काठमाडौँ ।
प्रतिनिधिसभामा सांसदहरूले बलात्कारी प्रमाणित अभियुक्तलाई मृत्युदण्डको सजाय हुने कानुन बनाउनुपर्ने बताएका छन् । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी सांसदहरूले बाराकी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाबारे बोल्दै बलात्कारका अभियुक्तलाई फाँसीको सजाय हुने कानुन बनाउनुपर्ने बताएका हुन् ।
सत्तारूढ रास्वपाकी सांसद श्रद्धा कुँवरले संविधानको धारा १६ र १७ ले मृत्युदण्ड र देशनिकालाजस्ता सजाय निषेध गरेको भए पनि छोरी हुन पापजस्तो बन्दा बनिरहँदा संविधानको अक्षरमात्रै हेर्न नहुने बताइन् । ‘अब कुनै इफ् एन्ड बट हुँदैन सबै अपराधको प्रकृति र गम्भीरता एउटै हुँदैन,’ उनले भनिन्, ‘एउटा पाकेटमारलाई र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन । प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कानुनको सजायको डर यति बलियो बनाइयोस् कि अपराध गर्ने सोँच नै जन्मिन नपाओस् ।’
उनले पासाङ, सीता र पारिजातका कथा र गाथा सुनाउने समाजमा महिलाको वास्तविक यात्रा कति पीडादायी छ भन्ने कुरामा सदनमा रहेका सम्पूर्ण महिलाहरू अवगत रहेको बताइन् । ‘जन्मिनुअघि नै छोरी भएकै कारण आमाको कोखमा हत्या हुन्छ । जन्मेर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन् । बाँचेर हिँडडुल गर्ने उमेर पुग्दा निर्मला पन्त र मुस्कान खातुन बन्छिन् । सबैबाट बँचेर बिहे भएर आफ्नो सबथोक छोडेर लक्ष्मी बनेर घर भित्रिँदा उनी दाइजोका नाममा पीडित हुन्छन् । आफ्नै श्रीमान्बाट काटिन बाध्य हुन्छिन्,’ उनले भनिन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद शाहजान खातुनले बलात्कार र बलात्कारपछि हत्या गर्ने जस्ता जघन्य अपराधीलाई उन्मुक्ति दिने ठाउँ राख्न नहुने बताइन् । ‘निर्मला पन्तदेखि गरिमा चौधरीका परिवार न्याय पर्खेर बसेका छन् । भाषण मात्रै गरेर पुग्दैन । कानुन परिमार्जन गर्नुपर्छ,’ उनले भनिन्, ‘संविधान र मानवअधिकारका प्रचलित मान्यतासहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नेगरी कानुन परिमार्जन गर्नुपर्छ ।
रास्वपाकै सांसद सोम शर्माले पनि बलात्कार गर्नेमात्र नभई यस्तो सोच्नेहरू समेत डराउने गरी कानुन बनाउनुपर्ने बताए । ‘आउनुस् हामी २७४ जना मिलेर यही सदनबाट सबैले यस्तो कानुन बनाऔँ कि बलात्कार गर्नेलाई मात्रै हैन यस्तो सोच आउनेको समेत शरीर थरथर काँपोस्,’ उनले भने ।








प्रतिक्रिया दिनुहोस्