चिरन्जिवी ओली, नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष पदका उम्मेदवार
करिब सर्वसम्मत भइसकेको भनिएको बेला मतदानमार्फत नै नयाँ कार्यसमिति चयन हुने भएको छ । सर्वसम्मतको पहल यदि सफल भएको भए नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमा दोस्रोपटक सर्वसम्मत नेतृत्व चयन हुने रहेछ । यद्धपि, अहिले मतदाताहरूसँग मत माग्दै गर्दा कत्तिको उत्साहित हुनुहुन्छ?
हो, हामीले संघमा राजनीतिक प्रभाव कम होस् र व्यवसायिक हितलाई केन्द्रमा राख्न सकियोस् भनेर सहमतिको प्रयास गरेका थियौँ । एक किसिमको सहमति पनि भइसकेको थियो । तर केही साथिहरू उम्मेदवारी दिएर सर्वसम्मति हुन दिन्नौँ भन्ने पूर्वाग्राहीपूर्ण सोच बनाएर भाँड्न खोज्नुभयो । अन्तिममा उम्मेदवारी पनि त्यसैगरी आयो। निर्वाचनको प्रक्रियामा उम्मेदवारी आइसकेपछि हामी त्यसमा डराउने कुरा पनि भएन । लड्नुपर्ने भएपछि लडेरै जाने कुरामा दुईमत नै भएन । हामी अहिले टिममा एकताबद्ध भएर मत माग्न गइरहेका छौँ । हामीलाई मतदाताले दिएको सल्लाह सुझाव र उहाँहरूले गरेको मायाले हामी चुनाव जित्छौँ भन्ने मै छौँ ।
उद्योग वाणिज्य संघको सदस्य, महासचिव र प्रथम उपाध्यक्ष हुँदै अब तपाईँको स्वभाविक पदोन्नति अध्यक्षमै हो । यस्तो स्वभाविक समयमा पनि आफ्नो नाममा सर्वसम्मति हुँदाहुँदै विपक्षमा उम्मेदवारी परेपछि कतै केही कमजोरी पनि भएछन् कि भन्ने लागेको छैन् ?
यसमा हाम्रो कमजोरी भन्दा पनि सबैलाई समेट्न सक्ने परिस्थिति रहेन । मलाई त अध्यक्षको रूपमा पूर्वध्यक्ष लगायत हाम्रा अगुवाहरूले प्रस्ताव गर्नुभयो । बाँकी पदहरूमा मिलाउने क्रममा आफू नपरेको भनेर उहाँहरूका असन्तुष्टिहरू रहे । हामीले सकेसम्म सबैलाई मिलाएर लैजाने कुरामा लचिलो भएरै यो सर्वसम्मत टिम बनाएका हौँ । सबै मतदाताहरूका आ–आफ्नै आकांक्षाहरू हुनु स्वभाविक नै हो । तर मलाई हाम्रा अग्रजहरूले तपार्इँ यस पदका लागि योग्य हुनुपर्छ भनेर नै मलाई अघि सार्नुभएको छ । यति हुँदाहुँदै म मात्रै योग्य हुँ भन्ने दाबी पनि मेरो होइन । अरु साथिहरूले पनि यसपटकका लागि तपाईँ नै भनेर समर्थन गरिसकेपछि सर्वसम्मतिको प्रयास भएको हो । त्यसबाट पनि असन्तुष्ट हुनुभएका साथिहरू पनि प्रतिस्पर्धामै हुनुहुन्छ । यसमा अन्यथा मान्नुपर्ने कारण छैन् ।
तपाईँको विपक्षमा उम्मेदवारी दिएकाहरूले तपाईँहरूले संघमा पारदर्शीता कायम गर्न सक्नुभएन, सर्वसम्मतको नाममा लोकतान्त्रिक प्रक्रियालाई गिजोल्नुभयो र नक्कली मतदाता बनाउनुभयो भन्ने गम्भीर आरोप लगाइरहेका छन् नि?
