काठमाडौँ ।
भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए । आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए ।
द्विपक्षीय भेटघाट, औपचारिक स्वागत, गार्ड अफ अनर, उच्चस्तरीय छलफल तथा विभिन्न समझदारी र सहमतिपछि उनी स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई परम्परागत कूटनीतिक र राजनीतिक दायराबाट विस्तार गरी आर्थिक विकास, पूर्वाधार, ऊर्जा, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा सांस्कृतिक सहकार्यमा केन्द्रित गर्ने प्रयासका रूपमा हेरिएको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारतीय सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो ।
प्रधानमन्त्री मोदीले राष्ट्रपति भवन परिसरमै शाहलाई औपचारिक स्वागत गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए । त्यसपछि उनले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गरे । भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउने उद्देश्यसहित विभिन्न विषयमा समझदारी गरेका थिए ।
मोदीको आयोजनामा भएको दिवाभोजमा सहभागी भएपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी ‘विकसित भारत र समुन्नत नेपाल ः साझेदारीको पुनर्कल्पना’ शीर्षकको संयुक्त दस्ताबेजले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने लक्ष्य राखेको छ । नयाँदिल्लीमा भएको सौहार्दपूर्ण तथा परिणाममुखी वार्तापछि जारी दस्ताबेजमा नेपाल र भारतबीच विद्यमान द्विपक्षीय सम्बन्धलाई समसामयिक राजनीतिक, आर्थिक तथा प्राविधिक यथार्थअनुकूल अद्यावधिक कानुनी संरचनामा आधारित बनाउने सहमति भएको उल्लेख छ ।
यसअन्तर्गत सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने विषय समेटिएको छ ।
लामो समयदेखि बहस र चासोको विषय रहँदै आएको सन्धि पुनरावलोकनको सम्भावनालाई संयुक्त दस्ताबेजमा समेटिनुलाई भ्रमणको महत्वपूर्ण कूटनीतिक पक्षका रूपमा लिइएको छ । त्यसैगरी जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमा व्यवस्थापनसँग सम्बन्धित बाँकी विषयहरू आपसी छलफल र संवादबाट समाधान गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।
अगस्ट २०२६ मा रसुवा–त्रिशूली बेसिनलगायत क्षेत्रमा आएको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको मानवीय तथा खोज–उद्धार सहयोगप्रति नेपालले आभार व्यक्त गरेको छ । विपद्पछिको पुनर्निर्माणमा थप सहयोगका लागि निरन्तर सम्पर्क र सहकार्य गर्ने सहमति पनि भएको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताएका छन् । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा आयोजित द्विपक्षीय भेटवार्तापछि मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई साझा सभ्यता र सांस्कृतिक विरासतसँग जोड्दै भगवान् राम र माता सीतालाई दुवै देशको साझा आस्था र सभ्यताका प्रतीकका रूपमा व्याख्या गरेका हुन् ।
‘भारत–नेपाल सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडिएको छ,’ मोदीले भने ‘भगवान् राम र माता सीता हाम्रो साझा सभ्यता र आस्थाका प्रतीक हुन् ।’ मोदीले नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सशक्त र समृद्ध नेपाल निर्माणको यात्रामा साथ दिने बताएका छन् । उनका अनुसार दुवै देशले आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण निर्णय गरेका छन् ।
नेपाललाई २४ हजार करोड रकम सहायता
