शहीद दशरथ चन्द विश्वविद्यालयमा ‘पहुँच’को चलखेल



कैलाली ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वास्थ्यकर्मी तथा चिकित्सक भर्ना प्रक्रिया विवादमा परेको छ । कैलालीको गेटास्थित विश्वविद्यालयले १५१ पदका लागि दरखास्त आह्वान गरेकोमा १ हजार ६६९ जनाले आवेदन दिएका थिए । तर, लिखित परीक्षा नै नलिई ५४४ जनालाई सर्टलिस्ट गरेर अन्तर्वार्तामार्फत कर्मचारी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आवेदकहरूले असन्तुष्टि जनाएका छन् ।

आवेदकहरूले सोर्सफोर्स, पहुँच र भनसुनका आधारमा जागिर दिने चलखेल भएको आशंका गर्दै सबै आवेदकलाई कम्तीमा लिखित परीक्षामा सहभागी हुने समान अवसर दिनुपर्ने माग गरेका छन् ।विश्वविद्यालयको चिकित्सक तथा स्वास्थ्यकर्मी छनोटसम्बन्धी निर्देशिका र सर्टलिस्टका आधारसमेत सार्वजनिक रूपमा स्पष्ट नगरिएको भन्दै पदपूर्ति प्रक्रिया पारदर्शी नभएको प्रश्न उठेको छ । केही आवेदकले सर्टलिस्टमा परेका उम्मेदवारका शैक्षिक प्रमाणपत्र तथा कार्यअनुभवसमेत शंकास्पद रहेको दाबी गरेका छन् ।

कतिपयले एउटै अवधिमा फरक–फरक संस्थामा काम गरेको अनुभवपत्र बुझाएको र विश्वविद्यालयका पदाधिकारीसँग सम्बन्ध भएका व्यक्तिसमेत सर्टलिस्टमा परेको आरोप लगाएका छन् । यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन । विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दले भने तत्काल जनशक्ति आवश्यक भएकाले लिखित परीक्षा नलिई सर्टलिस्ट र अन्तर्वार्ताको विधि अपनाइएको बताएका छन् ।

उनका अनुसार शिक्षण अस्पतालमा बिरामीको चाप बढेकाले छिटो कर्मचारी आवश्यक परेको र लिखित परीक्षा लिँदा थप दुई–तीन महिना समय लाग्ने भएकाले उक्त विधि अपनाइएको हो । चन्दका अनुसार सर्टलिस्ट तयार गर्दा अनुभव, योग्यताबापतको अंक, उपल्लो योग्यता र तालिमलाई आधार बनाइएको छ । छनोट निर्देशिका वेबसाइटमा नराखिए पनि गुपचुप नगरिएको उनको दाबी छ । तर, दरखास्त आह्वानमा तोकिएको अनुभवको मापदण्ड र सर्टलिस्ट तयार गर्दाको आधारबीच स्पष्टता नरहेको भन्दै आवेदकहरूले भने थप प्रश्न उठाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार