माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत्को सुरुङ



नन्दराम जैशी । सुुर्खेत ।

१० दिनसम्म परिवारका सदस्यका लागि समय रोकिएजस्तै थियो । फोनको घण्टी बज्दा मुटु ढुकढुक हुन्थ्यो । सामाजिक सञ्जाल र समाचारका प्रत्येक नयाँ सूचनाले आशा र निराशाबीचको दूरी झन् साँघुरो बनाउँदै गएको थियो । सुरुङभित्र फसेका आफ्ना मान्छे जीवित छन् कि छैनन् ? भन्ने अनिश्चितताले परिवारका सदस्यहरूलाई रातभर निदाउन दिएको थिएन । तर शुक्रबार बिहान आएको एउटा खबरले ती सबै आशंका, त्रास र पीडालाई हर्षका आँसुमा बदलिदियो । रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३० वर्षीय मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जन १० दिनपछि जीवितै उद्धार भएका हुुन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिकसहितको उद्धार टोलीले शुक्रबार बिहान उनीहरूलाई सुरुङभित्र जीवित अवस्थामा फेला पारेर सकुशल उद्धार गरेको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना सञ्चालन बन्द गरेर समग्र मर्मत अर्थात् ‘ओभरहलिङ’को काम भइरहेको थियो । सोही क्रममा आएको बाढीपछि आयोजनाको सुरुङभित्र कर्मचारी तथा इन्जिनियरहरू फसेका थिए । आयोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउसतर्फ जाने सुरुङमार्गमा सञ्जय र कविरलाई जीवितै भेटेको हो ।

‘यी दुई जनालाई पावरहाउस पुग्ने बाटोमा जीवितै भेटेर उद्धार गरियो । सुरुङभित्र बाक्लो अँध्यारो रहेकाले उनीहरूलाई पावरहाउसबाट कति दूरीमा भेटिएको हो भन्ने यकिन गर्न सकिएको छैन’ उनले भने, ‘तर १० दिनपछि सुरुङको अँध्यारोबाट दुई जना मानिस जीवितै बाहिर आउनु यो एउटा सफल उद्धार अभियान मात्रै होइन, उनीहरूका परिवारका लागि दोस्रो जीवन फर्किएको क्षण हो ।’ नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङभित्र रहेको विद्युत् गृहमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । तीमध्ये सबैभन्दा धेरै मानिस विद्युत् गृहभित्रै रहेको अनुमान छ ।

उद्धार गरिएका सञ्जयले सुरुङभित्र रहेका सबैजना जीवित रहेको जानकारी दिएका छन् । तर सुरुङभित्र कति जना छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने विस्तृत विवरण अझै स्पष्ट भइसकेको छैन । तर सञ्जय र कविरको जीवित उद्धारले बाँकी परिवारका लागि पनि नयाँ आशा जगाएको छ । १० दिनअघि बाढी र सुरुङको अँध्यारोले परिवारहरूलाई अनिश्चितताको संसारमा धकेलेको थियो । किनकी सुरुङको अँध्यारोमा १० दिन बिताएर बाहिर आएका यी दुई जनाले आफ्नो जीवन मात्र फर्काएका छैनन्, उनीहरूले बाहिर प्रतीक्षामा रहेका परिवारको हराउँदै गएको आशा पनि फर्काएका छन् ।

‘अरूलाई बचाउँदा आफैँ फसे’

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का सञ्जय साह आयोजनाको कन्ट्रोल रुममा कार्यरत थिए । बाढी आएको दिन उनी आफूलाई बचाएर भाग्नुभन्दा अरूको ज्यान जोगाउन व्यस्त थिए । सञ्जयका अनुसार दुर्घटना भएपछि उनले आफ्नो कर्तव्यलाई पहिलो प्राथमिकतामा राखे । सुरुङभित्र रहेका कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ पठाउन र बाहिर निकाल्न उनी निरन्तर खटिए । उनको प्रयासबाट धेरै मानिस सुरुङबाट बाहिर निस्कन सफल भए । तर अरूलाई बाहिर पठाउँदै गर्दा अन्ततः उनी आफैँ सुरुङभित्र थुनिन पुगे ।