ती सबै आरोपहरू सरासर निराधार हुन् । संघमा अहिलेसम्म हामीले कुनैपनि निर्णय लुकाएर गरेका छैनौँ । तर, यसमै अपवाह फैलाउन खोजिएको छ । अर्काेतिर संघलाई पारदर्शी बनाउने कुरामा हरेक दिन सुधार गर्दै जाने नै हो । हरेकदिन यसलाई प्रणालीमा आधारित बनाउने काममा हामी हरेक दिन लागेका थियौँ । यसलाई अझै पारदर्शी र व्यवस्थित बनाउने आउने कार्यकालमा पनि हामी निरन्तर काम गर्दै जानेछौँ । नक्कली मतदाता बनाइएको कुरामा त कुनै सत्यताको अंश नै छैन । त्यो सम्भव नै छैन् । यो जिल्ला संघ भएकोले बाँके जिल्लाभरीका व्यापारिक फर्महरू संघको सदस्य बन्न सक्छ । उहाँहरूले दिएको आवेदनकै आधारमा हामीले सदस्यता दिएका छौँ । उहाँहरूलाई कता कता लागिरहेको छ, नेपालगन्ज मात्रै संघको कार्यक्षेत्र हो भन्ने । त्यो कदापि होइन ।
संघको सीमाहरू र मतदाताको अपेक्षाबीचको दबाब कतिको महसुस गरिरहनुभएको छ ?
हामी अहिले घरदैलोका क्रममा पनि व्यवसायीहरूले दिएका सुझाव र उहाँहरूले उठाउनुभएका एजेण्डाहरूलाई लिपीबद्ध गरिरहेका छौँ । स्वभाविक रूपमा उहाँहरूले हामीसँग आफूले भोगेका सबै समस्याहरू व्यक्त गर्नुहुन्छ । यद्धपि संघले व्यवसायीका मुद्दाहरूमा पैरवी गर्ने हो, यो कार्यान्वयन गर्ने अधिकारप्राप्त निकाय नभएकोले त्यसका सीमितताहरू पनि मतदाताहरूले बुझ्नुभएकै छ । हामीले दबाब समूहको रूपमा विगतमा गरेका कामहरू हाम्रा व्यवसायीहरूले प्रष्ट रूपमा देख्नुभएकै छ । हामी त्यस्तो भूमिकालाई अझै घनिभुत गराउने प्रतिबद्धता जाहेर गर्दछौँ ।
तपाईँले जारी गरेको प्रतिबद्धतापत्रमा संघको कार्यक्षेत्रले नभ्याउने विषयमा पनि प्रतिबद्धताहरू गरिएका छन् । स्थानीय सरकारका कार्यक्षेत्रसँग बाझिने विषयहरू समेटिएका छन् । के संघले अब स्थानीय सरकारसँग सहकार्य नगरी हुँदैन भन्ने निश्कर्षमा पुग्नुभएको हो ?
हो, व्यवसायसँग जोडिएका कतिपय समस्याहरू स्थानीय सरकारले मात्रै समाधान गर्नसक्ने खालका छन् । जस्तो पार्किङ व्यवस्थापन र सार्वजनिक शौचालयको विषयमा हामीले स्थानीय सरकारसँग सहकार्य गर्नुपर्नेछ । यसैगरी, व्यवसायीमैत्री नीति निर्माणका विषयमा पनि हामीले स्थानीय सरकारसँग निरन्तर समन्वय गर्नुपर्नेछ ।
यसैगरी व्यवसायमा सकारात्मक प्रभाव पार्ने एजेण्डाहरू नौबस्ता औद्यागिक क्षेत्र, नेपालगन्ज क्षेत्रीय अन्र्तराष्ट्रिय हवाई उडान, सुख्खा बन्दरगाह जस्ता मागहरू पनि हामीले निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गरेका छौँ । स्थानीय सरकारसँग सहकार्यको कुरा गर्दा, व्यवसायीहरूले दैनिक रूपमा भोगिरहेका कर सम्बन्धिका समस्याहरू स्थानीय तहहरूले कानुन बनाएरै सृजना गरिरहेका छन् । जस्तो, बहालकर व्यवसायीहरूले तिर्नुपर्ने, व्यवसाय करमा वृद्धि लगायतका मुद्दाहरू उठाउन संघले किन ढिलो गर्छ ? कानुन बनाउँदा नै किन सहकार्य गर्न सकेन् । हामीले यी विषयमा स्थानीय सरकारको ध्यानाकर्षण नगराएको होइन । हामीले बहालकरका विषयमा उपमहानगरमा ध्यानाकर्षण पत्र नै बुझाएका छौँ । एउटा कुरा सत्यचाहीँ के हो भने स्थानीय सरकारले कानुन बनाउँदा संघसँग प्रयाप्त छलफल गरिरहेका छैनन् । अब हामी त्यस्ता विषयमा पनि चनाखो भएर व्यवसायीसँग सम्बन्धित हरेक नीति निर्माणमा पर्याप्त छलफलका लागि पहल गर्नेछौँ र यस्ता समस्याहरूको सुधारका लागि निरन्तर पहल गर्ने छौँ ।
पहिले पहिले पहिलो नम्बरमा पर्ने सीमापारी उपभोक्ताहरू जाने समस्या यसपटक एजेण्डामा परेन । के अब यो समस्या दीर्घकालका लागि समाधान भएको भन्ने लागेको हो ?
