कोहलपुर (बाँके) ।
डा. धवलशम्सेर राणा नेतृत्वको जय नेपाल पार्टीले पार्टीको कन्द्रीय कार्यसमिति र सल्लाहकार समिति घोषणा गरेको छ । २०८३ साउन २८ गते निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीले करिब एक महिनापछि १३० सदस्यीय केन्द्रीय कार्यसमिति र ८ सदस्यीय सल्लाहकार समिति घोषणा गरेको हो । आइतबार घोषित समितिमा केन्द्रीय सभापति राणासहित केन्द्रीय कार्यसमिति र सल्लाहकार समितिमा गरी बाँकेका कूल ९ जना नेता अटाएका छन् ।
बाँकेका राणा सभापति रहेको पार्टीको कार्यसमितिमा १२८ जना केन्द्रीय सदस्य तथा दुई जना आमन्त्रित केन्द्रीय सदस्य छन् । जसमा केन्द्रीय कार्यसमितिमा राणासहित ६ जना छन् भने एकजना वैकल्पिक केन्द्रीय सदस्य र एकजना सल्लाहकार समितिमा चयन भएका छन् । जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यका रूपमा बाँकेकी पवित्रा सुब्बा श्रेष्ठ, ऋषिराज देवकोटा, नरेन्द्र पौडेल, ओमप्रकाश आजाद, लक्ष्मीकुमारी हमाल, बिन्दु चर्ति मगर, नीतु चन्द चयन भएका छन् ।
सिवाङ्गीनी राणा पार्टीको आमन्त्रित केन्द्रीय सदस्य चयन भएकी छन् । दिलविकाश राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय केन्द्रीय सल्लाहकार समिति सदस्यमा बाँकेकी लक्ष्मी श्रेष्ठलाई चयन गरिएको छ । राप्रपा परित्याग गरेर नयाँ पार्टी गठन गरेका राणाको नेतृत्वमा स्थापित पार्टीको केन्द्रीय कार्यसमितिमा समेत राप्रपा परित्याग गरेकै पूर्वराप्रपा बाँकेका नेताहरू समेटिएका हुन् । नेपालगन्जको मेयर हुँदा २०७९ को प्रतिनिधिसभामा बाँके क्षेत्र नम्बर २ बाट राप्रपाबाटै निर्वाचित राणा सो पार्टीका महामन्त्रीसमेत थिए ।
तर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देलसँगको विवादपछि राप्रपा परित्याग गरेर राणाले नयाँ पार्टी स्थापना गरेका हुन् । सुरुमा राजावादी अभियान्ता दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी गठनको सहमति भए पनि पार्टी निर्वाचन आयोगमा दर्ता गर्नुपूर्व नै प्रसाईसँग विवाद भएपछि अन्ततः आफ्नै नेतृत्वमा राणाले पार्टी दर्ता निर्वाचन आयोगमा दर्ता गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्