बैतडी ।
संघीय राजधानी काठमाडौँसँग सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीलाई जोड्ने प्रत्यक्ष यातायात पहुँच संकटमा परेको छ । करोडौँ रूपैयाँँ खर्चिएर स्तरोन्नति गरिएको पाटन विमानस्थलमा लामो समयदेखि नियमित उडान छैन भने काठमाडौँ–बैतडी सिधा बस सेवासमेत पछिल्लो समय भरपर्दो बन्न सकेको छैन । हवाई र सडक दुवै विकल्प कमजोर हुँदा बैतडीवासी राजधानी आवतजावतका लागि घुमाउरो र महँगो यात्रामा निर्भर हुन बाध्य छन् । पाटन विमानस्थल सञ्चालनमा आएपछि बैतडीवासीले राजधानीसँगको दूरी छोटिने अपेक्षा गरेका थिए ।
विमानस्थलको धावनमार्ग कालोपत्रे तथा अन्य पूर्वाधार निर्माणमा १६ करोड रूपैयाँँभन्दा बढी लगानी भएको छ । तर, पूर्वाधार तयार भएको लामो समय बितिसक्दा पनि नियमित हवाई सेवा टिक्न सकेन । केही समय उडान भए पनि यात्रुको पर्याप्त चाप नदेखिएको भन्दै उडान नियमित हुन नसकेको हो । विमानस्थल सञ्चालनमा नआउँदा बैतडीबाट हवाई यात्रा गर्न चाहनेले धनगढी वा अत्तरियासम्म सडकमार्गबाट पुग्नुपर्ने अवस्था छ । जिल्लाका दुर्गम क्षेत्रबाट धनगढी पुग्नै घुमाउरो र लामो यात्रा गर्नुपर्ने भएकाले राजधानी जाने हवाई विकल्प व्यवहारिक बन्न सकेको छैन । यसले विमानस्थलमा गरिएको ठूलो सार्वजनिक लगानीको उपयोगितामाथि समेत प्रश्न उठाएको छ ।
हवाईसेवा नियमित नभए पनि लामो दूरीको सिधा बस सेवाले बैतडीवासीलाई राजधानी पुग्ने अर्को विकल्प दिएको थियो । तर अहिले काठमाडौँ–बैतडी सिधा बस सेवा नियमित नहुँदा यात्रुले बीच बाटोमै गाडी परिवर्तन गर्नुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ । बैतडीका स्थानीय धर्मराज भट्टका अनुसार अहिले काठमाडौँ जानका लागि दार्चुला वा बझाङतर्फ जाने गाडीमा निर्भर हुनुपर्ने अथवा कैलालीसम्म छुट्टै गाडी खोज्नुपर्ने अवस्था छ । ‘यहाँबाट सिधै संघीय राजधानी जान सकिन्न । दार्चुला र बझाङबाट काठमाडौँ जाने गाडीमा पनि सहजै सिट पाइँदैन,’ उनले भने ।
काठमाडौँबाट बैतडी फर्किने यात्रुको समस्या अझ बढी छ । यात्रुले अत्तरिया, महेन्द्रनगर वा धनगढी पुगेर अर्को गाडी खोज्नुपर्ने भएकाले यात्रा समयसँगै खर्च पनि बढ्ने गरेको छ । स्थानीयका अनुसार सामान्य अवस्थामा समेत काठमाडौँ–बैतडी यात्रा ३० देखि ३६ घण्टासम्म लम्बिन सक्छ । बीचमै गाडी परिवर्तन गर्दा टिकट, खाना र अन्य खर्च थपिँदा प्रत्यक्ष बस सेवाको तुलनामा यात्रु आर्थिक रूपमा समेत मारमा पर्ने गरेका छन् ।
राजधानीसँग प्रत्यक्ष यातायात सम्पर्क कमजोर हुँदा यसको असर सामान्य यात्रुमा मात्र सीमित छैन । उपचारका लागि काठमाडौँ जाने बिरामी, अध्ययनका लागि राजधानीमा रहेका विद्यार्थी, व्यापार–व्यवसायका लागि आवतजावत गर्ने व्यक्ति तथा रोजगारीका लागि बाहिर रहेका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । विशेषगरी आकस्मिक उपचार आवश्यक पर्ने अवस्थामा यातायातको विकल्प सीमित हुनु गम्भीर समस्या बन्ने गरेको स्थानीयको भनाइ छ । चाडपर्वका बेला राजधानी तथा अन्य सहरबाट घर फर्किने यात्रुको चाप बढ्दा समस्या झन् चर्किने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्