भ्रमणका क्रममा भारतले नेपाललाई कूल १५ हजार करोड भारतीय रूपैयाँँ अर्थात् करिब २४ हजार करोड नेपाली रूपैयाँँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सहायता दुई प्रमुख क्षेत्रमा केन्द्रित रहनेछ । जसमा ३ हजार ५०० करोड भारतीय रूपैयाँँ अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका लागि लगानी गरिनेछ भने ११ हजार ५०० करोड भारतीय रूपैयाँँ सहुलियतपूर्ण ऋण रकम ऊर्जा क्षेत्रका विभिन्न आयोजनाको विकास तथा विस्तारका लागि लगानी गरिनेछ ।
भारतको ‘विकसित भारत २०४७’ र नेपालको ‘समुन्नत नेपाल’को राष्ट्रिय आकांक्षालाई जोड्दै आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने सहमति भएको छ । यसका लागि व्यापार तथा लगानीसम्बन्धी विद्यमान संरचनाको पुनरावलोकन, नयाँ पारवहन तथा हवाईमार्ग सञ्चालन, सीमावर्ती क्षेत्रमा निर्यातमुखी उत्पादनका लागि विशेष आर्थिक क्षेत्र (सेज) तथा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना अघि सारिएको छ ।
नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी प्रोत्साहन गर्ने विषयलाई पनि संयुक्त दस्ताबेजमा प्राथमिकता दिइएको छ ।यस्तै, शिक्षा तथा सीप विकासलाई छैटौँ स्तम्भका रूपमा समेट्दै नेपालमा भारतीय प्रतिष्ठित उच्च शैक्षिक संस्थाका शाखा स्थापना गर्ने विषय अघि सारिएको छ । यसअन्तर्गत सुरुमा भारतीय प्रविधि संस्थान (आईआईटी)बाट पहल गर्ने प्रस्ताव छ ।
कानुन, प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई)लगायत नयाँ तथा उदीयमान विषयमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति विस्तार गर्ने सहमति भएको छ । भारतको सहयोगमा नेपालमा व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गर्ने तथा प्राविधिक जनशक्ति उत्पादन र सीप विकासमा सहकार्य गर्ने योजना पनि समेटिएको छ । यसले नेपाली युवालाई स्वदेशमै गुणस्तरीय उच्च शिक्षा तथा व्यावसायिक सीप हासिल गर्ने अवसर विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।
भैरहवाको एयररूट अब दुईतर्फी
भारतले भैरहवाको एयर रूटलाई दुईतर्फी बनाउन सहमति जनाएको छ । हाल काठमाडौँबाट उडेका अन्तर्राष्ट्रिय विमानहरू भैरहवाबाट बाहिरिन पाउँथे । भारतीय आकाश हुँदै काठमाडौँ भित्रिने जहाजहरू भने सिमराबाट मात्र भित्र पस्न पाउँथे । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले भैरहवाको एयररूटलाई दुईतर्फी बनाउन सहमति जनाएको हो । नेपाल र भारतले जारी गरेको संयुक्त वक्तव्यमा एयररूटको विषय समेटिएको छ ।
‘प्रधानमन्त्रीहरूले हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक उड्डयन सम्बन्धी विषयमा भइरहेको छलफललाई ध्यानमा लिएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘दुवै पक्ष विद्यमान एकतर्फी ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुई पक्षीय बनाउने विषयमा सहमत भएका छन् । यस सम्बन्धमा आवश्यक प्रक्रिया तथा कार्यविधिलाई अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका नागरिक उड्डयन सम्बन्धी अन्य प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।’
भैरहवाको एयररूट पाएसँगै अब नेपाललाई भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजता हुनेछ ।भैरहवाको एयररुट हुँदै हाल कुवेत, साउदी अरेबिया, कतार र युएईका जहाज काठमाडौँबाट बाहिरिने गरेका छन् । यो रुटबाट नेपाल आउने जहाजका लागि अब दुरी र समय घट्नेछ । जसका कारण हवाई भाडा समेत केही घट्न सक्नेछ ।
रेल, सडक र पाइपलाइनमा नयाँ सहकार्य
भौतिक तथा डिजिटल कनेक्टिभिटीलाई नेपाल–भारत साझेदारीको दोस्रो प्रमुख स्तम्भका रूपमा प्रस्तुत गरिएको छ । यसअन्तर्गत अयोध्या र जनकपुरधामबीच प्रत्यक्ष एक्सप्रेस रेल सेवा सञ्चालन गर्ने सहमतिलाई महत्व दिइएको छ । त्यस्तै महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने मोटरयोग्य पुल निर्माणसम्बन्धी पहलको स्वागत गरिएको छ । भैरहवा–सुनौलीमा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) तथा बनबासा–दोधारा चाँदनी क्षेत्रमा नयाँ आईसीपी निर्माणलाई तीव्रता दिने सहमति भएको छ ।
जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका अन्तिम खण्ड छिट्टै सम्पन्न गर्ने विषय पनि दस्ताबेजमा समेटिएको छ । रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण सम्पन्न भएको विषयलाई स्वागत गर्दै बर्दिबास–निजगढ र वीरगन्ज–निजगढ खण्डलाई प्राथमिकतामा राखेर नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।
ऊर्जा आपूर्ति तथा ढुवानी पूर्वाधारतर्फ सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने र ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । यसका अतिरिक्त भारतको यूपीआई र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबीचको आबद्धतामार्फत सीमापार खुद्रा भुक्तानीलाई सहज बनाउने तथा भारतको पीएम गति शक्तिजस्ता एकीकृत पूर्वाधार योजनामा सहकार्य गर्ने विषय पनि समावेश गरिएको छ ।
जलविद्युत् र जलस्रोतमा लगानीको प्रतिबद्धता
नेपालको जलविद्युत् सम्भावनालाई द्विपक्षीय आर्थिक साझेदारीको महत्वपूर्ण आधार बनाउने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलतालाई तेस्रो स्तम्भका रूपमा अघि सारिएको छ । नेपालका जलविद्युत् आयोजना र प्रसारण लाइनमा भारतीय लगानी प्रोत्साहन गर्ने तथा बजारको मागअनुसार विद्युत् व्यापार विस्तार गर्ने सहमति भएको छ । पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको कामलाई तीव्रता दिने विषयलाई विशेष प्राथमिकता दिइएको छ ।
त्यस्तै जल तथा मौसम विज्ञानसम्बन्धी वास्तविक समयको तथ्यांक आदानप्रदान, हिमताल अनुगमन, पूर्वसूचना प्रणालीको संस्थागत विकास तथा विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्ने सहमति भएको छ । नेपालमा ग्रिन हाइड्रोजनको नमुना परियोजना सञ्चालन र सौर्य ऊर्जा विकासमा समेत दुवै देशले सहकार्य गर्ने भएका छन् । यस्तै, संयुक्त दस्तावेजले प्रविधि, डिजिटल पूर्वाधार र नवप्रवर्तनलाई पनि प्राथमिकतामा राखेको छ ।
‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि डिजिटल पहिचान, डिजिटल भुक्तानी तथा ई–गभर्नेन्समा भारतीय प्राविधिक अनुभव र ज्ञान आदानप्रदान गरिनेछ ।
सुशासनतर्फ भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्समार्फत नेपाली निजामती कर्मचारीलाई तालिम दिने व्यवस्था गरिनेछ । संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र सरकारी निकायबीच अनुभव आदानप्रदानलाई पनि प्रोत्साहन गरिनेछ ।
प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सहकार्यअन्तर्गत इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क विस्तार गर्ने योजना छ । यसअन्तर्गत काठमाडौंमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स र पोखरामा डिजिटल नोम्याड्स एन्ड इनोभेसन हब स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ । निजी लगानी सहजीकरणमार्फत डिजिटल पार्क तथा डेटा सेन्टर निर्माण गर्ने, भारतीय ‘भाषिणी’ प्रविधिसँग सहकार्य गरी नेपाली भाषाका लागि लार्ज ल्याङ्ग्वेज मोडल (एआई) विकास गर्ने तथा भू–उपग्रह निर्माणको सहमति भएको छ। भने विपद् व्यवस्थापनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)बीच सहकार्य बढाउने सहमति भएको छ ।
फाइभजी र सिक्सजीजस्ता नयाँ पुस्ताका दूरसञ्चार प्रविधिमा समेत साझेदारी विस्तार गर्ने लक्ष्य राखिएको छ ।
