
डोटी ।
डोटीबाट पेटारोसहितको सरकारी पूजा टोली बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकातर्फ प्रस्थान गरेको छ । परम्परागत पूजा सामग्रीसहित सरकारी टोली बडीमालिकातर्फ बिहीबार प्रस्थान गरेको हो । डोटीबाट पेटारो पठाउने परम्परा धार्मिक अनुष्ठानसँगै सुदूरपश्चिमको इतिहास, संस्कृति र राज्यस्तरीय धार्मिक परम्पराको जीवन्त प्रतीकका रूपमा लिइन्छ । शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टका अनुसार डोटी गौडाबाट हरेक वर्ष पेटारोसहित सरकारी पूजा टोली बडीमालिका पठाउने परम्परा निकै पुरानो हो । ‘डोटी गौडाबाट हरेक वर्ष पेटारोसहित सरकारी पूजा टोली बडीमालिका प्रस्थान गर्ने परम्परा केवल धार्मिक अनुष्ठान मात्र होइन,’ भट्टले भने, ‘यो क्षेत्रको इतिहास, संस्कृति र आस्थाको जीवन्त प्रमाण हो ।’
श्रावण औँसीको अघिल्लो दिन दीपायलस्थित दिल्पेश्वर मन्दिर परिसरमा रहेको बडीमालिकाको गुठी जग्गामा रोपाइँ गर्ने परम्परा छ । रोपाइँका क्रममा तयार हुने भुरुणी अर्थात् धानको बीउबाट बनाइने विशेष फूल जिल्ला प्रशासन कार्यालयमा ल्याइन्छ । त्यही भुरुणीसहित जिल्ला प्रशासन कार्यालय र शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले बडीमालिका पठाउने पेटारो तयार गर्छन् । पेटारोमा चाँदीको काइयो, चाँदीको छत्र, सुनको जलप लगाइएका विभिन्न श्रृंगार सामग्री, सुनको जनै, चाँदीको बाँसुरीलगायतका पूजा सामग्री राखिन्छन् ।
भट्टका अनुसार विगतमा यी सामग्रीका लागि गृह मन्त्रालयबाटै बजेट आउने गरेको थियो । तर २०५८–५९ सालपछि मन्त्रालयबाट बजेट आउन छाडेपछि शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले नै सामग्री जुटाउँदै आएको छ । डोटी गौडाबाट बडीमालिकामा पेटारो पठाउने परम्परा विसं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा तत्कालीन डोटी राज्य नेपालमा गाभिएपछि पुष्कर शाहको पालादेखि सुरु भएको मानिन्छ । डोटीको सरकारी पूजा टोलीको औपचारिक यात्रा श्रावण औँसीको अघिल्लो दिनदेखि नै सुरु हुन्छ । पेटारो बडीमालिका पठाउने दिन सिलगढीमा विशेष पूजाअर्चना तथा उत्सव आयोजना गरिन्छ ।
श्रावण प्रतिपदाका दिन बिहान दीपायलबाट ल्याइएको भुरुणीसहित पूजा सामग्री जिल्ला प्रशासन कार्यालयमा भेला गरिन्छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा पुजारीले प्रशासन परिसरमा विशेष पूजाअर्चना गरेपछि टोली शैलेश्वरी मन्दिरतर्फ लाग्छ । शैलेश्वरीमा पेटारोको विशेष पूजा सम्पन्न भएपछि टोली नाचन्थलीस्थित मालिका मन्दिर पुग्छ । त्यहाँ पनि परम्पराअनुसार पूजा सम्पन्न गरेपछि बडीमालिकाको १५ दिने पैदल यात्राका लागि टोली अघि बढ्छ । यात्रामा सहभागीहरू गाडी प्रयोग नगरी पैदलै हिँड्छन् । सदियौँदेखि निर्धारित हुँदै आएका स्थानमा बास बस्दै र विभिन्न देवीदेवताका मन्दिरमा पूजाअर्चना गर्दै टोली बडीमालिका पुग्छ ।
पहिलो दिन टोली डोटीको फुलौट अर्थात् हालको खिरसैनमा बास बस्छ । पहिले फुलौटको झान्नाउला माण्डौँमा बास बस्ने र स्थानीयले यात्रुहरूलाई खीर खुवाउने चलन थियो । अहिले भने खिरसैनमा बास बस्ने गरिएको छ । दोस्रो दिन फुलौटबाट हिँडेको टोली साँझ डोटीकै काँडामाण्डौँ पुग्छ । त्यहाँ अमरसिंह थापाले निर्माण गराएको अखण्ड दीप बलिरहेको मालिका मन्दिरमा बास बस्ने परम्परा छ । बडीमालिकाको गुठी जग्गामा फलेको तिलको तेल र जौसमेत त्यहाँ पठाउने गरिन्छ ।
तेस्रो दिन टोली अछामको श्रीकोटस्थित जाल्पादेवी पुगेर पूजाअर्चना गर्छ । चौथो दिन वैद्यनाथ धाममा पूजा गरेपछि त्यहाँबाट धानका बाला लिएर टोली साँफेबगर नजिकैको भण्डारी गाउँमा बास बस्छ ।
पाँचौँ दिन टोली विमकोटे राजाको दरबार पुग्छ । अहिले उक्त दरबार सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण भइसकेको छ । त्यहाँको व्यवस्थापन विमकोटले नै गर्दै आएको छ । सोही दिन जाब्लामा बास बसेर मष्टो देवताको पूजा गर्ने परम्परा छ । छैटौँ दिन बिहान जाब्लाबाट हिँडेको टोली साँझ बाजुराको छतारास्थित लवाडुंग्रा पुग्छ । यात्राको सबैभन्दा लामो दूरीमध्ये एक मानिने यो दिनको पैदल यात्रापछि टोली लवाडुंग्रामै तीन दिनसम्म बास बस्छ । दशौँ दिन लवाडुंग्रामा तयार पारिएको पर्गलो अर्थात् लिंगो लिएर टोली खलातर्फ अघि बढ्छ । एघारौँ दिन अर्को पर्गलो लिएर भिति हुँदै गतेमाईमा पूजाअर्चना गर्ने परम्परा छ ।
बाह्रौँ दिन टोली बडीमालिका क्षेत्रकै त्रिवेणी धाम पुग्छ । यहीँ डोटीको सरकारी टोलीले ल्याएको पेटारो र जुम्लाको सरकारी टोलीले चन्दननाथबाट ल्याएको डोलीबीच ऐतिहासिक भेट हुन्छ । त्रिवेणीमा विशेष पूजा सम्पन्न गरेपछि तेह्रौँ दिन बिहान टोली बडीमालिका मन्दिरतर्फ लाग्छ । त्रयोदशीको रात बडीमालिका मन्दिर परिसरमै बास बसेपछि चतुर्दशीको बिहान मुख्य पूजा सम्पन्न गर्ने परम्परा छ । बडीमालिकाका पुजारी नेत्रराज पाध्याका अनुसार चतुर्दशीको बिहान पूर्वनिर्धारित समयभित्र सरकारी टोलीबाट पहिलो पूजा हुने परम्परा छ । मुख्य पूजा सम्पन्न भएपछि मध्यान्ह १२ बजेसम्म सबै तीर्थालु भक्तजन बडीमालिका क्षेत्रबाट फर्किसक्ने चलन रहेको छ । त्यसपछि सोही दिन टोली बाजुराको त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी मन्दिर पुगेर बास बस्छ । जनैपूर्णिमाका दिन नाटेश्वरीमा पूजा सम्पन्न गरेपछि टोली सिलगढीतर्फ फर्किन्छ ।
नाटेश्वरीमा पूजा सम्पन्न गरेपछि मात्रै टोलीले सवारीसाधन प्रयोग गर्न पाउने परम्परा छ । पन्ध्रौँ दिनमा सरकारी पूजा टोली पुनः सिलगढी आइपुग्छ । सरकारी पूजा टोलीमा सहभागी हुने व्यक्तिको छनोट तथा अन्य खटनपटन डोटी जिल्ला प्रशासन कार्यालयले गर्दै आएको छ । पूजा यात्राको खर्च भने डोटीका स्थानीय तहहरूले पालैपालो व्यवस्थापन गर्ने गरेका छन् । यस वर्ष पूजा टोलीको खर्च व्यवस्थापन गर्ने जिम्मेवारी बोगटान फुड्सिल गाउँपालिकाले लिएको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए ।









प्रतिक्रिया दिनुहोस्