कोहलपुर (बाँके) ।
बर्दियाका ४० जना मजदुर गोरखा जिल्लामा अलपत्र परेका छन् । रोजगारीको खोजीमा गोरखामा निर्माण भइरहेको एक जलविद्युत् आयोजनामा काम गर्न गएका मजदुरहरू अलपत्र भएका हुन् । उनीहरू केही महिनाअघि गोरखा जिल्ला शहिद लखन गाउँपालिका ४ ताक्लुङ गाउँमा निर्माणाधीन आयोजनामा काम गर्नका लागि पुगेका थिए ।
चाइनिज कम्पनी नानटोँग कन्ट्रक्सनमा काम गरिरहेका उनीहरू ३ दिनदेखि खानासमेत नपाएर अलपत्र परेका हुन् । पीडितहरूले पहिला आफूहरूलाई कुटपिट भएको र त्यसको विरोध गर्दा आफूहरूलाई अलपत्र अवस्थामा छोडिएको बताएका छन् । पीडितहरूले भनेका छन्, ‘हाम्रो साथीमाथि कुटपिट भयो । त्यसपछि हामीले आफूहरू ज्याला दिन र घर जाने बतायौँ । तर, ज्याला पनि दिएनन् । हामी खाना खाने मेसमा तालाबन्दी गरियो ।’
आफूहरू तीन दिनदेखि भोकै रहेको समेत उनीहरूको गुनासो रहेको छ । बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया र बारबर्दिया नगरपालिकाकाका ४० जनाभन्दा बढी मजदुर अलपत्र परेको विषय प्रतिनिधिसभामा पनि उठेको छ । बर्दियाका प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारू बर्दियाका ४० जना मजदुरहरूको उद्दारका लागि सदनमार्फत सरकारसँग माग समेत गरेका छन् ।
उनले प्रतिनिधिसभा बैठकमा भनेका छन्, ‘बर्दियाका युवाहरू गाउँमा भेटिँदैनन् । उद्योग, कारखाना नभएका कारण मजदुरीका लागि पहाडमा जाने गर्दछन् । यसैक्रममा मेरो जिल्ला बर्दियाका ४० जना मजदुर तीन दिनदेखि खानासमेत नपाएर अलपत्र अवस्थामा पुगेका छन् ।’ सांसद थारूले उनीहरूले काम गरिसकेपछि ज्याला मागेका र निर्माण कम्पनीका ठेकदारले मजदुरलाई कुटपिट गरेपछि अरु पनि विरोधमा उत्रिएको बताए । त्यसपछि खानाको मेसमा उनीहरूलाई खानासमेत नदिइएको उनको भनाइ थियो । आफूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गोरखासँग कुराकानी गर्दा आलटाल गरिएको भन्दै थारूले संसद्मै दुःखेसो पोखे ।








प्रतिक्रिया दिनुहोस्