उद्धारपछि नेपाली सेनासँगको कुराकानीमा सञ्जयले भनेका छन्, ‘कन्ट्रोल रुममा काम गर्थेँ । त्यहाँ म भएपछि मेरो कर्तव्य सबैको ज्यान बचाउनु थियो । दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुप¥यो ।’ उनले सबैलाई बाहिर जान आग्रह गर्दै उद्धारमा जुट्दा आफ्नो समय सकिएको बताए । १० दिनसम्म सुरुङको अँध्यारोमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका सञ्जयले आफूले भगवानको ‘महामन्त्र’ जपिरहेको बताए । त्यही विश्वास र प्रार्थनाले आफूलाई बाँच्ने शक्ति दिएको उनको विश्वास छ ।

सञ्जयका भाइ सञ्जीवका अनुसार भदौ १० गते बिहान बाढी आएको दिन सञ्जयले परिवारसँग करिब पाँच सेकेन्ड मात्र कुरा गरेका थिए । त्यसपछि परिवारले उनीसँग फेरि कुरा गर्न पाएन । दिउँसो करिब १ बजेतिर सामाजिक सञ्जाल र समाचारमार्फत घटनाबारे जानकारी पाएपछि परिवारले सञ्जयलाई फोन गर्ने प्रयास ग¥यो । तर उनको मोबाइल सम्पर्कविहीन थियो । त्यसपछि सुरु भयो परिवारको सबैभन्दा लामो प्रतीक्षाको घडी । १० दिनसम्म सञ्जयका घरमा कसैको राम्रोसँग निद्रा लागेन । प्रत्येक बिहान नयाँ आशा बोकेर सुरु हुन्थ्यो, र प्रत्येक रात अनिश्चिततासँगै बित्थ्यो ।

‘बुवा त बेहोसजस्तै हुनुहुन्थ्यो, राति हामी कोही परिवार सुतेकै थिएनौँ, तर शुक्रबार बिहान उद्धारको खबर आएपछि परिवारको अवस्था फेरियो’ उनले भने, ‘अहिले बुवा धेरै खुसी हुनुभएको छ । खुसीको आँशु झार्दै दाजुुलाई भेट्न बुवासँगै काका र काकी पनि काठमाडौँ आउनुु भयो ।’ श्रीमान् सुरुङभित्र फसेको खबरपछि पीडा सहन नसकेर सञ्जयकी श्रीमती माइती गएकी थिइन् । उनीहरूको डेढ वर्षकी छोरी छिन् । १० दिनसम्म श्रीमान्को अवस्थाबारे कुनै ठोस जानकारी नपाउँदा परिवार पीडामा थियो । तर शुक्रबार बिहान सञ्जयका भाइ सञ्जीवले नै भाउजूलाई फोन गरेर खुसीको खबर सुनाए ।

‘आशै मारिसकेका थियौँ’

सञ्जयसँगै सुरुङभित्र फसेका कविर महर्जनको पनि १० दिनपछि जीवितै उद्धार भएको छ । नेपाली सेना र प्राविधिकसहितको टोलीले उनलाई सकुशल उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याएको छ । उनको अस्पतालमा उपचार सुरु गरिएको छ । कविर सकुशल उद्धार भएको खबरले उनकी दिदी विद्या डंगोलको खुसीको सीमा नै रहेन । भाइलाई भेट्न पाइन्छ कि भनेर सैनिक अस्पताल छाउनी पुगेकी उनले खुसीको सिमानै नरहेको बताइन् । १० दिनसम्म परिवारले बिताएको पीडा सम्झँदै उनले भाइ जीवितै बाहिर निस्किएको खबर चमत्कारभन्दा कम नरहेको बताइन् ।

‘नराम्रो भएन, राम्रो भयो भाइलाई । एकदम खुसी छौँ । खुसीको सीमा नै छैन’ उनले भनिन्, ‘१०–१० दिनसम्म त्यस्तो भएको मेरो भाइ । हामीले आशै मारिसकेका थियौँ । यस्तो चमत्कार हुन्छ भन्ने लागेकै थिएन ।’
कविरको अवस्थाबारे चिन्तित विद्या शुक्रबार बिहान पनि भगवानसँग भाइको सुरक्षाको प्रार्थना गरिरहेकी थिइन् । पूजा सकेर चिया खाने क्रममा उनले मोबाइल हेरेकी थिइन् । मोबाइलको स्क्रिनमा देखिएको खबरले उनलाई केहीबेर विश्वास नै लागेन । भाइ जीवितै उद्धार भएको खबर मोबाइलमा देखेँ । एकदम खुसी भएर हतारहतार मैले मेरो बहिनीलाई फोन गरेँ’ उनले भनिन्, ‘त्यसपछि दिदीबहिनीबीच भएको फोन संवाद पनि भावनाले भरिएको थियो । त्यो क्षणमा मैले फेरी भगवानलाई सम्झिए ।’

सात वटा सुरुङभित्र खोजी कार्य तीव्र 

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान अझै जारी छ । बाढीले ठूलो जनधनको क्षति पु¥याउनुका साथै जलविद्युत आयोजना, सडक, पुल तथा बस्तीहरूमा व्यापक क्षति गरेको छ । बाढीको चपेटामा परेका जलविद्युत आयोजनामा कार्यरत कामदार तथा कर्मचारीमध्ये केहीको शव फेला परे पनि धेरैको अवस्था अझै अज्ञात छ । विशेषगरी विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि नेपाली सेनासहित प्राविधिक उद्धार टोलीले आफ्नो ध्यान सुरुङभित्रको खोजी अभियानमा केन्द्रित गरेको छ ।

कठिन भौगोलिक अवस्था, सुरुङभित्र थुप्रिएको माटो, लेदो र बाढीले ल्याएको गेग्रानका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । तर नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार प्रभावित क्षेत्रबाट हालसम्म तीन हजार २०० भन्दा बढी नेपाली नागरिकको उद्धार गरिएको छ । यो सङ्ख्या सुरुङभित्र तथा बाहिरी जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरूको रहेको उनले बताए । त्यस्तै बाढी प्रभावित क्षेत्रबाट २७० भन्दा बढी विदेशी नागरिकलाई समेत सुरक्षित स्थानमा उद्धार गरिएको उनले जानकारी दिए ।

उद्धार अभियानको मुख्य उद्देश्य नै अझै पनि सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा फसेका व्यक्तिलाई जीवितै उद्धार गर्नु रहेको महासेनानी रेश्मी बताउँछन् । ‘सुरुङभित्रको उद्धार कार्य सामान्य खोजी अभियानभन्दा निकै जटिल छ, तर हाम्रो मुख्य प्राथमिकता भनेकै जीवित उद्धार हो’ उनले भने, ‘यस क्षेत्रमा रहेका सातवटै टनेलमा खोजी र उद्धार अभियान जारी राखेका छौँ । बाढीपछि सुरुङभित्र पानी, माटो र लेदो भरिनुका साथै कतिपय स्थानमा संरचनागत क्षति पुगेकाले उद्धार टोलीले अत्यन्त सावधानीका साथ अघि बढ्नुपरेको छ ।’

त्रिशूली–३ ‘ए’ र ‘बी’

नेपाली सेनाको टोली त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र १७० मिटरसम्म प्रवेश गरिसकेको छ । यस सुरुङबाट हालसम्म दुई जनालाई जीवितै उद्धार गरिएको महासेनानी रेश्मीले जानकारी दिए । दुई जनाको जीवित उद्धारपछि सुरुङभित्र अझै अन्य व्यक्ति हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी कार्यलाई निरन्तरता दिइएको छ । उद्धार टोलीले सुरुङभित्रको अवस्था मूल्यांकन गर्दै चरणबद्ध रूपमा अगाडि बढिरहेको बताइएको छ । त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको सुरुङमा पनि सेनाको उद्धार टोलीले प्रवेश गरेको छ । टोली हालसम्म सुरुङको करिब ३० मिटरभित्र पुगेको छ । सुरुङभित्र बाढीले ठूलो मात्रामा माटो र लेदो थुपारेकाले उद्धार कार्य अपेक्षाकृत कठिन बनेको छ । अहिले उद्धारकर्ताहरूले सुरुङभित्र थुप्रिएको माटो तथा लेदो हटाउने कामलाई प्राथमिकता दिएका छन् । अवरोध हटाउँदै सुरुङभित्र थप गहिराइसम्म पुग्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।

चिलिमे र लाङटाङ हाइड्रो

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार अभियान जारी छ । सेनाको टोली हालसम्म सुरुङको करिब १५० मिटरभित्र प्रवेश गरी सम्भावित फसेका व्यक्तिको खोजी गरिरहेको छ । सुरुङभित्रको अवस्थाका आधारमा प्राविधिक टोलीको सहयोगमा उद्धार कार्य अघि बढाइएको छ । उद्धारकर्मीले सुरुङभित्रको संरचना सुरक्षित छ वा छैन ? भन्ने मूल्यांकन गर्दै खोजीलाई निरन्तरता दिएका छन् । यस्तै लाङटाङ हाइड्रोको सुरुङमा उद्धारका लागि फरक रणनीति अपनाइएको छ । सुरुङको विभिन्न स्थानबाट प्वाल पारेर करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको खुला भाग तयार गरिएको छ । सुरुङभित्र प्रत्यक्ष रूपमा प्रवेश गर्न कठिन भएका स्थानमा यसरी वैकल्पिक मार्ग तयार गरी उद्धार कार्य अघि बढाइएको बताइएको छ । सम्भावित रूपमा फसेका व्यक्तिसम्म पुग्ने उद्देश्यले विभिन्न स्थानबाट पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ ।

थप चार सुरुङको अवस्था

अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाको उद्धार टोली हालसम्म करिब २०० मिटरभित्र प्रवेश गरिसकेको छ । सुरुङभित्रको खोजी कार्य निरन्तर जारी रहे पनि बाढीपछि सिर्जना भएको जोखिमपूर्ण अवस्था उद्धार अभियानका लागि प्रमुख चुनौती बनेको छ । टोलीले आवश्यक सुरक्षा सावधानी अपनाउँदै क्रमशः सुरुङभित्रको थप क्षेत्रसम्म पुग्ने प्रयास गरिरहेको छ । यता रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा भने नेपाली सेनाको टोली सबैभन्दा धेरै दूरीसम्म प्रवेश गर्न सफल भएको छ ।

उद्धार टोली हालसम्म सुरुङको करिब २७५ मिटरभित्र पुगेको छ । सुरुङभित्र सम्भावित रूपमा फसेका व्यक्तिको खोजी तथा अवस्थाको पहिचानका लागि अभियानलाई निरन्तरता दिइएको छ । त्यस्तै मैलुङ खोला जलविद्युत आयोजनामा समेत खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । बाढी प्रभावित विभिन्न आयोजनामा एकसाथ उद्धार अभियान सञ्चालन गरिएकाले जनशक्ति तथा प्राविधिक स्रोतको समन्वय गरी काम भइरहेको छ ।

आवागमन पुनःस्थापनाको प्रयास

नेपाली सेनाले मानिसहरूको उद्धारसँगै प्रभावित क्षेत्रमा आवागमन पुनःस्थापना गर्ने कामलाई पनि प्राथमिकता दिएको छ । इन्द्रेणी घाटमा नेपाली सेनाले तुइन निर्माण गरिसकेको छ । यसबाट नदीपारिका बस्ती तथा प्रभावित क्षेत्रमा मानिसहरूको आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ । त्यस्तै, देवीघाटमा पनि तुइन तथा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको महासेनानी रेश्मीले जानकारी दिए । बाढीले सडक तथा पुलमा क्षति पु¥याएपछि प्रभावित क्षेत्रलाई पुनः जोड्न वैकल्पिक संरचना निर्माण गर्न थालिएको हो ।

नेपाली सेनाले हवाई उद्धारका अतिरिक्त स्थलगत रूपमा पनि विभिन्न स्थानमा उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ । महासेनानी रेश्मीका अनुसार हाल सेनाले १९ वटा स्थानमा स्थलगत उद्धारको काम गरिरहेको छ । बाढी प्रभावित दुर्गम तथा सडक सम्पर्क टुटेका क्षेत्रमा स्थलगत उद्धारका लागि सैनिक टोली परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार