देउवालाई महाधिवेशन उद्घाटन गर्न अनुरोध गरिने



काठमाडौँ।

नेपाली काँग्रेसले १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवासहित सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने भएको छ । महाधिवेशन पूर्वपार्टीभित्रको असन्तुष्टि र फरक मतलाई छलफलमार्फत सम्बोधन गर्दै एकताको वातावरण बनाउन पहल गर्ने भएको हो । यसअघि नेपाली काँग्रेसले इतर समूहका नेताहरूलाई मूलधारमा समायोजना गर्न १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरूलाई समायोजन गर्ने निर्णय गरेको थियो ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा यसअघि देउवा समूहमा खुलेका ५० जनाभन्दा बढी नेताहरू सहभागी भएका थिए । अझै पूर्वसभापति देउवासहित पूर्णबहादुर खड्का, डा.शेखर कोइराला, शंशाक कोइराला, प्रकाशमान सिंह लगायतका दर्जनौँ नेता मूलधारमा आएका छैनन् । बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीभित्र विवादजस्तो देखिए पनि अन्ततः सबै एकजुट भएर अघि बढ्ने बताएका छन् । महाधिवेशनमा कुनै पनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको उनले बताएका हुन् ।

पार्टी पूर्वसभापति देउवालाई १५औँ महाधिवेशन उद्घाटन गर्नको लागि अनुरोध गर्ने तयारी भइरहेको प्रवक्ता चालिसेको भनाइ छ । चालिसेले पार्टीभित्रका असन्तुष्टि र फरक मतलाई छलफलमार्फत सम्बोधन गर्दै महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण बनाइएको दाबी गरे । त्यसअघि केन्द्रीय कार्यसमितिको बैठक उद्घाटनमा बोल्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार रहेको बताएका थिए । उनका अनुसार पार्टी पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरूलाई छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण नभएको भन्दै सबैलाई एकै ठाउँमा जुटाउन आग्रह गरिएको छ ।

सभापति थापाले भने, ‘मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु । अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन । सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ । पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु । त्यसैले सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ ।’ उनले पार्टीका सबै पक्षलाई एक ठाउँमा ल्याउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

शेखर र पूर्णबहादुरको छुट्टाछुट्टै अपिल

नेपाली काँग्रेसका पूर्वउपसभापति तथा इतर समूहका नेता पूर्णबहादुर खड्काले गगनकुमार थापालाई पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गरी पार्टी एकताका लागि तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । अपिल जारी गर्दै खड्काले थापालाई १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग आफ्नै पहलमा वार्ता तथा संवाद सुरु गर्न आग्रह गरेका हुन् । असोज ३ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्नुपर्ने सुझाव दिएका हुन् ।

‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ’ भन्दै खड्काले गम्भीर आत्मसमीक्षा आवश्यक रहेकोमा जोड दिएका छन् । खड्काले काँग्रेस विभाजनले मुलुकको राजनीतिक परिस्थितिमा समेत गम्भीर असर पर्न सक्ने आशंकासमेत व्यक्त गरेका छन् । काँग्रेसपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दलहरूमा समेत विभाजन हुन सक्ने उनको विश्लेषण छ ।

यस्तै नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसमा दुई वटा घोषित महाधिवेशनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पार्ने भन्दै मध्यमार्गी समझदारी खोज्न आग्रह गरेका छन् । काँग्रेसको आन्तरिक जीवनमा आएको विभाजन र आसन्न दुई महाधिवेशनका सन्दर्भमा जारी गरिएको प्रेस वक्तव्यमा नेता कोइरालाले पार्टी एकता, सहमति र सहकार्यको माध्यमबाट मुलुकको राष्ट्रियता तथा लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘मेरो पीडा काँग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ ।’ उनले नेपाली काँग्रेसको गौरवशाली इतिहास, संस्थापक नेताहरूको त्याग, निष्ठा र लोकतान्त्रिक आदर्शलाई स्मरण गर्दै पार्टी विभाजनप्रति दुःख व्यक्त गरेका गरेका हुन् । वीपी कोइराला लगायतका नेताहरूको राजनीतिक, नैतिक, सामाजिक तथा सांस्कृतिक जीवनदर्शन सम्पूर्ण काँग्रेसजन र नेपाली जनताका लागि प्रेरणादायी रहेको बताएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार