि गुल्मीको थोर्गामा जन्मिएका बाबुराम अनेकौँ अविराम यात्रा गर्दै बाँकेको सितापुर (खजुरा) आएर बिसाउनुभयो । उहाँको ८० वर्षे जीवनयात्राको सयौँ कथाहरू छन्, जो एउटा सिङ्गो पुस्तक बन्न सक्छ । ६० वर्ष अविरल र अविछिन्न रूपमा कम्युनिस्ट आन्दोलनमा समर्पित कमरेड बाबुराम गौतम पुष्पलाल समूह हुँदै माक्र्सवादी बन्नुभयो । २०४६ सालको बहुदलपछि माले र माक्र्सवादी एकतापश्चात् नेकपा (एमाले) गठनपछि निरन्तर एमाले पार्टीमा बाँके जिल्लाको समेत नेतृत्व पूरा गरि हिँड्नुभएकोे कमरेड बाबुराम गौतमले यही २०८३ कात्तिक ४ गते यो संसारबाट भौतिक रूपमा बिदा लिनुभयो । कमरेड बाबुराम मैले सधैँ आदारसाथ भन्दै आएको काका बाबुराम गौतमप्रति भावपूर्ण श्रद्धासुमन । साधारण जीवनशैली र कडा अनुशासन अनि प्रष्ट विचार यी ३ कुरा उहाँको परिचय र स्वभाव थिए अर्थात् उहाँको सम्पत्ति थिए । म मानिसको स्वभावलाई उसको सम्पत्तिका रूपमा बुझ्ने गर्छु, जुन सम्पत्ति मानिस रहुञ्जेल मासिँदैन । स्व. बाबुराम गौतमले पनि जीवनको अन्तिम क्षणसम्म साधारण जीवनशैली, कडा अनुशासन र प्रष्ट विचार यी ३ कुरा लिएर नै हिँड्नुभयो आफ्नो सम्पत्तिको रूपमा । गुल्मीको ब्राह्मण परिवारमा जन्मिएको उहाँ उच्च शिक्षा अध्ययनकै सिलसिलामा युवा उमेरमा बनारस पुग्नुभयो । २०२२ सालमा यसैबीच बनारसमै रहेका कम्युनिस्ट नेता कमरेड पुष्पलाल श्रेष्ठसँग उहाँको भेट हुनपुग्यो । त्यसपछि राजनीतिमा देखाएको चासो र सक्रियताले कमरेड पुष्पलालले उहाँलाई २०२३ सालमा नेकपाको सक्रिय सदस्यता प्रदान गर्नुभयो । कमरेड पुष्पलालबाट दिक्षित भई उहाँ सक्रिय राजनीतिको जिम्मेवारी बोकेर नेपाल फर्किएसँगै तत्कालीन भेरी अञ्चलको सुर्खेतको गुमी पुग्नुभयो ।
राजनीति त्यो समय निकै कठिन थियो, खुला राजनीतिक परिवेश थिएन । उहाँ गुमीको एक स्कुलमा शिक्षण पेशामा आबद्ध भई प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभयो र ७ वर्ष त्यहाँ शिक्षण पेशासँगै भूमिगत राजनीतिमा सक्रिय हुनुभयो र कम्युनिस्ट आन्दोलन र पार्टीलाई स्थापित गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । २०२९ सालमा सुर्खेतबाट उहाँ बाँके बसाइँसराइ गर्नुभयो र बाँके अनि बर्दियामा कम्युनिस्ट आन्दोलन र पार्टी निर्माणमा सक्रिय बन्नुभयो । पार्टीको विभिन्न तहको जिम्मेवारी पूरा गर्दै २०७४ सालमा नेकपा (एमाले)को तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा बाँके क्षेत्र न–३ (ख)बाट जनप्रिय मतसहित निर्वाचित हुनुभएका स्व. गौतमले प्रदेशसभा सदस्यका रूपमा काम गरिरहँदा आफ्नो निर्वाचन क्षेत्र र सिङ्गो बाँके जिल्लाको विकास निर्माणका लागि महत्वपूर्ण योगदान दिनुभयो । जसका कारण आज पनि यस क्षेत्रका जनता सगौरव उहाँलाई सम्झिने गर्छन्, त्यो समय उहाँ संसदीय समितिको सभापति पनि हुनुभयो । लामो समय बाँके जिल्लामा रहँदा आयुर्वेदको डाक्टरका रूपमा जिल्लावासीको स्वास्थ्य सेवा गर्नुभएका उहाँलाई सितापुरवासीले विशेष रूपमा सम्झन्छन् । हातमा पैसा होस् वा नहोस् उहाँको घरमा पुगेपछि जो कसैले पनि सहज रूपमा नै उपचार प्राप्त गर्ने गर्थे । त्यसैले उहाँ सबैका प्रिय डाक्टर हुनुहुन्थ्यो । २०४६ सालअगाडि भूमिगतकालीन अवस्थामा कमरेड मनमोहन अधिकारी लामो समय सितापुर आएर सेल्टर लिनुभएको थियो । त्यो घर डाक्टर बाबुरामकै घर थियो । मनमोहन अधिकारीलाई लामो समय सेल्टर दिनुमात्रै भएन, त्यो सँगसँगै सितापुरमा कम्युनिस्टको बलियो जग हाल्नुभयो जुन, अहिलेसम्म पनि निकै बलियो अडेको छ ।
बाँके जिल्लाका सबैले उहाँलाई कम्युनिस्टहरूको राजनीतिक गुरु र पहिलो पुस्ताको नेतका रूपमा आदर र सम्मान गर्ने गरेका छन् । राजनीतिक भेला, बैठक र प्रशिक्षणमा धेरै पटक उहाँका विचार सुन्ने मौका मैले पाएको छु । उहाँ सधैँ विचार, निष्ठा र इमानदारीका कुरासँगै कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता जहिले पनि प्रयाक्टिकल हुनुपर्ने र सधैँ जनतासँग हुनुपर्ने बताउनुहुन्थ्यो । सामाजिक मर्यादा र अनुशासनभन्दा बाहिर जाने आफ्नै नेता÷कार्यकर्तासँग उहाँको सधैँ प्रश्न हुने गथ्र्यो ।
भूमिगतकालीन अवधिमा आफ्नो बाहिरी पेशा भए पनि बाँके र बर्दियामा कम्युनिस्ट आन्दोलन र बहुदलीय व्यपवथा प्राप्तिको आन्दोलनमा उहाँ सधैँ सक्रिय हुनुहुन्थ्यो । २०५४ सालमा नेकपा (एमाले)को बाँके जिल्लाको प्रमुख अर्थात् पार्टी सचिव हुनुहुन्थ्यो तर त्यो बेला उहाँ आफ्नै जिल्लामा हुन लागेको पार्टीको छैटौँ महाधिवेशनको प्रतिनिधि बन्ने अवसरबाट वञ्चित हुँदा समेत इमानदारी साथ महाधिवेशन सफल पार्न सक्रिय रहनुभएको थियो । सधैँ उहाँले अनुशासन र इमानदारीका साथ राजनीतिमा लाग्न प्रेरणा दिइरहनुभयो । जनतालाई कहिले पनि धोका दिनुहुँदैन भन्ने कुरा सिकाइरहनु भयो । आफ्नो जीवनकालको अन्तिमसम्म पनि उहाँ राजनीतिक कार्यक्रममा सहभागी बन्ने र राजनीतिक भेटघाट गरिरहनुभएको थियो । राजनीतिलाई सधैँ सामाज र राष्ट्रका लागि हो भन्ने र राजनीति पेशा नभएर असल समाज निर्माणसँग जोडिनुपर्छ भन्ने उहाँको आदर्श मार्ग अहिले झन् धेरै सम्झनुपर्ने अवस्था रहेकोे छ । एक हातमा पार्टी सदस्यता र अर्को हातमा पद प्राप्तिको अभिलाषा र मोहको प्रवृत्ति बढेको देख्दा उहाँ त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, ‘संघर्षबिना प्राप्त भएको पद र प्रतिष्ठा दिगो हुँदैन ।’ त्यसैले राजनीतिमा लाग्नासाथ महत्वाकांक्षा बोकेर नहिँड्न सुझाउनुहुन्थ्यो प्रायःजसो भेटघाट र पार्टीको कार्यक्रमहरूमा । समय लाग्न सक्छ, समयले एक न एकदिन न्याय गर्छ त्यसैले सधैँ इमानदारी साथ नआत्ति राजनीतिमा लाग्न उहाँ सधैँ प्रेरित गर्नुहुन्थ्यो । कमरेड स्व. बाबुराम गौतमले देखाएको धैर्यता, निष्ठा, त्याग, अनुशासन र इमानदारीताको राजनीति सबै राजनीति गर्नेहरूका लागि प्रेरणादायी छ । भावपूर्ण श्रद्धासुमन कमरेड बाबुराम गौतमप्रति ।









प्रतिक्रिया दिनुहोस्