डिजिटल दुनियाँमा बदलिँदै हुलाकः चिठीको युगबाट ‘सरकारी कुरियर’सम्म नेपालको हुुलाक



नन्दराम जैशी । सुुर्खेत ।

कुनै समय घर–घरमा खबर पु¥याउने सबैभन्दा भरपर्दो माध्यम नै हुलाक सेवा थियो । भने हातले लेखिएको चिठी, विदेशबाट आएको पार्सल र हुलाकीको झोला नेपाली समाजको सञ्चार संस्कृतिको अभिन्न हिस्सा थिए । तर बिस्तारै समयअनुसार मोबाइल, इमेल, सामाजिक सञ्जाललगायत प्रविधिको माध्यमबाट तत्काल सन्देश आदानप्रदानको युग सुरु भएपछि हुलाकको परम्परागत विस्थापित हुँुदै गयो । अहिले पनि नेपालमा हुलाक हराएको छैन, बरु यसको कामको स्वरूप भने तीव्र रूपमा फेरिँदै गएको छ ।

प्रविधिको विकाससँगै व्यक्तिगत चिठीपत्र आदानप्रदान गर्ने क्रम घट्दै गए पनि हुलाक सेवाको आवश्यकता भने कमजोर भएको छैन । हुलाक निर्देशनालय, सुर्खेतका अनुसार पछिल्लो समय व्यक्तिगत चिठीपत्रको सट्टा विभिन्न सामग्री, महत्वपूर्ण कागजात तथा पार्सल पठाउने क्रम बढेको छ भने हुलाक सेवा पनि नयाँ स्वरूपमा विस्तार हुँदै गएको छ । निर्देशनालयकी निमित्त निर्देशक सुनिताकुमारी खत्रीका अनुसार व्यक्तिगत चिठीपत्रको सङ्ख्या घटेको भए पनि अन्य सामग्री तथा डकुमेण्ट पठाउने क्रम तीव्र रूपमा बढिरहेको छ ।

‘हुलाकमार्फत सर्वसाधारणले आवश्यक सामग्रीदेखि महत्वपूर्ण सरकारी तथा शैक्षिक कागजातसम्म पठाउँदै आएका छन्,’ उनले भनिन्, ‘व्यक्तिगत चिठीपत्र मात्रै घटेको हो, अरू सामग्री तथा डकुमेन्टको दर तीव्र रूपमा बढिरहेको छ ।’ उनका अनुसार हुलाकमार्फत २० केजीसम्मको एउटा प्याकेट पठाउन सकिन्छ । प्रचलित नियम र मापदण्डभित्र पर्ने जुनसुकै प्रकारका सामग्री हुलाक सेवामार्फत पठाउन सकिने भएकाले पछिल्लो समय पार्सल सेवातर्फ सेवाग्राहीको आकर्षण बढेको छ ।

गत आर्थिक वर्ष २०८२–०८३ मा कर्णाली प्रदेशभर विभिन्न प्रकारका ७१ हजार ४२७ वटा चिठीपत्र, पुलिन्दा तथा पार्सल दर्ता भएका थिए । यो तथ्यांकले पनि हुलाक सेवा प्रयोग गर्नेको स्वरूप परिवर्तन हुँदै गएको तथ्यांकले पनि देखाउँछ । सोही अवधिमा प्रदेशभर ६६ हजार ३२५ वटा चिठीपत्र, पुलिन्दा तथा पार्सल वितरण गरिएको हुलाक निर्देशनालयले जनाएको छ । यसले कर्णालीमा हुलाक सेवा अझै पनि नागरिकको दैनिक जीवन, सरकारी सेवा र संस्थागत कामसँग जोडिएको प्रष्ट हुन्छ ।

सुर्खेतमा मात्रै गत आर्थिक वर्षमा १७ हजार ३०० वटा चिठीपत्र, पुलिन्दा तथा पार्सल दर्ता भएका छन्, भने २२ हजार २६२ वटा वितरण गरिएको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा सरकारी कार्यालय, शैक्षिक संस्था, व्यवसायी तथा सर्वसाधारणबाट हुलाक सेवाको प्रयोग उल्लेख्य रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।