खेलकुद पूर्वाधारमा सहकार्य
दुई देशबीचको साझेदारीलाई खेलकुदसम्म विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय क्रिकेट कोचिङ एकेडेमी तथा खेल पूर्वाधार विकासमा भारतले सहयोग गर्ने भएको छ ।नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिमको अवसर उपलब्ध गराउने प्रस्ताव पनि अघि सारिएको छ । क्रिकेटबाहेक ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्समा समेत सहकार्य गरिनेछ । आधुनिक बहुखेलकुद केन्द्र निर्माण, पर्वतीय खेलकुद तथा संयुक्त आरोहण गतिविधिमा साझेदारी बढाउने योजना छ ।
नेपाल र भारतका क्रिकेट तथा फुटबल लिगमा एकअर्का देशका खेलाडी सहभागी गराउने सम्भावनाको खोजी गर्ने विषय पनि संयुक्त दस्ताबेजमा समेटिएको छ । त्यस्तै, नेपाल र भारतबीचको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन विकाससँग जोड्ने योजना भ्रमणको अर्को महत्वपूर्ण पक्ष बनेको छ । यसअन्तर्गत तीन प्रमुख धार्मिक पर्यटन सर्किट विकास गर्ने सहमति भएको छ । जसमा जनकपुरधाम–अयोध्या रामायण सर्किट, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर बौद्ध पर्यटन सर्किट र काठमाडौँको पशुपतिनाथ–वाराणसी शिव–शक्ति पर्यटन सर्किट निर्माणको सहमति छ ।
यी सर्किटले दुवै देशका धार्मिक तथा सांस्कृतिक पर्यटकको आवागमन बढाउने, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र पर्यटन व्यवसायमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । त्यस्तै पालैपालो वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना गर्ने तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति र कन्टेन्ट क्रिएटरहरूको भ्रमण आदानप्रदानमार्फत पर्यटन प्रवद्र्धन गर्ने सहमति भएको छ ।
स्वास्थ्य र कृषि क्षेत्रमा नयाँ परियोजना
स्वास्थ्य क्षेत्रअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पताल निर्माणलाई निरन्तरता दिइनेछ । नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति, सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले नेपाल–भारत जनऔषधि केन्द्र स्थापना, स्वास्थ्यकर्मीको तालिम तथा चिकित्सा अनुसन्धानमा सहकार्य विस्तार गर्ने योजना अघि सारिएको छ ।
औषधि नियमन गर्ने निकायबीचको संस्थागत सहकार्यलाई समेत सुदृढ बनाइने उल्लेख छ । कृषि क्षेत्रमा भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने सहमति भएको छ । सन् २०२६ देखि २०३० सम्मको कार्ययोजनाअनुसार नेपालमा आईसीएआर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने, दुवै देशका कृषि विश्वविद्यालयलाई जोड्ने तथा किसान र कृषि प्राविधिकलाई तालिम प्रदान गर्ने योजना छ ।
यसबाट कृषि उत्पादन, प्रशोधन, प्रविधि हस्तान्तरण र व्यावसायिक कृषिको विकासमा सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ । भ्रमणका क्रममा भएका सहमति र परियोजनालाई कागजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न दुवै प्रधानमन्त्रीले उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेका छन् ।
नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको नेतृत्वमा रहने उक्त संयन्त्रले सहमति भएका परियोजनाको प्रगति समीक्षा गर्नेछ ।
संयन्त्रको बैठक कम्तीमा प्रत्येक ६ महिनामा एकपटक बस्ने व्यवस्था गरिएको छ । यसले दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने नेपाल–भारत संयुक्त आयोगमा आफ्नो प्रतिवेदन पेस गर्नेछ । संयुक्त आयोगको आगामी बैठक सन् २०२७ मा आयोजना गर्ने सहमति भएको छ ।









प्रतिक्रिया दिनुहोस्