एउटा कुरा चाहीँ के हो भने अहिले सीमामा कडाईका कारण व्यवसायिक क्षेत्र उत्साहित छ । र यसलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग निरन्तर रहन्छ । यस निर्णयका लागि हामीले विगतमा निरन्तर उठाउँदै आएको आवाजले पनि काम गरेको छ । अहिले हामी सीमा नाका अझै व्यवस्थित हुनुपर्छ भन्ने कुरामा एकमत छौँ । भन्सारलाई अझै व्यवस्थित गरेर सुख्खा बन्दरगाह नै बनाउनुपर्छ भन्ने हामीले माग अघि सारेका छौँ ।
एकीकृत भन्सार जाँच चौकी निर्माण भएको धेरै समय नहुँदै सुख्खा बन्दरगाहको माग उठाइरहनुभएको छ, यसको कारण के हो र सरकार यसमा सहमत होला ?
हेर्नुहोस् हामीले माग उठाउने हो । सरकारलाई बुझाउन पर्यत्न गर्ने हो । सुख्खा बन्दरगाह नेपालगन्जमा जरुरी छ भन्ने कुरामा के छ भने यहाँ भारत सरकारले निर्माण गरिरहेको आधुनिक रेलमार्गको पहुँच छ । बन्दरगाह बन्नेबित्तिकै सामानहरूको आयात निर्यातमा निकै ठूलो परिवर्तन आउँछ र नेपालगन्जको गुमेको शाख पनि फिर्ता आउनसक्छ भन्ने हाम्रो बुझाई हो । यसलाई लिएर हामीले निरन्तररूपमा सरकारलाई घचघच्याउने छौँ ।
अन्तमा, संघका तपाईँकै नेतृत्व किन ?
मेरो विगतमा गरेको काम र मैले हासिल गरेको अनुभवले म संघको गरिमालाई अर्काे उचाईंमा लैजान सक्छु भन्ने विश्वास मलाई छ । म कार्यसमिति सदस्य हुँदाको सक्रियता पनि यहाँका उद्योगी व्यवसायी दाजुभाइहरूलाई राम्रोसँग याद छ । कोभिड महामारीका समयमा महासचिव भएर निभाएको भूमिका र नेपालगन्ज उद्योग वाणिज्य संघलाई देशभरमै उत्कृष्ट संघ बनाएको पनि सबै व्यवसायी साथिहरूलाई थाहा छ । पछिल्लो कार्यकालमा उपाध्यक्षको रूपमा निभाएको समन्वयकारी भूमिकाबारे पनि सबै साथिहरू परिचित नै हुनुहुन्छ । समग्रमा संघको गरिमालाई अझ अर्काे उचाईमा लैजान र व्यवसायीका मुद्दाहरूमा बुलन्द आवाजका लागि मलाई मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।









प्रतिक्रिया दिनुहोस्