हुलाकबाट ८३ लाख बढी राजस्व

हुलाक सेवा चिठीपत्र ओसारपसारमा मात्रै सीमित छैन । यससँगै राजस्व संकलनमा पनि जोडिएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा हुलाक निर्देशनालय, सुर्खेतले ८३ लाख ८८ हजार ४५९ रूपैयाँँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को तथ्यांकअनुसार हुुलाकले देशभर वार्षिक ६८ करोड बढी राजस्व संकलन गर्दै आएको छ । बदलिँदो प्रविधिसँगै परम्परागत चिठीपत्रको प्रयोग कम भए पनि पार्सल, पुलिन्दा, कागजात तथा विभिन्न संस्थासँगको सम्झौतामार्फत प्रदान गरिने सेवाले हुलाकको कार्यक्षेत्र विस्तार गरिरहेको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ पालिकामा हुलाक कार्यालय स्थापना भई सेवा प्रदान हुँदै आएको छ । भौगोलिक रूपमा विकट र दुर्गम मानिने कर्णालीमा नागरिकलाई घरदैलोमै सेवा पु¥याउन हुलाक कार्यालयको सञ्जाल महत्वपूर्ण माध्यम बनेको छ । पछिल्लो समय हुलाक कार्यालयहरूले परम्परागत चिठीपत्र तथा पार्सल सेवासँगै सरकारी तथा गैरसरकारी निकायका विभिन्न सेवाहरू पनि प्रदान गर्न थालेका छन् । यसले हुलाकलाई चिठीपत्र बोक्ने संस्थाका रूपमा मात्रै नभई नागरिक सेवा प्रवाहको सहयोगी संस्थाका रूपमा स्थापित गर्न थालेको हो ।

हुलाक सेवाको दायरा विस्तार गर्ने क्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सम्झौता गरेर सेवा प्रदान भइरहेको निमित्त निर्देशक खत्रीले बताइन् । ‘हुलाकले प्रदेश अस्पतालको प्रयोगशालाका स्याम्पल बोक्ने कामसमेत गर्दै आएको छ, यसले स्वास्थ्य सेवासँग हुलाकको सम्बन्धलाई समेत विस्तार गरेको छ,’ उनले थपिन्, ‘सेवाग्राहीलाई सहज बनाउन लाइसेन्स तथा राहदानी घरघरमा पु¥याउने सेवा पनि सञ्चालनको तयारी छ, भने स्वास्थ्य बिमा बोर्डसँगको सहकार्यमा आवश्यक कागजात तथा सामग्री सेवाग्राहीको घर वा कार्यालयसम्म पु¥याउने काम भइरहेको छ ।’

त्यसैगरी विभिन्न क्याम्पस तथा विश्वविद्यालयका महत्वपूर्ण डकुमेन्टसमेत हुलाकमार्फत सम्बन्धित व्यक्ति तथा कार्यालयसम्म पु¥याउने गरिएको छ । कर्णालीजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण प्रदेशमा सरकारी तथा संस्थागत कागजात र सामग्री सुरक्षित रूपमा सम्बन्धित व्यक्ति वा निकायसम्म पु¥याउने जिम्मेवारीमा हुलाकको भूमिका अझ महत्वपूर्ण देखिएको छ ।

आधुनिक डेलिभरीको माध्यम बनाउने प्रयास तीव्र

हुलाक सेवा विभागका अनुसार नेपालमा हुलाकलाई परम्परागत चिठी बोक्ने संस्थाबाट आधुनिक डेलिभरीको माध्यम बनाउने प्रयास तीव्र पारिएको छ । हुलाकलाई पार्सल, सरकारी कागजात तथा सार्वजनिक सेवा वितरणको गतिलो माध्ययम बनाउने प्रयास जारी रहेको विभागले जनाएको छ । विभागकी महानिर्देशक श्री मनमाया भट्टराई पंगेनीका अनुसार नेपालमा हुलाक सेवाको सुरुआत विसं १९३५ मा भएको मानिन्छ । तर नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको थियो ।

हुलाक सेवा विभाग र यस अन्तर्गतका निकायहरूले नेपालमा हुलाक सेवा, पार्सल, र फिलाटेलिक सेवा सञ्चालन गर्दै आएको उनले बताइन् । उनका अनुसार सुरुवातमा यसको मुख्य काम चिठीपत्रमार्फत खबर र सूचना आदानप्रदान गर्नु थियो । तर अहिले हुलाकको सेवाको सूचीमा पत्रसँगै पार्सल, द्रुत हुलाक सेवा, ट्र्याकिङ, फिलाटेलिक सेवा लगायतका काम थपिएका छन् ।
‘डिजिटल प्रविधिले व्यक्तिगत चिठीपत्रको आवश्यकता भने निकै घटाएको छ । पहिले महिनौँ लाग्ने सन्देश अहिले सेकेन्डमै मोबाइलमा पुग्छ,’ उनले भनिन्, ‘अहिले सरकारी कार्यालयका आन्तरिक सूचना पनि डिजिटल माध्यमबाटै आदानप्रदान हुन थालेका छन् । तर यही डिजिटल रूपान्तरणले हुलाकका लागि भौतिक वस्तुको ढुवानी जस्ता नयाँ किसिमको बजार पनि सिर्जना गरेको छ ।’

हाल हुुलाकमार्फत अनलाइन किनमेल, साना व्यवसाय र विदेशमा रहेका परिवारजनलाई सामान पठाउने चलन रहेको छ भने सरकारी कागजात घरसम्म पु¥याउनुपर्ने आवश्यकताले पार्सल तथा कुरियर सेवाको पनि माग बढाएको छ । गोश्वारा हुलाक कार्यालयको तथ्यांकअनुसार गत वर्ष काठमाडौँभित्र मात्रै जिल्लातर्फ र विदेशतर्फ गरी ३० हजार बढी प्रकारका पुलिन्दा÷पार्सल दर्ता भएका थिए । यसले चिठीको ठाउँ विस्तारै पार्सलले लिँदै गएको प्रष्ट हुुन्छ ।

विभागकी निर्देशक एवं सूचना अधिकारी विष्णुकुमारी भूसालका अनुसार सरकारी निकायले हुलाकलाई तीव्र रुपमपा प्रयोग गर्न थालेका छन् । सरकारी कागजात, लाइसेन्स, राहदानीलगायत सामग्री नागरिकसम्म पु¥याउने माध्यमका रूपमा प्रयोग गर्न थालेको उनले बताइन् । ‘डिजिटल युगले हुलाकको काम मात्रै घटाएको छैन । कामको प्रकृति नै परिवर्तन गरिदिएको छ । अब हुलाकी चिठी मात्र होइन, औषधि र सरकारी कागजात पनि बोक्छ,’ उनले भनिन्, ‘परम्परागत हुलाकीको कल्पना गर्दा हातमा चिठीको पोको बोकेको व्यक्ति सम्झिन्छौँ । अहिले त्यो अवस्था फेरिएको छ ।’

उनका अनुसार पछिल्लो समय हुलाक सेवा विभागले यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रसँग सहकार्य गरी चिठीपत्र, सवारी चालक अनुमतिपत्रलगायत हुलाक वस्तु ढुवानी तथा वितरण गर्ने व्यवस्था अघि बढाएको छ । भने स्वास्थ्य क्षेत्रमा पनि हुलाकको भूमिका विस्तार भइरहेको विभागले जनाएको छ । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १७ अस्पतालबाट प्रयोगशाला नमुना ढुवानी गरिदै आइएको छ । स्वास्थ्य शिक्षासम्बन्धी सामग्री जिल्लाका स्वास्थ्य कार्यालयसम्म पु¥याइएको छ भने स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा जिल्लाका कार्यालयमा स्वास्थ्य सामग्री पठाइएको सरकारी विवरणमा उल्लेख छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७१–०७२ मै परम्परागत हुलाकलाई आधुनिक सूचना प्रविधिमा आधारित सेवामा रूपान्तरण गर्ने नीति लिइएको थियो । भने २०७९–०८० मा हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउने तथा २०८०–०८१ मा ‘एक स्थानीय तह, एक हुलाक’ अवधारणा अघि सारियो । आर्थिक वर्ष २०८१–०८२ को बजेटले अझ स्पष्ट लक्ष्यसहित हुलाकलाई पुनर्संरचना गरेर विद्युतीय व्यापारको हब बनाउने नीति लियो । विभागका अनुसार हाल देशभर सबै जिल्ला र स्थानीय तहमा हुलाक कार्यालयबाट सेवा प्रवाह भइरहेको छ भने करिब १७ हजार बढी जनशक्ति कार्यरत छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार